वियोगजन्य प्रेमानुभूति र नोस्टाल्जियाको प्रकृति उस्तै हुन्छ । यी दुवैले कविलाई भावुक बनाइदिन्छन् । उक्त परिस्थितिका कारकहरूलाई सम्झेर ठाउँ ठाउँमा आन्दोलित हुने र विद्रोही स्वर निकाल्नेबाहेक कविले अरू केही पनि गर्न सक्दैन ।

१. विषय प्रवेश

युवाकवि सुरेश राईद्वारा लिखित ‘सम्झनाको फोटोकपी’ कवितासङ्ग्रह साहित्यपोस्टबाट २०८० चैतमा प्रकाशित कविको पहिलो कृति हो । पहिलो कृति भए पनि यसमा कवि राईको घरदेश र परदेशका अनेकौँ संवेगजन्य भावहरूको साधारणीकरण गरिएको छ । फुटकर संरचनाका ५० ओटा नेपाली र ३ ओटा अङ्गे्रजी गरी ५३ ओटा कविताहरूको प्रस्तुत सङ्ग्रह ११२ पृष्ठमा रहेको छ । कुनै भूमिका, शुभकामना वा लेखकीय आत्मकथनबिना सरासर कविताहरू समावेश गरिएको यस सङ्ग्रहमा आभ्यासिक चरणदेखि लिएर परिपक्व चरणसम्मका कविताहरू समावेश गरिएका छन् । कवितासङ्ग्रहभित्र समाविष्ट एउटा कविताका आधारमा सिङ्गो कृतिको शीर्षकीकरण गरिएको यस कृतिभित्रका कविताहरूको रूपात्मक तथा अन्तर्वस्तुगत पक्षको विश्लेषण गरी केही सान्दर्भिक अभिमतको स्थापना गर्नु यस लेखको प्रमुख अभीष्ट हो ।

२. ‘सम्झनाको फोटोकपी’ कवितासङ्ग्रहका कविताको रूपात्मक स्वरूप

प्रस्तुत कवितासङ्ग्रहको शीर्षकलाई हेर्दा यस सङ्ग्रहभरि घरदेश छाडेर परदेशमा जीवन बिताउनुपर्दाका पीडाभित्र लुकेको स्मृतिजन्य परिवेशको प्रभाव रहेको जस्तो देखिन्छ तर यहाँ सम्झनामा केन्द्रित मात्र नभएर विभिन्न विषयवस्तुमा आधारित कविताहरूको बाहुल्य छ । मूल शीर्षकीय कवितामा हरेक वस्तुको तत्काल मात्र महत्त्व हुन्छ, स्मृतिविम्ब पनि सुरु सुरुमा उज्यालो हुन्छ तर समय व्यतीत हुँदै जाँदा त त्यो पनि धमिलिँदै गएर फोटोकपीमा परिणत हुन्छ । अर्थात् सुरुमा आउने सम्झना हुन् तर बिस्तारै ती सम्झना पनि स्वयम् सम्झना बन्दै जाने रोचक तर तार्किक कुरालाई यहाँ अगाडि सारिएको छ । यस सङ्ग्रहमा ट्रेन्डिङ, कि त आँखाहरू झुट बोल्छन्, घङ्गरुका बोटहरू, दूरी, प्रिय अब छुट्नुपर्छ, काश, मेसिनहरूको विरुद्धमा, माटोको यात्रा, मेरो कविता बरु, एउटा चिठी, हवाईजहाज मन, आमाको विश्वास, टग अफ वार, काठमाडौँले मताउँछ, पानीको गुनासो, नक्कली दूरबिन, थोपाहरूको आन्दोलन, कहिलेकाहीँ, जनता, प्रिय हातहरू, लामो दूरीको सम्बन्ध, वनझाँक्री, चक्रपथ, वेलकम समर, भाग्यशालीको कविता, मृत्युवादी कवि, मीठो झगडा, रोचकहीन मान्छे, ई–प्रेम, पासवर्ड, त्यो मध्यपहाडी ठिटो, चामाचाम, प्रेमविधान, सम्झनाको फोटोकपी, कायममुकायम ईश्वर, हुकुम, जन्मथलो, बाटो, कसिङ्गर, रूपान्तरित आमा, अन्तिम कथा, देश परदेश, शक्तिशाली छोरी, सतिसाल, सूर्य र पृथ्वी, शङ्का, ह्वेल माछाको कान, माहुरी, म भुवा हुँ, गाउँ आई फर्केको बाटो जस्ता शीर्षकका ५० ओटा मूल कविताहरू र ‘बोनस कविताहरू’ शीर्षकमा राखिएका My Mother’s Belief,  The Tug of War  /  The Poetry of Fortune तीनओटा अङ्ग्रेजी कविता गरी जम्मा ५३ ओटा कविताहरू समाविष्ट छन् ।

यी कविताहरूका विषय केही वैयक्तिक र केही निर्वैयक्तिक छन् । नेपाली समाज, जीवन र कविअनुभूतिसँग जोडिएका विविध पक्षहरू यस सङ्ग्रहका कविताका विषय बनेर आएका छन् । यहाँ कवि बतै बाह्य दृश्य जगत्को वर्णनात्मक प्रस्तुतिमा उभिएका छन्, कतै देशभक्ति जस्तो संवेगात्मक विषयमा पोखिएका छन्, कतै आत्मिक प्रेमको संयोगान्त एवम् वियोगान्त परिणतिसम्म पुगेका छन्, कतै परदेशका पीडाहरूको साधारणीकरण गर्न आएका छन्, कतै देशको विकासप्रतिको चिन्तामा, कतै ब्रह्माण्डको व्याख्यामा र कतै जीवन, जगत्, भोगाइ र मानवीय चरित्रका अनेकौँ रूपहरूको तर्कपूर्ण उद्घाटनमा लागेका छन् । यसका आधारमा हेर्दा प्रस्तुत कवितासङ्ग्रहभित्रका कविताहरूको बाह्य विषय वा रूपात्मक पक्ष नै विविधतामय देखिन्छन् र यसले सामान्यतः मानव जीवनका हरेक क्षेत्रमा आइलाग्ने विविध विषयहरूको सिर्जनात्मक प्रतिनिधित्व गरेको देखिन्छ ।

३. ‘सम्झनाको फोटोकपी’ कवितासङ्ग्रहका कविताको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना

प्रस्तुत कवितासङ्ग्रहको अन्तर्वस्तु लेखकीय संवेगात्मकतासँग सोझै जोडिएको छ । यहाँ कविको संवेगको प्रवर्तन वा संवेदनाको जागरण वियोगान्त परिवेशबाट भएको देखिन्छ । पछाडिको कभरपृष्ठमा आएको कविकथनले आफू विदेशी भूमिमा रहेकै समयमा आमाको निधन भएको, कोरोनाका कारण घर आउन नपाएको र पछि आउँदा आमा निर्जीव शिलापत्र बनिसकेको विषयात्मक सङ्केतले यहाँका कविताहरू विचार प्रधानभन्दा बढी भावना प्रधान छन् र यिनमा संवेगात्मक परिवेशको उच्चतम प्रयोग गरिएको छ भन्ने कुरा थाहा पाइन्छ ।

प्रस्तुत कृतिको शीर्षकीकरण नै अलि फरक खालको हुनाले यसमा पाठकीय कौतूहल स्पष्ट रूपमा देखिन्छ । ‘सम्झनाको फोटोकपी’ यस सङ्ग्रहभित्रको एउटा कविताको शीर्षक हो तापनि यसमा अन्य कविताहरूको पनि अन्तर्घुलन भएको देखिन्छ । सम्झना त सम्झना नै हो, त्यो जहिले आए पनि फरक पर्दैन तर त्यो पनि समयसापेक्ष हुन्छ भन्ने नवीन चिन्तनको स्थापना यहाँ भएको छ । ‘पुरानो टकमा खिया लाग्छ’ भन्ने नेपाली उखान नै छ । यसको प्रयोग कुनै धातु वा वस्तुमा मात्र नहुँदो रहेछ । शोक, संवेदना, हर्ष र सम्झना जस्ता अमूर्त कुराहरूको पनि युगीन महत्त्व घट्दै घट्दै जाँदो रहेछ । मानवीय संवेगको अवमूल्यनलाई यी हरफहरूले साँच्चै सुन्दर तरिकाले चित्राङ्कन गरेका छन्—

नानीहरू हो,

पोहोरपरारसम्म त मलाई

तिमीहरूको आप्पाको

बेस्सरी सम्झना आउँथ्यो

आजभोलि

ती मूल सम्झनाहरूको सम्झना मात्रै आउँछ ।

(सम्झनाको फोटोकपी, पृ. ७४)

यस कुराले मानवीय संवेगहरू बिस्तारै बिस्तारै जड बन्दै जाने र एक दिन मानवीय हृदय र पत्थरमा समकक्षता निर्धारण हुने त होइन ? भन्ने प्रकारका अनेकौँ आशङ्काहरू यस शीर्षकले र यहाँ प्रस्तुत विषयले जन्माइदिएको छ ।

प्रस्तुत सङ्ग्रहका कवितामा अन्य विविध संवेगात्मक अन्तर्वस्तुभित्र लुकेको भावगत अभिव्यञ्जना अझै सशक्त देखिन्छ । ट्रेन्डिङको खोजीमा हिँडेको मानव मृत्युरूपी महाट्रेन्डिङसम्म पुगेर अस्ताउने सन्दर्भमा जीवनचक्रको एउटा विशिष्ट स्वरूप पाइन्छ । आँखा बाह्य तत्त्व हो भने मन आन्तरिक तत्त्व हो, यी दुईका बिचमा कुन सत्य हो भनेर सत्यता खुट्याउन गाह्रो परेको सन्दर्भले दृश्य जगत् र हृदयसंवेद्य जगत्बिचको पृथकतालाई देखाउन खोजेको छ । यसरी नै घङ्गरुमा आएको परिवर्तन, मेसिनमा रूपान्तरण हुँदै गएका संवेगहरू, माटोको अनन्त यात्रा, कविताको अपेक्षित विश्व, एउटा चिठीभित्र समेटिएको जीवनबोध तथा युगबोध, हवाईजहाजरूपी मनको उडान, आमाको विश्वासभित्र समेटिएको लोकजीवन, संवेदनशील काठमाडौँको जडतामा रूपान्तरण, पवित्र पानीको बाध्यात्मक अवस्था, यथार्थ देख्न नसक्ने नक्कली दूरबिनभित्र लुकेको व्यङ्ग्यचेत, थोपाहरूको आन्दोलनले सङ्केत गरेको वर्गद्वन्द्व एवम् पहिचानको स्वर, वनझाँक्रीको विम्बभित्र लुकेको नेतृत्ववर्गको स्पष्ट चित्र, कविता र कविबिचमा हुने गरेको जीवनवादी र मृत्युवादी चिन्तनबिचको अन्तर्विरोध, प्रविधिको विकाससँगै आएको ई–प्रेमभित्र लुकेको युगीन प्रहार, विकासका नाममा हुने गरेका प्राकृतिकपनको विनाश तथा आफ्नोपनको अवसान, हरेक क्षेत्रमा देखिने कामचलाउ प्रवृत्तिका कारण कायममुकायम बन्दै गएको ईश्वरीय दायित्व, आमाको रूपान्तरित स्वरूप, देश र परदेशका बिचको मानसिक द्वन्द्व, नारी जातिको सशक्तीकरणको आवश्यकता बोध, आफूलाई भुवाका रूपमा राखेर हेरिएको विश्वचेतना आदि जस्ता कुराहरूले यस सङ्ग्रहका कवितालाई अन्तर्वस्तुगत रूपमा निकै सबल बनाएका छन् ।

कवि सुरेश राई दृश्य यथार्थसँग निकै मजाले खेल्न सक्छन् । वस्तु र संवेदनाको अन्तर्घुलनबाट निस्किएको एउटा मनमोहक स्वरूप नै उनका कविताको चिनारी हो । सुनेको कुराभन्दा आँखैले देखेको कुरा सत्य हुन्छ भन्ने वैचारिक आदर्श नेपाली समाजमा युगौँयुगदेखि चल्दै आएको कुरा हो तर कवि राई बाह्य सत्यताको साक्षी आँखामा पनि खोट देख्छन् । यस कुराप्रतिको अत्यन्त फरक र तार्किक दृष्टिकोणको स्थापना कविले यसरी गरेका छन्—

आजभोलि सोच्ने गर्छु

यो सारा सृष्टिभरिमा नै

कि त आँखाहरू झूट बोल्छन्

कि त मनहरू कुरा बुझ्दैनन् ।

(कि त आँखाहरू झूट बोल्छन्, पृ. ९)

वर्तमान विज्ञान र प्रविधिको युग हो । यहाँ सत्य र तथ्यमा आधारित विषयहरूको स्वाभाविक विश्लेषण हुने गर्दछ । जब कवितामा लोकविम्बहरू प्रवेश गर्दछन्, जब कवितामा आफ्नै समाजका विश्वास, अन्धविश्वास वा चालचलनहरू प्रवेश गर्दछन् तब त्यो कविता समाजको हुन थाल्दछ । यस कुराको साक्ष्यलाई कविचेतनाको शाश्वत यथार्थ र धामीले सातो पक्रने सामाजिक विश्वासको अन्तर्घुलनबाट प्रस्तुत गरिएको छ । यसका साथै आजका कविताका सर्जक, सर्जकीय चेतना र क्रियाकलाप तथा तिनका अनेकौँ बाधकहरूका बारेमा पनि यहाँ कविले अत्यन्त शिष्ट र रोचक शैलीमा आत्मविमतिहरू प्रस्तुत गरेका छन् । अबको युगमा बिस्तारै रोबोटहरू हाबी हुँदै जाने छन्, कविताजस्तो प्रतिभासँग जोडिएको कुरा पनि च्याट्जिपिटीबाट जन्मन थाल्ने छन्, प्रविधिले मानवीय संवेदनालाई सिध्याउने छ र आत्महृदयको हर्ष, बिस्मात्, सुख, दुःख, उत्साह आदि सबै कुराहरूलाई खोज्नका लागि आधुनिक बजारका नियोजित पसलहरूमा पुग्नुपर्ने हुन सक्छ भन्ने जस्ता अत्यन्त गम्भीर विषयलाई कविले यहाँ यसरी अगाडि सारेका छन्—

जिन्दगीको सुर–बेसुरमा

ताल–बेतालसँग हिँडिरहेको एक कविले

समात्छ अचानकै भावनाको अदृश्य बीज

कुनै धामीले हावामा सातो पक्रेझैँ

र कैद गरेझैँ मुठीमा फू छु मन्तर ।

……

जब कविता जान्छ, आधुनिक बजारमा

सताइन्छ बजारका नानाथरी काण्डहरूद्वारा

पछ्याइन्छ, लखेटिन्छ भाइरलहरूबाट

उसको जन्म र अस्तित्वमाथि नै प्रश्न गरिन्छ

के तिमी च्याट्जिपिटीद्वारा लेखिएका हौ ?

के तिमी कुनै मेसिनद्वारा उत्पादित छौ ?

तिमी असली कविता हुँदै हैनौ

तिम्रा भावनाहरू कति पुराना

खै, तिमीमा चमकधमक र रौनक ?

खै तिमीमा बिक्री हुने कन्टेन्ट ?

धत्, कस्तो बिक्न नसक्ने कविता ?

तब अत्तालिएर रुँदै घर फिर्छ कविता

जस्तो कि सातो गएको कुनै बालक

(मेसिनहरूका विरुद्धमा, पृ. १८ र १९)

साथै हरेक कुरा प्रविधिबाट नै चल्न थालेपछि विकसित हुने ई–प्रेम कस्तो होला र संवेदनालाई लगेर यन्त्रमा हाल्दा त्यसको स्वरूप कस्तो बनेर निस्कला भन्ने कविको आशङ्कामा कवितात्मक सौन्दर्यको एउटा फरक स्वाद उत्पन्न भएको छ—

यो ईश्वरबिनाको ई–शासनमा

ई–पत्रहरूमा गफ उडाउँदै

ई–सिगेरेटको धुवाँ पिउँदै आऊ,

हामी ई–प्रेम गरौँ ।

(ई–प्रेम, पृ. ६२)

       हरेक वस्तुलाई हेर्ने सूक्ष्मदृष्टि र दार्शनिक विश्लेषण कवि सुरेशका कविताको आत्मवैशिष्ट्य हो । यहाँ कविले आगोलाई माध्यम बनाएर प्रेमको गहिराइलाई मापन गर्ने प्रयास गरेका छन्, जुन अत्यन्त सुन्दर छ । जुन वस्तुको प्रयोजन जे हो, त्यही हुन सकेन भने त्यसले भौतिक रूपमा वितण्डा मच्चाउने कुरा यथार्थको उद्घाटन हो तर त्यही वस्तुलाई अदृश्य संवेगसँग जोडेर बाहिर निकाल्नु चाहिँ कलात्मक उच्चता हो । यहाँ आगोका प्रिय स्वरूप, उद्दण्ड स्वरूप आदिको चर्चा गर्दै गएर विप्रलम्भ संवेदनाको कारकका रूपमा पनि त्यसैलाई उतार्दा कवितात्मक सौन्दर्यमा थप वृद्धि भएको छ—

अँगेनामा हुनुपर्ने आगो

खडेरीमा बाटो बिराउँछ कहिलेकाहीँ

र जङ्गल पस्छ भयङ्कर भएर

सुकेका सिन्का–सिन्कालाई सलेदो पारेर

हावाका झोँका–झोँकाको बुई चढेर

ताण्डव देखाउँछ, ताण्डव

टेर्दैन हत्तपत्त कसैलाई

त्योसम्म त थाहा छ मलाई

तर कसरी त्यो आगो सल्किन आइपुग्यो

आज मेरै मुटुमा

यो असार साउनको सिमसार महिनामा

यो आँसुको वर्षात्ले भिजेको छातीभित्र

कसरी घुस्यो चिसो छेडेर आगो ?

(एउटा चिठी, पृ. २५)

तर्कविहीन, प्रमाणविहीन, आधारविहीन तर समाजमा युगौँयुगदेखि जरा गाडेर बसेका अन्धविश्वासहरू नेपाली समाजका सम्पत्ति हुन् । तिनले एकातिर मान्छेलाई सचेत गराउँछन् भने अर्कातिर तार्किक पनि बनाउँछन् । घाँटी छुँदा फु गर्नुको कुनै कारण छैन । बिरालोले बाटो काट्दा साइत बिग्रने, अनुहारमा ध्वाँसो लागे पाहुना आउने, पानीमा थुक्दा सिमदेवता लाग्ने, राति सुसेल्दा सह भाग्ने वा अलच्छिन लाग्ने आदि जस्ता कुराहरू केवल आमाका विश्वास मात्र हुन् । ती विश्वासहरू सन्तान पुस्तासम्म आइपुग्दा अन्धविश्वास बनेर आउने गरेका छन् र तिनको तार्किक पुष्टि र कारण आजको पुस्ताले खोज्न थालेको कुराको उद्घाटन पनि यहाँ यसरी गरिएको छ—

सानै थिएँ

कुटो बोकेर निस्किएँ

लसुन गोड्न

जब आमाले भन्नुभो–

बाबु, अल्छीको थालीमा

भात ओर्लिन अल्छी गर्छ

र पन्यूमै टाँसी बस्छ ।

(आमाको विश्वास, पृ. २९)

यसरी नै यहाँ मद्यपानको सन्दर्भसँग काठमाडौँलाई जोडेर एउटा सुन्दर एवम् चमत्कारपूर्ण अनुभूतिको कोलाज निर्माण गरिएको छ । जस्तोसुकै गुणस्तरीय रक्सी भए पनि त्यसलाई नेट पिउँदा उत्पन्न हुने मातलाई दृष्टान्तका रूपमा प्रस्तुत गरेर काठमाडौँ देशको राजधानी भए पनि यसले सबै वर्ग, सबै जाति वा सिङ्गो देश र जनताका लागि खेल्नुपर्ने भूमिका खेल्न नसकेकामा चोटिलो प्रहार वा व्यङ्ग्यको उच्चतम रूपको प्रयोग यसरी गरिएको छ—

महोदय,

काठमाडौँलाई स्वाट्टै अमिश्रित नपिउनू

काठमाडौँले मताउँछ

मातेपछि न देखिन्छ भुईंमान्छे

न देखिन्छ पुलमुनिका बस्ती

न देखिन्छ दूरदराजका गाउँघर

न देखिन्छ मिटरब्याजका पीडित

न देखिन्छ सडक

न देखिन्छ माइतीघर मण्डलाको विरोध ।

(काठमाडौँले मताउँछ, पृ. ३३)

कवि राई अत्यन्त गहिराइमा पुगेको वस्तुको संवेगात्मक विश्लेषण गर्ने कवि हुन् भन्ने कुराको साक्ष्य उनले आफैँमा पवित्र, शुद्ध, फोहोर पखाल्ने पानीको निम्नलिखित आत्मकथ्यमा फेला पर्दछ—

किन नउम्लिनु म लाभा बनेर ?

र, जलाउन नपाउनु भ्रष्टहरूको घाँटी ?

प्रमाण मेटाउनलाई किन धुनु मैले

हत्यापछि हत्याराको रक्ताम्य चक्कु ?

किन पखाल्नु मैले बलात्कारपछि

बलात्कारीको वीर्य ?

(पानीको गुनासो, पृ. ३५)

नेपाली लोकजीवन र वर्तमानको यथार्थलाई जोड्ने कुरामा कवि राई निकै सफल देखा पर्दछन् । सुनेको दन्त्यकथामा वनझाँक्री भयानक हुँदाहुँदै पनि सो कथा रोमाञ्चक हुनु र आजको वनझाँक्रीको कथामा भय मात्र पाइनुमा वर्तमान राजनीति, नेतृत्ववर्ग र मानवीय जीवनशैलीमाथि सशक्त व्यङ्ग्य पाइन्छ—

सानोमा सुनेको वनझाँक्रीको कथा

डरलाग्दो थियो

डरसँगसँगै रोमाञ्चक पनि थियो

किन होला हजुरबा

अहिले सुनेको वनझाँक्रीको कथा

डरलाग्दो मात्रै छ

सारै सारै डरलाग्दो छ ।

(वनझाँक्री, पृ. ५०)

यसरी नै आजका मान्छेको चरित्रले ईश्वरीय सृष्टिलाई पनि जितिरहेको छ । जुन वस्तुको प्रभाव क्षेत्र जति हो, त्यतिमा मात्र सीमित रहनु हो भने त्यसको सार्थकता झल्किन्छ तर हरेक हानिकारक वस्तुको अत्यधिक प्रयोगले गर्दा मानव दानव बन्दै गएको विषयलाई यहाँ कविले मदिरापानको दृष्टान्तका माध्यमबाट यसरी उठाएका छन्—

पिउनेहरूलाई त्यति मात्रै

पिउन सक्ने बनाइदिन्छु

जति पिउँदाखेरी ऊ

फूलझै मुस्कुराउँछ र खुसी हुन्छ

जति पिउँदाखेरी ऊ

मान्छेबाट पशु

र पशुबाट दैत्य हुँदैन ।

(कायममुकायम ईश्वर, पृ. ७६)

       कवि राईका सबै कविताहरू अन्तर्लयात्मक गद्यसंरचनामा आबद्ध छन् । यति हुँदाहुँदै पनि कविमा लोक लयात्मक चेतनाको आंशिक प्रभाव परेको देखिन्छ । आक्षरिक वा उच्चारणगत शाब्दिक समानताबाट उत्पन्न हुने गतियतिमैत्री प्रवाह नै कविताको बाह्यलय हो । कविको निम्नलिखित अभिव्यक्तिलाई हेर्दा उनले लोकलयलाई पनि प्रयोग गरेर सुन्दर कविता र गीतहरूको रचना गर्न सक्ने सम्भावना देखिन्छ—

गोलो छ भन्छन् यो पृथ्वी

सकिएन कर्मको रेखा मेट्न

भाँच्चिएकै स्यान्डल लाएरै पनि

बत्तासिँदै आउँथ्यौ म भेट्न ।

(लामो दूरीको सम्बन्ध, पृ. ४७)

कविता व्याख्या होइन, सूत्र हो । कविताका लागि कुनै लम्बेतान व्याख्यान आवश्यक छैन । थोरै शब्दमा धेरै कुरा भन्न सकिने शक्ति हुनाले कविताहरू सूक्ति बनेका हुन् । भावगाम्भीर्य कविताको सबैभन्दा ठुलो शक्ति हो । कवि राईका भावगम्भीर कवितात्मक हरफहरू वा सूत्रले सङ्केत गरेका व्यापक आर्थिक परिवेशहरूको जीवन्त उपस्थिति देखिने खँदिला भनाइहरू यहाँ प्रशस्त पाइन्छन् ।

कहिले आउँछिन् रे उनी

अँगालोभरि शीतल समुद्र बोकेर

यो जलिरहेको मुटु डुबाउन ?

(एउटा चिठी, पृ. २६)

यस्तो केवल प्रेममा मात्रै सम्भव छ कि

सूर्य र पृथ्वीले आफ्नो ठाउँ बदल्न सक्छ ।

(सूर्य र पृथ्वी, पृ. ९६)

म भुवा हुँ

मेरो मन कपास हो

तिम्रो सौन्दर्य वेगवान् बतास हो ।

(म भुवा हुँ, पृ. १०२)

यसरी कवि सुरेश राईका कविताको अन्तर्वस्तु वर्तमान युगचेतनाको समग्रताको सम्मुख देखिन्छ । यहाँका भावगत अभिव्यञ्जनाका जराहरू निकै परसम्म फैलिएका छन् । अभिव्यक्तिगत कलात्मकता र विषय विश्लेषणसम्बन्धी तार्किकताले कवितालाई शक्तिशाली बनाएका छन् । केही ठाउँमा आउने विषयवस्तुको सपाट वर्णनदेखि बाहेक अधिकांश अभिव्यक्तिमा आर्थिक ध्वन्यात्मकताकै उपस्थिति देखिने हुनाले यिनमा कवित्वको अपेक्षित सफलता फेला पर्दछ ।

  ४. सान्दर्भिक अभिमत

सामान्यतः कवितालाई कविता बनाउने एक मात्र तत्त्व लयविधान हो । कविता पद्य विधाअन्तर्गत पर्छ । चाहे बद्ध छन्द (वार्णिक, मात्रिक, लोक, बहर) होस्, चाहे मुक्त छन्द (गद्यकविता) होस्, कविता छन्दविहीन हुनै सक्दैन । बद्ध छन्दमा बाह्य सङ्गीत हुन्छ भने मुक्त छन्दमा आन्तरिक सङ्गीत चेतना प्रबल रूपमा रहेको हुन्छ । त्यसैले यसलाई गद्य र पद्य गरी विभाजन नगरे पनि हुन्छ तापनि पाठकीय बुझाइ पद्य भन्नासाथ वार्णिक, मात्रिक र लोक छन्दमा लेखिएका कवितामा मात्र सीमित रहने हुनाले संरचनात्मक बोधको सहजीकरणका लागि कवितालाई गद्यकविता र पद्यकविता भन्नुपरेको हो ।

गहन रूपमा हेर्दा छन्द वा लय बाह्य र आन्तरिक दुई प्रकारका हुन्छन् । शास्त्रीय नियममा बाँधिने वार्णिक, मात्रिक, लोक र बहरमा बाह्य सङ्गीत हुन्छ भने मुक्त छन्दमा आन्तरिक सङ्गीत हुन्छ । कविले यी जुनसुकै लयको प्रयोग गरे पनि हुन्छ तर नेपाली कविता परम्परामा यिनै दुई प्रकारका लयविधानलाई लिएर एक प्रकारको युद्ध नै चलेको देखिन्छ । छन्दमा कविता लेख्नेले गद्यमा लेख्नेलाई कवि नै नगन्ने र गद्यमा लेख्नेले छन्दमा लेख्नेलाई कवि नै नगन्नेजस्तो निषेधको वातावरण सिर्जना भएको तथ्य पनि हाम्रा सामु छ । यी दुवै नेपाली कविता क्षेत्रमा विगत तीन दशकअगाडि देखिएका अतिवादहरू हुन् । गद्यकविहरूले छन्दमा कविता लेख्ने जतिलाई छन्दे, सिलोके आदि भन्नु र छन्दमा लेखिएको कवितालाई कविता नै नमान्नु एकातिरको अतिवाद हो भने छन्दकविहरूले गद्यमा कविता लेख्नेलाई गद्दु, टुक्के आदि भन्नु र गद्यमा लेखिएको कवितालाई कविता नै नमान्नु अर्कातिरको अतिवाद हो । यी दुवै प्रकारका अतिवादलाई चिरेर चाहे छन्दमा लेखियोस्, चाहे गद्यमा लेखिएको होस्, कविता चाहिँ लेखिनुपर्छ भन्ने मान्यताको विकास नेपाली साहित्यको वर्तमान समयमा भइरहेको छ ।

लय अभिव्यक्तिको माध्यम मात्र हो, अन्तर्वस्तु होइन । त्यसैले गणका साँचामा गन्थन भरेर छन्दमा कविता लेखेँ भन्नु पनि कविता लेख्नु होइन र एउटा वाक्य वा अनुच्छेदलाई दश टुक्रा पारी भाँचेर गद्यमा कविता लेखेँ भन्नु पनि कविता लेख्नु होइन । छन्दकविहरूले सिलोक र कविताका बिचको भिन्नतालाई नबुझेसम्म र गद्यकविहरूले वाक्य वा अनुच्छेद र कविताका बिचको भिन्नतालाई नबुझेसम्म यस प्रकारका बाहिरी लडाइँहरू चलिरहन्छन् । लयविधान अनुभूति सम्प्रेषणको एउटा माध्यम हो । जो गद्यमा पोखिन सक्छ उसले छन्दमा रहर गरेर कवितालाई सिलोक बनाउनतिर लाग्नु हुँदैन र जो छन्दमा पोखिन सक्छ उसले गद्यमा रहर गरेर कवितालाई प्रतिवेदन बनाउनतिर लाग्नु हुँदैन ।

गद्यकविताको लयविधानको पहिचान पद्यकवितामा जस्तो सहज हुँदैन । यसमा बद्ध छन्दमा जस्ता स्पष्ट सूत्रहरू हुँदैनन् । गण, मात्रा, रुक्न वा अक्षरगत एकरूपता आदि कुराहरूबाट यो सधैँ मुक्त रहने हुनाले यो मुक्त छन्द हो तर यसले कविताको आन्तरिक शक्ति वा सङ्गीत चेतलाई भने लिएरै हिँडेको हुन्छ । निश्चित सूत्रमा नबाँधिने हुनाले यसमा बाहिरबाट झट्ट हेर्दा एउटै वाक्यलाई दुईतीन ठाउँमा भाँचेर राखेजस्तो लाग्छ तर त्यसका लागि पनि कविताले आन्तरिक रूपमा आफैँ माग्ने केही तत्त्वहरू छन् जसले गद्यकवितामा लयको निर्माण गर्ने गर्दछन् । ती मूलभूत आधारहरू निम्नलिखित छन्—

(क) भाषिक विचलन वा व्यतिव्रmम

(ख) आनुप्रासिक अन्तर्गुञ्जन

(ग) अभिव्यक्तिगत वव्रmता

(घ) तर्कपूर्ण नवीन दृष्टि

(ङ) विम्ब, प्रतीक, अलङ्कार तथा मिथकको छनोट

उल्लिखित पाँचओटा मूल आधारका केन्द्रीयतामा रहेर तिनका अन्तर्यमा लुकेका भाषिक एवम् अभिव्यक्तिगत सामथ्र्य एवम् वैशिष्ट्यका आधारमा गद्यकविताको लयविधानलाई चिन्न र प्रयोग गर्न सकिन्छ । उल्लिखित पाँचओटा क्षेत्रका आधारमा गद्यकविताको लयविधान हुने गर्दछ । यिनमा पनि वर्णका तहमा, पद वा पदावलीका तहमा, वाक्यका तहमा र सिङ्गो सङ्कथनमा उत्पन्न हुने भाषिक चमत्कारका तहमा रहेर विभिन्न लयको निर्माण हुने गर्दछ । यिनै संरचनात्मक स्वरूपका आधारमा गद्यकविताको लयविधान हुने गर्दछ र तदनुकूल भावगाम्भीर्यको खोजी पनि हुने गर्दछ ।

कवि सुरेश राईका कविताहरू आन्तरिक सङ्गीत चेतनायुक्त गद्यसंरचनामा आबद्ध छन् । यिनमा अभिव्यक्तिको स्वाभाविक प्रवाह त पाइन्छ तर अन्तर्लय निर्माणका लागि आवश्यक आनुप्रासिक अन्तर्गुञ्जनको भने केही कमी देखिन्छ । गद्यसंरचनामा कविता लेख्नेहरूको अर्जुनदृष्टि अन्तर्लय निर्माण, आर्थिक अभिव्यञ्जना र भावगाम्भीर्यमा नै केन्द्रित रहनुपर्छ । यसका लागि कवि सुरेश राईले यही प्रकृतिको शिल्पसौन्दर्यका साथ साधनालाई थप निरन्तरता दिनुपर्ने देखिन्छ र कवितालाई सपाट वर्णनात्मकताबाट बचाउनुपर्ने देखिन्छ । साथै ठाउँ ठाउँमा देखिने पदावलीहरूलाई जोडेर राख्दा एउटा अनुच्छेद बन्ने अवस्थाबाट कवितालाई बचाउनुपर्छ र ठाउँ ठाउँमा छुटेका वर्णविन्यासगत त्रुटिहरूलाई पनि सच्याउनुपर्छ । कविताको मार्ग अलि जटिल नै छ तर गन्तव्य निकै आनन्ददायी छ भन्ने कुरालाई बुझ्नासाथ उल्लिखित ऋणात्मक पक्षहरू धनात्मक पक्षमा रूपान्तरण भइहाल्छन् ।

५. निष्कर्ष

‘सम्झनाको फोटोकपी’ कवि सुरेश राईको पहिलो प्रकाशन हो । पहिलो प्रकाशनमा नै एउटै कृतिमा यति धेरै सुन्दर कविताहरू पाइनु सुखद भविष्यको सङ्केत हो । विषय छनोट, भावगत अभिव्यञ्जना र शिल्पसौन्दर्य तीनओटै पक्षबाट हेर्दा कवि राईका अधिकांश कविताहरू उच्चकोटिका छन् । केहीमा सपाट चित्राङ्कन र वर्णनात्मक उपस्थिति देखिन्छ । यहाँका कवि कतै भोजपुरका गाउँघरमा घुमेका भेटिन्छन्, कतै आमाको ममता र पे्रमिकाको प्रेमालाप सम्झेर भावुक हुन्छन्, कतै देश, देश बन्न नसकेकामा र मानव, मानव बन्न नसकेकामा आन्दोलित हुन्छन् र कतै वैदेशिक स्वर्णिम सपनाभित्र लुकेको भयावह परिवेशको भुक्त संवेदनालाई शब्दमा उतार्न नसकेर छटपटाउँछन्, विक्षिप्त हुन्छन् र सबैले सुन्ने गरी चिच्याउँछन् । मान्छे जति टाढा हुन्छ, त्यति नै सम्झनाका कोलाजहरूको थुप्रो लाग्ने गर्दछ । यहाँका अधिकांश कवितामा प्रेमको कुनै न कुनै रूप पाइन्छ । त्यो कतै देशसँग, कतै आमाबुबासँग, कतै इष्टमित्रसँग र धेरै चाहिँ प्रेमिकासँग जोडिएर आएको देखिन्छ तर यी सबैको एउटै प्रकृति छ, त्यो हो, विप्रलम्भ वा वियोगजन्य परिवेश । यस कारण यहाँ वियोगजन्य प्रेमालापको बलियो उपस्थिति देखिन्छ । यसले कविमनमा नोस्टाल्जियालाई जागृत गराइदिएको छ । जब कविमा नोस्टाल्जिया जागृत हुन्छ, तब कविताहरू भावना प्रधान हुने गर्दछन् । वियोगजन्य प्रेमानुभूति र नोस्टाल्जियाको प्रकृति उस्तै हुन्छ । यी दुवैले कविलाई भावुक बनाइदिन्छन् । उक्त परिस्थितिका कारकहरूलाई सम्झेर ठाउँ ठाउँमा आन्दोलित हुने र विद्रोही स्वर निकाल्नेबाहेक कविले अरू केही पनि गर्न सक्दैन । ‘सम्झनाको फोटोकपी’ कवितासङ्ग्रहका कवितामा कवि सुरेश राईले यही नियति भोगिरहेका छन् । त्यसैले यहाँ वियोगान्त प्रेमालाप र जागृत नोस्टाल्जिया तँछाडमछाड गर्दै अगाडि बढेको स्पष्ट देखिन्छ ।

अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…