Chovar Blues Mobile Size

मैले तपाईँलाई भने भनेँ, ‘तपाईँको दिमाग विशाल योनि हो । जहाँ तछाडमछाड गर्दै प्रवेश गर्ने शब्दको शुक्रकिटले मानस सन्तानको अस्तित्व निर्धारण गर्छ ।’, तपाईँ कस्तो हावादारी मनुष्यको फेला परेछु भन्दै आफैँलाई सराप्नुहुन्छ होला ! बी कूल ब्रो ….. सृष्टि कथा अजीव हुन्छ । कोनो बढी बात हैन यो ! म हजुरलाई मेरै सृष्टि कथा कथ्छु । मेरो जन्म केही दिनअघि मात्र भयो । अब त हसिलोमसिलो भएर तपाईँसामु आई नै पुगिसकेँ । आफ्नो अतियथार्थ कहानी कहन …….

महाभारतका मानस सन्तान पृथ्वीको कुनाकन्दरामा आफ्नो जीवन भोगचलन गर्दै थिएछन् । त्यसैमध्येको एक म हुँ । जो जन्मिन नपाएको उधुम छटपटाहट लिएर फनफनी घुम्दै छ ।

‘फनफनी घुमिरहेको पृथ्वीमा कुन शोक पर्यो र डबल फनफन हुँदै हो यो ?’, तपाईँको दिमागमा पक्कै यो विचार विचरण गरेको हुनुपर्छ ! भन्दिहालुम् म, महाभारतका शब्द-शुक्रकिट स्वरूपमा आफ्नो लागि उपयुक्त योनि खोज्दै भड्किदै थिएँ । यो भडकाइ मेरो विधाता अर्थात् यस लेखको लेखकको जन्म नहुन्जेलसम्म रहिरह्यो ।

म मेरो जन्मपूर्व नै जन्मिन्छु भन्नेमा विश्वस्त थिएँ । पत्याउनु भएन ? यो लेख त्यही विश्वासको उपज हो । के गर्नु हजुर ! सृष्टिकथा यस्तै हो । तर हेर्नुस्, मौसमको यति लामो चक्रपछि आएर तपाईँ र मेरो भेट भयो । यस बिलम्वमा दोष यही लेजी लेखक जो असलमा मेरो आमालाई जान्छ । उसले आफ्नो उर्जावान् उमेरमा अनेक सडकछाप उपन्यास उठाउदै फुर्सद पाएन । जब ती घामड पुस्तकबाट मोह भङ्ग भयो । तब महाभारत पढ्न थाल्यो । अनि मेरो आविर्भाव निश्चित भयो ।

जन्म हुने कुरामा त म नजन्मिदै पक्का थिए । तर हेर्नुस्, यो लठुवा लेखकले कसरी लेख्छ ? के के लेख्छ ? म अझै विश्वस्त छैन । मेरो अनुहार कति भद्दा बनाइदिन्छ, राम जाने ! तर हरेक सृजना झैँ मेरो बाध्यता पनि यही हो कि, म मेरो विधाताकै विधिविधानमा चल्नुपर्छ । म चाहान्छु, महाभारतको त्यो पात्रबारे लेखोस् जो अवैध सन्तान हुदाँहुँदै पनि क्षेत्रीय हुन निरन्तर परिश्रम गरेको होस् । जसले जीवनभर दिने मात्र संकल्प गरेको होस् । जो सामान्य क्षेत्रीय धर्ममा प्रतिबद्ध हुदाँ स्वयं ईन्द्रको ब्रह्म डगमगाओस् । जो अनगिन्ती श्रापहरूको पर्वाह नगरी मित्रको पक्षमा युद्ध लड्ने ढिपी गरिरहोस् । अर्थात कर्ण बारे लेखोस् ……

म चाहान्छु, द्रोणाचार्य जस्ता गुरू बारे लेखोस् जो आफ्नो ज्ञान जति सत्ताकै वरिपरि घुमाउन अभिशप्त होस् । जसले सत्ताकै वाहवाही पाउन गुरूधर्म बिर्सिएर एकलव्यको बूढीऔँला माग्छ । जसले दरबार निकट अर्जुनको श्रेष्ठता सिद्ध गर्न गुरूधर्म बिर्सिएर कर्णलाई शास्त्रशस्त्र सिकाउन इन्कार गर्छ । जसमा सत्ताको भोक यति हुन्छ कि गुरू दक्षिणामा आधा देशको बागडोर माग्छ ।

महाभारत युद्ध धृष्टराष्ट्र र दुर्योधनको भिलेनगिरीले भयो भन्नु वाइयात कुरा हो । युद्ध पाण्डव या कौरवले चाहेर मात्र भएको हुँदैन । बरू अनेक पात्र आफ्नो स्वभाविक गुणमा चलमलाउँदा हुन पुगेको भन्नु ठीक हुन्छ ।

मनाेज बिश्वकर्मा

म चाहान्छु, लेखोस् प्रेम गान्धारीको । उनको अद्भुत धर्म/न्याय प्रेम, सन्तान प्रेम र अन्धा पति धृतराष्टप्रतिको उदाहरणीय प्रेम ……

द्रौपदीको दुःख, अर्जुनको ग्लामराइज शस्त्र श्रेष्ठता, पितामहको निष्ठा… यस्तै धेरै पात्रबारे लेखोस्, म चाहान्छु । किनकि महाभारतको सब्से सुन्दर पक्ष हो पात्र चित्रण ! महाभारतका अधिकांश पात्रको जन्म अजिबोगरिब छ । यसबारे ‘पैतालाकर्मी’ गनेश पौडेलले लेखिसक्नु भएको छ । यसैले थप लेख्ने चाहाना छैन । जन्मसे आगे देख्नेको मिल्ता है पात्रको स्वभाव …….

पात्रहरू आफ्नो फिक्स आइडेन्टिकल मानवीय कमजोरीसाथ चलमलाउछन् । तिनको चलमलाहट नै महाभारत जस्तो युद्धको कारक बन्छ । महाभारत युद्ध धृष्टराष्ट्र र दुर्योधनको भिलेनगिरीले भयो भन्नु वाइयात कुरा हो । युद्ध पाण्डव या कौरवले चाहेर मात्र भएको हुँदैन । बरू अनेक पात्र आफ्नो स्वभाविक गुणमा चलमलाउँदा हुन पुगेको भन्नु ठीक हुन्छ ।

महाभारत युद्धमा को हिरो थियो ? भन्ने प्रश्न यसैले पनि बेतुकको लाग्छ । भिलेन खोज्दा कोही चोखो पात्र छैनन् । आम बुझाइमा दुर्योधन भिलेन हुन् । धृष्टराष्ट्र पनि । तर भीष्म पितामहको सङकल्प, धर्मराज युधिष्ठिरकै जुवामा धर्मच्यूत, पाण्डवको अपरिपक्वता, शकुनिको बदला भाव, द्रोणाचार्यको सत्तापूजा, कृष्णको षडयन्त्र, द्रौपदीको अहं, कर्णको लाचारी, अर्जुनको स्त्रीलम्पटता पनि उतिकै भिलेन छन् ।

हिरो र भिलेनको निकै मसिनो स्पेस रहेको महाभारतमा मूलतः दुई पात्रलाई हिरो बनाउन खोजिएको छ- अर्जुन र कृष्ण । तर यसमा रामायणमा श्रीरामको झैँ हाइडोज भक्तिगान कुनै पात्रको छैन । कृष्णलाई ‘भगवान’ को कोटीमा उतार्न भविष्यवेताको अनेक किस्सा छन् । जन्म नै कंशको वध गर्ने प्रयोजनको लागि भनिएको छ । कंश वध गर्न जन्मिएको यो पात्र मखन चोर भनेर प्रसिद्ध हुन्छ । उनलाई चोर, ग्वाला, षडयन्त्रकारी, स्त्रीलम्पट बारम्बार भन्ने दुर्योधन, शिशुपाल पनि छन् महाभारतमा । कृष्णलाई द्रौपदीको वस्त्र जोगाउन त ल्याइएको छ । तर जुवा नै रोक्न सक्ने चाहिँ देखाइएको छैन । अर्जुनको ‘महान धनुर्धारी’ पदवी पनि भीष्म पितामहलाई छलपूर्वक मारेपछि, कर्णलाई निहत्था अवश्थामा वध गरेपछि मजाक बन्न पुग्छ । यस्ता अधर्म गर्न उक्साउने कृष्णलाई उनले सारथि किन छानेँ ? आफ्नो अस्त्रज्ञानप्रति विश्वस्त हुन नसकेर हो झैँ प्रतित हुन्छ ।

कतिपय अतिवादीहरू यस्ता धर्मग्रन्थमाथि 'क्रिटिकल्ली' प्रश्न गर्न बन्देज लाउछन् । यस्तो अन्धभक्तिले दुई चार महानुभावको हित गरे तापनि आम मानिसलाई हानि गर्छ । त्यसैले 'क्रिटिकल' हुनु जरूरी छ महाभारतप्रति ।

अँ त, म भन्दै थिएँ- म चाहान्छु पात्र चित्रणबारे लेखोस् । तर एक लाख पद्यको यो विशाल ग्रन्थका पात्रबारे प्रशस्त किताबहरू नै लेखिएका छन् । ‘कृष्ण’ धरावासीले आफ्नै प्रेमिका ‘राधा’ लेखे । कुमार भट्टराईले ‘अश्वश्थमा’। भारतीय लेखिका डा. प्रतिभा रायले ‘द्रौपदी’। यो लेखको लेखकले नपढेको अन्य कृति कैफियतमा ! संघीय संसदका साहित्यिक व्यक्तित्त्व जो आफ्नो सदावहार मफलर लगाएर साहित्यिक महोत्सवमा समेत छिर्नुहुन्छ । Can You Guess Who Is He ? Yes ! प्रदिप गिरी । उनले पनि एक घण्टा लामो सेसनमा जमेर बोलेका छन् , महाभारतका पात्रबारे । ‘शिलान्यास’ उर्फ सुजित मैनालीले ‘अर्जुन’ बारे बोलेका छन् । हरि शर्मा जो आफ्नो जोडदार ज्यान/विश्लेषण र अद्भुत मुस्कानको धनी हुनुहुन्छ, उहाँले जबर्दस्त लेख्नु भा’छ कर्णबारे ।

माथि उल्लेख गरेका लेखक तथा बुद्धिजीवीको साझा मान्यता छ कि एउटा मात्र पात्र हटाए पनि वा तिनको भूमिका नरहे ‘महाभारत’ महाभारत रहँदैन । अलि गहिरो पठन गर्दा हिरो को हुन् ? भिलेन को हुन् ? भन्नेमा पनि निकै मसिनो स्पेस पाइन्छ । तर पनि यी र यस्ता धर्मग्रन्थ निकै लामो समयदेखि श्रद्धास्पद ढङ्गले पठन हुँदै आएको छ । कतिपय अतिवादीहरू यस्ता धर्मग्रन्थमाथि ‘क्रिटिकल्ली’ प्रश्न गर्न बन्देज लाउछन् । यस्तो अन्धभक्तिले दुई चार महानुभावको हित गरे तापनि आम मानिसलाई हानि गर्छ । त्यसैले ‘क्रिटिकल’ हुनु जरूरी छ महाभारतप्रति । यो लेख त्यसकै उपज हो ।

जसलाई हामीले आँखा चिम्लिएर उच्च भक्तिगानपूर्वक पुज्दै आएका छौँ । के त्यसले हाम्रो चरित्र निर्माणमा भूमिका नै खेलेन होला ? पत्नीको हत्या गरेर सानसँग हात हल्लाउन सिकाउने कतै हाम्रै धर्मग्रन्थका पात्र त हैनन ? मर्दको १० वटी मिथकको निर्माणमा कृष्ण/अर्जुन/ईन्द्र जस्ता पात्रको योगदान छदै छैन कसरी भन्न सकिएला र ? आज हामीले उधुमसँग वकालत गरिरहेको रामराज्य साच्चै आदर्श राज्य हो त ? श्रीराम ग्लामराईज गरिए झै आदर्श पुरूष हुन त ? यस्तै प्रश्नमा रहेर धार्मिक पात्रहरूको समाजशास्त्रीय व्याख्या गर्नु अब जरूरी छ । यो लेखमा महाभारतका केही पात्रमार्फत त्यहि प्रयास गरिएको छ ।

१. अबैध सन्तान कर्ण

जन्मकथा

कुन्ती, कर्ण र सूर्यको कथा बिम्बात्मक छ महाभारतमा । जसलाई यहाँ सरलीकरण गर्न खोजिएको छ ।

एकादेशमा एउटा अत्यन्तै तीव्र सौन्दर्यकी प्रतिमुर्ति कन्याको जन्म भयो । जसलाई तपाईँले कुन्ती भनेर जान्नुहुन्छ । अलिपछि पाण्डवको संयुक्त माता भनेर पनि जान्नु हुनेछ । तर यो ‘एकादेशमा’ बाट सुरू भएको कथा पाण्डवहरूको कथा हैन । तिनेरूको जेष्ठ भ्राता कर्णको कथा हो । ल हेर्नुस्, यो कस्तो तोरीलाहुरे लेखक ! माताको जन्म हुन नपाउदै भटाभट सन्तानहरूको लस्कर-ए-तोएबा खडा गरेको ।

कन्याहरू जन्मसँगै असिमित जन्म-कथा लिएर आएका हुन्छन् । त्यो जन्म-कथा उत्पादनको लागि पुरूषहरू असीम मेहनत गर्छन् । शस्त्र, शास्त्र, साहस, पराक्रम जस्ता शब्द त्यही मेहनतको लागि पुरूषहरूलाई जन्मसँगै शब्दकोशबाट झिकेर नामसारी गरिन्छ । यही शब्दहरूको जरा रेखदेख गर्न अभिशप्त हुन्छन् पुरूषहरू । अभिशप्त शब्दलाई वरदान भन्न नि मिल्छ । यसैले कि आखिर यी एक सिक्काकै दुई पाटा हुन् । त्यो पुरूषले वरदान भन्नैपर्ने हुन्छ । जो कुनै धनी, अग्ली अनि स्निग्ध स्त्रीछेउ मन्डपमा सात फन्का घुम्ने तयारीमा हुन्छ । स्वभाविक छ कुन्ती राजघरानाको स्त्री भएकोले सुयोग्य पुरूष नै हुनेछ । जो मन्डपमा सात फेर लगाउन उनीसँगै उभिनेछ । कुन्ती तमाम कुलस्त्री झैँ यो बनिबनाउ नियमको कट्टर पक्षधर थिइन । सुयोग्य पुरूषको प्रतीक्षामा थिइन् ।

प्रतीक्षाको किनार आइपुग्न लाग्दा उनको भेट भएको थियो सूर्यसँग । सूर्य राजघरानाको थिएन । सायद कुनै क्षेत्रीय कुलको पनि थिएन । उनले कहिले कुल, गोत्र, थर, जात आदि इत्यादि थाहा पाउने प्रयास पनि गरिनन् । प्रेममा यो सब कुरा फजुल हुन् । त्यसैले पनि गरिनन् । कुन्तीको प्रतीक्षाको किनार आइपुग्दै थियो । जहाँ उनी ओर्लिनु थियो । ओर्लिएपछि नै छुन्थे बाँकी यात्राले उनको पैतालालाई ।

कुन्तीको प्रतीक्षा अघि नै प्रतीक्षा सक्किएको थियो । बदलामा पाएकी थिइन् सूर्यकै झैँ सुरक्षित छाती भएको कवजधारी तेजस्वी बालक । जसलाई तपाईँहरू कर्ण भनेर जान्नुहुन्छ ।

प्रतीक्षाको किनार आइनपुग्दै कुन्तीको हृदयको नदीछेउ आइपुग्यो सूर्य । जो उनको ज्ञानको पूर्वीय र पश्चिमी क्षितिजमा टाङ्गियो। जो उनको हर सपनाभरि जाग्यो। उसको चौडा छाती कुन्तीको सब्से सुरक्षित स्थान हुँदै थियो । हर असुरक्षामा, शोकको साँझ या पिरको झरीहरूमा उनको लुक्ने ठाउँ सूर्यको छाती हुन्थ्यो । प्रतिक्षाको किनारमा भेटिएको त्यो युवक, एकाएक समयको कुन नदीमा डुब्यो ! कुन्तीलाई कुनै ज्ञान-विज्ञान-शास्त्रले सम्झाउन सकेन ।

सदा झैँ उनको छातीमा निदाउँदै थिइन कुन्ती । उनको शरीर एक्कासि कुनै अपरिचित तापले रन्कियो । उठेर हेरिन सूर्य उस्तै तेज तापमा थियो । ऊ आफ्नै तापले खुम्चिदै गयो । जति खुम्चियो गयो । त्यति चम्किदै गयो । अन्ततः अस्तित्वको धरतीबाट गायब भयो । र आकाशको चम्किलो ‘तारा’ भयो । हेर्दाहेर्दै तारा उनीभित्रै एकाकार भयो । कुन्तीको प्रतीक्षा अघि नै प्रतीक्षा सक्किएको थियो । बदलामा पाएकी थिइन् सूर्यकै झैँ सुरक्षित छाती भएको कवजधारी तेजस्वी बालक । जसलाई तपाईँहरू कर्ण भनेर जान्नुहुन्छ ।

कर्ण कथामा प्रतिबिम्बित समाजशास्त्र

प्रेमको कुनै जात हुन्छ ? हुँदैन नि ! प्रेमको कुनै कुल हुन्छ ? हुदैन नि ! त्यसैले सूर्यको कुल थिएन । तर ऊ कुन्तीको प्रेमी थियो । अवैध प्रेमी । जसको अस्तित्व असमयमै कुन्तीको सम्बन्धबाट गायव भयो । अर्थात् ऊ तारा भयो । तारा हुनु भनेको के हो ? के तपाईँले मरेको मान्छे तारा हुन्छ भन्ने सुन्नु भा’छैन ? कुन्तीको प्रेमी अवैध थियो, पछि तारा भयो । जसलाई महाभारतमा पृथ्वीबाट देखिने सब्से नजिकको तारा सूर्य भयो भनिएको छ । प्रेमी त तारा भयो तर बदलामा कुन्तीले पाइन अवैध सन्तान कर्ण । किन अवैध ? किनभने कुन्तीले समाजको मापदन्डमा फिट हुनेगरी सन्तान जन्माइनन् ! गर्भ कुन्तीको, हुर्काउने , पढाउने , आत्मनिर्भरताको लागि तयार पार्ने जिम्मा पनि उनकै हुन्थ्यो । अवसर पाइनन् । अवैध करार गर्न तम्तयार समाज जो थियो ।

सूर्य र कुन्तीको सम्बन्ध तत्कालीन समाजको मापदन्डमा फिट हुन सकेको भए जन्मिदैन थिए पान्डव । हुँदैन थियो महाभारत युद्ध ।

आजका कुमारी आमा र कुन्तीले समाजबाट झेलेको मनोसामाजिक असुरक्षा/त्रासमा तात्विक भिन्नता छैन । यस सम्बन्धित बहस आजभोलि उठ्दैछ । तर त्यो बहस अझै कर्ण र कुन्तीको पक्षमा हुन सकिरहेको छैन ।

जब जब कर्णलाई आवश्यक पर्छ बुबा, सब्से नालायक पिता ठहरिन्छ सूर्य महाभारतमा । आज जन्मिने कर्णले नागरिक हुन झेल्नुपर्ने दुःख त्यति नै पीडादायक छन् । सूर्य कर्णको लागि नालायक बुबा नभएको भएँ महाभारतको कथा अर्कै हुन्थ्यो । सूर्य र कुन्तीको सम्बन्ध तत्कालीन समाजको मापदन्डमा फिट हुन सकेको भए जन्मिदैन थिए पान्डव । हुँदैन थियो महाभारत युद्ध । त्यसैले महाभारत कुमारी आमाको पीडाको कथा हो ।

वर्ण व्यवस्थाले कति अन्धो बनाउछ ?

माता कुन्तीको कुमारी अवस्थाको सन्तान कर्ण । समाजको लोकलाजबाट बच्न गङ्गामा बग्नुपर्छ । बग्दैबग्दै पुग्छ नि:सन्तान सुत दम्पतिसम्म । सुत अर्थात् दलित नै त हैन, तर सामाजिकरूपमा तल्लो जात । त्यही दम्पतिलाई मातापिता ठान्छन् कर्णले । त्यसपछि सुतपुत्र भएको अपमानसँग पाइलैपिच्छे ठोक्किन्छन् । विद्वान भनिने द्रोणाचार्य ‘जो ब्राह्मण हुन्छन्’ ले सुतपुत्र भनेर पटकपटक अपमान गर्छन् । भीष्म पितामह झैँ बुज्रुक पनि अपमान गर्न चुक्दैनन् । कृपाचार्य जस्ता गुरू, दासी पुत्र विदुर जस्ता विद्वान पनि सुतपुत्र भनेर गरेको अपमान चुपचाप सुन्छन् । क्षेत्रीय अर्जुन सुतपुत्र भनेर अपमान गर्छन् । वर्ण व्यवस्थाले कसैलाई जन्मजात देवत्वकरण गर्ने र कसैलाई मनोवैज्ञानिकरूपमा Victim बनाउने व्यवस्था हो । यो मानसिक चोटको बदला उनले पटकपटक रणभूमिमा निकाल्ने उद्घोष गर्छ ।

राजा द्रुपदले गुरू द्रोणसँग बदला लिन यज्ञ गर्छन् । यज्ञबाट जन्मिन्छन् द्रौपदी र धृष्टधुम्न । जसको जन्म नै यज्ञबाट भयो । त्यो पात्रले समेत ‘सुतपुत्र’ देख्नु जातिवादी अन्धताबाहेक अरू हुन सक्दैन ।

वर्णव्यवस्थाले तथाकथित उच्च जात/वर्णलाई कर्णलाई जसरी अपमान गर्न त जन्मजात रूपमा छुट दिन्छ नै । तर यो व्यवस्थाको सबभन्दा कुरूप पाटो हो- यो व्यवस्थासँग गोरू बेचेको साइनो नहुनेले पनि तल्लो जात/वर्णलाई त्यही दृष्टिकोणले हेर्ने बनाउनु । यसको जिउँदो जाग्दो उदाहरण हो- द्राैपदीले समेत कर्णलाई ‘सुतपुत्र’ भनेर अपमान गर्नु । राजा द्रुपदले गुरू द्रोणसँग बदला लिन यज्ञ गर्छन् । यज्ञबाट जन्मिन्छन् द्रौपदी र धृष्टधुम्न । जसको जन्म नै यज्ञबाट भयो । त्यो पात्रले समेत ‘सुतपुत्र’ देख्नु जातिवादी अन्धताबाहेक अरू हुन सक्दैन । जात व्यवस्थाले यति अन्धो बनाउछ ।

प्रतिबद्ध मित्र

कर्णलाई दानवीरको रूपमा चित्रण गरिएको छ । शरीर जो हरेक बुद्धिजीवीको समेत अस्तित्वको कारण हो । त्यही शरीरको रक्षा कवच (जसलाई कुनै अस्त्रले तोड्दैन) समेत दान दिनु चानचुने कुरा होइन । जो कर्णले दान गर्छन् । यसैले कर्णलाई दानवीर भन्नुमा ‘नो’ फरक मत । अर्जुन बराबरको धनुर्धारी भनिन्छ । यसमा चैँ छ फरक मत ।

कर्ण जसलाई गुरू परशुरामले ब्राह्मण हैन भन्ने थाहा पाएपछि ‘मैले सिकाएको ज्ञान सब्से आवश्यक पर्दा काम लाग्ने छैन’ भन्ने श्राप दिए । उनलाई ‘युद्धको समयमा रथको पाङ्ग्रा धस्सियोस्’ भन्ने श्राप त थिदै थियो । कर्ण, जो रक्षा कवचसमेत दान दिएर युद्धमा होमिएको थियो, लाई निहत्था अवस्थामा मार्ने अर्जुन कर्णकै भाषामा भन्दा ‘असली क्षेत्रीय’ हैन । निहत्था कर्णलाई छलपूर्वक मार्ने अर्जुन साँच्चै कर्णभन्दा श्रेष्ठ धनुर्धर हुन र ? शंका जायज छ ।

कर्ण अवश्य श्रेष्ठ धनुर्धर हुन् तर अर्जुनभन्दा फरक हुन । अर्जुन दरबारको छत्रछायामा उज्यालिएका प्रतिभा हुन भने कर्ण सुतपुत्र जस्तो अपमान झेल्दै झेल्दै माथि उठेका प्रतिभा हुन् ।अर्जुन द्रोणाचार्य जस्ता गुरूको छत्रछायामा हुर्किएका थिए भन्ने कुरा त द्रोणाचार्यको यो भनाइबाटै सिद्ध हुन्छ-‘तिमीलाई म सर्वश्रेष्ठ धनुर्धर बनाउने हरसम्भव प्रयास गर्नेछु (आदिपर्व, १३१।२३–२७) ।’ अर्जुनको श्रेष्ठता कुरा उठ्दा विराट युद्धमा कर्णलाई हराएको प्रंसग पनि उठ्छ । तर त्यो युद्ध अर्जुनसँग थिएन भन्ने कुरा भूल्छन् । यसैले कर्ण मात्र हैन भीष्म पितामह , द्रोणाचार्य , कृपाचार्य कोही उनीसँग लड्ने तयारीको साथ गएका थिएनन् ।

दानवीर र श्रेष्ठ धनुर्धारीको परिचय मात्रले कर्णलाई हेर्नुहुन्न । उनी प्रतिबद्ध मित्रसमेत हुन् । अर्जुनको शस्त्र ज्ञानलाई चुनौती दिन पुगेका कर्णलाई द्रोणाचार्णले ‘सुतपुत्र’ र ‘नरेश’ भएकोले चुनौती दिन अयोग्य भएको भन्छन् । त्यो सुनेर दुर्योधनले तत्काल उनलाई अङ्गदेशको राजा बनाइदिन्छ । यो त्यही दुर्योधन हो जो पाण्डवलाई सियोको टुप्पा जति जमिन दिन पनि इन्कार गर्छ । कर्णलाई अपमानबाट बचाउन दुर्योधनले गरेको यही एउटा कदमले मित्रताको बन्धन जुड्छ । यो मित्रताको जरा कृष्णको कुटिलता , कुन्तीको मातृत्त्वले समेत तोड्न सक्दैन । मृत्युपर्यन्त रहिरहन्छ मित्रताको नाता । सम्भवत कर्णले बुझेका हुन्छन्, महाभारत युद्धसिर्फ दुर्योधनको भिलेनगिरीले मात्र भएको होइन । र उनको पक्षमा लड्ने प्रतिबद्धता डगमगाउदैन ।

जातीय शुद्धताको भ्रम

कुनै दलित कन्याको अनुहारको ढाँचा सुन्दर छ भने ‘कस्तो बाहुनी जस्तो’ भनेको पाइन्छ । अनुहारमा आधारित यो मनोविज्ञान रक्त शुद्धताको भ्रमको उपज हो । शरीर र अनुहारको ढाँचा मातापिताको अविछिन्न क्रोमोजोमको साटफेरले निर्धारण गर्ने कुरा हो । त्यसमा दलित या बाहुन, क्षेत्री जस्ता कुराको कुनै अर्थ हुँदैन । वैज्ञानिक अनुसन्धानले यो ‘रक्त शुद्धता’को कुरालाई भ्रम सिद्ध गरिसक्यो ।

मानौँ, श्रेष्ठतासँग जातको सब्से निकट सम्बन्ध छ । के साँच्चै यही हो त ? होइन नि ! अलिकति कमन सेन्स हुनेले तेजस्वी हुनु , धनुर्धारी हुनुसँग 'सुतपुत्र' हुनुको सम्बन्ध नै छैन भनेर बुझ्न सक्छ ।

यस्तै बेतुकको सौन्दर्यशास्त्रको सिकार कर्ण भएका छन् । ‘सुतपुत्र यति तेजस्वी हुनै सक्दैन ।’, ‘सुत पुत्र यति श्रेष्ठ धनुर्धारी हुनै सक्दैन ।’ समेत भनेको पाइन्छ । मानौँ, श्रेष्ठतासँग जातको सब्से निकट सम्बन्ध छ । के साँच्चै यही हो त ? होइन नि ! अलिकति कमन सेन्स हुनेले तेजस्वी हुनु , धनुर्धारी हुनुसँग ‘सुतपुत्र’ हुनुको सम्बन्ध नै छैन भनेर बुझ्न सक्छ ।

……………

आरम्भमा ‘जय’ नाम दिएर द्वेपायन व्यासले भरतवंशीहरूको इतिहास करिब ८ हजार पद्यमा लेखेको महाभारत पछिल्ला सम्पादकले कसरी एक लाख पद्यको हालको महाभारत रूपमा ल्याए ? भन्ने तथ्य यादव देवकोटाको महालेख ‘दस हजार वर्ष लामो चेतनाको बाटो’मा छ । समयको लामो यात्रा पार गर्दै यहाँसम्म आइपुगेको महाभारत जस्तो विशाल ग्रन्थले धेरै कुरालाई छोप्न पनि खोजेको छ । के के छोपिए होला ? एउटा असल जिज्ञासुको धर्म त्यसलाई उत्खनन् गर्नुमा हुन्छ । ‘संदेह’बिनाको भक्ति र धर्म दुवै अपुरो र वाइयात हो । ‘संदेह’ गर्नुहुन्न भन्ने मानसिकता दासतासिवाय अरू केही होइन पनि ।

पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर।

(‘सन्देह’ कवितांश,अभय श्रेष्ठ )

महाभारत जस्तो जबर्दस्त पठनीय पुस्तकको लागि त ‘संदेह’ झन् आवश्यक छ । जुन अभय श्रेष्ठको माथिको कवितांशले पनि सङ्केत गर्छ । तर हाम्रो दुःख यो छ कि हामीले आँखा चिम्लिएर पढेकोले धेरै पात्र भगवान भइसके । पात्रको समाजशास्त्रीय व्याख्या गर्न केन्द्रित यो लेखमा ती पात्रबारे पनि बोलिन्छ नै ! कर्णबारे लेखिसकेपछि उनकै प्रतियोद्धा अर्जुनबारे लेख्नु उचित हुन्छ ।

२. सत्ताले निर्माण गरेको प्रतिभा अर्जुन

जन्मकथा

सूर्यसँगको सम्बन्धहिन सम्बन्धपछि कुन्तीको विवाह भएको थियो पाण्डुसँग । पाण्डुबाट सन्तान हुन सकेन । कस्तो गहिरो ट्राजेडी ! कुमारी अवस्थामा पुत्रलाभ भयो; परिचय दिन सकिनन् ! जब परिचय दिन चाहिन्, पुत्रलाभ भएन । कुन्तीसँग ऋषि दुर्वासाले दिएको वरदान थियो । त्यो बरदानबाट उनी जसलाई पनि बोलाउन सक्थिन् । बोलाइन् । सन्तान प्राप्ति पनि भयो । यो बोलाएर सन्तान प्राप्त गर्ने विधिलाई समाजशास्त्रीहरूले नियोग विधि भनेका छन् । नियोग विधिले ईन्द्रतर्फबाट जन्मिएका सन्तान हुन् अर्जुन ।

अर्जुनको लालनपालन दरबारमा हुन्छ । गुरू द्रोण र कृपाचार्ण जस्ता गुरूबाट शस्त्रशास्त्र हासिल गर्छन् । गुरू द्रोणाचार्य अर्जुनको क्षमता पहिचान गर्न चुक्दैन । त्यो क्षमतालाई सबल बनाउन हरप्रकारको ज्ञान दिन्छन् । ज्ञान दिनु गुरूको प्रमुख जिम्मेवारी त हो नै, तर द्रोण आफ्नो द्रुपदसँगको स्वार्थको कारण अर्जुनको अतिभक्तिगान गर्छन् । भन्छन् -‘ तिमीलाई म सर्वश्रेष्ठ धनुर्धर बनाउने हरसम्भव प्रयास गर्नेछु (आदिपर्व, १३१।२३–२७) ।’, अर्जुनकै भक्तिमा पतित भएर द्रोणाचार्यले एकलव्यको बूढीऔँला माग्छन्, कर्णलाई सुतपुत्र भन्दै सिकाउन इन्कार गर्छन् ।

दरबारको छत्रछायामा हुर्किएका अर्जुन बाल्यकालभरि गुरू प्रेमको ओभरडोजमा थिए । यसले उनमा उच्च साहस, आत्मविश्वास जागृत गर्नु स्वभाविक हो । महाभारत युद्धमा त्यसैले अर्जुन द्रोणाचार्यलाई वध गर्न हैन बन्दी बनाउन चाहन्थे । तर धृष्टधुम्नको त जन्म नै द्रोण वधको लागि भएकोले उनको चाहाना क्षतविक्षत हुन पुग्यो ।

कृपाको लम्बेतान किस्सा

अर्जुन क्षमतावान र श्रेष्ठ धनुर्धर हुन् । यसमा दुईमत नहोला । तर उनलाई श्रेष्ठ धनुर्धर मात्र भनेर हेर्दा उनको व्यक्तित्त्व अधुरो हुन्छ । केही विशेष कृपा छन् जसलाई जोडेर अर्जुनलाई हेरिएको छैन ।

कौरव सेनाको आत्मबल महारथीको मृत्युले डगमगाउने भएकोले पनि बनाउनु बुद्धिमानी थियो । उनी महारथी बन्छन् पनि । तर आफ्नो नेतृत्वमा कर्णको सहभागिता निषेध गर्छन् ।

क. ईन्द्रसँगको नियोगबाट जन्मिएका हुन् अर्जुन । अलि ठूलो भएपछि ईन्द्रले आफ्नो छोरालाई ‘दिव्यअस्त्र’ दिएँ । विशिष्ट प्रतिभा भएर दिइएको भनिए तापनि पुत्रमोहले दिएको भनेर बुझ्नु अनुपयुक्त हुँदैन । किनकि महाभारत युद्ध हुने भएपछि उनी पुत्रकै जीवनरक्षा गर्न कर्णको रक्षा कवज छलपूर्वक दानमा माग्न पुग्छन् । ईन्द्रलाई समेत अर्जुनको कसैले वध गर्न सक्छ भने त्यो कर्ण हो भन्ने लागेको थियो भन्ने प्रमाण यो हो ।

ख. पितामह भीष्म ईच्छामृत्युको वरदान प्राप्त हुन्छन् । हस्तिनापुरको सत्ता संरक्षण गर्न वचनबद्ध पनि । यसैले उनलाई महाभारत युद्धमा महारथी बनाइन्छ । कौरव सेनाको आत्मबल महारथीको मृत्युले डगमगाउने भएकोले पनि बनाउनु बुद्धिमानी थियो । उनी महारथी बन्छन् पनि । तर आफ्नो नेतृत्वमा कर्णको सहभागिता निषेध गर्छन् ।

प्रतिपक्षी सेनाको मुख्य बल अर्जुन हुन्छ । अर्जुनलाई बध गर्ने संकल्प गरेका कर्णलाई भीष्म पितामहले आफ्नो नेतृत्त्व रहुञ्जेल निषेध गर्छन् । ईच्छामृत्युको वरदान प्राप्त यो पात्र अर्जुनले चलाएको वाण स्विकार गर्छ । र वाणकै ओछ्यानमा पल्टिएर निष्क्रिय हुन्छन् । यी दुई घटनाले स्पष्ट पार्छ, भीष्म पितामहको अर्जुनप्रतिको कृपाभाव ।

ग. कृष्ण, जो नाम र बदनाम दुबैले प्रसिद्ध पात्र हो । उसकै छत्रछायामा रहन्छन् अर्जुन । उसकै मार्गनिर्देशनमा युद्धको समयमा दोधारभावले घेरिएका अर्जुनले बाटो भेट्छन् । त्यही दोधारभावले गीता लिपिबद्ध छ । त्यो लिपिबद्धताबाट यी दुवै पात्रसँगै बाचिरहेका छन् । नत्र त गीतामा अर्जुन र कृष्ण हैन, कृष्ण र युधिष्ठिर हुनुपर्ने हो ।

पितामह भीष्म महायुद्धमा नहारेपछि कृष्ण आफैँ उनको वध गर्न तम्सिन्छन् । यो अर्को कृपाभाव हो अर्जुनप्रति ।

पाण्डव सेना तथा अर्जुनको शस्त्र ज्ञान निकम्मा सिद्ध हुने तरखरमा हुदाँ कृष्णले नै छलपूर्वक वध गर्न उस्काउछन् । र महाभारत युद्ध पाण्डवले जित्न सफल हुन्छ । महाभारत युद्धमा पितामह भीष्म , गुरू द्रोणाचार्य , कर्ण जस्ता महारथीको वध गर्न उनले खेलेको भूमिका अर्जुनप्रति कृपाभाव श्रृङ्खला नै हो ।

पाँच पत्निका अर्जुन

द्रोणाचार्य वध गर्न सकुँ भनेर द्रुपदले यज्ञ गरेपछि यज्ञबाट उत्पन्न भएकी यज्ञसेनी हुन् अर्जुनको प्रथम पत्नी द्रौपदी । उनको विवाह अर्जुनसँग हुनु यसैले पनि जरूरी थियो, यी दुईको विवाहबिना राजा द्रुपद महाभारत युद्धमा पाण्डव पक्षबाट लड्न सजिलो थिएन । द्रुपद पाण्डवमा भएपछि द्रोणाचार्य कौरव पक्षधर हुनु स्वभाविक पनि छ । द्रौपदीलाई स्वयं-वरमा जितेर ल्याएका अर्जुनले सबै दाजुभाइसँग साझा गर्न राजी हुन्छन् । त्यसपछि आफ्नो पति ठानिसकेकी द्रौपदीको मनोदशा कस्तो हुन्छ ? त्यसको बेजोड चित्रण डा.प्रतिभा राय लिखित ‘द्रौपदी’ उपन्यासमा छ ।

अर्जुनको समेत पाँच पत्नीहरू छन् । यसैले द्रौपदी र अर्जुनको विवाह युगल विवाह हो भन्न सकिन्छ । तर द्रोपदीबाहेक अरू पात्रको बहुपति नहुनु र अर्जुनलगायत अरू पात्रको बहुपत्नी हुनुले युगल विवाह हैन भन्ने स्पष्ट पार्छ ।

द्रोपदीले पाँच पति स्वीकार्नु पर्ने परिस्थिति आउछ । तर उनले प्रथमपटक पति ठानेको पात्र अर्जुन हो । त्यसैले ऊप्रति गहिरो समर्पण र अनुराग भाव हुन्छ । तर अर्जुनले सुभद्रा भित्र्याएपछि टुक्रिन्छ यो भाव । भन्छिन- सुबद्धस्यापि भारस्य पूर्वबन्धः श्लथायते ।। (आदिपर्व, २२०।१६–१७) अर्थात्, भारीलाई जतिसुकै दह्रोसँग गाँठो पारे पनि दोस्रोपटक सुर्किना कँस्दा (अर्थात् दोस्रो पत्नी ल्याउँदा) आखिरमा पहिलो गाँठो खुकुलो भइहाल्छ (अर्थात् पहिलो पत्नीसँगको प्रेम कम भइहाल्छ)।

द्रौपदीको पाँच पति हुनुलाई कतिपयले त्यो समयमा अवशेषको रूपमा रहेको बहुपति प्रचलन, जो हाल नेपालकै डोल्पा जिल्लामा समेतमा छ, हो भनेर आकलन गरेका छन् । महाभारत लेखिएको काल र फ्रेडरिक एङ्गेल्सले ‘परिवार , निजी स्वामित्त्व र राज्यको उत्त्पति’मा विश्लेषण गरेको चार प्रकारको विवाहअन्तर्गतको युगल विवाह द्रौपदीले गरेको हुन सम्भव छ । जो बहुपति प्रचलन जस्तै हो । अर्जुनको समेत पाँच पत्नीहरू छन् । यसैले द्रौपदी र अर्जुनको विवाह युगल विवाह हो भन्न सकिन्छ । तर द्रोपदीबाहेक अरू पात्रको बहुपति नहुनु र अर्जुनलगायत अरू पात्रको बहुपत्नी हुनुले युगल विवाह हैन भन्ने स्पष्ट पार्छ ।

“वास्तवमा पुरूषले अनेक पत्नी राख्ने प्रथा स्पष्ट दास प्रथाबाट उत्पन्न भएको हो र यो कुरा विशेष स्थितिमा रहेका केही व्यक्तिहरूको लागि मात्र सुलभ थियो।” (परिवार,निजी स्वामित्त्व र राज्यको उत्त्पति,पेज-४८)

द्रौपदीको पाँच विवाहलाई समर्थन गर्ने कृष्ण अर्जुनको पाँच विवाहको समेत प्रेरणाका स्रोत बन्न पुग्छन् । झट्ट हेर्दा कृष्णले नारी-पुरूषप्रति समान भाव राखे झैँ देखिए तापनि पुरूष प्रदान समाजमा यो गलत हो ।

अर्जुनको पाँच पत्नी थिए । जो कमै चर्चा गरिन्छ । द्रौपदीको पाँच विवाहलाई समर्थन गर्ने कृष्ण अर्जुनको पाँच विवाहको समेत प्रेरणाका स्रोत बन्न पुग्छन् । झट्ट हेर्दा कृष्णले नारी-पुरूषप्रति समान भाव राखे झैँ देखिए तापनि पुरूष प्रदान समाजमा यो गलत हो । ‘पाँच पति’की द्रौपदी भनेर खेप्नु परेको लाञ्छनाले यो सिद्ध गर्छ ।

अर्जुनलाई अब यो कोणबाट पनि हेर्नुपर्छ ।

अर्जुन भक्तिगान: एक दृष्टिकोण

महाभारत युद्धको लागि सिङ्गै नारायणी सेना र निहत्था कृष्णमा अर्जुनले कृष्ण छान्छन् । चलाखीको लागि प्रसिद्ध कृष्णलाई मित्र भएर मात्र छानेका हैनन् भन्ने कुरा त्यसपछिको घटनाहरूले देखाउदै जान्छन् । श्रापले भरिपूर्ण र रक्षा कवचसमेत नभएका कर्णलाई शस्त्रको बलले हराउने अवसर अर्जुनसँग हुन्छ । तर उनी कृष्णको छल अपनाउनुमै बुद्धिमानी देख्छन् । र छलपूर्वक उनको वध गर्छन् । यसबाट अर्जुनले कृष्णलाई सारथि छान्नुको कारण आफ्नो शस्त्र क्षमताप्रति पूर्ण विश्वस्त हुन नसकेर हो भन्ने देखाउछ ।

धर्मको लागि गरिएको भनिएको महाभारत युद्धमा सारा अधर्म गरेर विजय हुन्छन्, अर्जुन । पिताविहिन पाण्डवहरूलाई धृतराष्ट र उनका पुत्रले गरेको ज्याजति मुख्य दोष हो कौरव पक्षको । दुर्योधनको मनस्थिति निर्माणमा चैँ शकुनीको आँखाबाट हेर्ने हो भने हस्तिनापुरको हात पनि देखिन्छ । कौरव पक्षको अर्को दोष देखिन्छ जुवा खेलमा । तर खेल पाण्डवको सहमतिबिना भयो भन्नु जायज हैन । महाभारत युद्धपूर्वको यही मुख्य अधर्म हुन कौरवको । तर महाभारत युद्ध सुरू हुनुअगावै पाण्डव पक्षले गरेको बर्बरिकको शिरछेदन र युद्ध सुरू भएपछि महारथीहरू पितामह भीष्म , द्रोणाचार्य , कर्णको छलपूर्वक वध जस्ता अधर्मको किस्साहरू पनि पाण्डवको नाममा छ । एउटा धर्मरक्षक र अर्को भ्रष्टको भाष्य जसरी आम बनेको छ त्यो विजयी पक्षले सदासदैव पाइरहेको सहुलियत हो । विजयको यस्तो गलत नजिरबाट नहेर्ने हो भने महाभारत अर्कै देखिन्छ ।

अर्जुनको अति भक्तिगानको एउटा कडी युद्धमा विजय भएर निर्माण भएको हो ।