हठले मानिसलाई कि सफलताको शिखर चुमाउँछ कि त पतनको खाडलमा डुबाउँछ । बिना हठी त कुनै प्राणी हुँदैनन् क्यारे !
जगत्मा समस्त प्राणीको आआफ्नै योजना र सपना छन् । ती सपना या योजनाको थालनी गर्ने समय तालिका छन् । कोही तालिका अनुसार आफ्नो जीवन चलाउँछन् । कोहीलाई तालिकाको कुनै जरूरत छैन । जे मन लाग्छ गर्छन् । हुन त तालिका हुनेले पनि गर्ने त जे मन लाग्छ त्यही नै हो । मन लागि नगर्ने त यहाँ खै को होला र ?
जगत् मनलाग्दो गर्नेहरूको खेल मैदान हैन र ?
म सानैदेखिको हठी । कसैको दवाबमा बस्न नचाहने । मन लागेको चिज जसरी पनि पाउनै पर्ने । खानै पर्ने । ठाउँ डुल्नै पर्ने । भेट्न मन लागेकोलाई भेट्नै पर्ने । पुस्तक पढ्नै पर्ने । उटपट्याङ गर्नै पर्ने । यही हठको कारण पिटाइ र गालीको बर्सा कति भए ? त्यसको लेखाजोखा असम्भव नै छ । गाउँमा अरूका छोराछोरी आज्ञाकारी थिए । म थिएँ…!
जहाँ पुगूँ, हातमा पुस्तक कपी र कलम टुट्दैनथ्यो । भीडमा गएर गफिन मन लाग्दैनथ्यो । सानैदेखि भीड मन नपर्ने म, अहिले पनि भीडबाट टाढै रहन रुचाउँछु । त्यसैले होला, धेरै साथीभाइ बनाउन सकिनँ । अहिले पनि एक दुई जनाभन्दा अहँ ! अरू साथी छैनन् । एक्लो व्यक्ति सधैँ एक्लो । तर सबैको ।
उःबेला वार्षिक परीक्षा सकिएपछि महिना दिन जति विदा हुन्थ्यो । विदामा हामीजस्ता केटाकेटीको काम भनेकै गोठालो जानु हुन्थ्यो । गोठाले जीवन कम्ताको रमाइलो थिएन । गाईबाख्रा आफ्नो लयमा लागेपछि म पनि आफ्नै लयमा लाग्थेँ । चार पाँच कक्षा पढ्दा नै गान्धी, नेल्सन मण्डेला, मार्टिन लुथर किंग, कार्ल मार्क्स, म्याक्सिम गोर्कीको ‘आमा’, निकोलाई आस्त्रोभस्कीको ‘अग्निदिक्षा’लगायत पुस्तक पढिसकेको थिएँ ।
गोठाले जीवनको साथी भनेकै छिमेकी हजुरबुवा थिए । उनलाई हरेक दिन केही न केही सुनाइरहन्थेँ । कुनैबेला आफैँ पनि केही लेख्थेँ । आफूले लेखेको भने सुनाउन लाज लाग्थ्यो । जसलाई गुपचुप राख्थेँ । अरू बाजे बराजुबाट कथा सुन्दै हुर्कन्छन् । म भने बाजे पुस्तालाई नै सुनाउँदै हुर्किएँ । मलाई कथा सुनाउने एउटी जिजुआमा थिइन् । जोसँग बिताएको कथा निकै लामो छ । त्यो अहिले लेख्न चाहिनँ ।
असल पाठकको झोला या गोजीमा केही पुस्तक हुन्छन् । घुस लिने या दिनेको गोजी या झोलामा घुसकै पोको हुन्छ । रक्स्याहको गोजी या झोलामा महँगो या सस्तो रक्सीको बोतल हुन्छ । जो जे जसको लती छ, गोजी या झोलामा त्यही नै हुन्छ ।
मेरो एउटा खराब बानी, जुन सानैदेखि हातमा पुस्तक लिएर हिँड्थेँ । यो देखेर केही साथीहरू “हातमा पुस्तक मनमा दसथोक” भनी जिस्काउँथे । साथी मात्र नभई केही आफन्त पनि यस उखानबाट अछुतो थिएनन् । त्यसबीचमा “धेरै किताब पढ्यो भने बौलाइन्छ । त्यो फलानो त्यसरी नै पढेर बौलाएको हो । तँ पनि कुन दिन खुस्केलास् याद गर !” भनी अनेक डर र उदाहरण दिन्थेँ । ती कुरा देब्रे कानले सुनेर दाहिनेले उडाइदिन्थेँ ।
मेरो हालत देखेर एक दिन बाले भनेका थिए, “सबै चीज देखाउँदै हिँड्नु हुँदैन । लुकाउन पनि जान्नुपर्छ ।” तैपनि अहँ ! म सुध्रिन सकिनँ ।
एसएलसी सकिएपछिको कुरा हो । बजार डुल्न गएको थिएँ । साथमा राहुल साङकृत्यायनको ‘दर्शन्दिग्दर्षण’ थियो । आजसम्म सस्तो मूल्यका पुस्तक खासै किनिनँ । त्यस बेला उक्त पुस्तकको मूल्य ६५० थियो । जसले काठमाडौँदेखि जिरीसम्मको बस भाडा पुग्थ्यो । मेरा अधिकांस साथीले पैसा साँचे । मैले चाहिँ पुस्तक किनेरै सकेँ । जो देखेर काठमाडौंमा आफ्नै अंकलले एकदिन भनेका थिए, “यसले त भाको पैसा किताब किनेरै सक्दो रैछ । नचाहिँदो चिजमा खर्च गर्ने बानी रैनछ । जे होस् यो राम्रो बानी हो ।”
बजार डुल्दै गर्दा छिमेकी अंकल भेटिए । मेरो हाततिर हेर्दै, “यो कुन किताब हो ?”
चुपचाप उनको हातमा थमाइदिएँ । भित्र बाहिर यसो हेरेपछि भने, “अहिले दर्शन या अध्यात्मातिर लाग्ने उमेर हैन बाबू । पहिला त आफ्नो पाठ पो पढ्नुपर्छ । कमाउनतिर लाग्नुपर्छ । यी चीज त चालीस कटेपछि हेर्ने हो । अहिले नै यता लाग्दा पछि केही प्रगति गर्न सकिँदैन है ।”
“अब मेरो बानी नै यस्तै छ । हेर्दै जाम पछि के हुन्छ ।”
अन्ततः केही समयको सामान्य गफगाफपछि हामी छुट्टियौं ।
घर फर्किँदा सोचेँ, पहिला सामान्य ज्ञानलगायत अन्यको जीवनी पढेँ । अहिले हैन एसएलसी पछि भन्नेहरू आए । छ-साततिर पुगेपछि धेर पढ्नु हुँदैन, बौलाइन्छ भन्नेहरू आए । एसएलसी सकियो चालीस कटेपछि भन्नेहरू आए । चालीस कट्न बाह्र वर्ष बाँकी छ । सोच्दै छु, त्यसपछि के भन्नेहरू आउलान् हँ !
यो लेख्दै गर्दाको कुरो हो । गर्मीले अतिनै सताएपछि हिजो दिउँसो नजिकैको डेरी गएँ । जहाँ एक जना पचास नाघेका र अर्का सत्तरी नाघेका बीच यस्तो गफ हुँदै थियो, “हाम्रो शरीरमा यति चक्र हुन्छन् । फलानो चक्रले फलानो काम गर्छ । फलानो चक्र सक्रिय भएपछि नै ईश्वर प्राप्ति हुने हो । जुन चक्र सक्रिय भएपछि हाम्रो पुनर्जन्म हुँदैन । हामी परमात्मा हुन्छौँ ।” यो भन्ने थियो पचास नाघेको ।
ए ! हो हो ! भनी चासो लिएर सुन्ने चाहिँ सत्तरी नाघेको ।
संयोग पनि कस्तो ! चालीस कटेपछि लेख्दै गर्दा पचास र सत्तरी नाघेकाको आध्यात्मिक गफ सुनिनु ।
उमेरमा मृत्यु र जीवनको चिन्तन नगर्नेहरू हो, जब मृत्यु नजिक आउँछ आफ्नो पूर्वजन्म र पुनर्जन्मको चिन्ता किन ?
युवा छँदा मोजमस्तीमै फुर्सद भएन । यति कमाउँ कि उति भन्ने चिन्ताले छोडेन । फलानोले मलाई उछिन्यो भन्ने चिन्ताले छोडेन । यसलाई कसरी पछि पार्ने होला भन्ने उपाय खोज्दा आफैँ पछि परिएको थाहा भएन । नाथे यस्तो पनि अपराध हुन्छ भनियो । कसैलाई वास्ता गरिएन । म पो हुँ त ! चानचुने हुँ र भन्ने अहम् पालियो ।
उमेर खस्किँदै जाँदा नै त हो ऊर्जा खस्किने । जब ध्यान एकाग्र गर्न सकिने अवस्था रहन्न, अध्यात्मलगायत बाँकी दर्शन बुझिन्छ कसरी ? यो अनन्त परमात्मालाई चिनिन्छ कसरी ? जुन बेला यता दुख्यो, ए उता दुख्यो । ए बाबा मरेनी ! हुँ.! हुँ…! यो के दशा लागेको भनी छट्पटाउँदैमा दिन बित्दैन र ?
मकै मीठो दाँत हुँदै भन्ने हामी नै हैनौँ ?
गिलासमा दोस्रोपटक मोही थप्दै फेरि सोचेँ, बुद्ध आफैँले त म एकैपटक बुद्ध नभएर जन्मौ जन्मको साधना र तपस्याको फल रहेको बताएका छन् । हामी सोच्छौँ, बिहे हुनेबित्तिकै बच्चा निस्कन्छ ।
आजसम्म थुप्रै साथीहरू भए । तीमध्ये एकदुई जना असल साथी भए । त्योभन्दा अझ असल साथी भयो पुस्तक । जसले मलाई थरीथरीका कुलतबाट बचाउने हाेइन, त्यसको छेउमै पनि पर्न दिएन ।
के कस्ता कुलती साथी थिए त !
भो, यो नलेखौँ ।
पुस्तक पढ्नका फाइदा लेख्न चाहन्नँ । मलाई भएको फाइदा अरूलाई नमिल्न पनि त सक्छ । तर पुस्तककसँगको सङ्गत भने सानैदेखि बढाएको राम्रो ।
चालीस पचास कटेपछि यो या त्यो गर्छु भन्नु बालुवामा पानी हाल्नुजस्तै हो । कि ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।