हाउस पार्टी हो. साथीको घरमा. यो घर खास छ. घरधनी मेरो साथी भन्छ, ‘म त यहाँ पाहुना हुँ. यो घर तिमीहरुको हो.’
त्यसपछि ऊ थप्छ, ‘यो घरको एउटा मात्र नियम छ. त्यो हो, नाटक नगर. मनमा एउटा र मुखमा अर्को नगर. यहाँ तिमीहरु जो हौ र जस्तो रहौ, त्यस्तै आऊ. भन्न मन लागेको कुरा स्पष्ट भन. प्राकृतिक जिन्दगी बाँच. नेचुरल.’
घरमा केटाकेटीहरु आउँछन्. कपल्स. सिङ्गलहरु पनि आउँछन् त्यसो त. ब्रो सबैलाई अनकन्डिसनल लभ गर्छ. केटाकेटी झगडा गर्छन् एक आपसमा कहिलेकाहीँ. लभर्स क्वारल. ब्रो भन्छ, “किस गर्दा, ठोक्स हान्दा चाहिँ एकान्तमा सुटुक्क गर्ने. झगडा चाहिँ हामी सबैको अगाडि गर्ने ? त्यस्तो हुँदैन ! आनन्द आफू मात्र लिएर, दुःख चाहिँ सबैलाई दिने ? स्वार्थीहरु !”
अहिले केटाहरु प्ले स्टेसन अघिल्तिर उभिएर स्नुप डगको स्मोक विड एभ्री डेमा काराओके हान्दैछन्. चार, पाँच जना केटाहरु. प्यान्ट तल झारेर. कट्टु माथि सारेर. उभिएर. हात हल्लाई हल्लाई. मेरो छेउमा हाउस अनर ब्रो बसेको छ. म कीबोर्डमा यो सबै लेख्दै, केटाहरुको तमाशा हेर्दै, ब्रोसँग कुरा गरिरहेको छु. साथै मनोवाद पनि गर्दैछु. कति भाग मेरो मनोवाद हो, कति भाग ब्रो र मेरो संवाद हो, याद हुने बेला हैन यो. याद महादेवले राखून्. हामी वर्तमानमा जिउँदै छौं. मनस्विद कार्ल गुस्ताभ यंगले भन्ने जस्तो कलेक्टिभ अनकन्ससनेसमा जोडिएका छौं हामी सबै. सँगै बसेका महिलाहरुको पिरियड सिंक्रोनाइज हुन्छ भन्ने थाहै होला ? सँगै बस्दैमा महिनावारी नै सँगै हुन थाल्छ भने सँगै बस्दा विचार, सपना, भाषा एकै हुनु नौलो हैन. यो एउटा गफ ब्रो. केटाहरु र मेरो कलेक्टिभ अनकन्ससनेसबाट त्यही स्पेसमा जोडिएका सबैलाई डेडिकेटेड.
यो समाचार हैन. गफ हो. गफमा कहिले कथा आउँछ कहिले कविता ! गफ कहिले साँच्चैको हुन्छ कहिले हावा. कुन र कति साँच्चै हो र कति हावा हो भनेर सोध्न मिल्दैन गफमा. मलाई त्यस्तो सोधेको मन पर्दैन. त्यस्ता प्रश्नको उत्तर दिन मन लाग्ने भएको भए गफ किन लेख्थें ? पत्रकार बन्थेँ नि. समाचार लेख्थेँ.
गफमा कथा आउनुअघि सुरुमा हल्का शास्त्र चर्चा हुनु जरुरी छ.
मेरो फेभरेट च्याप्टरबाट शुरु गर्छु गफ. उपनिषद्.
“मान्छेको जुनी पाउन देवताहरु पनि लालायीत हुन्छन्.”
स्वर्गमा न जाडो, न गर्मी. न उमेर परिवर्तन हुन्छ न पसिना आउँछ. कसले भन्यो ? उपनिषदमा लेखेको छ. कुन चाहिँमा ?
प्रायः सबैमा नै लेखेको छ. एकसय भन्दा बढी छन् उपनिषद्. कम्तिमा दस वटामा लेखेको देखाइदिन सक्छु म, मैले अघि भनेको कुरा. देवता त के, यन्त्रहरू र निर्जीव वस्तुहरु पनि मानव जीवनको ईर्ष्या गर्छन्. मान्छेको शरीरले भोक महसुस गर्न सक्छ. देवताहरुलाई भोकाएको बेला ग्वाम् ग्वाम् खानुको आनन्द के थाहा ? स्वास्थ्य के हो, दिन र रात जाडो र गर्मी के हो देवताहरुलाई के थाहा ? भन्छन्, ‘उनीहरुको लोकमा सधैं उही समय. सधैं उही मौसम. उमेरले शरीर र मनमा ल्याउने परिवर्तनको आनन्द उनीहरुलाई के थाहा ?’

अनुपम पाेखरेल

“निकैअघि शिवरात्रिको ठ्याक्कै भोलिपल्ट एउटा विमान दुर्घटना भएको थियो याद छ ? त्यो कसरी भयो म भन्छु…”
ब्रो को कथा यसरी सुरु हुन्छ.
विमान ल्याण्ड गर्ने तरखरमा थियो. काठमाडौंको आकाशमा खै किन हो तर फनफनी चक्कर लगाउँदै थियो. काठमाडौंको आकाशमा राति भक्तजनले फुकेको गाँजाको धुवाँबाट बनेको बादल मडारिइरहेको थियो एकाबिहानै. बिजुली चम्क्यो. बिजुलीले केही गर्यो शायद. बादलमा भएको टिएचसी प्लेन भित्र छिर्यो. पाइलट मुस्कुरायो सुरुमा. अनि को पाइलट मुस्कुरायो. एयर होस्टेस मुस्कुराए. प्यासेन्जरहरु सबै मुस्कुराए. अनि प्लेन रिसायो.
सबै लठ्ठीएर हाँस्न थाले. प्लेन भयङ्कर रिसायो. एक त शिवरात्रि सप्ताह. शिवको चेतनाको तेजले निर्जीव वस्तुहरु पनि सजीवझैं भएका हुन्छन्. घरका हतियार कुनै नछुनु भन्छन् त्यसबेला. त्यहाँ माथि टिएचसीको गन्ध पाएको. मानव शरीर नभएकै कारणले आफू हाँस्न र मुस्कुराउन नसकेको कुरा प्लेनले बुझ्यो. पाइलटहरुले प्लेन अटो पाइलटमा राखेका थिए. प्लेन एक राउण्ड घुम्यो र रिसाएर गएर नजिकैको डाँडामा ठोकियो. प्लेन दुर्घटनाको वास्तविक कारण कसैले थाहा पाउन सकेन सुरुमा. पछि एउटा घटना भयो र कारण खुल्यो.”
ब्रो बर्बराउँछ. म पत्याउँछु. बीचमा उसको गफ सपोर्ट गर्न म उपनिषद्का कोटहरु रिफरेन्स हान्छु.
“मान्छेको जुनी पाउन देवताहरु पनि लालायित हुन्छन्. जाबो प्लेनको के कुरा भयो र !”
त्यसपछि ब्रो थप्छ, “अनि कसरी थाहा भयो लास्टमा प्लेन दुर्घटनाको रियल कारण थाहा छ ?”
“खै कताको पहाडतिर रोपेको गाँजा फँडानी गर्न हेलिकप्टर लिएर गएका थिए. हेलिकप्टरबाट आगो लगाएका. धुवाँले हेलिकप्टरमा बसेका सबै हाँस्न थाले. पाइलटले कन्ट्रोल रुमसँग भन्यो.. कन्ट्रोल रुम रोजर….हामी अत्यधिक खुसी भएर हाँस्दै छौं. मेरो हातले केही समाउनै सकिरहेको छैन. यति भन्नासाथ हेलिकप्टर कतै गएर ठोक्कियो..त्यो पुरानो दुर्घटनाको रहस्य यसरी खुलेको हो…”
“वाउ ब्रो…,” म टोलाउँदै, मुस्कुराउँदै भन्छु.