हामीले भन्दै र सुन्दै आएका छौँ, यो देश सतीले सरापेको देश हो भनेर । वास्तवमा इ.सं. १६४१ तिरको इतिहासका बारेमा जानकारी राख्ने जो कोहीले पनि पढेको वा सुनेको हुनुपर्छ, तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लका नाताले बहिनीज्वाइँ पर्ने एक राष्ट्रसेवक अनि प्रसिद्ध व्यापारी थिए काजी भीम मल्ल । उनको ख्याति चारैतिर फैलिएको थियो । आखिर शत्रु कसको हुँदैन र ? भगवानलाई त शत्रु लाग्छन् भने हामी त मान्छे ! काजी भीम मल्ल पनि अजात शत्रु हुन सकेनन् । शत्रुले राजाको कान फुकेछन् । यसकै कारण गाजगद्दी ताकेको आरोप लगाएर उनलाई मृत्युदण्ड स्वरूप टाउको छिनाउने कठोर सजाय दिइएको थियो । यसबाट उनकी श्रीमती विक्षिप्त बनिन् र सराप दिइन् – “यो देशमा (दरबारमा) कसैको पनि विवेक नरहोस् ।”, भनिन्छ पछि सत्य थाहा पाएर राजा लक्ष्मीनरसिंह पागल भए । युवराज प्रताप मल्लले उनलाई हटाएर आफू राजा भए । पछि उनको पागलपनकै अवस्थामा मृत्युसमेत भएको थियो ।
एक जना सतीले सराप्दा राजाको दुर्गति मात्र होइन आजसम्म पनि हाम्रो देशमा राम्रो हुन सकिरहेको छैन । अब सोच्नुस् ! लाखौँले सरापे भने के होला ? वास्तवमा श्राप अनिष्टकारी हुन्छ । श्राप दिने चलन आजको होइन । यो परापूर्वकालदेखि चलिआएको चलन हो । सायद जब मान्छेले भाषाको विनिमय गर्न थाल्यो त्यही बेलादेखि नै । दण्डको प्रतीक श्राप लोकहितका लागि पनि दिने गरेको पाइन्छ । कसैलाई दण्ड दिनु पर्यो भने श्रापका माध्यमबाट दिइएको पाइन्छ । अहिले हेर्दा कलियुगमा श्रापको असर स्पष्ट नदेखिएला तर श्राप पाउने व्यक्ति मानसिक रूपमा विक्षिप्त हुन्छ नै ।
महाभारत र रामायण जस्ता पवित्र ग्रन्थमा पनि जताजतै श्राप र आशीर्वादका प्रसङ्ग सुन्न र पढ्न पाइन्छ । समाजको नियम उल्लङ्घन गरेर वा नीति, नियम र धर्मलाई कुल्चेर हिँड्ने मानिसले सराप पाएको भेटिन्छ । जब जब मान्छेमा सत्ता, शक्ति र सामथ्र्यको मात लाग्छ उसले विवेकको ढोकामा चाबी लगाउँछ । मनपरी तन्त्रमा चल्छ । काम, क्रोध, लोभ र मोहको बाटोमा अग्रसर हुन्छ अनि आफैँले के गर्दै छु पत्तो नै पाउँदैन । जोसमा होस गुमाएर मानिस द्रव्यपिचाश बनेपछि कर्तव्यको आँखामा कालो पट्टी बाँधेर निर्दयी मुसोलिनी र हिटलर बन्न पुग्छ । यो क्रमले सीमा नाघेपछि एउटा न एउटाबाट ऊ श्रापित हुन्छ वा दण्ड भोग्न बाध्य हुन्छ । त्यसैले त भनिन्छ “अति सर्वत्र वर्जयेत् ।”
हाम्रा पुराणका पुराना पानालाई पल्टाएर हेर्ने हो भने त्यहाँ असङ्ख्य श्रापको वर्णन पाइन्छ । लाग्छ, धर्मग्रन्थ सबै पाप वर्णनको ठेली हो । कतै सराप दिने त कतै प्रायश्चित्त गर्ने वा कतै दण्डको भागिदार बनेको गज्जबका घटना र प्रसङ्ग वर्णित छन् । श्रवणकुमारले राजा दशरथलाई दिएको पुत्र वियोगको सराप होस् वा युधिष्ठिर महाराजले स्त्रीजातिलाई दिएको सराप नै किन नहोस् । त्यस्तै भगवान् श्रीकृष्णद्वारा अश्वत्थामाले पाएको, अहिल्याले नचाहेको वा शुक्रचार्यले दानवीर राजा बलिलाई भजाएको श्राप पनि उत्तिकै चर्चित छन् । इन्द्रले भोगेको लज्जास्पद श्राप र उर्वशीले धर्तीमा आएर पुरुरवा भेट्न पाएको घाटाभित्रैको फाइदाजनक श्राप, पाण्डुको मीनासनमै मर्ने श्राप वा लक्षमणले आफ्नै दाजु रामबाट पाएको मृत्यु दण्डको श्राप नै किन नहोस् । जता हेर्नुस् महाभारत र रामायण श्राप नै श्रापले भरिएको देख्नुहुन्छ । यथा पिण्डे तथा ब्रह्माण्डे भने जस्तै यो पिण्डरूपी शरीर र ब्रह्माण्ड कहाँ अलग अलग हुन सक्छन् र ? दुवैमा तादाम्यता छ नै । त्यसैले यतिबेला हजारौँ द्रोणचार्यहरूले या भनौँ युगले सराप्दै छ यो देशलाई ।
निश्चित ठाउँमा किताब पाइने जानकारी गराएर लिन पनि भनियो । फोन बन्द भयो । तीन चार दिन लगाएर फोनले भने जस्तै गरियो ।
एक महान् ऋषि माण्डव्यले श्राप दिएका कारण धर्मराज यम पनि दासी पुत्र विदुर भएर जन्मिनु परेको थियो । उर्वशीले दिएको एउटै श्रापले गर्दा महाभारतको वीर योद्धा अर्जुनसमेत नपुंसक बनेका थिए । उता तुलसीले भगवान् विष्णुलाई दिएको श्रापले उनी पत्थर बन्नु परेको थियो । ऋषि शृङ्गीले कलियुगका प्रथम राजा अभिमन्युपुत्र परिक्षितलाई दिएको श्राप सात दिनको मृत्युको कारण बन्यो । त्यैसैले सराप र सराब दुवै विनाशका मूल ढोका हुन् । शिक्षक भनेका शिक्षा क्षेत्रका सारथि, समाज परिवर्तनका मेरुदण्ड अनि सभ्यताका संवाहक हुन् । उनै शिक्षकबाट भगिरथ मेहनत गराएर गङ्गालाई आफ्नो गोजीमा राख्ने बोर्डिङका सञ्चालकले आज गुरुहरूलाई मिथ अफ सिसिफसको कथा मात्र पढाएका छैनन्, शिक्षकको दुःखबाट हात झिकेका छन् । वास्तवमा बोर्डिङको शिक्षण र सुविधाको कुरा गर्दा डेमोकलको तरबारमुनिको सुखभन्दा बढी कहिल्यै हुन सकेन ।
सम्झन्छु, अघिल्लो शैक्षिक सत्रको नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयले निर्देशन दिइसकेको थियो । हाम्रो स्कुल पनि तयारीमा जुटेको खबर आयो । यस्तैमा वैशाखको ३० गते म्यासेन्जरमा एउटा पेज आउँछ नतिजाको । विद्यालयले रिचार्ज पनि पठाएको म्यासेजको घन्टी बज्यो । घन्टी सकिएर मोबाइल नराख्दै फेरि त्यही कर्कस आवाज बजिहाल्यो । फोन आउँदा पनि कतैबाट कुनै नराम्रो समाचार सुन्न पर्ने हो कि भन्ने डर लाग्थ्यो । फोनमा विद्यार्थीको स्वास्थ्य अवस्था बुझेर नतिजाको जानकारी दिँदै अनलाइन कक्षाको पहँुच के कस्तो छ बुझ्न भनियो । निश्चित ठाउँमा किताब पाइने जानकारी गराएर लिन पनि भनियो । फोन बन्द भयो । तीन चार दिन लगाएर फोनले भने जस्तै गरियो । शिक्षकको अवस्थाका बारेमा न त बुझ्न खोजियो न त सुन्न नै । त्यसैले लाग्छ, हामी न त स्वतन्त्र थियाैँ न त औपचारिक बन्धनमा नै तर बेलाबेलामा यसरी स्कुलकै काम भने गर्दै आइरहेका थियाँै । त्यसको लेखाजोखा खै कसको बहीमा हुँदै थियो म अनभिज्ञ थिएँ ।
बिकाउ र टिकाउको लाजनीतिबाट सञ्चालित हाम्रा नेताहरू पनि सत्तामा नपुगुन्जेल अर्जुन दृष्टि देखाउँछन् तर बिडम्बनाको कुरा तिनै नेताहरू सत्तामा पुगेपछि खै किन धृतराष्ट्र झैँ बाहिरभित्र दुवैतिर अन्धो बन्छन् । यतिबेला शिक्षकका घरको चुलो निभ्दै छ । उनीहरू आफ्नो अधिकारका लागि सडकमा आउँदै छन् । यो बाध्यता र परिबन्ध आखिर कहिलेसम्म ? सङ्कटका बेलामा शिक्षकले बाँच्नु पर्दैन ? शिक्षकलाई नै मारेर खै कस्तो शिक्षाको फुल फुलाउन खोजिएको छ यो समाजमा । विपत्तिमा शिक्षकले पनि हात, साथ र राहात पाउनु पर्छ तर यहाँ उल्टै शिक्षकको अधिकार माउजङ बाबुसाहेबको पुरानो कोट जस्तै उपहास र मजाकको विषय बनेको छ । शिक्षकलाई भोको पेटमा काम गराउँदा पनि सरकार मूकदर्शक रहनु अनौठो लागेको छ । के बोर्डिङमा पढाउने शिक्षक यो देशका नागरिक होइनन् ? के उनीहरूले यो देशको शैक्षिक इतिहासमा कुनै योगदान दिएका छैनन् ? यदि हो भने शिक्षकको न्यायको अदालत कुन हो त ? कसले गर्ने शिक्षकलाई सम्बोधन ?
अबोध अर्जुनहरू टुलुटुलु हेरिरहेका छन् । चक्रब्यूहमा अल्झिएको अल्पज्ञानी अभिमन्युले द्रोणाचार्य सम्झेर के गरोस् ! जे कुरा पनि सही समयमा सही ढङ्गले सही निर्णय गर्न सकिएन भने केही अर्थ राख्दैन ।
स्कुलले सुरु गरेको अनलाइन कक्षा लिनका लागि घरमा जेनतेन वाइफाई बन्दोबस्त गरेँ । मोबाइलबाट असम्भव प्रायः ठानेर एउटा ल्यापटपको जोहो पनि गरेँ । अब त तलब पाइन्छ कि भन्ने आशाको नयाँ सूर्य मनभरि उदायो तर त्यो पनि साउन एकदेखि अनलाइन कक्षा बन्द गर्ने र अनिश्चित बिदा दिने विज्ञप्तिको कालो बादलले खग्रास पारिदियो । कक्षामा अधिकारका विषयमा विद्यार्थीलाई सचेत गराउने शिक्षक आज आफ्नै अधिकारका लागि लड्नु परेको छ । समाजका असमानताका साङ्लाहरू चुँडाल्न र समतामूलक समाज निर्माणमा लाग्ने शिक्षा दिएका शिक्षक आज आफँै अन्यायको जन्जिरमा जेलिएका छन् । अबोध अर्जुनहरू टुलुटुलु हेरिरहेका छन् । चक्रब्यूहमा अल्झिएको अल्पज्ञानी अभिमन्युले द्रोणाचार्य सम्झेर के गरोस् ! जे कुरा पनि सही समयमा सही ढङ्गले सही निर्णय गर्न सकिएन भने केही अर्थ राख्दैन । आखिर मृत्युपछिको सञ्जीवनीको के काम ? एकातिर कोरोनाको कहर अर्कातिर एक मुठी सासको झिनो रहर बोकेर पीडाको जहर पिउँदै भए पनि बाँच्नै पर्ने रहेछ ।
कम्पनी दर्ता गरेर बाँसका भाटाबाट सुरु गरे पनि अहिले बिल्डिङ ठडाउन सफल भएकाहरू एक दुई महिनामै कसरी धराशायी हुन सक्छन् ? उनीहरूमा अलिकति पनि दया, माया र जिम्मेवारी किन सुझेन ? त्यत्रा साराका साराको एउटै निर्णय बेतलबी बिदा ! बेतलबी बिदा दिइन्छ कि लिइन्छ ? अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनका मान्यतामा किन नजाने ? जानाजान भ्रम र झुटको खेती किन ? शिक्षकलाई केही समयका लागि गरिएको यो निष्कासन नै हो । कुन भ्रष्टाचारको अभियोगमा निजी विद्यालयले शिक्षक कर्मचारीलाई निलम्बन गरेको हो ? बिनाकारण कसरी मान्ने ?
अब सरकारले कि सम्पूर्ण निजी विद्यालयको तालाचाबी बुझेर सरकारीकरण गर्न सक्नुपर्छ कि शिक्षकको योग्यताका आधारमा एउटा मापदण्ड तोक्न सक्नुपर्छ भन्ने माग केही शिक्षाविद्हरूले नउठाएका पनि होइनन् । शिक्षामा लाचारीपन कहिलेसम्म ? कति नाच्ने यो नाङ्गो नाच ? शिक्षकलाई कहिलेसम्म बजारको पुतली बनाउने ? सामाजिक सुरक्षा ग्यारेन्टी गर्ने कि नगर्ने ? सरकारी स्कुलका शिक्षक कर्मचारीले असारसम्मको तलब बुझ्दा निजीले सास धान्न पनि नपाउने ? वैशाखदेखि यता तलब नबुझेका शिक्षकको दैनिकी दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ ।
संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था छ । यसकै उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ । यसको कार्यान्वयन कहिले ? यो रहस्यकै गर्भमा छ । शिक्षा जस्तो संवेदनशील विषयमा राज्यका तर्फबाट कुनै गम्भीर चासो नलिइनु एक किसिमको अपराध नै हो । उता निजी विद्यालयलाई गुठीमा परिवर्तन गर्न सरकारले देखावटी चालबाजी मात्र गरेको आरोप छ । त्यसैले त हरेक शिक्षकले हरपल सरापिरहेछ यो देशको व्यवस्था विरुद्धमा ।
मार्केलले उनीहरू र उनीहरूका गुरुको तलब कसरी समान हुनसक्छ भनेर आफ्नो महानताको परिचय पेस गरेकी थिइन् । यसबाट नेपालले पाठ कहिले सिक्ने ?
जे होस्, निजी विद्यालय पनि चल्न पाउनु देश र सिङ्गो शैक्षिक क्षेत्रका लागि अहिलेको आवश्यकता हो । दुनियाँका जो कुनै मातापिता पनि आफ्नो सन्तानको असल भविष्यका खातिर चिन्तित हुन्छन् । त्यसैले सरकारी शिक्षाको वर्तमान् हालतबाट आजित बनेर उनीहरूले बोर्डिङ स्कुल छनोट गरेको कुरा दिनको घाम जस्तै छर्लङ्ग छ । यो खारिएका, जवाफदेही र समर्पित शिक्षकका कारण सम्भव हुन सकेको हो । निजी स्कुलका सञ्चालकको योगदान आफ्ना ठाउँमा छ । उनान्सय गुन एक बैगुन भन्ने यो समाजमा एक पनि गुन देखाउन र धैर्य गर्न नसक्ने निजी विद्यालयले लाखौँ गुरुहरूको आँसुमा पौडी खोलिरहेको देख्दा ताजुब लागेर आउँछ । श्रम र बौद्धिकता अनि ज्ञान र कलाको उचित मूल्याङ्कन र सम्मान नभएको कुराले कहिल्यै चर्चा र अनुगमन पनि पाउँदैन । तलबको स्तर सरकारीको भन्दा ज्यादै न्यून हुँदाहुँदै पनि निरन्तर उही लयमा कर्मशील रहेका हातहरूमा अहिले नेल ठोकिएको छ । शिक्षकको मनोबलको सगरमाथा ढलाइएको छ । उनीहरूको मानमर्दन गर्ने काम भएको छ भने विगतको हौसला, उत्साह र उमङ्गलाई निस्तेज पार्ने अक्षम्य अपराध भएको छ ।
किन शिक्षाका ज्योतिहरूलाई निभाउन खोजिन्छ ? शिक्षाका माध्यमबाट समाज परिवर्तनमा लाग्नु कुनै अपराध हो र ? शिक्षकका बारेमा सोच्ने मार्केल नेपालमा कहिले जन्मिने हो ? जर्मनीका एक कुशल राजनीतिज्ञ एवम् वर्तमान चान्सलर एन्जेला मार्केलका बारेमा नसुन्ने र नपढ्ने सायदै होलान् ! फोब्र्सले सार्वजनिक गरेको सूचीमा उनी बेलाबेलामा विश्वकै शक्तिशाली महिला बनेर रहेकी छिन् । उनले शिक्षकका सम्बन्धमा दिएको तर्क एकदमै चर्चित छ । शिक्षाका आँखाले जर्मनीलाई हेर्ने हो भने त्यहाँ शिक्षकको पारिश्रमिक स्वागतयोग्य रहेको छ । यस सम्बन्धमा एकपटक त्यहाँका न्यायाधीश, डाक्टर र इन्जिनियरहरूले समान तलबका लागि आग्रह गर्दा दिएको एक वाक्यको जबाफले उनको शिक्षाप्रतिको धारणा स्पष्ट हुन्छ । शिक्षकप्रति उनको सम्मान कति थियो र रहेछ भन्ने कुरा पनि आँकलन गर्न सकिन्छ । मार्केलले उनीहरू र उनीहरूका गुरुको तलब कसरी समान हुनसक्छ भनेर आफ्नो महानताको परिचय पेस गरेकी थिइन् । यसबाट नेपालले पाठ कहिले सिक्ने ?
“सङ्घे शक्ति कलौ युगे” भन्दै पूर्वतिर इस्टुले सडकमा उत्रेर सराप दिन थालिसकेको छ भने यता पोखरमा पनि प्याब्स्युले पहिलो चरणमा बुद्धको शैलीमा शान्तिपूर्ण र्यालीसमेत निकालेर सराप्न सुरु गरेको छ । आगोको बिउ र झगडाको निहुँ भनिन्छ । यसलाई बेवास्ता गरेका खण्डमा महाभारत मच्चिने र उनीहरूको आक्रोशको धारा थाम्न सक्ने कोही हुने छैन । पेसागत हकहितका बारेमा पनि बोल्न नसक्ने निरिहपन शिक्षकमा छ भन्ने सोच्नु गलत हुनेछ । सम्बन्धित पक्ष संवेदनहीन बनेको यस अवस्थामा शिक्षकलाई आवाजविहीन सम्झेर निमुखा प्राणी बनाइएको छ । शिक्षकको शालीनता र शान्त स्वभावसँग खेल्न हुँदैन । जब शान्त समुद्रको धीरता टुट्छ नि त्यसपछि आउने सुनामी रोक्ने आँट निकाल्न इन्द्रका बाबु चन्द्रले पनि दशपटक सोच्नु पर्नेछ ।
मार्दै छ बुद्धहरू अनि निभाउँदै छ शान्ति र अहिंसाको दीपशिखा । जन्मिने छैनन् यो देशमा कुनै इन्जिनियर, उड्ने छैनन् भिन्चीहरू अकाशमा र गर्भमै तुहिने छन् स्वाथ्यका रुइतहरू ।
राज्यले पहिल्यैदेखि उपेक्षा गर्दै आइरहे पनि यतिबेला आफ्नै परिवार मानिएको आबद्ध संस्थाका सञ्चालकले पनि विभेदपूर्ण व्यवहार गर्दा शिक्षकको मुटु छियाछिया परेको छ । उनीहरूको प्रत्येक सासले सरापिरहेको छ । शिक्षकको परिवारमा बेमेल सुरु भइसकेको छ । उनीहरूको पसिना, योगदान र बलिदानीले सरापिरहेको छ । हिजोको फूल आज कसरी काँडा हुनसक्छ ? स्कुलको भार आफ्ना काँधमा लिएर संस्थापकहरूलाई दिएको त्यो विश्वास, माया र उत्सर्गले धारे हात लगाइरहेको छ । खै किन कदर हुँदैन यो देशमा कर्मठ, इमानदार र विशुद्ध शैक्षिक जागिरेहरूको ? विकसित देशमा शिक्षकको अवस्था हेरेर यहाँ पनि किन लागु गरिँदैन ? छिमेकी मुलुक भारत र चीनमा पनि शिक्षकको अवस्था नेपालको भन्दा अत्यन्तै राम्रो छ । नेपालमा तिनै शिक्षक किन हनुमानको हातमा परेको मणिमाला बनेका छन् ? त्यसैले भनिएको होला, भिल्लहरूका देशमा मणि पनि कौडीको मूल्यमा मिल्काइन्छ ।
वास्तवमा पूर्वीय शिक्षा र सभ्यताको ढोका खोलेको नेपालमा आज आएर शिक्षाको ढोका बन्द गर्ने घटिया कामलाई न त इतिहासले माफ गर्नेछ न त भविष्यले नै । व्यासका प्रतिबिम्ब मानिने गुरुहरूलाई यसरी कौरव सभाकी निरिह द्रौपदी बनाइनु कदापि शोभनीय एवम् बौद्धिक काम होइन । आज यो समाजले शिक्षक होइन भोलिका देशका कर्णधार मार्दै छ । देशलाई अन्धकारको खाडलतिर धकेल्दै छ । मान्छेलाई चेतनाको सगरमाथाबाट अचेतन गुफातिर धकेलिरहेको छ । मार्दै छ बुद्धहरू अनि निभाउँदै छ शान्ति र अहिंसाको दीपशिखा । जन्मिने छैनन् यो देशमा कुनै इन्जिनियर, उड्ने छैनन् भिन्चीहरू अकाशमा र गर्भमै तुहिने छन् स्वाथ्यका रुइतहरू । त्यसैले त कसैले मनमनै भन्दै छ, यो देशको खरानी नउडोस् ।
अस्तु !!!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।