• राजु झल्लु प्रसाद/प्रेम बास्तोला

देशाटनको क्रममा, तनहुँ वन डिभिजन कार्यालयका वन अधिकृत नविन विश्वकर्माको निमन्त्रणमा हामी तनहुँको मानहुँकोट र छाब्दीबराहीको भ्रमणपछि भोलिपल्ट नै बन्दीपुर गाउँपालिकाका ‘हाकिमसाब’ यादवराज आर्चायको निमन्त्रणमा पहाडकी रानी बन्दिपुर पुगेका थियौँ । त्यताको दुई दिनको बसाइँपछि हामी सोझै धादिङतर्फ हुइँकियौँ ।

प्रेम बास्तोला

प्रेम बास्तोला

भूप्रविधि समाज नेपालको ३०औँ स्थापना दिवसमा सहभागी हुन हामी ४ ज्येष्ठ भित्रमा काठमाडौं आइसक्नु पर्ने थियो किनभने सोसाइटीका कोषाध्यक्ष राजन केसी (प्रमोद)सँग हामी पहिल्यै वचनबद्ध थियौँ, यसैकारण झार्लाङ पहिरोको छेउछाउतिर रहेका हामी ४ ज्येष्ठमै झोला कसेर काठमाडौं आइपुग्यौँ ।

हामी यात्रामा हिँड्नुअघि वर्षा भएको थियो, जसले वायू प्रदूषण मात्रै नभई डढेलोको एक दशक यताको उच्च जोखिमबाट मुलुकलाई साम्य पार्न महत्त्वपूर्ण खेलेको थियो, तर यसको साइडइफेक्टको रूपमा बाढी र पहिरो आउँदै थियो । काठमाडौँ-दमौली, बिमलनगर-बन्दीपुर, फुर्केखोला-आगिन्चोकसम्मको सम्पूर्ण यात्रा सडक मार्गबाटै भएकाले असारे विकासका अन्गीनत भू-दृश्यसँग हाम्रो जम्काभेट भइरह्यो । यस यात्राका क्रममा आइपरेका विभिन्न वनजंगल डढेलोबाट मुक्ति पाएर हरिया पालुवासहित चम्किरहेका त थिए नै, तर वनजंगल, खेतबारी र मानबवस्ती सहितको जमिनी सतह डोजर आतङ्कबाट त्रसित भएको दृश्यले हामीलाई ती पालुवा रङको सुखबाट पर धकेलिरहेको थियो । किनभने जसरी पनि बजेट सक्नै पर्ने बाध्यतावश (स्वार्थवश?) धमाधम चलिरहेका असारे विकासले शृंखलाबद्ध पहिरोको उच्च जोखिमलाई निम्ताइरहेका दृश्यहरू यात्रा अवधिभर धेर थिए । डढेलो निभाउन आएको केही झर पानीभन्दा डोजरको थरथर भयावह रहेको र डढेलो र बाढीपहिरो प्राकृतिक नभई मानवीय कारण उत्पन्न भएको जोखिम हो भन्ने स्वमूल्याङ्कन गर्दै हामी दाजुभाइले काठमाडौंमा आ-आफ्ना धुलाम्मे रुक्स्याक बिसायौँ ।

शनिवार ७ बजे भित्रमा कंलकीबाट धादिङको धुनीबेशी नगरपालिका स्थित भुवनेश्वर माविमा भूप्रविधि समाज नेपाल (नेपाल जियोटेक्निकल सोसाइटी, एनजीएस) ले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा राखेको ‘पहिरो जोखिम व्यवस्थापन: बुझाई, मनन र कार्यान्वयन’ नामक सचेतनामूलक कार्यक्रममा पुग्ने कार्यतालिका अनुसार हामी समयभित्र नै ढुंगेअड्डा-तीनथाना क्षेत्र पुगेका थियौँ । हामीलाई लिएर जाने हिमालयन कलेजको बस आइपुग्न करिब एक घण्टा नै ढिला हुने भएपछि हामी दुई ग्यास्ट्रिकजन्य जोखिमबाट जोगिन उसिनेको चना पाइने खुद्रा सटर चहार्न थाल्यौँ । चना चपाइरहँदा संस्थाका भू प्राविधिक मित्र विप्लव आचार्यको रिङ बज्यो, रिसिभ गर्न साथ एनजीएसमा आबद्ध विज्ञ सहितको इन्जिनियरहरूको टिम पाटनबाट हिँडेको बहुप्रतिक्षित सू-समाचारले हाम्रा कान तरङ्गित बने । लामो दूरीका बसमा विदेशी पर्यटक देखिन थालेको लोभलाग्दो दृश्य हेर्दै १५ मिनेट बिताएपछि ३० वर्षदेखि भूप्रविधिको क्षेत्रमा अतुलनीय विज्ञता सहित काम गर्दै आइरहेको नेपाल भूप्रविधि समाजको सेतो रङको गाडी, थानकोटतर्फको निलो पिचमा हामीलाई अन्तिम सिटमा राखेर अघि बढ्यो । बसमा इन्जिनियर, विज्ञ, आयोजक संस्थाका केही पदाधिकारी र केही सञ्चारकर्मी सहित ५० जनाको टोली थियो, जहाँ हामी दुई अन्तिम यात्रु थियौँ ।

हामी चढेको बस नेपालको सङ्घीय राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाकाबाट खुत्रुक्क ओर्लिएसँगै धादिङ क्षेत्रका हरिया पहाड चोक्टा-चोक्टामा काटिएर टाटेपाटे र विरूप भएका एवम् एक झर पानी पारेमा ‘म त खस्दिने हो’ भन्ने भावभङ्गीमा बसेका उच्च जोखिमका पहिरोका दृश्यहरू एकपछि अर्को हाम्रा आँखामा बजारिए । सँगसँगै, जापानको हाजमा आङ्दो कर्पाेरेशनले ठेक्का पाएको, मूलकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने राष्ट्रिय गौरवको आयोजनाका कारण उत्पन्न कारुणिक एवम् कठोर दृश्यहरू उडिरहेको धुलोसरह हाम्रा आँखा, कान, नाक हुँदै हृदयसम्म छ्यापछ्याप्ती बजारिन थाले ।

राजमार्गमा पहिरो नखसोस् र राजमार्ग बन्द नहोस् भनेर पहाडका भित्ताहरूमा ग्याविन वालहरू निर्माण गरिरहेको देखियो । बसमा रहेका भू प्राविधिक इन्जिनियर र भू-खतरा सम्बन्धी विज्ञहरू पहिरो रोक्न लगाइएका ग्याविन वालको कामै नभएको र राज्यले अनावश्यक खर्च मात्र गरिरहेको चर्चा-परिचर्चा गर्न थालिहाले । उनीहरूले सडक निर्माणको नाममा एउटै पहाडमा तलदेखि माथिसम्म अन्धाधुन्ध डोजर हुल्नु र टोलटोलमा सडक पुर्‍याउनुले छोरानाती पुस्ताले व्यहोर्नुपर्ने कठोर जलवायु एवं भू-खतरापूर्ण भविष्यतर्फ सङ्केत गरिरहेका भेटिन्थे । सिङ्गो बस नै प्राकृतिक दोहनतर्फ उन्मुख विकासजन्य गतिविधिका कमीकमजोरीहरू केलाइरहेका थिए भने पहिरोलाई दीर्घकालसम्म स्थिर राख्ने रणनीति मुलुकलाई चाहिएको निष्कर्ष निकालिरहेका थिए, जसमा हाम्रो पनि सहमति थियो ।

सुरुङ मार्गको मुखैमा पुगेपछि बस घ्याच्च रोकियो र एक-एक मुस्लो धुवाँ घुटुक्क निलेर एक-एक फुट खुट्टा धुलोमा जोतेर टाउको टकटक्याउँदै हामी सुरुङमार्ग प्रवेशद्वारको समीपको पहिरोको उच्च जोखिममा रहेको मसिना ढुङ्गा खसिरहने पहाडको फेँदैमा उत्रियौँ । ढुङ्गाबाट टाउको र धुलोबाट ‘पोलिस्ड जुत्ता’ जोगाउने असफल प्रयास गर्दै हाम्रो प्रतीक्षामा रहेका एनजीएसकै अध्यक्ष इन्जिनियर डा. मन्दिप सुवेदी, कोषाध्यक्ष इन्जिनियर राजन केसी, पहिरो विज्ञ इन्जिनियर डा. आमोद दिक्षित तथा द थर्ड पोलका नेपाल सम्पादक रमेश भुषाल कहाँ पुग्यौँ ।

सुरुङमार्ग थाल्नु अघि निर्माण स्थलका पहाडहरूमा मात्र विष्फोटक पदार्थ प्रयोगको असरबारे अध्ययन गरिएको तर सँगै रहेका अन्य पहाडलाई असर पर्ने-नपर्ने अध्ययन नै नगरि सुरुङमार्ग निर्माणको कार्य थाल्दा ७ भन्दाबढी घर भएको बस्ती पहिरोको ठूलो खतरामा रहेको जानकारी लिन पायौँ । दुई घर बाहेक अन्य घरका परिवारलाई सुरक्षित स्थानमा सारिसकिएको थाहा पायौँ । एनजीएसका अध्यक्ष सुवेदीले सो स्थानमा जिओ इन्जिनियरिङ नगर्दा समस्या आएको बताएपश्चात् मोनो-र्याकका बारेमा बताए । मोनो-र्‍याक निर्माण र भवन उद्योगमा प्रयोग हुने विभिन्न प्रकारका उपकरण, सामग्री एवं उद्धार टोली पहाडको तलमाथि गर्न सकिने गरि बनाइएको डिजाइन रहेछ । रेल हिँड्ने लिग सरह नै यसको पनि बाटो हुँदो रहेछ । सो मोनो-र्‍याकमा विपद् विज्ञ डाक्टर दिक्षित र थर्ड पोलका भूषाल माथिसम्म पुगे, हामी सबै तलबाट चलिरहेको रेल र उनीहरूलाई हेरिरह्यौँ । समयले नेटो काटिसकेको हुनाले उनीहरू तल नआइपुग्दै हाम्रो जम्बो टोली प्रचण्ड वेगवान् घामको ताप र फोक्सोभरि धुवाँधुलो बोकेर धुनिबेशीस्थित भुवनेश्वर मावि पुग्यौँ । बिहानको ८ बजे पुग्नुपर्ने हामीलाई डेढघन्टादेखि पर्खिरहेका स्थानीय बासिन्दा, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, धुनीबेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चाय सहितका जनप्रतिनिधि, सो क्षेत्रका सांसद तथा पूर्वमुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डे, विपद् विज्ञ तथा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधर , राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, प्राडा. नेत्रप्रकाश भण्डारी, विपद् विज्ञ डा. गोपीकृष्ण बस्याल, स्क्याफ नेपालका ठाकुरप्रसाद नेपाल आदि हाम्रो पर्खाइमा रहेको पायौँ । आममानिस र विद्यार्थीहरू चाहिँ प्राङ्गणको शोभा बढाइरहेको सिरिसको फूल पनि उदेकलाग्दो नजरले हामीलाई पर्खिरहेका भेट्यौँ भने हाम्रा लागि खाजा तयार गरेर बसिरहेका कुशल भान्छेहरूको अनुहार पनि हेर्नलायक थियो ।

खाजापछि विद्यालय प्राङ्गणमा राखिएको कार्यक्रम स्थलतर्फ लाग्यौँ । औपचारिक कार्यक्रम सुरु हुनुअघि विद्यालय प्राङ्गणको ठिक उत्तर-पूर्वतर्फ राखिएका विपद् सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रदर्शनमा राखिएका जियोसेल, पोस्टर, होर्डिङ बोर्ड, सुरक्षित झोला लगायतका सामाग्री उपर हाम्रो ध्यान गयो । ७ भन्दा बढी प्रदर्शनीहरूमध्ये स्टेजकै समीप रहेको विपद् विज्ञ गोपीकृष्ण बस्यालले निर्माण गरेका नमुना एवं पुरष्कृत ‘पहिरो मोडेल’ प्रत्यक्ष प्रदर्शनीमा हामी अडियौंं । जहाँ एउटा पहाडको तलदेखि माथिल्लो भागसम्म निर्माण गरिएका घर सहितको भौतिक संरचना, सडक र बोटबिरुवालाई प्रष्टसाथ् देखाइएको थियो । पहिरो कसरी जान्छ भन्ने सचेतनामूलक जानकारी सरल तरिकाले सबैलाई बुझाउन निर्माण गरिएको सो मोडेल वरपर चासोपूर्वक स्थानीय बासिन्दा, शिक्षक, शिक्षिका, जनप्रतिनिधि र विद्यार्थीहरू झुरुप्प झुम्मिएका थिए । उनीहरू आफ्नै अनुभव र बुझाइको हिसाबले सो मोडेलका बारेमा गफिइरहेका अलिक दूरीबाट डा. बस्याल ध्यानपूर्वक नियाल्दै थिए ।

सो प्रदर्शनीमा झुमिएकाहरूले आफूहरूको घर कुन स्थानमा पर्छ ? भन्दै उदाहरणका रूपमा प्रदर्शनीमा राखिएको पहाडमा देखाइरहेका थिए । कसैले पहाडको तल्लो भागमा आफ्नो घर रहेकाले पहिरोको जोखिम उच्च रहेको बताइरहेका थिए भने कोही चाहिँ पहाडको उच्च भूगोलमा आफ्नो घर रहेको र पहिरोको खासै जोखिम पनि नरहेको बताइरहेका थिए । उनीहरू खोला-नदी छेउको भूगोल पहिरोको उच्च जोखिममा रहने तर डाँडाको टुप्पो नरहने बताइरहेका थिए । उनीहरू आफ्नो घर पहिरोको जोखिममा नरहेको सगौरव बताइरहेका थिए भने सँगै आएका साथीभाइको जोखिममा रहेको भन्दै हाँसीमजाक गरिरहेका थिए । उनीहरू पहिरो जाने प्रक्रिया, यससँग चिप्लेर वा बगेर आउने ढुङ्गामाटोको किसिम, पहिरोका विभिन्न रूप र यसले पुर्‍याउने क्षतिका विषयमा त जान्दैन थिए नै, तल्लो भूगोलमा बसेको साथीको घर छेउ आएको पहिरोले उच्च ठाउँमा रहेको आफ्नो घर पनि जोखिममा रहन्छ भन्नेमा एकमत थिएनन् । तर, डोजर लगाएर एउटै पहाडमा धेरैवटा सडक खन्दा पहिरोको जोखिम बढेको भने सबैको मतैक्य थियो ।

छलफलमै रहेका उनीहरूलाई रोक्दै कार्यक्रम सहभागी अन्यलाई समेत साथमा लिएर डा. बस्यालले पहिरो मोडेल प्रत्यक्ष प्रदर्शनीको सुरुवात । बस्यालको प्रत्यक्ष प्रदर्शनीलाई अर्का विपद् विज्ञ डाक्टर आमोदमणि दिक्षितले पनि साथ दिएका थिए । र, विज्ञद्वयको करिब १० मिनेटको यस प्रदर्शनीको सुरुवातमा पहाडको तल्लो भागको बस्तीमा पहिरो गएको देखाइएको थियो । तल्लो भागमा गएको पहिरोले अलिमाथिसम्म भूसतहमा खलल पुर्‍याएको देखाउँदा अघिका हाम्रा सक्रिय सहभागीहरूको अनुहार हेर्नलायक थियो । अझ, दोस्रो चरणमा तल्लो भागमा गएको पहिरोको तत्काल नियन्त्रणका उपाय नखोजिएमा र बाहिरी सतहमा मात्रै निरोधात्मक उपाय अपनाइरहने हो भने तल्लो भागको पहिरोले समयक्रममा माख्लो भाग उच्च जोखिममा पर्ने एवं झट्ट हेर्दा थाहा नहुने तर सुस्त गतिमा क्रमशः झर्ने खालका पहिरोले सुरक्षित भनिएका भूसतह उच्च जोखिममा पुग्ने विज्ञद्वयले बताइरहँदा अलिक अघिसम्म आफूहरूको घर सुरक्षित रहेको भन्दै छलफलमा सहभागी स्थानीयहरूको अनुहार एकाएक मलिन भयो । उनीहरू मात्रै होइनन्, सहभागी जनप्रतिनिधि, शिक्षक, शिक्षिका र विद्यार्थी लगायत सबका अनुहार एकसाथ भुईँमा खस्यो । पहिरो चल्नुमा त्यस स्थानको भौगोलिक र भौगर्भिक अवस्थाको निश्चित परिवेशभित्र हुने मानवीय र प्राकृतिक क्रियाकलापको ठूलो भूमिका हुने कुरा सानो लगानीमा जो कोहीले सजिलैसँग बुझ्न र बुझाउनका लागि विज्ञ डाक्टर बस्यालले निर्माण गरेको पहिरो मोडेल सम्भवतः विश्वमै पहिलो भएको भन्दै डाक्टर दिक्षित बस्याललाई धन्यवाद दिँदै थिए । बस्यालको प्रदर्शनीलाई पहिरोको जोखिम रहेका सबै जिल्लाका गाउँगाँउमा पुर्‍याउन जरुरी रहेको दीक्षितले बताइरहँदा सो क्षेत्रका सांसद राजेन्द्र पाण्डे मुन्टो हल्लाइरहेका थिए ।

पहिरो सचेतना प्रदर्शनीमा करिब ४५ मिनेट बिताएपछि सबै जनाको टोली स्टेजको औपचारिक कार्यक्रमतर्फ केन्द्रित भयौँ । औपचारिक कार्यक्रममा सहभागी विज्ञ, इन्जिनियर, सडक आयोजनाका अधिकारी र जनप्रतिनिधिहरूले आफ्नै प्रकृति विपरीत कार्यका कारण मानव स्वयंले पहिरोको खतरा बढाइरहेको निष्कर्ष निकाले । उनीहरूले पहिरो पीडित स्थानीय तहमा रहँदा र बजेट तथा विज्ञहरू केन्द्र (काठमाडौ)मै रहँदा तल खस्ने स्वभावको पहिरोको कहालीलाग्दो ग्राफ कान्लो चढिरहेको बताए । ‘पहिरो पीडित र पहिरो ज्ञानीहरू बिच ठुलो दूरी रहेको तथा जहाँ ज्ञान छ, त्यहाँ पहिरो छैन र जहाँ पहिरो छ, त्यहाँ ज्ञान नभएको उनीहरूको निष्कर्ष थियो भने पहिरोसम्बन्धी प्रकोप नियन्त्रणका लागि पाठ्यक्रम तयार गरिनुपर्ने जोडदार माग समेत उनीहरूको रहेको थियो ।

केही बेरको भाषण भूषणपछि हामी राताम्मे भई फुलेको सिमलको फेदमुनि रोकिएको बसतर्फ लाग्यौँ । हाम्रो जम्बो टोलीलाई बिदाइको हात हल्लाइरहेका मेयर आर्चायको अनुहारमा एकप्रकार उत्साहमिश्रित खुसी देखिन्थ्यो । अघि उनले आफ्नो नगरपालिका बन्चरेडाँडाको फोहोरबाट त्राहिमाम् भएको, आमसमुदाय आज पनि डोकोमा पानी बोकिरहेको एवं निर्माणाधीन नौबिसे-मुग्लिन सडकले राजमार्ग छेउछाउको बस्ती स्थानान्तरण गर्नुपर्ने दयनीय अवस्था आइरहेको बताएका थिए । साथमा उनले यी सब समस्याका बाबजुद आफू पहिरोसँग जुध्न तयार रहेको पनि बताएका थिए । उनी पहिरो लगायतका विपद् व्यवस्थापन, न्यूनीकरण, नियन्त्रण, उद्धार र राहतमा केन्द्रीय सरकारलाई जनउत्तरदायी बन्नका लागि एउटा मामुली मेयरले आग्रह गरेको खबर काठमाडौंमा पुर्‍याइदिन हामीलाई अपिल पनि गर्दै थिए ।

उनले बिदा दिएसँगै हाम्रो टोली काठमाडौं रवाना भयो । हामी धुनीबेशी– भीमढुंगा- सीतापाइला सडक हुँदै साँझको दोस्रो सेसनका लागि मल्ल होटेलतर्फ अग्रसर भयौँ । बाटोभर हामी सोचिरह्यौँ, “यो उपत्यकामा पहिरोको जोखिममा छैन, यसैले ऊ सोच्दो हो देश पनि पहिरोको जोखिममा छैन ।”