इतिहास हेर्ने हो भने प्रेमको अगाडि मानव समुदाय नतमस्तक बनेको पाइन्छ, तर आज छुवाछुत जस्तो अमानवीय कार्य गर्नेहरूको अघि प्रेम झुक्न बाध्य भएको छ । पछिल्लो समय स्याङ्जामा क्षेत्रीकी छोरी र कामीको छोराले विवाह गर्न खोज्दा उनीहरू नाबालिक भएको र बिहे गर्न पाइँदैन भनेर प्रहरीद्वारा पशुलाई झै बाँधेर लगिदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । उनीहरूलाई सम्झाइबुझाई गरी घर पठाउनुभन्दा अपराधी मानेर जेलमा कोच्नु नै उचित ठानियो । यदि जात र औकात मिलेको भए उनीहरू नाबालिक भए पनि प्रेम स्वीकार्य हुन्थ्यो होला । बलात्कारीहरू खुल्लेआम हिँडिरहँदा प्रेमिल जोडीलाई पाशविक व्यवहार गर्ने प्रहरी-प्रशासन दलितमाथि दमनकारी देखिन्छ ।
मान्छे, जनावर, कीराफट्याङ्ग्रा जुन योनिमा जन्म लिन्छन्, त्यो नै उसको जात हो । ‘जात’ संस्कृत शब्द हो, जसको अर्थ जन्मिने वा जन्म लिने हुन्छ । हाम्रो समाजमा मान्छेलाई जन्मकै आधारमा सानो , ठूलो , तल्लो र उपल्लो जातको भनेर छुट्याइएको पाइन्छ । हिन्दु वर्णव्यवस्था अनुसार मानिसले अपनाएको पेसाको आधारमा ब्राम्हण, क्षेत्री , वैश्य र शूद्र भनी नामाकरण गरे पनि पेसालाई नै जात भनेर अपव्याख्या गरिएको छ । जस कारण ब्राह्मणले जन्माएको सन्तान ब्राह्मण र शूद्रले जन्माएको सन्तान शूद्र नै हुनपुग्यो । यसरी लुगा सिलाउने काम गरे पनि क्षेत्रीको छोरोलाई दर्जी भनिएन, कर्मकाण्डको कार्य गरे पनि सार्कीको छोरोलाई ब्राह्मण नभनेर सार्की नै भनियो ।
राज्य सञ्चालनमा पहिचान र पहुँच भएका कुनै निश्चित धर्म , लिङ्ग, पेसा र जातको वर्चस्व रहने व्यवस्था नै जात व्यवस्था हो । नेपालमा हिन्दु धर्म मान्ने ब्राह्मण-क्षेत्री पुरुषहरू देशको कार्यकारी पदअन्तर्गत उपल्लो स्थानमा रहँदै आएका छन । जात व्यवस्थाले जकडिएको नेपाल बाहिरी आवरणमा सयौँ थुङ्गाको एउटै माला देखिएको भए पनि भित्री रूपमा विभाजित छ । जात र धर्मको आधारमा चिराचिरामा बाँडिएको छ । ब्राह्मण समुदायमा पनि कुमाई , उपाध्याय र जैसी , क्षेत्री र बाहुन, जनजाति र आदिवासी तथा दलित-दलित बीच पनि तहगत जातीय विभेद देख्न सकिन्छ ।
जात व्यवस्थाका कारण शैक्षिक, आर्थिक, प्रशासनिक र राजनैतिक क्षेत्रमा समान अवसरबाट वञ्चित दलित समुदाय सांस्कृतिक र सामाजिक क्षेत्रमा पनि अवहेलित छ । अनुहारको बनावट, थर, गोत्र, भाषा, परम्परा, चाडपर्व, रीतिरिवाज र संस्कारका कार्य उस्तै उस्तै भए तापनि अछुत बनाइएको छ । सदियौँदेखि उत्पीडन , दलन र छुवाछुत प्रथाको चपेटामा परेको दलित समुदाय आजको दिनसम्म आइपुग्दा पनि उस्तै पीडा भोग्न बाध्य छ । अझै पनि आफ्नो जातबाहेक अरू जातका मानिससँग प्रेमविवाह गरेकै निहुँमा कुटिएका छन्, मारिएका छन् ।
अन्तर्जातीय विवाह भनेको आफ्नो जातबाहेक अन्य जातसँग बिहे गर्नु हो । तर अचेल अन्तर्जातीय प्रेम र विवाह गरेकै निहुँमा पटक पटक दलित समुदायमाथि मात्र प्रहार भएको देख्दा चाहिँ अन्तर्जातीय विवाह भनेको दलित र गैरदलित बीचको विवाह हो रहेछ जस्तो भान हुन्छ । प्रायःजसो छुत मानिएका हिन्दु-आर्य समुदाय, आदिवासी र जनजाति बीच विवाह भयो भने स्वजातीय विवाह सरह नै स्वीकार गरिएको पाइन्छ । ढुङ्गालाई देवता मानेर पूजा गर्ने मानिसहरू मान्छे भएर मान्छेलाई केवल जात फरक भएकै आधारमा प्रेम विवाह गर्न दिँदैनन् ।
जाजरकोट चौरजहारीमा नवराज बिकलगायत उनका पाँच जना साथीहरूको बर्बर हत्या जातीय विभेदको पराकाष्ठा हो । प्रेम विवाह गर्न खोजे कै निहुँमा पूरै गाउँ दलितमाथि खनिदा गैरदलितले पनि ज्यान गुमाएका थिए । त्यसैगरी अजित मिजारलाई पनि प्रेम विवाह गरेकै निहुँमा मारिएको थियो। प्रेमलाई अमर तुल्याउन दलित भएकै कारण मृत्युको बाटो रोज्नु पर्ने यो कस्तो बिडम्बना ? एक्काइसौँ शताब्दीसम्म आइपुग्दा समेत हरेक क्षेत्रमा पछि परेको नेपाल जातीय नश्लवादको विकासतर्फ भने उचाइमा पुगेको देखिन्छ ।
हाम्रो समाज बरू छोरी मरेको हेर्न सक्छ तर दलित ज्वाइँ स्वीकार्न तयार देखिँदैन ।
अन्तर्जातीय विवाह गरेको पाँच वर्षपछि पनि स्याङ्जाका सन्जीव नेपालीकी श्रीमती सोनम रेग्मीलाई माइती पक्षले छुट्याएर लगेपछि प्रेम वियोग सहन नसकेर सन्जीवले सोनमको हत्या गर्दै आफू पनि आत्महत्या गरे। अछाममा प्रकाश टमाटा र केसरी रावलको जोडी छुटाउन खोज्दा केशरीले आत्महत्या गरिन्। यसरी हाम्रो समाज बरू छोरी मरेको हेर्न सक्छ तर दलित ज्वाइँ स्वीकार्न तयार देखिँदैन ।
दलित र गैरदलितको विवाहका कारण दलित महिला झनै पीडित छन् । दलित महिला अंगिरा पासीले प्रेमकै कारण मृत्यु उपहार पाएकी थिइन् । दलित अधिकारकर्मी बिन्दु परियार थापा र कलाकार लक्ष्मी बर्देवा भट्टराईले कथित उच्च जातसँग बिहे गरेकै कारण पतिको घर जान पाएका छैनन्। पशुलाई त मायाले पालेर ससम्मान घरभित्र राखिन्छ भने आफ्नै बुहारी ढोका बाहिर किन ? पितृसत्तात्मक समाजमा दलित महिलालाई बुहारीको रूपमा स्वीकार गरियो भने जात खस्छ, गुन्द्रुकको झोलमा जात फालेको इत्यादि भन्ने गरिन्छ । दलित केटी बिहे गरेकै कारण आफ्नै छोरोलाई वंश र अंशबाट अलग गराइन्छ ।
लोकगायिका देवीमाया र लमजुङ डाडाँगाउँका लेखामान गुरुङबीचको अन्तर्जातीय विवाहलाई गुरुङ परिवारले स्वीकार गरेनन् । तसर्थ दुवै पति-पत्नी लगायत उनीहरूका छोराछोरीले समेत अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । अन्तर्जातिय विवाह गरेकै कारण नागरिकता दिन नसक्ने यो कस्तो देश ? अन्तर्जातीय विवाहलाई कानुनले मान्यता दिए पनि समाजले स्वीकारेन भने कसैको केही नलाग्ने नै रहेछ त ? सुपर समृद्धितर्फ लम्किने देश यस्तै हुन्छ ?
अपवाद बाहेक दलित र गैरदलित बीचको विवाहले नकारात्मक परिणाम मात्र दिने गरेको छ । परिवारको हस्तक्षेप, गैरदलित महिला माइतीघर जानबाट वञ्चित हुने र पुरुषले परिवार त्याग्नुपर्ने, दलित परिवार विस्थापित हुने, बालविवाह, चेलीबेटी बेचबिखन र बलात्कारको आरोप खेप्नुपर्ने, कानुनी लडाइँ लड्नुपर्ने र हत्या नै हुने गरेको पाइन्छ । सर्वश्रेष्ठ प्राणी हुनु भनेको यस्तै मूर्ख हुनु हो ? यो कस्तो समाज जहाँ कुसंस्कारलाई सबथोक मानेर सन्तानभन्दा बढी जातलाई प्राथमिकतामा राखेर उनीहरूको खुसी लुट्ने !
अन्तर्जातीय विवाहका कारण अविवाहित दलित महिला प्रत्यक्ष या परोक्ष पीडित छन् । दलित पुरुषहरू अन्य जातका महिलातर्फ आकर्षित हुने तर गैरदलित पुरुषहरूले जात नमिलेकै कारण दलित महिलालाई बिहे गर्न नचाहने/नसक्ने हुनाले दलित महिलाले विवाहका लागि योग्य वर नपाएर अविवाहित नै बस्नु परेको देखिन्छ। तर यसबारे कसैले ध्यान दिएको पाइँदैन । आफ्नै समुदायका योग्य नारी र पुरूषहरूमा कमी देखेर अन्य जातिका महिला र पुरूष मन पराउनुको कारण के हो ? कथित उच्च जातीय अहंकार बोकेकासँग नाता जोड्न किन चाहन्छन् ?
गैरदलितसँग विवाह गरेका दलित पुरुष तथा महिला अन्तर्जातिय विवाहका कारण सिर्जित समस्याले आजीवन मानसिक तनाव, भय र आतङ्कमा अल्झिरहने हुँदा आफ्नो उज्ज्वल भविष्यका लागि केही गर्नै सक्दैनन् । त्यसैगरी कानुनी झमेलामा फसेका कारण इच्छाशक्ति र क्षमता भएर पनि दलित समुदायको उत्थानका लागि योगदान दिन पनि सक्दैनन् । तसर्थ जात व्यवस्थाले कुल्चिएको दलित वर्ग माथि उठ्न नसक्नुमा गैरदलितसँगको विवाह पनि एउटा कारण बनेको छ ।
प्रेम भनेको जोसँग पनि हुनसक्छ । प्रेम होस्, आपत्ति छैन तर अब प्रेमका नाममा कोही पनि अजित र नवराज नबनून् ! सोनम र सन्जीवको नियति कसैले भोग्नु नपरोस् ।
रोमियो-जुलियट, लैला-मज्नु अनि राधा-कृष्णको प्रेम वियोगान्त भएर नै इतिहास बनेको हो । प्रेम भनेको जोसँग पनि हुनसक्छ । प्रेम होस्, आपत्ति छैन तर अब प्रेमका नाममा कोही पनि अजित र नवराज नबनून् ! सोनम र सन्जीवको नियति कसैले भोग्नु नपरोस् । दुवै पक्षका परिवार राजी नहुने अन्तर्जातिय विवाहलाई दलित समुदायले नै बहिस्कार गरौँ।
जातीय विभेद गर्ने पखण्डीहरूसँग बदला लिन मन लागेको छ ? जात व्यवस्थालाई रद्दीको टोकरीमा मिल्काउन लाग्ने समयसम्म सजातीय विवाह गरौँ । तपाईँको आर्थिक हैसियत र शैक्षिक स्तर हेरेर बिहे गर्न खोज्ने उच्च घरानाहरूलाई होइन आफ्नै समुदायलाई प्राथमिकतामा राखौँ । दलित दलित बीचको विभेद हटाऔँ । आफ्नो समुदायको लागि मरेर होइन बाँचेर क्रान्ती गरौँ । एक ढिक्का भएर ब्राह्मणवादको यसरी अन्त्य गरौँ कि भावीपुस्ताका कसैले पनि जातको कारण प्रेम परित्याग गर्नु नपरोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।