पिरिरी प्रित्त ! पिरिरी प्रित्त ! होइन के हो यो ? खाने कुरा हो कि टोक्ने चिज हो ? तरल, ठोस, वायु आखिर के हो ? तरल भए बगिसक्नु पर्ने, ठोस भए ठोक्किसक्नु पर्ने, वायु भए गन्हाइसक्नु पर्ने । यो केही नभएर तपाईँलाई कसरत गराउने एक आवाज हो । तर, काखीमा पहेँलपुर पसिना बोक्ने पिटी शिक्षकको सिठीबाट निस्किएको आवाज भने होइन ।

यो आवाज हामीले गरेको फोहोर उठाउन आउने नगरपालिकाको कर्मचारीले निकालेको होइन । यो कर्कस आवाज कसको हो ? जसले मेरो कान पकाइरहेछ। तर, पाके पनि कान म खान सक्दिनँ । यो आवाज भकुण्डो खेलमा रेफ्रीले फुकेको रोमान्चक आवाज पनि होइन। जसले मेरो गिदी भुटिरहेको छ। भुटे पनि गिदी म स्वाद लिन सक्दिनँ ।

यो आवाजले मलाई साह्रै दु:ख दिएको छ। हिडाएको छ, दौडाएको छ, रन्थनाएको छ, कन्चट तातेर पन्चेट भएको छ। कौशलटारबाट गाडी चढेको म झर्नु पर्ने कोटेश्वरमा झर्न सक्दिन। पिरिरी प्रित्त! पिरिरी प्रित्त! बजिहाल्छ। यो आवाजसँग सबै त्रसित हुन्छन्। सवारीको चालक र सहचालक बढी आतंकित हुन्छन्। ‘चाडो हिड चिट काटिन्छ! चाडो हिड चिट काटिन्छ!’ भन्दै कहिले चालक कहिले सहचालक कराउछन्। एक दुई दिन मैले सोचे यो कुनै पार्टीको नारा हो। होइन रहेछ उनीहरुले दिउँसै देखेको तारा रहेछ। हजारको पत्तो जोगाउन उनीहरु हस्यांगफस्यांग गर्दै भाग्छन्। आफ्नो बाटो लाग्छन् । त्यो आवाजले उनीहरुको सातो लिएको रहेछ। मानौँ उनीहरु मकै हुन् र तातो भाँडोमा परेका छन्। पट्याङ्ग-पुटुङ्ग। फट्याङ्ग-फुटुङ्ग।

कोचाकोच गरिएको कुनै गाडीबाट झर्नलाई एक सेकेन्ड समय निर्धारित गरिएको हुन्छ। यो कुरा संविधानमा लेखिएको नलेखिएको भन्ने कुरा चाहिँ थाह छैन। कि त तपाई मिथकीय पात्र (सुपर हिरो) स्पाइडर म्यान, सुपरम्यान, ब्याटम्यान हुनुपर्यो या हनुमान हुन पर्यो। सामान्य मान्छे एक सेकेन्डमा गाडीबाट झर्न असम्भव नै हुन्छ। हामि उडेर निस्किदैनौ भनेर पिरिरी प्रित्त! पार्नेले सायद बुझेको हुँदैन। कोटेश्वर झर्नु पर्ने म तिनकुने पुग्छु, जडिबुटी पुग्छु। पहिला पहिला मलाई उनीहरुको कोटेश्वरसँग कुनै व्यक्तिगत दुश्मनी छ झैँ लागेको थियो। तर दुश्मनी नभएर आफु खुशी गर्ने खुश्मनी रहेछ।

सायद उनिहरु सार्वजनिक गाडी कोहि नचढोस् भन्ने चाहन्छन्। राम्रै हो सबैको आफ्नै व्यक्तिगत गाडी होस् भनेर सोच्नु पनि, तर एक पित्को कमाइले किन्न सकिदैन गाडी। यसो सोच्छु कतै उनीहरु हामीलाई स्वस्थ बनाउन त लागि परेका होइनन्? त्यसैले त होला हिडाईरहेछन्। हो हो धरो धर्म! बुझेका छन् हाम्रो मर्म!
कि उनीहरु ओलम्पिकको तयारीमा लागेका हुन्? हामि गाडी चढ्न खोज्छौँ उनिहरू प्रित्त पारिहाल्छन्। हामि दौडिन्छौँ, गाडीले गति कम गर्छ, उनिहरू प्रित्त पारिहाल्छन्। यहि पाराले कुनै दिन उनीहरुले हामीलाई पुरै रिङ्ग रोड दौडाउछन्।

गाडी- प्रित्त-दौड!!
गाडी- प्रित्त-दौड!!
गाडी- प्रित्त-दौड!!

यसरी नेपालमा घरैपिच्छे स्वर्ण पदक ल्याउन सक्ने खिलाडी बनाउन खोज्नु पनि राष्ट्र हितको कुरा हो। पिरिरी प्रित्त! छुरा हो।

प्रदर्शनी मार्गबाट भक्तपुरको गाडी चढ्न रत्नपार्क पुग्न पर्यो, कि त पुग्न पर्यो माइतीघर। अलिअघि त माइतीघर पनि बबरमहलतिर सरेको थियो। उनीहरुकै खटनमा। बिचमा गाडी रोकिदैन। तिमीहरुका दुख आफैँसँग राख। भुँडी घटाओ, कुद, दौड। बिसौनीमा चढ्ने र ओर्लने गर्न पाउदैनौ। दौडी-दौडी चढ तिमी, हाम फालेर ओर्ल। गायब भएछन् भने तिम्रा बंगारा उनीहरुको दोष हुदैन, तिम्रै जोश हुन्छ।

कहिले ढिलो भइरहेको बेला घण्टौ पर्खाईदिन्छन। ‘ढिलो भयो’ भन्दा ‘अर्को गाडीमा जा’ भनेर थर्काईदिन्छन्। यो त एकदिनको कुरा हो, होइन होइन दुई, ए तीन पो त, थुक्क चार! ए रामै सधैँको कुरा पो रहेछ।

किन गरेको यसो भन्छु ‘हामीलाई काम गर्न देओ’ भन्छन्। ए हाम्रो दुख तिम्रो काम? भनेको उनीहरु फन्किन्छन्। रिसाउछन्, खुसाउछन्। गल्ति नभएपनि गल्ति निकाल्छन्। चालकको कागजपत्र खोसी गमक्क पर्छन्। अब यात्रुले गाडी फेर्नुपर्छ, अर्को गाडी कुर्नुपर्छ। ढिलो भए होस्, अफिसबाट निकालिए निकालीओस, परिक्षा सकिए सकियोस। उसको खटनमा चल्नेपर्छ। चालकको आफ्नै दु:ख छदै छन्। बल्ल सुरु हुँदैछन्।

एक पटक ‘पिरिरी प्रित्त !’ को आवाजले झस्किएको चालक निद्रामा घुर्दा पनि तर्सिन्छ। यो उनीहरुकै भनाइ हो, बुझाइ या भोगाई हो । एउटा चालकले त कवितै कोरिदिए-

सपनामा निलो लुगा,
सेतो पन्जा
र मुखमा सिठी राखेको कोहि
किन लखेटीरहन्छ रातभरि मलाई

म जुरुक्क उठेर आफ्नो लाईसेन्स र बिल बुक खोज्न थाल्छु
यो कस्तो आतंक हो?
कसको आतंक हो ?

स्टेरिंग समाउने हातहरु लल्याक लुलुक भएका छन्,
खुट्टा र ब्रेकको नाता तोडिन लागिसक्यो ।

अब त कोही धामी जन्मिओस्!

यात्रुहरुको उस्तै दु:ख छ, धेर दौडेर, गोडा सुन्निएर भुक्क छ । कि त सार्वजनिक यातायात नै खारेज गर्नुपर्यो, कि सर्वसुलभ तरिकाले यात्रा गर्न पाउनुपर्यो । यो कोटेश्वरको मात्र टाउको दुखाइ होइन, कलंकीको पनि आन्द्रा दुखाइ हो। सोह्रखुट्टेको करङ्ग दुखाइ, थापाथलीको बंगारा दुखाइ, कालीमाटीको ढाड दुखाइ, लालितपुरको नाक दुखाइ, काठमाडौँको मासी दुखाइ, भक्तपुरको नसा दुखाइ हो । र, समग्रमा सबैको कान दुखाइ हो।