पहिले पहिले निकै पढ्न मन लाग्ने मान्छे म । के कति त कक्षा टपियो । तर कक्षा ८ मा पुग्दै गर्दा जानी नजानी मलाई राजनीतिले छोयो । रातो कपडामा सेतो तारा बनाई टाउकोमा टनन्क कसेर हिंड्ने थालें । हिंडाइ भने उमेरले आफूभन्दा ठूला साथीभाइसँग भयो । तिनै ठूला दाइदिदीले पढ्ने क्याम्पसका चौरमा भेला हुने क्रम बढ्यो । चौरमा वस्यो बदामको मिठास लिंदै, राजनीतिक बहसमा बहकियो ।
बहस सुन्दा लाग्थ्यो – यो नेपालको पढाइमा केही दम छैन । किनकि, नेपाल म जस्तै ७/८ कक्षा पढेकाले नै मन्त्री बनी देश चलाइरहेका थिए । हुन त त्यति वेला मात्र होइन अहिले पनि मध्यम वर्गीय नेपालीले पढ्ने विषयवस्तुमा दमै देख्दिनँ । सामान्य भाषामा भन्नुपर्दा मैले १० वर्षसम्मको समय कक्षा १ बाट १० सम्म पढेमध्ये मेरो जीवनमा लागू भएको छ त केवल कक्षा ४ सम्मको पढाइ । त्यो हो क, ख, A, B , C, D, १ , २ र जोडघटाउ । अरु न त कुनै ज्यामितिले काम गरेको छ न त कुनै साइनठिटाले ।
अस्ति मात्रै शान्ता चौधरीको भाषण सुन्दै थिएँ । उनी भन्दै थिइन्, ‘ए साथिहरू, पढेकाले होइन परेकाले हो वास्तविक नेतृत्व गर्ने । मैले भोगेको कमलरी पढेकाले कति बुझ्नु होला ?’ कता कता मलाई हो जस्तै लाग्यो । किताब पढेकाले अक्षरमात्रै घोकेको छ । हलो जोत्नेबारे पढ्नु र वास्तविक हलो जोतेर कर्म गरेकोमा कर्म गर्ने नै बढी जानकार हुन्छ ।
२/४ दिन अगाडि बालेनका कुरा सुन्दै थिए । उनी भन्दै थिए, ‘हामी इन्जिनियर निकै ठूलो मान्छे जस्तो गर्छौं । हामी घरको नक्शा कोर्ने त हो ।’ घर त मिस्त्रीले नै बनाउने हुन । कमसेकम इन्जिनियरलाई ती काम गर्दै गरेका मिस्त्रीबाट सिकाइ प्रशिक्षण दिनु पर्नेमा उल्टै मिस्त्रीलाई तिनै इन्जिनियरबाट प्रशिक्षण दिने गरिन्छ ।
केही समय अगाडि म कुनै स्थानीय तहमा पुगेको थिए । त्यहाँका सचिवले आफ्नै कार्यकक्षमा कम्प्युटर अपरेटरलाई बोलाइ आदेश दिंदै थिए, ‘भोलि म प्रशिक्षण दिन जानुछ । मलाई एउटा कार्यपत्र बनाइदेऊ ।’ कम्प्युटर अपरेटर ‘हस सर’ भन्दै लागे आफ्नो कार्यकक्षमा । मसँगै एक जना बहिनी थिइन् । उनले मेरो मुखतिर हेदै भनिन् ‘आफूले प्रशिक्षण दिने रे, तयारी चाहिं कम्प्युटर अपरेटरले बनाउने रे ।’ मैले मुसुक्क हाँस्दै भनें, ‘पहिले पहिले नेपालमा सामान्ती थिए अहिलेको नेपालमा नवसमान्ती आएका छन् ।’
यी र यस्ता उदाहरण धेरै छन् मेरा आँखा अगाडि । कहिलेकाहीं त एक्लै हाँसो लागेर आउछ । जो राम्रोसँग गाडी चलाउन जान्दैन उसैले ड्राइभरको भिड जम्मा गरेर कागजी गाडी चलाउन सिकाइरहेको हुन्छ, दम नभएको प्रमाणपत्रको आडमा । यो झलक देख्दा लाग्छ, ‘इन्द्रका अगाडि स्वर्गको वयान’ उखान यसै भनेको होइन ।
विद्यार्थीले पढेर, दिनरात दिमाग घोटाएर प्राप्त गरेका ती दमविहीन प्रमाणपत्र त केवल जागिरखाने वा अवसर लिने चाबी मात्र भएका छन । जसको प्रयोग परीक्षाका लागि मात्रै गरिएको थियो । वास्तविक ज्ञान त ती व्यक्तिसँग छ जो अभ्यासरत छन् ।
पछिलो समय पढाइसँगको अर्को तीतो सत्य के छ भने, भर्खर भर्खर पढेर जागिर खाउँला वा कतै नियुक्ति पाउँला भनेर मरिमेटेका अवोध विद्यार्थीमाथि ठुलो अन्याय भएको छ ।
अन्याय कसले गर्यो ? – वृद्ध विद्यार्थीहरूले ।
के हो वृद्ध विद्यार्थी ? – जसले कुनै वेला आफूलाई आर्थिक लाभ मिल्ने विषय लियो, पढ्यो, जागिर खायो, विहे गर्यो, छोराछोरी पायो । जागिरबाट रिर्टायड लाइफ फर्कियो । अब के छ त अवसर ? यो विषयको प्रमाणपत्र भए त फलाना ठाउँमा अवसर पाइने थियो भन्यो, फेरि पढ्न शुरु गर्यो । मिलेसम्म त्यहाँ पढ्दा पाउने सेवासुविधा पनि लपेट्यो ।
मैले यो भनी रहँदा, पढ्ने अधिकार सबैको छ पढ्न पाउनुपर्छ भन्ने पनि होला । हो, पढ्न पाउनुपर्छ । पढ्न पाउने सबैको अधिकार हो । तर उमेर गइसकेर पढेको पढाइको प्रमाणपत्रको आडमा नयाँ पुस्ताको अवसर खोस्न भने पाइँदैन । पढ्ने, उमेरमै टन्न कमाउने, रमाउने, सबैतिर बुझेर अवसर र अर्थ लाभका लागि दमविनाका प्रमाणपत्र देखाएर नवपुस्ताको अधिकार खोस्न चाहिं पाइँदैन ।
पछिल्लो समय धेरै क्याम्पसमा आफ्नो उमेर समूहमा आफ्ना जिम्मेवारी पूरा गरी समय कटाउन आउने वृद्ध विद्यार्थीहरूको समूह निकै ठुलो देखिन्छ । उनीहरू आफ्नो उर्जावान समयमा आफ्ना काम जिम्मेवारी सकेर त्यहाँ आउनुको अर्को उदेश्य हरेक क्षेत्रमा पाइने अवसर हो । पछिल्लो समय राजनीतिक नियुक्तिका लागि केही समान्य सर्तमा दमविनाका प्रमाणपत्र अनिवार्य गरेसँगै त्यही लोभमा पनि धेरै वृद्ध विद्यार्थी क्याम्पस जान थालेका छन् । ‘उनीहरूले क्याम्पस जाँदैमा पहाड खस्यो त !’ भन्ने जमात पनि होला तर पहाडै नखसे पनि एउटा कलिलो विद्यार्थीको भविष्य खोसिन्छ । उनीहरू व्यवाहारिक ज्ञानमा दखल नरहने गर्दा सीमित कोटाका विषय अध्ययन गर्ने युवा विद्यार्थी बन्चित हुन पुग्छन् । यदि अध्ययन नै गर्ने अवसर पाए भने हरेक दिन क्याम्पस धाउने समूह उर्तीण हुन सक्दैन परीक्षाको समय २–४ दिन गेस पेपर हेरे परीक्षा दिने पास हुन्छ । किनकि ऊ ती काम व्यहारिक रूपमा गरेर आएको हुन्छ । अर्कोतर्फ बुढेसकालको अवसरकै लागि भनेर पढ्नेहरूले सहजै अवसर लिन सक्छन् – प्रभाव र पहुँचका आधारमा ।
त्यसैले पढ्न पाउने अवसर सबैका लागि सिर्जना गर्नुपर्छ । तर त्यही पढाइबाट प्राप्त प्रमााणपत्रबाट लिइने अवसरका लागि भने उमेर हदको प्रावधान लगाउन अति आवश्यक देखिन्छ । नेपालमा अध्ययन गर्ने उमेर भनेको बढीमा ३० भित्र हो । सो उमेरहदमा प्रमाणपत्र लिएकालाई अवसर दिने परिपाटी ल्याएमा नयाँ पुस्ताका विद्यार्थीलाई केही हदसम्म राहत होला । नत्र नयाँ पुस्ता अवसर नपाई निरासिएर विदेशतिर भौंतारिने र नेपाल वृद्धको देश नहोला भन्न सकिन्न ।
अबको पुस्ता विदेशियो भने नेपाल फर्केर आउने छैन । कारण, यहाँ हरेक क्षेत्रमा वर्षौंदेखि एउटै व्यक्तिले अवसर लिई राख्नु हुनेछ । तर अब नयाँ व्यहारिक रूपमा काम गर्न सक्ने युवा पुस्तालाई स्थापित गर्न नसक्ने परिपाटीको अन्त्य हुन आवस्यक छ । यसतर्फ वेलैमा सरकार र सरोकारवालाको ध्यान पुगेन भने भीरमा गएको गोरूलाई रामराम भन्न सकिएला काँधै थाप्न सकिंदैन भन्ने उखान नेपालका लागि चरितार्थ हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।