शकुन्तला एउटा यस्तो प्रिय नाम हो जसलाई कविकुलगुरु कालिदासले विश्वसाहित्यमा प्रतिष्ठापन्न तुल्याए । कालिदासको नितान्त नूतन सृजनसम्पदाले समृद्ध बनेर अभिज्ञानशाकुन्तलम्  विशिष्ट काव्यरसायन बन्यो, समस्त लोकमा यो कविकर्म समादृत बन्यो, उन्मुक्तकण्ठले प्रशंसित बन्यो । दुष्यन्त शकुन्तलाको अनुरागोपाख्यानका रूपमा विश्वका दर्जनौं भाषामा अनूदित यो कृति स्वर्लोक र भूलोक एकीभूत भएको यस्तो दिव्य नाट्यकृतिका रूपमा प्रख्यात भयो जसमा वासन्ती प्रकृति–रमणीको यौवन, ग्रीष्मर्तुको सर्वस्व, मानवमनको प्रीतिरसायन, सन्तृप्ति, सम्मोहन एवं समस्त जीवनको परम ऐश्वर्यको सम्प्राप्ति युगपत् पाइन्छ भनेर जर्मनीका विश्वकवि गेटेले अभिव्यक्ति दिए ।

प्रिय पाठकवृन्द !

यसै कृतिको मूल स्रोत बनेको यो महाभारतीय शकुन्तलोपाख्यान आज म हजुरहरुका समक्ष प्रस्तुत गर्दैछु –

परापूर्वकालमा पुरुवंशको विस्तार गर्ने एक जना गौरवशाली राजा भए , जसको नाम हो दुष्यन्त । उनी महान् पराक्रमी, समुद्रवप्रवलया पृथिवीका एकच्छत्र सम्राट् थिए । उनका राज्यमा पृथ्वी स्वतः शस्यशालिनी थिइन्, समस्त प्रजा आधि–व्याधि–मुक्त, हृष्टपुष्ट र प्रसन्न रहन्थे । धर्मपरायणता, चातुर्वण्र्यनिष्ठता एवं समृद्धिमयता उनका शासनकालको विशेषता थियो । उनी सकलगुणनिधान, परमतेजस्वी एवं प्रतापी राजा थिए ।

एकपटक उनी चतुरंगिणी सेनाले सुसज्जित भएर शिकार खेल्न वन गए । त्यो समय सघन अटव्यले सम्पन्न धरामा बहुतराम् हिंसक प्राणीहरु रहन्थे । तिनलाई वध गर्नु राजाको परमकर्तव्य हुन जान्थ्यो । उनको आखेटाभियानमा समस्त प्रजागणले साथ दिएका थिए । उनको साथ लागेर ती धेरै परसम्म गए र तिनीहरु राजाको आज्ञाले घर फर्किए । उता राजा समस्त शिकारीदलका साथ त्यस भयानक जंगलमा प्रवेश गरे र उनले असंख्य हिंसक पशुहरुको वध गरे ।

त्यस्तै एउटा हिंसक पशुलाई खेदाउँदै जाँदा उनी त्यस विराट् अटव्यलाई पार गरेर अर्को घना जंगलमा पुगे । जाँदा जाँदै उनी एउटा भव्य र योजनौंसम्म फैलिएको तपोवनमा पुगे जहाँ कैयौं शान्त रमणीय आश्रमहरु थिए । त्यहाँ काँडारहित मगमगाउँदा पुष्पवाटिका थिए, आँखाले भ्याएसम्म पर परसम्म फैलिएका हरिया चौरहरु थिए , सुमधुर ध्वनि निकाल्दै वनै गुँजाउने पक्षीगणको कर्णप्रिय कलरव थियो, मनोरम वृक्षपंक्तिले जताततै पुष्पवृष्टि गर्दथे, असंख्य चेतोहर लताकुञ्जहरुले त्यो सुशोभित थियो, त्यहाँ सिद्ध, चारण, गन्धर्व र अप्सरागण निवास गर्दथे । जताततै स्वर्गीय आनन्दलहरीको कल्लोल मुखरित भएको अनुभूति हुन्थ्यो । त्यो वन, वन होइन वास्तवमा नन्दनवन लाग्दथ्यो ।

त्यसै बृहत्तम तपोवनको अन्तरतम भागमा दुष्यन्तले एउटा मोहनीदार आश्रम देखे । त्यो अत्यन्त प्रशान्त, रमणीय र मधुरतम थियो । त्यहाँ जताततै प्रफुल्लित पुष्पकदम्बले सुसज्जित विशाल वृक्षावली सुशोभित देखिन्थे जसको अधोभाग वृन्तच्युत पुष्पावलीले यस्तो लाग्दथ्यो मानौं सुकोमल मगमगाउँदा फूलहरुको बिछौना होस् । समीपमा शीतलजलवती पुण्यसलिला मालिनी नदीको कल्लोल गुञ्जायमान थियो । समग्र आश्रम देवलोकप्रतिम थियो । त्यसै मालिनी नदीको तटवर्ती उदार परिसरमा कश्यपगोत्रीय महात्मा कण्वको रमणीय आश्रम थियो । जो स्वयं भगवान् नरनारायणको आश्रमतुल्य पुण्यशाली थियो ।

राजा दुष्यन्तले त्यहाँ पुगेपछि आखेटजन्य समस्त थकावट भुले । आफ्ना समस्त पश्चवर्ती सैन्यलाई आश्रमपरिसरको बाहिरै रहने आज्ञा दिएर, शान्त सौम्यवेषमा महर्षि कण्वको दर्शन गर्ने अभिलाषा लिएर विशिष्ट मन्त्रिगण र पुरोहितवर्यहरुका साथ उनी त्यस उत्तम आश्रमपरिसरमा प्रवेश गरे । त्यहाँ उनले ब्रह्मचारी वटुहरुको सुमधुर स्वरमा पवित्र वैदिक मन्त्रहरुको सामूहिक उद्घोष गुँजिरहेको सुने । केही श्रेष्ठ ऋषिहरु जप पाठ र होममा पनि संलग्न रहेको देखे ।

त्यसै आश्रमपरिसरमा ती सबैभन्दा पनि मनोहर अर्को दिव्य आश्रम उनले देखे, त्यो महर्षि कण्वको आवासस्थान थियो । त्यहाँ उनी एक्लै अघि बढे र यताउति हेरे । कोही देखिएन । अनि उनले उच्च स्वरमा आवाज लगाए :

 यहाँ को हुनुहुन्छ ?

उनको शब्द गुँज्नासाथै मूर्तिमती लक्ष्मीतुल्य परासुन्दरी कन्या तापसीको वेषमा भित्रबाट अनायास प्रकट भइन् । अनि ती सुन्दर पराक्रमी राजालाई देखेर मधुर वाणीमा भनिन् :

 हे अतिथिदेव, तपाईँलाई स्वागत छ ।

अनि, आसन पाद्य अघ्र्य आदि समस्त उपचार समर्पित गरेर फेरि प्रश्न गरिन् :

तपाईँ नीरोग त हुनुहुन्छ नि, घरमा सबै सकुशल त हुनुहुन्छ नि ?

अनि फेरि समग्र आदर सत्कार सम्पन्न गरेर सोधिन् :

भन्नुहोस्, के सेवा गरौं ? यो पुण्य आश्रममा पाल्नुहुने कारण के हो ? यहाँ कुन कार्य सिद्ध गर्न चाहनुहुन्छ ? तपाईँ को हुनुहुन्छ ? तपाईँको परिचय के हो ?

उनले भने :

हे कमलनयनी, म राजर्षि दुष्यन्त हुँ , म महर्षि कण्वको दर्शन एवं उपासनाका साथ उहाँको सत्संगलाभ गर्न आएको हुँ । हे भदे्र, मलाई भन्नुहोस्उहाँ कहाँ हुनुहुन्छ ?

ती सुन्दरीले भनिन् :

 हे अभ्यागत, मेरा पूज्य पिताजी फल–फूल लिन भनेर आश्रमपरिसरको वनमा जानुभएको छ, दुई घडी प्रतीक्षा गर्नुहोला । उहाँ फर्किएपछि दर्शन गर्नुहोला ।

….

राजा दुष्यन्तले देखे : आश्रममा महर्षि कण्व हुनुहुन्न । अनि सामुन्ने दिव्य सौन्दर्यले दीप्त यौवनवती कन्या  छिन् । उनको अलौकिक लावण्यले उनको मन मोहनीविद्ध बनिरहेको थियो । उनको समग्र मन प्राण र अन्तस् उनलाई पाउन एकनिष्ठ बनिसकेको थियो । भने :

हे शुभे, दर्शनमात्रले तिमीले मेरो मन ह¥यौ । म तिम्रो परिचय जान्न चाहन्छु । तिमी को हौ, कसकी छोरी हौ? यस्तो तपोवनमा किन आएकी हौ? तिमीमा यस्तो अद्भुत रूप र गुण कसरी विकसित भएको हो? हे हस्तिनासोरु, मेरो कुरा सुन । म राजर्षि पुरुको वंशमा उत्पन्न राजा दुष्यन्त हुँ । आज म तिमीलाई आफ्नी प्रियतमा पत्नी बनाउनका लागि वरण गर्दछु । क्षत्रियकन्या अतिरिक्त अरु कुनै स्त्रीमा मेरो मन कहिल्यै जाँदैन । हे मधुरभाषिणी , तिमीमाथि मलाई अनन्य अनुराग अनुभूत भइरहेछ । यसको अर्थ तिमी अवश्य क्षत्रियकन्या हौ । म तिम्रो भक्त बनें । आऊ, तिमी मेरी महारानी बन, मेरो समग्र राज्यको भोग गर । अन्यथा नसोच, मलाई पराइ नठान ।

राजाका वचन सुनेर मनमोहक मुस्कान छर्दै मिश्रीमधुर स्वरमा ती दिव्य सुन्दरीले भनिन् :

हे महाराज दुष्यन्त, तपस्वी, धृतिमान्, धर्मज्ञ महात्मा भगवान् कण्वकी पुत्रीका रूपमा मलाई सबैले यहाँ चिन्दछन् । हे राजेन्द्र, म परतन्त्रा छु, कश्यपनन्दन महर्षि कण्व मेरा गुरु अनि पिता हुनुहुन्छ । तपाइँ कृपया उहाँलाई आफ्नो प्रयोजनसिद्धिका लागि प्रार्थना गर्नुहोला । तदितर अनुचित कार्य तपाइँले गर्नुहुँदैन ।

राजाले भने :    

 विश्ववन्द्य महर्षि कण्व त नैष्ठिक ब्रह्मचारी हुनुहुन्छ । साक्षात् धर्मराज पनि बरु सदाचारबाट च्युत हुन सक्नुहोला, तर उहाँ कदापि विचलित हुनुहुन्न । यस स्थितिमा तपाइँजस्ती सुन्दरी देवी उहाँकी पुत्री कसरी हुनुभयो । यस विषयमा मेरो मनमा गहन सन्देह छ, यसको निवारण तपाईँले नै गर्न सक्नुहुनेछ ।

तिनले भनिन् :   

हे राजन्, यस बारेमा जिज्ञासा राख्दा, एक दिन मेरा पिता कण्वले एकजना ऋषिलाई जे भन्नुभएको मैले सुनेकी थिएँ, आज म बस् त्यही वृत्तान्तमात्र तपार्इँलाई सुनाउन सक्छु । सुन्नुहोस् :

यसपछि  ती सुन्दरीले आफनो सकलवृत्तान्त संक्षेपमा सुनाइन् । उनी राजर्षि विश्वामित्र र अप्सरा मेनकाकी छोरी हुन् । पिताले मातालाई छोडेर तपोवृत्तिमा लागिसकेपछि माता मेनकाले पनि उनलाई सद्योजात अवस्थामा यसै मालिनीतीरको आश्रमपरिसरमा छोडेर इन्द्रलोकतिर लागिन् । बिहानै कुश, समिधादि आहरणका लागि वन आइपुगेका महर्षि कण्वले तिनलाई देख्नुभयो । अप्सराको गर्भबाट जन्मिएकी ती दिव्य बालिकालाई त्यहाँ पशु पन्छीहरुले समग्र वात्सल्यभावले सुरक्षित राखेर लालना गरिरहेका थिए । यसै कारण उनलाई शकुन्त+ला भनेर नामाकरण गरी स्नेहमूर्ति महर्षि कण्वले तिनलाई आश्रममा लैजानुभयो । यही शान्त, सौम्य, शुभ आश्रममा हुर्किएर उनी आज यहाँ उपस्थित छिन् ।

यो सबै वृत्तान्त सुनेपछि राजाले परमप्रसन्न हुँदै भने :

अब त स्पष्ट भयो तिमी क्षत्रियवंशी राजर्षि विश्वामित्रकी छोरी हौ । हे सुश्रोणि, तिमी मेरी पत्नी बन । भन, म तिम्रो प्रसन्नताका लागि के गरुँ? समस्त पृथिवीका सकल मूल्यवान् पदार्थ म तिम्रालागि जुटाउन सक्दछु । मेरो सारा राज्य आजदेखि तिम्रो भयो । तिमी मेरी महारानी बन ।

शकुन्तलाले भनिन् :     

एकैछिन प्रतीक्षा गर्नुहोस्, मेरा पिता आउनुहुन्छ । उहाँले नै मलाई हजुरको सेवामा समर्पित गर्नुृहुनेछ । किनभने मेरा पिता नै मेरा प्रभु हुनुहुन्छ । शास्त्रले निर्देश गरेको छ : स्त्रीले कहिल्यै आफूखुशी गर्नुहुँदैन । हे राजेन्द्र, म आफ्ना तपस्वी पिताको अवहेलना गरेर अधर्मपूर्वक हजुरलाई स्वेच्छाचारी बनेर कसरी वरण गर्न सक्दछु र ? किनभने :

मन्युप्रहरणा विप्रा, न विप्रा शस्त्रपाणयः

अग्निर्दहति तेजोभिः सूर्यो दहति रश्मिभिः ।

राजा दहति दण्डेन, ब्राह्मणो मन्युना दहेत्

क्रोधितो मन्युना हन्ति वज्रपाणिरिवासुरान् ।।               ७३ अध्याय, ५–६

ब्राह्मणले क्रोधद्वारा नै प्रहार गर्दछन्, तिनले हातमा अरु कुनै हतियार बोकेका हुन्नन् । अग्नि तेजले, सूर्य आफ्ना प्रखर किरणले, राजा दण्डले र ब्राह्मण क्रोधले दग्ध गर्दछन् । क्रुद्ध ब्राह्मण आफ्ना क्रोधले अपराधीलाई त्यसै गरी विनष्ट गर्दछन् जसरी इन्द्र वज्रले हानेर असुरलाई सिद्ध्याउँछन् ।

दुष्यन्तले भने :    

 हे वरारोहे, तिम्रो शील र स्वभाव अत्यन्त प्रशंसनीय छ । म तिमीलाई अन्तर्हृदयले चाहन्छु । तिमी मलाई स्वेच्छाले स्वीकार गर । किनभने :

आत्मनो बन्धुरात्मैव     गतिरात्मैव चात्मनः

आत्मनो मित्रमात्मैव तथात्मा चात्मनः पिता ।

आत्मनैवात्मनो दानं कर्तुमर्हसि धर्मतः  ।                      तत्रैव, पद्य ८

आत्मा नै आफ्नो बन्धु हो, आत्मा नै आफ्नो आश्रय हो, आत्मा नै आफ्नो मित्र हो अनि उही आत्मा आफ्नो पिता पनि हो । हे रमणी, तिमी स्वयं नै धर्मपूर्वक आत्मदान गर्न सक्दछ्यौ ।

आठ प्रकारका विवाह शास्त्रद्वारा स्वीकृत छन् : ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच । स्वायम्भुव मनुको कथन के छ भने : यी मध्ये पहिला चार विवाह ब्राह्मणका लागि उपयुक्त छन् । गान्धर्व र राक्षस यी दुई विवाह क्षत्रियजातिका धर्मानुकूल मानिन्छन् । म तिमीलाई प्राप्त गर्न इच्छुक छु , तिमी पनि मप्रति कामभाव राखेर स्वेच्छया गान्धर्वविधिद्वारा विवाहित भएर मेरी प्रिय पत्नी बन ।

शकुन्तलाले भनिन् :

 तपाइँ राजर्षि हुनुहुन्छ । तपार्इँ शास्त्रीय वचनका साथ यो विधिको समर्थन गर्नुहुन्छ भने म स्वयं आत्मदान गरेर तपाइँसँग विवाह गर्न राजी छु । किन्तु राजन्, यसका लागि मेरो यौटा शर्त छ पहिले त्यो सुन्नुहोस् र त्यसलाई पालन गर्छु भनेर प्रतिज्ञा पनि गर्नुहोस् । हे महाराज दुष्यन्त, विवाहपछि मेरो गर्भबाट जुन तपार्इँको पुत्र जन्मला त्यही तपाइँको उत्तराधिकारी युवराज पदको एक मात्र हकदार हुनेछ , यस्तो मेरो इच्छा छ । तपाइँलाई यदि यो शर्त मन्जूर छ भने हामीबीच समागम हुन सक्नेछ ।

यो कुरा सुनेर कामवशवर्ती राजाले एक पल पनि सोचविचार नगरीकन शकुन्तलालाई भने :

एवमस्तु । म तिमीलाई शीघ्रातिशीघ्र राजधानी लैजानेछु । किनभने तिमी राजभवनमा नै बस्न योग्य छौ ।

यसरी ती अनिन्द्यगामिनी दिव्य सुन्दरी शकुन्तलाको राजा दुष्यन्तले विधिपूर्वक पाणिग्रहण गरे । परमाह्लादका साथ तिनलाई प्रगाढ आलिंगनमा आबद्ध गरे । राजाको परिक्रमा गरेर अनुरागले झुकेकी शकुन्तलाका नयनयुगल अश्रुपूरित थिए । उनी राजाको चरणमा झुकिन् । राजाले भने :

 चिन्ता नगर, म आफ्नो पुण्यको शपथ खाएर भन्छु, म तिमीलाई चाँडै लिन पठाउनेछु ।

त्यसपछि परम अनुरागमय हृदयले प्रणयातुर दुष्यन्त र सम्मोहनमयी दिव्य सुन्दरी शकुन्तलाका बीच सन्तृप्तिप्रद समागम भयो, अनि राजा प्रियतमा शकुन्तलासँग विदा भएर आनन्दातिरेकको तरंग अनुभूत गर्दै राजधानी त फर्किए । साथै उनलाई मनमनै महर्षि कण्वले के भन्ने हुन् भन्ने चिन्ताले पनि ग्रस्त बनाएको थियो ।

….

यता राजा गएको दुइ घडीपछि महर्षि कण्व आश्रममा आइपुग्नुभयो । शकुन्तला मनमनै डराउँदै पिताका सामु गइन्, आसन बिछ्याइन् । उनी अलिकति लज्जा, अलिकति संकोच, अलिकति ब्रह्मचर्य भ्रष्ट हुनाले उत्पन्न आतेस, अलिकति पिताले के भन्ने हुन् भन्ने भय आदि मिश्रित मनोसंवेगले ग्रस्त बनेकी थिइन् । उनको यो अनौठो चालढाल कण्वले तुरन्तै भाँप्नुभयो र सोध्नुभयो : पुत्री, तिम्रो अवस्था आज अलि भिन्न छ, निःसंकोच भन त, तिमीलाई के भयो ?

अनि शकुन्तलाले डराउँदै राजा आएको र उनीसँग विवाह भएको कुरा बताइन् । दिव्यदर्शी कण्वले सबै घटनावली बुझेर, शकुन्तलाको यथार्थ अवस्था थाहा पाएर भन्नुभयो :

तिमीले मेरो अनुमति विना नै भए पनि जे गर्यौ म त्यसको समर्थन नै गर्दछु । तिमीले सुयोग्य पति वरण गरेकी छौ । तिमीहरुको पुत्र महाबली र परमपराक्रमी हुनेछ । यो समस्त समुद्रमेखलान्विता पृथिवीको एकच्छत्र सम्राट् बन्नेछ । निश्चिन्त होऊ ।

आश्रमाधिपतिका अनुपस्थितिमा उहाँको अनुमतिबिना राजाले गरेको कृत्य सम्झँदै, शकुन्तलाले राजा दुष्यन्त अब आफ्ना पति भएकाले उनीप्रति रिसानी नगर्न पनि प्रार्थना गरिन् । कण्वले एवमस्तु भनेर स्वीकार्नुभयो ।

त्यसपछि पूरा का पूरा तीन वर्ष बित्यो । न त राजा आए, न त उनले राजधानीबाट लिन पठाएका कोही दूत । तर, तीनवर्षको लामो गर्भधारण पछि शकुन्तलाले एउटा परमतेजस्वी पुत्र जन्माइन् । त्यसको नाम उसको कर्म अनुसार नै सर्वदमन रहन गयो । ऊ आश्रमको छेउछाउमा कुनै दुष्टात्मा दानव र राक्षस आदिलाई ढिम्किन पनि दिँदैनथ्यो । सबै उससँग डराउँथे । ऊ जब ठूलो भयो, शकुन्तला दिनानुदिन चिन्तित हुन लागिन्, दुबली पातली पनि भइन्, दीन हीन देखिन थालिन् । अनि महर्षि कण्वले भन्नुभयो :

अब यो केटो ठूलो भयो । यसको युवराज पदमा अभिषिक्त हुने वेला भयो । हे छोरी, अब तिमी छोरालाई लिएर राजधानी जाऊ ।

यति भनेर धेरै आश्रमवासी ऋषिहरुको साथ लगाएर महर्षि कण्वले पुत्रवती शकुन्तलालाई आश्रमबाट सस्नेह विदा गरी राजर्षि दुष्यन्तका घर अर्थात् शकुन्तलाको पतिगृह पठाउनुभयो ।

महाभारत आदिपर्वमा आधृत ।

प्रिय पाठकवृन्द, यस उपाख्यानको दोस्रो भाग आउँदो शुक्रवार प्रस्तुत गरिनेछ । सप्रेम साधुवाद ।

….

२०८१ साल असार ७ गते शुक्रवार । अक्षरालय ।