
१. विषय प्रवेश
अन्वेषक उमाकान्त पौड्यालद्वारा लिखित ‘बुद्धकालीन समाज’ (पालि त्रिपिटकको साक्ष्यमा) नामक ग्रन्थ लेखकको पहिलो कृति हो । पहिलो कृति हुनु सिकारु प्रयास हुनु मात्र होइन, लामो समयको अदृश्य साधना र गहन अध्ययनको प्राप्ति पनि हो । प्रस्तुत ‘नितान्त नयाँ’ समालोचना अभियानको उद्देश्य पहिलो कृतिका साथै उत्कृष्टताको चयन पनि हो । वि.सं. २०२२ सालमा बागलुङमा जन्मिएर कृषि, पशुपालन र वित्तीय क्षेत्रमा लामो समयसम्म काम गरी सेवा निवृत्त भएपछि गहन अध्ययन, अनुसन्धान, लेखन र प्रकाशनका क्षेत्रमा समर्पित अनुसन्धाता पौड्यालको प्रस्तुत कृति पहिलो भएर पनि ऐतिहासिक मूल्य वहन गर्न सक्ने प्रकृतिको छ । २०८० सालमा फाइनप्रिन्ट बुक्सबाट प्रकाशित ३०२ पृष्ठको यस कृतिमा पालि त्रिपिटकको मूल रूपलाई साक्ष्यका रूपमा प्रस्तुत गरेर अनि त्यससँग सम्बन्धित दर्जनौँ कृतिहरूलाई सहयोगी सामग्रीका रूपमा उभ्याएर बुद्धकालीन समाजको ऐतिहासिक यथार्थको वस्तुपरक स्थापना गर्ने प्रयास गरिएको छ । कृतिको मूल सामग्री सुरु हुनुभन्दा अगाडि नै ‘यो पनि पढ्दा राम्रो’ शीर्षकको लेखकीय अभिमत कृति सिर्जनाको उत्प्रेरणा वा रचनागर्भका रूपमा आएको छ । यसले पाठकीय अवधारणा निर्माणका लागि सहयोग पुर्याएको छ । सूचना र ज्ञानले खारिएको मस्तिष्कको उपजका रूपमा आएको प्रस्तुत कृतिको बाह्य तथा आन्तरिक स्वरूपका बारेमा विश्लेषणात्मक चर्चा गरी सान्दर्भिक अभिमतसहितको विमर्श प्रस्तुत गर्ने प्रयास यस लेखमा गरिएको छ ।
२. ‘बुद्धकालीन समाज’ कृतिको बाह्यसंरचना र विषयात्मक सन्दर्भ
‘बुद्धकालीन समाज’ सिर्जनात्मक नभएर अनुसन्धानात्मक कृति हो । सिर्जनामा हार्दिक पक्ष प्रबल हुने गर्छ भने अनुसन्धानमा बौद्धिक पक्षको सशक्त उपस्थिति हुनु अनिवार्य छ । यस ग्रन्थमा बुद्धकालीन समाजलाई केन्द्रमा राखेर बुद्धसम्बन्धी विभिन्न पक्षहरूको तार्किक विश्लेषणका साथमा वस्तुपरक तथ्यहरूको स्थापना गरिएको छ । अग्र भागमा ‘यो पनि पढ्दा राम्रो’ र ‘सङ्क्षेपीकृत शब्दसूची’ राखेर कृतिभित्र प्रवेश गर्नका लागि सहजीकरण गरिएको प्रस्तुत ग्रन्थलाई दशओटा मूल शीर्षक र एउटा परिशिष्ट गरी एघार खण्डमा विभाजन गरेर सान्दर्भिक सामग्रीहरूलाई साक्ष्यसहित क्रमशः प्रस्तुत गरिएको छ ।
‘बुद्धकालीन प्रमुख राज्यहरू’ शीर्षकको पहिलो खण्डमा राज्यको उत्पत्ति, चक्रवर्ती राजा, आदर्श राज्य, बुद्धकालीन राजतन्त्र (मगध, कोसल, वंस, अवन्ती) गणतान्त्रिक राज्यहरू (शाक्य गणतन्त्र, लिच्छवि गणतन्त्र र अन्य राज्यहरू) आदि विषयकेन्द्रित आधिकारिक सूचनाहरू सम्प्रेषण गरिएका छन् । यसरी नै ‘बुद्धकालीन राज्यव्यवस्था’ शीर्षकको दोस्रो खण्डमा राज्य–प्रशासन सञ्चालन, राज्यको सुरक्षा, न्याय–प्रशासन र दण्डव्यवस्था, आर्थिक अवस्था र कर आदि विषयमा सन्दर्भसहित चर्चा गरिएको छ भने ‘बुद्ध र उनको धार्मिक मन्तव्य’ शीर्षकको तेस्रो खण्डमा बुद्धको परम्परा, बुद्धको परिवार र जन्म, गृहत्याग र बुद्धत्वप्राप्ति, बुद्धको रूपकाया, बुद्धको दिनचर्या, बुद्धको स्वभाव र बुद्धको धार्मिक मन्तव्य जस्ता अत्यन्त महत्त्वपूर्ण सूचनाहरूको उल्लेख पाइन्छ । यसरी नै ‘भिक्षु र भिक्षुणीसङ्घ’ शीर्षकको चौथो खण्डमा भिक्षुसङ्घ र भिक्षुचर्या, भिक्षुको गृहस्थीमा पुनरागमन, भिक्षु र महिला, भिक्षुको आजीविका, विहार र भिक्षुणीसङ्घ जस्ता विषयमा जानकारीहरू प्रस्तुत गरिएका छन् । पाँचौँ खण्डका रूपमा रहेको ‘बुद्धकालीन धार्मिक सम्प्रदाय’ खण्डमा वैदिक धर्म र यज्ञयाग, अन्यतीर्थीय धर्म र तप, बुद्धकालीन छ आचार्य, शास्त्रार्थ र धार्मिक बहस, बुद्ध र अन्यतीर्थीय धर्म, भिक्षुसङ्घप्रति अन्य मतावलम्बीको विद्वेष जस्ता विषयमा सान्दर्भिक जानकारीहरू प्रस्तुत गरिएका छन् । यसका साथै ‘बुद्धकालीन वर्णव्यवस्था’ शीर्षकको छैटौँ खण्डमा वर्णव्यवस्थाको उत्पत्ति, गोत्र, बुद्धकालीन जाति विभाजन, ब्राह्मणको जाति अभिमान, क्षत्रियको जातीय अहङ्कार, जातिसम्बन्धमा बुद्धको दृष्टिकोण, वर्णव्यवस्थाविरुद्ध बुद्धको भूमिका र बुद्धकालपछि शूद्रको अवस्था जस्ता विषयमा अनुसन्धानात्मक जानकारीहरू समेटिएका छन् । यसरी नै ‘बुद्धकालीन संस्कृति’ शीर्षकको सातौँ खण्डमा विषयको पृष्ठभूमि, खानपान, पहिरन, आभूषण र शृङ्गार, क्रीडा, मनोरञ्जन र उत्सव, जन्म, विवाह र अन्त्येष्टि संस्कार, शिष्टाचार, लोकआस्था, भाँडाकुँडा र घरायसी उपकरण र आवागमनका साधनहरू जस्ता तत्कालीन लोकजीवनसँग जोडिएका विषयहरूका बारेमा यथार्थ सूचनाहरू प्रस्तुत गरिएका छन् । साथै ‘महिला र दासदासी’ शीर्षकको आठौँ खण्डमा विषयको पृष्ठभूमि, पारिवारिक व्यवस्था र घरमुली, लैङ्गिक विभेद, बुद्धकालमा महिलाको अवस्था, पतिपत्नीको सम्बन्ध, गणिका र दासदासी जस्ता पारिवारिक जीवनशैली, आचरण र विचारसँग सम्बन्धित विषयहरू प्रस्तुत गरिएका छन् । यसरी नै ‘आजीविका’ शीर्षकको नवौँ खण्डमा विषयको पृष्ठभूमि, कृषि, पशुपालन, वाणिज्य व्यवसाय र शिल्प व्यवसाय जस्ता जीवननिर्वाहका विषयमा आधारित सूचनाहरू प्रदान गरिएका छन् भने ‘विविध’ शीर्षकको दसौँ खण्डमा बुद्धकालीन समाजमा शिक्षा, रोगव्याधि र चिकित्सा, आवास आदि जस्ता विषयसम्बन्धी जानकारीहरू समेटिएका छन् ।
उल्लिखित दश खण्डहरूमा प्रस्तुत ग्रन्थका मूल कुराहरू समेटिएका छन् । यी सम्पूर्ण तथ्य वा सूचनाहरू काल्पनिक होइनन् । यिनको मूल स्रोत के हो ? त्यसलाई पादटिप्पणीका रूपमा जस्ताको तस्तै राखिदिनाले यी थप आधिकारिक एवम् प्रामाणिक सामग्री बन्न पुगेका छन् । ग्रन्थका अन्त्यमा ‘परिशिष्ट’ शीर्षकमा राखिएका पारिभाषिक शब्दको खुलासा, त्रिपिटकको वर्गीकरण, बुद्धकालीन भूगोलको नक्सा, लुम्बिनीको स्तम्भलेखमा उत्कीर्ण बेहोरा र सन्दर्भ–सूची जस्ता कुराले यस ग्रन्थलाई अझै विश्वसनीय बनाएका छन् । ग्रन्थको अन्तिम पृष्ठमा राखिएको लेखक पौड्यालको छोटो परिचयले गर्दा यो कृति सिकारु लेखकको पहिलो प्रकाशन नभएर परिपक्व अनुसन्धाताको खारिएको लेखनको उपज हो भन्ने कुरा थाहा पाइन्छ ।
३. ‘बुद्धकालीन समाज’ कृतिको अन्तर्वस्तु वा ऐतिहासिक उत्खनन
‘बुद्धकालीन समाज’ बुद्धविषय ऐतिहासिक यथार्थका बारेमा विभिन्न साक्ष्यहरूलाई प्रस्तुत गरेर तर्कपूर्ण विमर्श गरी कतिपय लुकेको इतिहासको उत्खनन र कतिपय अस्पष्ट वा अन्योलग्रस्त ऐतिहासिक सन्दर्भलाई स्पष्ट पारिएको अनुसन्धानात्मक कृति हो । सार्वभौम सत्ताका दृष्टिले कुनै पनि देश सानो र ठुलो हुँदैन, सबैको गरिमा बराबर हो तर भौगोलिक रूपमा ठुला देशका बिचमा परेको सानो देशलाई आफ्नै इतिहासलाई बचाउन पनि गाह्रो हुँदो रहेछ । आज पनि विश्वका कैयौँ मुलुकहरूका पाठ्यपुस्तकहरूमा र पर्यटक निर्देशिकाहरूमा बुद्धको जन्म भारतमा भएको हो भनी उल्लेख गरिएका तथ्यहरू पाइन्छन् । जुन समयमा भारत भन्ने देश नै थिएन, त्यस समयमा नेपाल थियो । नेपाल र हिमालयको स्पष्ट उल्लेख पौराणिक कालदेखि नै हुँदै आएको छ । यति हुँदाहुँदै पनि इतिहासको चोरी नेपाल र नेपालीका लागि दुर्भाग्यको विषय हो । कुनै पनि राष्ट्रका लागि इतिहास निर्माण ठुलो कुरा होइन, गौरवशाली इतिहासको सुरक्षा सबैभन्दा चुनौतीपूर्ण कुरा हुँदै आएको छ । बुद्ध र लुम्बिनीका विषयमा वर्तमानमा त्यही स्थिति देखापरेको छ ।
बुद्धको यथार्थ इतिहासलाई विश्वभर पुर्याउन नसक्नुका मूलतः दुइटा कारणहरू देखिन्छन्, एउटा बुद्धविषयक अनुसन्धानात्मक कृति प्रकाशनको कमी र अर्को बुद्धको मिथकीकरण । बुद्ध सिर्जनात्मक कृतिमा, कल्पना र भावनाका आधारमा गरिएको व्यक्तिको उदात्तीकरणमा जति महत्त्वका साथ प्रस्तुत गरिए त्यति तथ्यपरक अनुसन्धानका विषय बन्न सकेनन् । यही कारणले गर्दा स्रष्टाहरूका सामु बुद्धको छवि उच्च रूपमा प्रस्तुत भयो तर द्रष्टा वा अनुसन्धाताहरूका सामु त्यो नगण्य बनेर देखापर्यो । यही रिक्ततालाई टेकेर छिमेकी मुलुक भारतले बुद्धको इतिहासलाई तोडमोड गरी प्रस्तुत गर्यो र विश्वव्यापी प्रचारप्रसारमा जोड दियो । जुन कुरा जति धेरै सुनिन्छ, त्यति नै सत्यमा परिणत हुन थाल्छ । बुद्धका विषयमा पनि यही भयो र बुद्धलाई जन्माउने नेपाली भूमिबाट इतिहास चोरी हुन थाल्यो । त्यही आफ्नो गुम्न लागेको इतिहासलाई सुरक्षित राख्नु नेपाली अनुसन्धाताहरूको आजको मूल दायित्व हो । उक्त दायित्वपूर्तिका लागि उमाकान्त पौड्यालबाट भएको प्रयास प्रशंसनीय छ ।
प्रस्तुत ग्रन्थको अन्तर्वस्तुमा ऐतिहासिक तथ्यहरूको भण्डारण गरिएको छ । बुद्धसम्बन्धी ऐतिहासिक तथ्यहरूको सङ्कलन, भण्डारण, तथ्याङ्कन, सत्यापन, विश्लेषण, मूल्याङ्कन र निष्कर्षण यस ग्रन्थको उल्लेखनीय पाटो हो । आजभन्दा झन्डै २६०० वर्ष पुरानो इतिहासको खोजी सामान्य अध्ययनबाट सम्भव छैन तापनि यसको मूल स्रोत ‘पालि त्रिपिटक’लाई बनाइएको हुनाले उक्त असम्भव कुरा पनि सम्भव भएको हो । लामो कालखण्डका कारण त्रिपिटकहरू पनि अनेकौँ निर्माण भएका छन् । त्यसका सयौँ संस्करण, हजारौँ टीका र लाखौँ व्याख्याका कारण सत्यापनमा पनि निकै ठुलो चुनौती सिर्जना भइसकेको वर्तमान अवस्थामा अनुसन्धाता पौड्यालले भावनात्मक एवम् अनुमानात्मक सन्दर्भहरूलाई कहीँकतै पनि प्रवेश हुनै नदिएर पूर्वोल्लिखित साक्ष्यहरूका आधारमा आधिकारिक एवम् प्रामाणिक इतिहासलाई खोतल्ने प्रयास गरेका छन् । जहाँ ऐतिहासिक तथ्यहरू आउँछन्, तिनको वस्तुपरक विश्लेषण र जहाँ मिथकीय सन्दर्भहरू वा दन्त्यकथात्मक सन्दर्भहरू आउँछन्, तिनमाथि लेखकीय तार्किक अभिमतको स्थापना जस्ता कुराले गर्दा प्रस्तुत ग्रन्थ साँच्चै आधिकारिक सूचनाको स्रोत बन्न पुगेको छ ।
प्रस्तुत कृतिको शीर्षक ‘बुद्धकालीन समाज’ भए पनि यसमा बुद्धभन्दा पूर्वको अवस्थाको पनि सामाजिक चित्रण गरिएको छ, बुद्धको समकालीन समाजको त व्यापक विश्लेषण हुने नै भयो र त्यसपछिको सामाजिक स्वरूपमा त्यसले पारेको प्रभावका बारेमा पनि स्पष्ट सङ्केत गरिएको छ । यसका आधारमा हेर्दा यस कृतिको त्रिकालिक महत्त्व स्पष्ट रूपमा देखिन्छ । यस ग्रन्थमा बुद्धकालीन र त्यसभन्दा अगाडिको पनि राज्यव्यवस्थामा चक्रवर्ती राजाहरूको शासनशैलीको स्पष्ट उल्लेख पाइन्छ । यहाँ चारै दिशाका विजेता चक्रवर्ती धार्मिक राजाले सागरपर्यन्त पृथ्वीमा बिनादण्ड, बिनाशस्त्रले धर्मद्वारा जितेर शासन गर्ने (पृ. २) कुराको जानकारी दिइएको छ । यसरी नै अट्ठकथाका आधारमा बुद्धकालभन्दा पहिलेका केही राजा आफ्नो व्यक्तिगत आचरण र शासनकर्मका विषयमा जनताको राय कस्तो छ भनेर जान्न चरपुरुषको मात्रै भर पर्दैनथे । उनीहरू आफैँ भेष बदलेर साँझपख नगरमा डुल्ने गर्थे र जनताले गरेको चर्चा कान थापेर सुन्थे । राजाले अधर्मपूर्वक राज्य गरेको भए अथवा शासनबाट जनता सन्तुष्ट नभएको भए जनताले ‘अत्यधिक कर र राजाको कुशासनले मर्माहत भयौँ’ भन्थे । राज्यका धेरैजसो क्षेत्रमा यस्ता जनगुनासा सुनिन्थे । राजाको शासनबाट सन्तुष्ट भएका खण्डमा उनीहरू राजा दीर्घायु होऊन् भन्ने मङ्गल कामना गर्थे । राजाले जनताको प्रतिक्रियाअनुसार शासनकार्यमा सुधार गर्थे (पृ. ४) भन्ने जस्ता सन्दर्भहरूको उल्लेख गरेर तत्कालीन राजा र प्रजाबिचको अन्तरसम्बन्धका बारेमा स्पष्ट पारिएको छ । साथै कुनै पनि युगमा सबै राजाहरू उत्तिकै लोकप्रिय हुन्छन् भन्ने हुँदैन । कोही राजाहरू अत्यन्त क्रूर एवम् निरङ्कुश पनि थिए भन्ने कुराको सूचना पनि यहाँ दिइएको छ । त्यस बेलाका केही अविवेकी राजाले शस्त्रको बलमा जनतालाई दमन गरेर शासन गर्थे । जनता राज्यबाट विभिन्न किसिमले पीडित हुन्थे । भगवान् बुद्ध यस्तो कुशासनबाट पीडित जनता देखेर करुणाविगलित हुन्थे । उनी जनतालाई पीडा नदिईकन धर्मपूर्वक कसरी शासन सञ्चालन गर्न सकिन्छ भनेर चिन्तन गर्थे (पृ. ४) जस्ता सन्दर्भको उल्लेख गरी बुद्धको राज्यचिन्तनका बारेमा स्पष्ट सङ्केत गर्ने काम यहाँ भएको छ ।
बुद्ध राजकुमार भए पनि अहङ्कार र शासकीय प्रवृत्ति उनमा सानैदेखि देखिँदैनथ्यो । बुद्धको राज्यसम्बन्धी अवधारणा मानव कल्याण, समानता, समृद्धि र अहिंसामा आधारित थियो । बौद्ध धर्मको प्रभावले कालान्तरमा सम्पूर्ण जम्बुद्वीपमा अहिंसामा आधारित जनहितकारिणी राज्य स्थापनामा सहयोग पुग्यो । भगवान् बुद्धको आदर्शअनुसारको राज्य सञ्चालन गरेर जम्बुद्वीपको एकछत्र चक्रवर्ती सम्राट हुने अवसर बुद्ध परिनिर्वाणको दुई सय १८ वर्षपछि अशोकलाई प्राप्त भयो (पृ. ५) । बुद्ध आफूले शासन गरेनन् तर उनको लोककल्याणकारी राज्यसञ्चालनको नमुना राजा अशोकले प्रस्तुत गरेको सान्दर्भिक चर्चा यहाँ गरिएको छ ।
बुद्धकालमा राजतन्त्र र गणतन्त्र दुवैको समान उपस्थिति देखिन्छ । यस समयमा राजतन्त्रात्मक शासनपद्धति भएका र गणतन्त्रात्मक शासनपद्धति भएका तत्कालीन राज्यहरूका बारेमा प्रस्तुत ग्रन्थमा स्पष्ट जानकारी प्रदान गरिएको छ । बुद्धको समयमा साना राज्यहरू समीपका ठुला राजतन्त्रात्मक राज्यमा विलीन हुने क्रम तीव्र रूपमा बढिरहेको थियो । त्यस समयका प्रमुख राज्य थिए– मगध, कोसल, वंस र अवन्ती । यी चारैओटा राजतन्त्रात्मक राज्य थिए । … यसबाहेक १६ महाजनपदका केही अवशिष्ट राज्य पनि त्यस बेला कायम थिए । ती १६ महाजनपदको नाउँ यस प्रकार थियो– अङ्ग, मगध, काशी, कोसल, वज्जि, मल्ल, चेति, वङ्ग, कुरू, पाञ्चाल, मत्स्य, सूरसेन, अस्सक, अवन्ती, गान्धार र कम्बोज (पृ. ५) । उल्लिखित चारओटा राजतन्त्रात्मक राज्य र सोह्रओटा महाजनपदका अतिरिक्त गणतन्त्रात्मक राज्यहरू पनि त्यस समयमा रहेको जानकारी यस ग्रन्थमार्फत दिइएको छ । पालि त्रिपिटकमा कपिलवस्तु (शाक्य), रामग्राम (कोलिय), पिप्फलिवन (मौर्य), कुसिनागरा (मल्ल), पावा (मल्ल), अल्लकप्प (बुलि) र वैशाली (लिच्छवि), मिथिला (विदेह), भर्ग (सुंसुमारगिरि) र केसमुत्त (कालाम) (कोष्ठभित्र लेखिएका शब्दले ती गणतन्त्रका बासिन्दालाई बुझाउँछ) जस्ता १० ओटा गणतन्त्रहरूको उल्लेख देखिन्छ (पृ. २२) । उल्लिखित सन्दर्भबाट तत्कालीन राज्यव्यवस्थाका बारेमा यथार्थ जानकारी पाइन्छ ।
बुद्धलाई शाक्यमुनि, गौतम, आदित्य, सिद्धार्थ आदि विभिन्न नामले चिन्ने गरिन्छ । यसका बारेमा पनि यस ग्रन्थमा स्पष्ट जानकारी दिइएको छ । शाक्यहरूको नामकरण र बुद्धका विविध नाम आदिका विषयमा यहाँ पूर्ववर्ती सन्दर्भहरूलाई साक्ष्यका रूपमा उभ्याएर यसरी चर्चा गरिएको छ—“अट्ठकथाअनुसार शाक्यहरूका आदिपुरुष प्रथमकल्पका राजा महासम्मत थिए । उनैको देश परम्परामा कालान्तरमा इक्ष्वाकु नाउँका राजा भए । उनका जेठी रानीतर्फबाट चार छोरा र पाँच छोरी थिए । जेठी रानीको असामयिक निधनपछि बिहे गरिएकी कान्छी रानीले पनि पुत्र जन्माइन् । यसपछि उनले आफ्नो छोरालाई राज्याधिकार दिन राजालाई पिरोल्न थालिन् । बाचामा हारेका राजाले जेठीतर्फका सन्तानलाई राज्याधिकारबाट वञ्चित गरी निर्वासित गरेपछि उनीहरूले हिमालयको कछारमा अवस्थित कपिल ऋषिको आश्रमनजिकै उनकै सम्मतिले कपिलवस्तु नाउँको नगर खडा गरे । यो कुरा पिता इक्ष्वाकुले थाहा पाएपछि छोराहरूको शक्यता वा समर्थतामा हर्षोद्गारस्वरूप ‘सक्या वत भो कुमारा’ (कुमारहरू समर्थ रहेछन्) भनेकाले शाक्य नाउँ रहन गएको हो । अर्को तर्कअनुसार त्यहाँ शाकवृक्ष (टिक, सैगोन) को जङ्गल फँडानी गरेर नगर बसाएकाले शाक्य भनिएको हो भन्ने भनाइ पाइन्छ (पृ. २३) ।” यसरी नै बुद्ध एउटै व्यक्तिका दुइटा गोत्रका बारेमा उठ्ने गरेका प्रश्न र समस्याहरूको समाधान यसरी गरिएको छ– “एउटै व्यक्तिको आदित्य र गौतम दुई गोत्र कसरी भयो ? यसको स्पष्टीकरण महानिद्देसले यसरी दिएको छ, आदित्य सूर्यलाई मानिन्छ र सूर्यको गोत्र गौतम रहेको मानिन्छ । बुद्ध सूर्यवंशी हुनाले सूर्यका गोत्रबन्धु ठहरिएका हुँदा गोत्रवंश उनलाई गौतम भनिएको हो । अर्थात् आदित्य र गौतम दुई अलग गोत्र होइनन्, एउटै हुन् (पृ. २५) ।” यसरी हरेक विषयमाथि रहेका आशङ्काहरूलाई साक्ष्यका आधारमा चिरेर यथार्थ कुराको जानकारी दिने काम यस ग्रन्थले गरेको छ ।
बुद्धकालमा राजतन्त्रात्मक राज्यमा राजाले अमात्य र उपराज आदि अरू भारदारको सल्लाहले राज्य प्रशासन सञ्चालन गरेको (पृ. ३९) सन्दर्भको उल्लेख गरेर तत्कालीन राज्यप्रणाली केकस्तो थियो भन्ने कुराको सूचना पनि यहाँ पाइन्छ । यसका साथै त्यस बेलाका कर्मचारीहरू रज्जुक (कर असुल्ने कर्मचारी), भाण्डागारिक (भँडारे, कोषाध्यक्ष), दोणमापक (अन्नपात नापजोख गर्ने कर्मचारी), हिरण्यक (राज्यकोषमा रहेको सुनचाँदीको हरहिसाब राख्ने र गुणस्तर जाँच्ने कर्मचारी), सारथि (रथ चलाउने), दौवारिक (ढोके), नगरगुत्तिक (नगर प्रहरी, विशेष गरी राति पहरा दिने) आदि थिए (पृ. ४३) भन्ने उल्लेखबाट तत्कालीन कर्मचारी तन्त्रका बारेमा पनि यथार्थ जानकारी पाइन्छ । यसका साथै सत्ताको नजिक हुन खोज्ने, चाकरी गर्ने र आफ्नो अभीष्ट सिद्ध गर्ने सोच मानवजातिमा त्यो बेलादेखि नै थियो भन्ने कुराको जानकारी यस भनाइबाट पाइन्छ– “त्यस बेला पनि मन्त्री र भारदारबिच राजालाई चाकरी गर्ने, चुक्ली लगाउने र अरू षड्यन्त्रका कृत्य हुन्थे । कोसलनरेश प्रसेनजितले आफ्ना सहपाठी बन्धुल मल्ललाई सेनापति बनाएपछि उनको न्याय र निर्णयले जनता प्रसन्न थिए तर घुस खान पल्किएका अरू मन्त्रीलाई यो सह्य भएन । उनीहरूले ‘बन्धुल मल्लले राज्य हडप्ने दाउ गर्दै छ’ भनेर राजाको कान फुक्न थाले । राजाले उनीहरूको कुरा सहजै पत्याए र बन्धुल मल्ललाई उनका ३२ भाइ छोरासहित षड्यन्त्रपूर्वक मार्न लगाए । पछि यथार्थ थाहा पाएपछि राजालाई पछुतो भयो । सान्त्वनास्वरूप उनकै भान्जा दीर्घकारायणलाई बन्धुलको ठाउँमा सेनापति बनाएर राजाले आफ्नो गल्तीको प्रायश्चित्त गरे (पृ. ४३) ।” राज्यसत्तामा यस्ता कुराहरू सामान्य हुन् भन्ने कुराको ऐतिहासिक पुष्टि यही कुराबाट भएको देखिन्छ ।
बुद्धकालीन राज्यको सुरक्षाव्यवस्था केकस्तो थियो भन्ने बारेमा पनि यस ग्रन्थमा स्पष्ट जानकारी पाइन्छ । सैनिक व्यवस्था जहिल्यैको पनि पहिलो सुरक्षाव्यवस्था हो । बुद्धकालीन सेनामा हस्त्यारोही, अश्वारोही, रथारोही र पदाति गरी चार प्रकारका सङ्गठन रहेको (पृ. ४७) उल्लेख यस ग्रन्थमा गरिएको छ । तिनैका केन्द्रीयतामा रहेर १. शत्रुपक्षको निगरानीका लागि नगरद्वारबाहिर बलियो सैनिक निगरानी चौकी हुनु, २. माथि वर्णन गरिएझैँ नगरलाई घेर्ने गरी बनाइएको गहिरो र फराकिलो खाडल हुनु, ३. नगरको चारैतर्फ अग्लो र फराकिलो सडक हुनु, ४. शस्त्रास्त्रको प्रचुर भण्डारण हुनु, ५. ठुलो सैन्य जनशक्ति हुनु, ६. नगरबासीलाई सहज आवागमन गर्न दिने तर अपरिचित व्यक्तिलाई बिनासोधपुछ प्रवेश गर्न नदिने चतुर द्वारपाल हुनु र ७. बलियो र पक्की लिउन (प्लास्टर) लगाएको चौडा र अग्लो अभेद्य पर्खाल हुनु (पृ. ५०) जस्ता सातओटा सुरक्षाव्यवस्था रहेको हुनाले तत्कालीन राज्य जति सुरक्षित थियो त्यति नै सङ्कटग्रस्त पनि थियो भन्ने कुरा थाहा पाइन्छ । यो राज्यको बाह्य सुरक्षाव्यवस्था हो तर तत्कालीन राज्यव्यवस्थामा बाहिरी सुरक्षाले मात्र हुँदैन भन्ने सोचेर निम्नानुसारका आन्तरिक सुरक्षाव्यवस्था पनि मिलाइएको हुन्थ्यो— १. लडाइँका बखत वस्तुभाउलाई नगरबाहिर चरनमा लैजान र घाँसदाउराका लागि जङ्गल जान सम्भव हुँदैनथ्यो । यस कारण नगरभित्र चाहिँदो परिमाणमा घाँसदाउराको प्रबन्ध र पानीपँधेराको व्यवस्था हुनु आवश्यक थियो । २. धान, जौ आदि अन्नको पर्याप्त मौज्दात हुनु जरुरी हुन्थ्यो । ३. तिल, मुँग, मास आदि दलहन र तेलहनको चाहिँदो मात्रामा सञ्चय हुनुपर्थ्यो । ४. नगरभित्र पर्याप्त मात्रामा घिउ, तेल, सक्खर, खुदा, नुन आदि वस्तुको मौज्दात हुनुपर्थ्यो । स्वाद र बलवर्धक यी सामग्री खानाका अतिरिक्त औषधिका रूपमा पनि प्रयोग गर्न सकिन्थ्यो (पृ. ५०) । युद्धकालमा नगरबासीको सहज जीवनयापनका लागि नगरभित्र उल्लिखित चार कुराको बन्दोबस्त हुनु आवश्यक मानिन्थ्यो ।
मान्छेमा सम्पत्तिप्रति लोभ र अरूप्रति ईर्ष्या हुनु स्वाभाविक कुरा हो । यस्तो भएपछि जुनसुकै समयमा पनि समाजमा चोरी, डकैती, हत्या, हिंसा आदि जस्ता नराम्रा क्रियाकलापहरू भइ नै हाल्छन् । यही मानवीय स्वभावसँग जोडेर यहाँ तत्कालीन कानुन निर्माण र बुद्धको विचारको सान्दर्भिक चर्चा गरिएको छ । समाजमा चोरी बढेपछि मिथ्यावाणी, हत्या, हिंसा, परस्पर द्वेषभाव आदि नकारात्मक कुराहरू बढ्न थाले । सम्पत्ति धेरै हुनेले सम्पत्तिको रक्षा गर्ने र राज्यले समाजमा स्थिरता कायम गर्ने निहुँमा नियम कानुन बनाए । दण्ड, जरिवाना र आचारशास्त्र आदिको समाजमा क्रमशः विकास भयो । बुद्धले समाजमा व्याप्त आर्थिक असमानतालाई नै सम्पूर्ण पापको जरो मान्थे (पृ. ५९) । यस कुराले तत्कालीन समाज, मानवीय चरित्र, राज्यसत्ता र बुद्धका विचारबिचको पृथक् अवस्थालाई स्पष्ट देखाएको छ ।
बद्धकालीन आर्थिक अवस्था र व्यवस्थाको पनि यस ग्रन्थमा विशेष चर्चा गरिएको छ । बुद्धकालमा तत्कालीन मुद्रा एक हजारभन्दा कम मूल्यको भोगयुक्त सम्पत्तिलाई अल्पभोग र त्यसभन्दा माथिकोलाई महाभोग भनिन्थ्यो (पृ. ५९) । बुद्धकालीन समाजको आर्थिक अवस्था सन्तोषजनक देखिए पनि स्रोतसाधनमाथि सीमित व्यक्तिको अधिकार भएकाले समाजमा चरम आर्थिक असमानता विद्यमान थियो । एकातर्फ श्रेष्ठीहरूलाई आर्जित सम्पत्ति र उब्जनी थन्क्याउने ठाउँ अपर्याप्त हुन्थ्यो भने अर्कोतर्फ ज्याला मजदुरी गरेर परिवार पाल्ने र मागेर पेट भर्ने गरिब पनि त्यसै समाजमा विद्यमान थिए (पृ. ६०) । यस कुराले बुद्धकालमा पनि वर्गीय समाज थियो, वर्गीय असमानता र वर्गद्वन्द्वको स्पष्ट चित्र देख्न पाइन्थ्यो भन्ने थाहा पाइन्छ ।
यसरी नै प्रस्तुत ग्रन्थले बुद्ध एउटा व्यक्ति नभएर ज्ञानको परम्परा भएको विषयलाई पनि उच्च महत्त्वका साथ प्रस्तुत गरेको छ । बुद्ध एउटा मात्र होइनन्, गौतम बुद्ध पूर्ववर्ती र उत्तरवर्ती बुद्धशृङ्खलाका बिचमा देखापरेका एक बुद्ध हुन् भन्ने कुरालाई यस ग्रन्थमा पूर्ववर्ती विभिन्न सन्दर्भका आधारमा यसरी प्रस्तुत गरिएको छ— “समयको अनन्त प्रवाहमा गौतम बुद्धभन्दा अघि थुप्रै बुद्धहरू भएको विश्वास गरिन्छ । यस परम्परामा दीपङ्कर पहिलो बुद्ध थिए । पालि त्रिपिटकको खुद्दकनिकायअन्तर्गत यस बुद्धवंस ग्रन्थमा गौतम बुद्धसहित २५ बुद्धको विवरण उल्लेख छ तर यसै पुस्तकको अन्तिम प्रकरणमा दीपङ्करभन्दा अगाडि तण्हङ्कर, मेधङ्कर र शरणङ्कर नाउँ गरेका थप तीन बुद्धको पनि उल्लेख छ । यसै प्रकरणमा उल्लिखित गाथाअनुसार गौतम बुद्धपछि भविष्यमा मैत्रेय नाउँका बुद्ध हुने सूचना पाइन्छ । बुद्धवंसअनुसार बुद्धको सङ्ख्यामा कमबेसी देखिए पनि पालि त्रिपिटकका अधिकांश सुत्तमा गौतम बुद्धसहित सात बुद्ध भएको उल्लेख छ । … दीघनिकायको महापदानसुत्तमा विपस्सी, सिखी, वेस्सभु, क्रकुछन्द, कोणागमन, कस्सप र आफूसहित सात बुद्ध भएको कुरा बुद्ध स्वयम्ले बताएका छन् । यो कुरा अरू भिक्षुको मुखबाट समेत प्रकट गरिएको छ । गौतम बुद्ध सातौँ ऋषि अर्थात् बुद्ध भएको कुरा भिक्षु वंगीसले बुद्धलाई सम्बोधन गर्ने क्रममा भनेका छन् । … बुद्धका तीन श्रेणी मानिएका छन्– सम्यक् सम्बुद्ध, प्रत्येक बुद्ध र श्रावक बुद्ध (पृ. ६५) । … प्रत्येक बुद्धमा बुद्धत्वका सबै गुण हुने भए पनि उनीहरूको श्रेणी सम्यक् सम्बुद्धभन्दा मुनि र श्रावक बुद्धभन्दा माथि हुन्छ (पृ. ६६) ।” उल्लिखित सन्दर्भका आधारमा हेर्दा पूर्वीय जगत्को ज्ञानगौरव र सुदीर्घ प्रज्ञापरम्पराको एउटा विन्दुका रूपमा गौतम बुद्धको आगमन भएको कुरा पुष्टि हुन पुग्दछ ।
प्रस्तुत ग्रन्थमा बुद्धकालीन समाजको बाह्य यथार्थको मात्र नभएर बुद्धको विचार, दर्शन र योगसाधनाकेन्द्रित अनेकौँ आन्तरिक पक्षहरूका बारेमा पनि विश्लेषणात्मक चर्चा गरिएको छ । यहाँ एकातिर दुःखमुक्तिको उपायस्वरूप बुद्धले अगाडि सारेका आर्य अष्टाङ्गिक मार्गका बारेमा सोदाहरण चर्चा गरिएको छ (पृ. ८७) भने अर्कातिर भिक्षु र भिक्षुणीहरूले पालना गर्नुपर्ने नियम, आचरण र अनुशासनका बारेमा पनि स्पष्ट जानकारी दिइएको छ । भिक्षुले सकेसम्म महिलातर्फ नहेरेको राम्रो, हेर्नै परे वार्तालाप नगर्नु उचित छ र वार्तालाप गर्नुपरे संयमित भएर होसपूर्वक वार्तालाप गर्नु नै भिक्षुको सम्यक् आचरण हो (पृ. १०५) भन्ने जस्ता आचरणका कुराहरूले गर्दा नै बुद्धयुग आदर्श युग बनेको देखिन्छ । यसरी नै मानवतावादी विचार र व्यवहार बुद्धकालको अर्को चिनारी बनेको देखिन्छ । बुद्धको युग यस क्षेत्रमा धार्मिक जागरणको युग थियो । ब्राह्मणहरूले पहिलेदेखि चलिआएको जातिप्रथा, कर्मकाण्ड र हिंसक यज्ञयागको पक्षपोषण गर्थे (पृ. १४७) तर बुद्धले त्यस कुराका विरुद्धमा कुनै पनि भेदभावरहित मानवतावादी समाज स्थापनाका लागि आफ्ना विचारहरूलाई अगाडि सारे । सिरिया, टर्की, ग्रिस र आसपासको क्षेत्रलाई बुद्धकालमा योनकलोक र अफगानिस्तान एवम् त्यस आसपासको प्रदेशलाई कम्बोज भनिन्थ्यो । यी दुवै राज्य र पश्चिमका अरू प्रत्यन्त जनपदमा बुद्धकालमा वर्णव्यवस्था वा जातिवादको प्रथा थिएन । पूर्वमा जस्तो ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रको चातुर्वर्णी व्यवस्था त्यहाँ थिएन । त्यहाँ दुई मात्र वर्ण थिए– आर्य र दास । दासत्वमोचन भएपछि दास आर्य हुन सक्थे, विविध कारणले आर्य पनि दासमा परिणत हुन सक्थे (पृ. १६१) । यसका साथै बुद्धको आगमन हुनुभन्दा अगाडिको दासयुगमा यति धेरै अमानवीय त्रियाकलापहरू हुने गर्दथे भन्ने कुरालाई यस ग्रस्तमा स्पष्ट रूपमा देखाइएको छ । दासदासीलाई गाला वा निधारमा प्रस्ट देखिने गरी धातुको पाताले डामेर स्थायी चिह्न बनाइन्थ्यो । यसलाई लक्षणाहत भनिन्थ्यो (पृ. २३४) । यस साक्ष्यमा मानव इतिहासभित्र लुकेको दानवीय चरित्रको स्पष्ट चित्र फेला पर्दछ । यस कुराले तत्कालीन समयदेखि नै यस भूमिमा वर्णव्यवस्थाका कारण मानव मानवका बिचमा अमानवीय विभेद हुने गरेका कुरालाई प्रमाणित गरिदिएको छ । यस कारण पनि ‘बुद्धकालीन समाज’ कृति हाम्रो विगतको एउटा यथार्थ तस्बिर बनेर आएको देखिन्छ ।
प्रस्तुत ग्रन्थमा बुद्धकालीन समाजका सम्पूर्ण पक्षहरूलाई एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रूपमा प्रस्तुत गरिएको छ । यहाँ बाह्य जीवनशैलीसँग सम्बन्धित होस् र आन्तरिक विचार वा दर्शनसँग सम्बन्धित होस्, कुनै पनि विषय छुटेको छैन । ती विषयलाई भिन्न भिन्न विषयक्षेत्रका आधारमा यसरी हेर्दा अझै सान्दर्भिक हुन सक्छ—
बुद्धकालीन समाजमा जातजातिको अवस्था र व्यवस्था यस्तो थियो अनि बुद्धको विचार यस्तो थियो—
— भिक्षुसङ्घमा जातिको विभेद नभएजस्तै उच्च, नीच या महाकुलको भेद पनि थिएन । धर्मानुसार आचरण गर्ने भिक्षु नीच कुलको भए पनि पूज्य र प्रशंसित हुन्थ्यो । उच्च कुलबाट प्रव्रजित भएका भिक्षुले पनि श्रमणधर्म र निर्वाणगामी मार्गबाहेक अरू कुरालाई महत्त्व दिँदैनथे । न उनीहरू उच्च कुलको भएका कारण आफू अभिमान गर्थे, न त अरू हीनकुल भनिएकालाई होच्याउँथे । (पृ. १६२)
— बुद्धकालीन समाजमा हीन र उत्कृष्टका हिसाबले जाति दुई थरीका मानिन्थे । चण्डाल (शव बोक्ने र जलाउने), वेन (बेतबाँसको काम गर्ने), निषाद (सिकारी, अनार्य वा असभ्य जाति), रथकार र पुक्कुस (मेत्तर) यी पाँचओटा हीन (शूद्र) जातिमा गनिन्थे भने क्षत्रिय र ब्राह्मण उत्कृष्ट जातिमा । (पृ. १६३)
— बुद्धका कारण समाजमा ब्राह्मणको जन्मजात उच्चताको परिभाषा जगैदेखि हल्लिएको हुँदा केही असहिष्णु ब्राह्मणले बुद्धप्रति मनको तुस पोख्थे । (पृ. १६६)
— बुद्धले मान्छे जन्मनासाथ उच्च र नीच जातिमा दर्ता भइहाल्ने तत्कालीन समाजमा प्रचलित परम्परालाई कत्ति पनि महत्त्व दिँदैनथे । (पृ. १७१)
उल्लिखित साक्ष्यहरूलाई हेर्दा पनि बुद्धको विचारको महत्त्वमा थप पुष्टि हुने देखिन्छ । जातीय सङ्कीर्णता र वर्णव्यवस्थाले ग्रस्त समाजलाई मानवीय आदर्शको बोध गराउने र जन्मसिद्ध उच्चजातीयताको अहङ्कारलाई तोड्ने कार्यको शुभारम्भ बुद्धकालबाट नै भएको पाइनु अर्को गर्वको विषय हो ।
बुद्धकालीन समाजको शैक्षिक अवस्था र बुद्धको विचार यस्तो थियो—
— जातकअनुसार विद्याध्ययनका लागि अत्यधिक उत्कण्ठा भएका दुई चण्डालपुत्र आफ्नो हीन जाति लुकाएर विद्या आर्जन गर्न तक्षशिला गए । गुरुकुलमा रहँदाबस्दा उनीहरू निम्न जातिका भएको कुरा खुलेपछि उच्च जातिका सहपाठी र गुरु मिलेर ती दुवै चण्डालपुत्रलाई त्यहाँबाट धपाएका थिए । (पृ. १७५)
— वेद र अरू शास्त्रको अध्ययन गर्दा शूद्रहरू तार्किक र विद्वान् होलान् भनेर वेदाध्ययनको बन्देज लगाइएको अनुमान हुन्छ । (पृ. १७५)
— ऋचा र मन्त्रहरू जीवित रहन्थे, विस्मृत हुँदैनथे । प्रारम्भमा शिक्षाको सुरुवात यसरी नै भएको देखिन्छ । (पृ. २६५)
— विपरीत ब्राह्मणका गुरुकुल आश्रममा वेद, उपनिषद्, धर्मशास्त्र र अरू आध्यात्मिक ज्ञानका अतिरिक्त ज्योतिष, व्याकरण, दर्शन, आयुर्वेद आदि विषय पनि पढाइन्थ्यो । (पृ. २६६)
— विद्या आर्जन गर्न चाहने विद्यार्थीलाई बुद्धले सच्चरित्र, अर्थको जानकार, बुद्धिमान् पण्डित र शिष्यको भलो चाहने कल्याणमित्र (गुरु) को सान्निध्य रोज्न सल्लाह दिन्थे । (पृ. २७१)
उल्लिखित सन्दर्भका आधारमा हेर्दा बुद्धकालपूर्व शिक्षादानमा पनि जातीय वा कुलीन आधारमा निकै ठुलो विभेद रहेको र त्यसलाई बुद्धले तोड्ने प्रयत्न गरेको कुरा स्पष्ट देखिन्छ ।
बुद्धकालीन समाजमा खानपिन, शृङ्गार, खेलकुद र जीवनशैली यस प्रकारको थियो—
— बुद्धकालमा दिउँसोको खानाअघि बिहान सबेरै प्रातःकालीन नास्ता खाने चलन थियो । भिक्षुलगायत गृहस्थले पनि बिहान सबेरै जौको पिठोको खोले पिउँथे । यसलाई यवागु भनिन्थ्यो । सामान्य गृहस्थीका घरमा स्त्रीले भोजन बनाउँथे । राजपरिवारका लागि स्वादिष्ट भोजन बनाउने व्यक्ति नियुक्त गरिन्थ्यो । उनीहरूलाई सूद भनिन्थ्यो । उनीहरूले बनाएको बास्नादार भोजन हेर्दा मात्रै पनि थुक निल्ने किसिमको हुन्थ्यो । (पृ. १८०)
— भिक्षुहरूमा मद्य पूर्ण रूपमा निषेध थियो । बुद्धका गृहस्थ उपासकले पनि पञ्चशीलअन्तर्गत जाँडरक्सी सेवन नगर्ने प्रतिज्ञा गर्नुपर्थ्यो, जुन अद्यापि कायम छ । सुरासेवन गर्नेहरू नशामा धुत्त भएर परस्त्रीगमन गर्ने, जुवामा सम्पत्ति नाश गर्ने आदि खराब कार्यमा लिप्त भएपछि समाजमा यसको नकारात्मक असर पर्ने सम्भावना बढी भएकाले बुद्धले यसलाई अवनतिको कारण मानेका छन् । (पृ. १८४)
— त्यस बेला महिलाले मात्र होइन, पुरुषले पनि शृङ्गार गर्थे । कुनै कुनै पत्नीले आफ्ना पतिलाई ऐना काइँयो, सुगन्धिलेप, गाजल आदिका सहयोगले सिँगार्थे । (पृ. १८९)
— त्यस समयमा केटाकेटीका अरू खेलहरूमा पटिक (लौराको खेल), मोक्खचिक (पुल्टुङबाजी), चिङ्गुलक (फिरफिरे) र पत्ताल्हक (मानापाथीको खेल वा भाँडाकुटी) आदि प्रमुख थिए । (पृ. १८९)
— त्यस बेला मञ्च (खाट), पीठ (पिर्का), भिसि (गुन्द्री चटाई), बिम्बोहन (सिरानी) आदि ओछ्याउने र सुत्ने कार्यमा प्रयोग हुन्थे । फलामका गह्रौँ भाँडाकुँडाहरूमा लोहकुम्भी (फलामको घैँटो), लोहभाणक (फलामका भाँडाकुँडा), लोहवारक (फलामको ठेकी), लोहकटाह (फलामको कराही) आदि प्रयोग गरिन्थे । (पृ. २१२)
उल्लिखित सन्दर्भहरूका आधारमा हेर्दा खानपिनसँग सम्बन्धित अपरिहार्य कुराहरू र शृङ्गार, खेलकुद आदिसँग सम्बन्धित मनोरञ्जनात्मक पक्षहरू युग र व्यवहारअनुकूल र मानवीय आवश्यकताअनुसार निर्धारण हुन्छन् र ती समयको परिवर्तनसँगै परिवर्तित र विकसित पनि हुँदै जान्छन् भन्न सकिन्छ ।
बुद्धकालीन समाजमा भिक्षुभिक्षुणीहरूमाथि यस्तो कडा अनुशासन थियो—
— बाटो हिँड्दा बाटाको छेवैमा भइरहेको रमाइलो पनि भिक्षुहरू घाँटी तन्काएर टाढैबाट समेत हेर्दैनथे । हेरेका खण्डमा भिक्षु नियमअनुसार प्रायश्चित्त गर्नुपर्थ्यो । (पृ. १९३)
— भिक्षु–भिक्षुणीहरू दाँत देखाएर उच्च स्वरमा अट्टहास गर्नु आचारविरुद्ध मानिन्थ्यो । उनीहरू मुसुक्क हाँसेको सम्म क्षम्य थियो । बुद्धले गीतलाई रोदनसँग र नृत्यलाई पागलपनसँग तुलना गर्थे । दन्तप्रदर्शन गरेर हाँस्नुलाई उनी केटाकेटीपन मान्थे । (पृ. १९३)
उल्लिखित साक्ष्यहरूका आधारमा हेर्दा बुद्धकालीन भिक्षुसङ्घ र भिक्षुणीसङ्घलाई अनुशासित, मर्यादित र आदर्श रूपमा प्रस्तुत गर्नका लागि यस प्रकारको कडा अनुशासनको पालना आवश्यक नै थियो भन्ने देखिन्छ ।
बुद्धकालीन समाजमा विवाह गर्ने शैली र प्रचलन यस्तो थियो—
— समानस्तरका दुई कुलका बिचमा गर्भावस्थामै छोरा वा छोरी जन्मिए एकअर्कासँग बिहे गरिदिने सल्लाह वा सम्झौता पनि गरिन्थ्यो । (पृ. १९९)
— बिहेमा रथ, हात्ती, घोडा, गाई र अन्य पशु पनि दिन्थे । छोरीको सुविधाका लागि दासदासी र नोकरचाकर पनि दिने चलन थियो । (पृ. १९९)
उल्लिखित साक्ष्यका आधारमा हेर्दा बुद्धकालीन समाजमा विवाह गर्ने शैली, वचनदानको शैली र दाइजो दिने प्रचलन केही रोमाञ्चक देखिन्छ । यो पनि तत्कालीन सामाजिक यथार्थको एउटा चित्र हो भन्न सकिन्छ ।
बुद्धकालीन समाजमा लोकविश्वास यस प्रकारको थियो—
— यस लोकलाई चार दिशामा चार लोकपालले रक्षा गर्छन् भन्ने विश्वास गरिन्थ्यो । चार लोकपाललाई चतुर्महाराजिक देवता पनि भनिन्थ्यो । पूर्व दिशाका लोकपाल धृतराष्ट्र गन्धर्वका, दक्षिणका विरुढक कुष्माण्डका, पश्चिमका विरूपाक्ष नागका र उत्तरका लोकपाल कुबेरलाई यक्षका अधिपति मानिन्थ्यो । (पृ. २०६)
— भगवान् बुद्ध बसेको स्थानवरिपरि देवताले रक्षा गर्ने हुँदा मनुष्यलाई कुनै उपद्रव नहुने विश्वास गरिन्थ्यो । मान्छेलाई दुःख दिने यक्ष, पिशाच आदि अमनुष्यले पनि तो देवताको प्रभावका कारणले दुःख दिँदैनथे । (पृ. २११)
उल्लिखित साक्ष्यका आधारमा हेर्दा लोकविश्वास जुनसुकै युगको पनि लौकिक चिनारी बन्ने गरेको र त्यसले उक्त समयको मानवीय चिन्तन, व्यवहार र विश्वासको समेत प्रतिनिधित्व गरेको देखिन्छ ।
बुद्धकालीन समाजमा लैङ्गिक अवस्था र व्यवहार यस प्रकारको थियो—
— महिला गर्भधारण, प्रसव र सन्तान हुर्काउने अवधिमा सिकार, युद्ध आदि बाह्य क्रियाकलापमा सहभागी हुनु सम्भव थिएन । … उत्पादनका कार्यमा पुरुषको अधिक योगदान रहेकाले समूहमा पुरुषको प्रभुत्व स्थापित भयो । (पृ. २१८)
— बुद्धकालमा पुरुषप्रधान समाज भएकाले परिवारमा पुरुषकै हैकम र हालीमुहाली चल्थ्यो । सन्तान जन्मिँदा मातृपक्षको गोत्र कायम हुँदैनथ्यो, पिताको गोत्र नै कायम हुन्थ्यो । सन्तान पिताको गोत्रद्वारा नै समाजमा चिनिन्थे । (पृ. २२०)
— सामान्यतया बाबुको सेखपछि छोरा नै पैतृक सम्पत्तिको हकदार हुन्थे । वंशवृक्ष कायम राख्न र सम्पत्तिको रक्षाका लागि कम्तीमा एउटा छोरा हुनै पर्ने मान्यता थियो । अपुताको धनसम्पत्ति राज्यको हुन्थ्यो । (पृ. २२०)
— धेरै पुत्र हुनेको समाजमा इज्जत हुनाले स्त्रीहरू पनि धेरै छोरा जन्माउन इच्छुक हुन्थे । धेरै छोरा जन्माउने इच्छाको वशीभूत भएका स्त्रीहरू प्रसवावस्थाको पीडा पनि बिर्सन्थे । (पृ. २२२)
— वैदिक कालबाट परिवार र समाजमा निरन्तर खस्किँदै गएको महिलाको अवस्था बुद्धकालसम्म आइपुग्दा अझ धेरै खस्किसकेको थियो । (पृ. २२२)
— पत्नी सात प्रकारका हुन्छन्, ज्यानमारा, चोर्नी, मालिक्नीसमान, मातासमान, मान, सखी र दासीसमान । यसमध्ये माता, भगिनी, सखी र दासीसमान भार्यालाई उत्तम मानिएको छ । (पृ. २२३)
उल्लिखित साक्ष्यका आधारमा हेर्दा बुद्धकालीन समाजमा पनि पितृसत्तात्मक सोच र व्यवहार स्पष्ट रूपमा देखिन्थ्यो भन्ने थाहा पाइन्छ । यसले लैङ्गिक विभेदको प्राचीनतालाई पुष्टि गरी समानताका लागि भएका प्रयासहरूको सूचना प्रदान गरेको देखिन्छ ।
बुद्धकालीन समाजको आजीविका यस प्रकारको रहेको थियो—
— बुद्धकालमा कृषि, पशुपालन, वाणिज्य र विविध शिल्प व्यवसाय आजीविकाका प्रमुख साधन थिए । (पृ. २३९)
— पाँच प्रकारका गोधनले युक्त गोठलाई त्यस बेला परिपूर्ण गोठ मानिन्थ्यो । परिपूर्ण गोठ हुन गोठमा बहर, लैना गाईबाच्छा, गर्भिणी गाई, कोरली बाच्छी र मूल साँढे हुनु आवश्यक थियो । (पृ. २४९)
— त्यस बेला प्रशस्त खेतीपाती, पशुधन, नोकरचाकर, बन्धुबान्धव र स्त्री हुनु सम्पन्नताको सूचक मानिन्थ्यो तर यी वस्तुमा अधिक आसक्ति राख्नु दुःखको कारण हुन्छ भन्ने बुद्धको भनाइ थियो । (पृ. २५२)
— चर्पी र सहर बजारको सरसफाइको काम गर्नेको पेसा हीन र कृषि, वाणिज्य तथा पशुपालनलाई उत्कृष्ट मानिन्थ्यो । (पृ. २५८)
उल्लिखित साक्ष्यका आधारमा हेर्दा कृषिव्यवसाय नै त्यस युगदेखि आजको युगसम्मको प्रमुख आजीविकाको माध्यम देखा पर्दछ । कृषि, पशुपालन र केही नोकरी बुद्धकालको पनि आजीविकाको आधार रहेको सूचना उल्लिखित सन्दर्भहरूले दिएका छन् ।
प्रस्तुत ग्रन्थ साक्ष्यहरूको सङ्कलन मात्र होइन, लेखकीय अभिमतको तार्किक व्यवस्थापन पनि हो । सामान्यतः बुद्धका विषयमा जे जे कुराहरू प्रचलित छन्, तिनका बारेमा कसैले प्रश्न उठाएको पाइँदैन । यहाँ अनुसन्धाता पौड्यालले बुद्धको जीवनी र इतिहाससँग जोडिएर आएका अस्वाभाविक कुराहरूमाथि आफ्नो विमति छ भने त्यसलाई पनि स्पष्ट रूपमा राखिदिएका छन् । कपिलवस्तुको तिलौराकोट शुद्धोदनको दरबार भएको कुरा सत्य हो, त्यहाँबाट माइत हिँडेकी मायादेवी लुम्बिनी आइपुग्दा बुद्ध जन्मिएको घटना पनि स्वाभाविक नै हो तर त्यसपछिका अनेकौँ किंवदन्तीहरू निर्माण हुँदा चाहिँ बुद्धको चरित्र यथार्थ नभएर दन्त्यकथाको पात्र पो हुने हो कि भन्ने चिन्ता अनुसन्धातामा स्पष्ट देखिन्छ । यो अनुसन्धानको सकारात्मक पाटो हो । यस विषयमा अन्वेषक पौड्यालको विचार यस प्रकार रहेको देखिन्छ— “कपिलवस्तुका राजा शुद्धोदनको विवाह देवदहका अञ्जन शाक्यकी छोरी मायादेवीसँग भएको थियो । यिनै दम्पतीबाट सिद्धार्थको जन्म इपू ५६३ को वैशाख पूर्णिमाका दिन भएको थियो । सिद्धार्थ जन्मिएका दिन दशसहस्र लोकमा भूमिकम्प भयो । वीणा, दमाहा आदि बाजा कसैले नबजाई आफैँ बज्न थाले । जन्मान्धले देख्न थाले, बहिराले सुन्न थाले र लुलालङ्गडा दगुर्न थाले । अर्थात् उक्त दिन धुप्रै चमत्कार घटित भए । यहाँनिर अट्ठकथाकारले अत्यधिक श्रद्धा वा भावुकतावश अस्वाभाविक वर्णन गर्न पुगेको महसुस हुन्छ । अशुचि अर्थात् सालनालरहित अवस्थामा जन्म हुनु, जन्मनेबित्तिकै देवताले हात थापेर लिनु, जन्मनासाथ सात पाइला हिँडेर ‘लोकमा म ज्येष्ठ, श्रेष्ठ र अग्र छु, यो मेरो अन्तिम जन्म हो’ भन्ने घोषणा गर्नु आदि वर्णनहरू बुद्धको जन्म सामान्य मान्छेको जन्मभन्दा पृथक् र अलौकिक देखाउने प्रयत्नमा रचिएका अतिरञ्जित कथा भएको सहजै अनुमान गर्न सकिन्छ । उनले आफ्नै परिश्रम अर्थात् मानवीय पुरुषार्थले बुद्धत्व प्राप्त गरेका हुँदा उनलाई यस्ता दैवी चमत्कारका अस्वाभाविक र अपत्यारिला गलगाँड भिराउनु आवश्यक देखिँदैन । उनलाई अरूजस्तै सामान्य मान्छेका रूपमा जन्मेहुर्केको मान्दा कसैलाई आपत्ति हुनु हुँदैन भन्ने मेरो मान्यता छ । यसबाट बुद्धको महत्ता कत्ति पनि घट्दैन (पृ. ६७) ।” यस कुराले अनुसन्धाताको वैचारिक तटस्थता, वस्तुगत अन्वेषणीयता र दृष्टिकोणगत स्पष्टतालाई पुष्टि गरेको छ ।
यसरी नै अर्को सन्दर्भमा पनि बुद्धलाई अलौकिकतासँग जोड्ने प्रयास भएको देखिन्छ । पुराण लेखक र वाचकहरूले बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा चित्रण गरेको पाइन्छ । यस कुराप्रति पनि अन्वेषक पोड्यालको स्पष्ट विमति देखिन्छ । उनले यस कुरालाई तार्किक शैलीमा यसरी प्रस्तुत गरेका छन्— “बुद्धका विषयमा जति घृणा फैलाउने प्रयास गरे पनि समाजमा उनको प्रभाव कम्ती नभएपछि अर्को तरिकाले उनको तेजोवध गर्ने प्रयास सुरु भयो । यसअनुसार नकारात्मक आशयले बुद्धलाई विष्णुको नवौँ अवतारमा दर्ता गरियो । वैदिक धर्मका अनुयायी नभएका आर्येतर जातिलाई मोहमा पारेर गलत शिक्षा दिई भ्रमित बनाउन विष्णुले बुद्धको अवतार लिएको प्रचार गरियो । आफू जगन्नियन्ता (?) विष्णुको अवतार भएको कुरा बुद्ध स्वयम्ले वा उनका अनुयायीले नभनेर उनका प्रतिस्पर्धीले किन भन्नुपर्यो र सबैलाई दुःखमुक्तिको बाटो देखाउने करुणहृदय बुद्धले किन कसैलाई नर्कबासी बनाउने गलत शिक्षा दिनुपर्यो ? बुझिनसक्नु छ । के ईश्वरबाट यस्तो व्यवहार हुन सम्भव छ ? ईश्वरका अवतारले केही मान्छेलाई गलत बाटोमा लाग्ने शिक्षा दिन्छन् भने ईश्वर निश्चय नै पक्षपाती र मानवद्वेषी ठहरिन्छ भन्ने हेक्का पनि पुराणकर्ताले राख्न सकेको देखिँदैन (पृ. १५४) ।” यस कुराले पनि अन्वेषणकर्ताको वैचारिक स्पष्टतालाई नै थप पुष्टि गरेको छ ।
४. सान्दर्भिक अभिमत
इतिहासको आधिकारिक उत्खनन अत्यन्त जटिल विषय हो । त्यसमा पनि वस्तुगत, प्रामाणिक र तथ्यपरक इतिहास भए त त्यसको पुनर्व्याख्या वा संशोधनमा कुनै समस्या देखापर्ने थिएन तर दन्त्यकथाका रूपमा परिणत हुन लागेका ऐतिहासिक सन्दर्भहरूका बारेमा वैचारिक वहस गर्नु र त्यसलाई यथार्थमा उतार्नु निकै दुःसाध्य नै देखिन्छ । इतिहास संशोधन नयाँ कुरा होइन । नेपालमा नयराज पन्तको नेतृत्वमा इतिहास संशोधन मण्डल नै गठन भएर धेरै गलत ऐतिहासिक सन्दर्भहरूमाथि संशोधन भएका तथ्यहरू सार्वजनिक भइसकेका छन् । अहिले पनि डा. महेशराज पन्त र प्रा. दिनेशराज पन्तहरूले नेपालको इतिहासमा देखिने भ्रमात्मक सन्दर्भहरूलाई तथ्यले पुष्टि गरेर इतिहासको संशोधन गर्ने कामहरू गरिरहेका देखिन्छन् । यस कारण इतिहास संशोधन गर्नै हुँदैन भन्ने होइन । यदि इतिहासका गलत साक्ष्यहरू स्थापित भएका छन् भने तिनका बारेमा प्राज्ञिक बहस हुनुपर्छ, शास्त्रार्थ हुनुपर्छ, प्रमाणहरू खोजिनुपर्छ र सत्यतथ्यका आधारमा इतिहासको पनि संशोधन हुनुपर्छ । बुद्धका विषयमा विशेष गरी भारतीय इतिहासकारहरूले गलत तथ्यलाई विश्वव्यापीकरण गरिरहेका छन् । यस विषयमा नजिकैको अर्को छिमेकी राष्ट्र चीनले पनि सही इतिहासलाई पढाइरहेको छैन । चिनियाँ पाठ्यपुस्तकहरूमा र पर्यटक निर्देशिकाहरूमा पनि ‘बुद्धको जन्म भारतमा भएको हो’ भन्ने जस्ता गलत सूचनाहरू समावेश गरिएका छन् । विश्वका अधिकांश बौद्धमार्गी मुलुकहरूलाई बुद्धको सही इतिहास थाहा छैन । हामी बुद्धको पाइतालाको डाम लिएर बसेका छौँ तर बुद्धले टेकेको माटो चाहिँ अर्कैले लगिसक्न लाग्यो । यस परिवेशमा नेपाली अन्वेषकहरू जाग्नुपर्ने बेला आएको छ । यस जागरणको थालनी उमाकान्त पौड्यालबाट भएको छ । यसले थप निरन्तरता पाउनु आजको आवश्यकता हो ।
प्रस्तुत कार्यले गर्दा अन्वेषक पौड्यालमा अर्को जिम्मेवारी अब थपिएको छ । पालि त्रिपिटक र अन्य सान्दर्भिक कृतिहरूलाई आधार मानेर प्रस्तुत गरिएका यी तथ्यहरूले बुद्धविषयक अध्येताहरूलाई थप गहिराइसम्म पुग्नका लागि सहयोग पुर्याएका छन् । यो सरासर इतिहासको यथार्थ स्थापनामा केन्द्रित देखिन्छ । अन्वेषक पौड्यालले अब विश्वका कुन कुन बौद्धग्रन्थहरूमा के कस्ता गलत ऐतिहासिक सन्दर्भहरू उल्लेख भएका छन्, तिनका बारेमा पनि गहन अध्ययन र अनुसन्धान गरी अर्को कृति नेपाली समाजलाई दिन सके त्यो नेपाल र नेपालीका लागि वरदान नै साबित हुने थियो । यस कृतिबाट नेपाली पाठकहरू त लाभान्वित भए नै तर भाषिक कारणले गर्दा अन्य मुलुकका पाठकहरूसम्म यो तथ्य पुग्न सक्दैन । त्यसैले पहिलो चरणमा प्रस्तुत ‘बुद्धकालीन समाज’ कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने काम गर्नुपर्छ र दोस्रो चरणमा बुद्धविषयक गलत इतिहास कुन कुन भाषाका कुन कुन ग्रन्थमा लेखिएका छन्, तिनको खोजी गरी तथ्यहरूका साथ नयाँ कृति लेखिनुपर्छ । यति हुन सकेमा प्रस्तुत कृतिले अझै जीवन्त रूप प्राप्त गर्ने कुरा निश्चित छ ।
यसरी नै बुद्धलाई धेरैले एसियाका तारा भनेर उनको व्यापकतालाई खुम्च्याउने काम गरेको देखिन्छ । बुद्ध एसियाका तारा मात्र होइनन्, उनी विश्वकै तारा हुन् । बुद्धलाई नेपाली माटोमा जन्मिएका विश्वका तारा, ज्ञानका ज्योति वा ज्ञानगौरवका रूपमा पुनव्र्याख्या गरिनुपर्छ । यसका लागि बुद्ध ऐतिहासिक व्यक्तित्व हुन् कि मिथकीय पात्र हुन् ? अन्वेषकहरू स्पष्ट हुनु जरुरी छ । यदि बुद्ध ऐतिहासिक पुरुष हुन् भने उनको जीवनीसँग जोडिएका ‘बुद्ध जन्मिँदा भगवान्ले हात थापेका थिए, उनी जन्मनासाथ सात पाइला हिँडेका थिए’ भन्ने जस्ता अतिरञ्जनापूर्ण तिलस्मी कथाहरूलाई उनको जीवनीबाट हटाउनै पर्छ । यसका साथै भगवान् विष्णुका मत्स्य, कुर्म, वराह आदि जस्तै दश अवतारमध्येमा नवौँ अवतारका रूपमा बुद्धलाई राखेर अलौकिक कथाको पात्र बनाइनु हुँदैन । होइन, बुद्ध मिथकीय पात्र नै हुन् भने त्यो जहाँ पनि जन्मिन सक्छ, नेपालमै जन्मनुपर्छ भन्ने छैन । हामी जानेर होस् वा नजानेर होस् हाम्रा यथार्थ बुद्धलाई कुनै तिलस्मी कथाको राजकुमारजस्तो बनाएर विश्वसामु पस्कँदै छौँ । यो बुद्धप्रतिको सम्मान होइन, बुद्धको इतिहास मेटाउने प्रयास हो ।
बुद्धको जीवनी आफैँमा अनुकरणीय छ, प्रशंसनीय छ र अनुपम आदर्शले भरिएको छ । उनी जे हुन् त्यही मात्र सत्य उल्लेख गरिदिने हो भने पनि उनको महानतामा कुनै पनि कमी आउँदैन । जब त्यसलाई अतिशयोक्तिपूर्ण बनाउन थालिन्छ तब त्यसप्रतिको विश्वास घटेर जाने हुनाले बुद्धको मिथकीकरण, तिलस्मीकरण र अतिरञ्जनापूर्ण चरित्र निर्माण इतिहासका लागि घातक साबित हुने निश्चित छ । अन्वेषक पौड्यालले तथ्यमा आधारित अनुसन्धान कार्यको थालनी गरेका छन् । अब यस प्रकारका अनुसन्धानहरूले निरन्तरता पाएमा बुद्धको इतिहासले मात्र होइन, अन्य इतिहासले पनि न्याय पाउने कुरामा आशावादी हुने परिवेशको निर्माण ‘बुद्धकालीन समाज’ ग्रन्थले गरिदिएको छ ।
५. निष्कर्ष
गौतम बुद्धसम्बन्धी इतिहासका गहन अध्येता, ज्ञाता र प्रामाणिक व्याख्याता उमाकान्त पौड्यालद्वारा लिखित ‘बुद्धकालीन समाज’ पालि त्रिपिटकका साथै बुद्धका बारेमा आजभन्दा अगाडि लेखिएका सम्पूर्ण ऐतिहासिक सामग्रीहरूलाई मन्थन गरेर निकालिएको ज्ञानको निचोड हो । यो कृति ‘के छ ?’ को खोजीमा केन्द्रित छ त्यसैले यो यथार्थ हो । यसमा साक्ष्यहरूको थुप्रो लागेको छ । यहाँ लेखकीय अभिमत ठाउँ ठाउँमा मात्र आएको देखिन्छ । यस कारण यो कृति कल्पना वा अनुमानात्मक सन्दर्भबाट निकै टाढा देखिन्छ । यसमा कुन कुन ठाउँमा, कसरी बुद्धसम्बन्धी इतिहासहरूको गलत व्याख्या गरिएको छ भन्ने कुराको स्पष्ट सूचना पाइँदैन तर यसले त्यस्ता सन्दर्भहरूमाथि प्राज्ञिक चुनौती दिएको छ । यति हुँदाहुँदै पनि पाठकको अपेक्षा चाहिँ फलानो लेखकको फलानो ग्रन्थमा यस्तो उल्लेख भए पनि यसको सत्यता यो हो भन्ने प्रकारको खण्डन र मण्डनसहितको विचार अभिव्यक्त भए अझै राम्रो हुने थियो भन्ने रहेको देखिन्छ । जे भए पनि अनुसन्धाताको भगीरथ प्रयत्न यस कृतिमार्फत अधिकांश रूपमा सफल भएको छ, केही अपूर्णता रहेको अनुभूति भएमा तिनले आगामी दिनमा पूर्णता पाउने नै छन् । अनुसन्धान अनवरत यात्रा हो, जो चलिरहनुपर्छ । अन्त्यमा, ‘बुद्धकालीन समाज’ इतिहासको उत्खनन नै हो र यो त्यही मार्गमा निरन्तर अगाडि बढ्नुपर्छ, कतै कतै मिथकीय कथानिर्माण हुन थाल्यो वा यो दन्त्यकथाको पुनःपुष्टि हुने दिशातिर ढल्कियो भने त्यसबाट बचाएर यसका पाइलाहरू सत्यताकै धरातलमा टेकाएर अगाडि बढाउनुपर्ने वर्तमानको आवश्यकता हो ।
अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

