साल २०६५, म क्लास ९ को विद्यार्थी । पढाइमा अब्बल थिएँ, क्लासकै फ्रस्ट विद्यार्थी । स्वभाव अन्तर्मुखी । सानैदेखिन् स्कुलहरू धेरै फेरिए पनि त्यसको तुलनामा साथीहरू बनेनन् । अहिले पनि मसित केवल हातमा गन्न मिल्ने साथीहरू मात्र छन् ।
सीमित साथीहरूको लिस्टमा विरात साथी थियो आरिस राई, जसलाई म भोटे भनेर जिस्काउँथेँ । ५ क्लासमा पहिलोपटक आउँदा ऊसँगै बेन्च पाट्नरको रूपमा बस्न पुगेँ । त्यसपछि हाम्रो मित्रता झाङ्गिदै गएर आजसम्म पनि सुमधुर रहेको छ।
कक्षा नौमा पुगेपछि मन्सुको इन्ट्री भयो, कक्षा र मभित्र एकैचोटि । गोलो गोरो मुहार, नीला आँखा र बदामे ओठ, सम्झिदा नमज्जासँग यादहरूले अँठ्याउँछ र मलाई विगतमा पुर्याउँछ ।
स्कुले जीवनको उत्तरार्द्धमा थियौँ । उसको आगमनले सबै विद्यार्थीमा एक खालको तरङ्ग पैदा भयो । विशेष केटाहरूको सरकलमा त उसको आगमनले ठूलै हलचल ल्यायो। वर्षौँदेखि उही केटीहरूका पुराना अनुहार हेरेरै थाकिसकेका हाम्रा आँखाहरूले मरुभूमिको उजाड दृश्यबाट एकैचोटि हरियालीमा पदार्पण गर्दा अलौकिक महसुस गर्ने नै भए । हामीहरूमा उसको आगमनले नयाँ र रोमाञ्चक बहार ल्यायो भन्दा फरक पर्दैन।
मन न हो, उमेर अनुसार धेरैले गरे जसरी मैले नि उसलाई माया गर्न थालेछु, भित्राभित्रै । केही केटा साथीहरूले आफ्नो प्रेम उसका सामु व्यक्त गरे पनि उसले कसैलाई एसेप्ट गरिकी थिइनँ । गरेकी भए केटाहरू रून्चे अनुहार लिएर किन पो हिँड्थे र !
तर अरूले मन पराए भनेर उसलाई मैले मन पराएको थिइनँ । त्यसबेला भन्न पो सकिएनँ, तर अहिले भन्न मन लाग्छ- मैले मन पराएरै होला अरूले पनि मन पराएका ।

मधुसुदन घिमिरे
एक दिन, आरिसले उसलाई मन पराउने केटाहरूको लिस्ट नै निकालेछ । मलाई देखायो, तर त्यहाँ मेरै नामचाहिँ थिएन । सालेले आफ्नो नाम फस्टमै राख्न भ्याउँदा मेरो नाम अन्तिममा पनि राखेन । केही दिन त्यही निउँमा ऊसित बोलिनँ। म कुन कुराले रिसाएको थिएँ, आरिसले बुझोस् कसरी ? हुँदै नभएको घटनालाई लिएर मसँग फोकटको माफ माग्यो उसले ।
मैले यता मन्सुलाई मनमा राखेर मनलाई भारी बनाउँदै थिएँ । उता मायाको फूलबारी चाहार्न भने आरिस अगाडि देखियो । घर जाने बेला बाटो एउटै पर्थ्यो । मन्सु, आरिस र म सँगै हुन्थ्यौँ । बाटोभरि आरिस मन्सुसँग बोलिरहन्थ्यो, मचाहिँ लाटाले पापा हेरे जसरी उनीहरूको ‘हो कि होइन’को जवाफमा टाउको हल्लाउँदा हल्लाउँदै घर आइपुग्थेँ ।
मन्सु मसित कहिल्यै नबोल्ने, म त पानीमरुवा भइगएँ । ऊ केटी हो, केटीले लाजको घुम्टो ओढेका हुन्छन् । कसरत त म स्वयंले गर्नुपर्ने थियो, तर डरको टोपी फुकाल्न मेरो स्वाभावले दिएन । डरलाई बोक्दा बोक्दै कक्षा दशको अर्को केटोले उसलाई अप्रोज गरेको खबरले मलै भएको सानो आस पनि मिल्काइदिएँ।
मैले चुपचाप आफ्नो रहरलाई आसमा परिणत गरेर मिल्काउनुको पछाडि एक काण्ड छ । हामी क्लास १० मा पुगिसकेका थियौँ। एसएलसीको प्रेसर बढ्ने क्रममा थियो । कुरा के भयो भन्दा, म हिसाब गर्दै थिएँ । छेउको आरिस “यो कसरी गर्ने ?” भनेर कुनै प्रश्न देखाउँदै थियो । मैले त्यसमा कुनै चासो दिएको थिइनँ। आफ्नै हिसाब नमिलिरहेको बेला त्यसको ल्याङल्याङ सुन्ने फुर्सद कहाँ ?
म केही नबोली हिसाब गर्न थाले । उसलाई पनि रिस उठेछ क्यारे “साले पण्डित, पख्लास्” भन्दै सिटबाट बाहिर गयो । कहाँ जान्छ भनेर यसो हेरेको त मूला मन्सुको सिट छेउमा गएर सिकाइमाग्दै रहेछ । आफू एकै शब्द पनि बोल्न नसकेको बेला ऊचाहिँ मन्सुसित मस्त गफ मार्दै थियो। मलाई जलन हुनु स्भाविक थियो । भित्रभित्रै मुर्मुरिन थालेँ ।
क्लास सकेर हामी टोइलेट गयौँ।
“क्लासको फस्ट हुँ भन्दैमा तलाई यत्रो धाक ? साले, आफैँले मात्र जानेको जस्तो गर्छस् ?”, आरिस एक्कासी मसँग बिच्कियो । मलाई ऊ मन्सुसँग नारिएर बनेसको दृश्य सम्झना भयो । केही पनि सोच्न सकिनँ । हठात्, मेरो हात कँसियो र एक मुक्का आरिसको नाकमा बजारियो, “मासाला भोटे । केटीसित बोलेँ भन्दैमा ठूलो कुरो गर्छस् ?”
मेरो यस्तो अनपेक्षित रूप देखेर उसले प्रतिकार गर्ने हिम्मत राख्न सकेन ।
फेरि हाम्रो बोलचाल बन्द भयो, एक हप्ता। मैले मन्सुलाई मन पराउने कुरा बिस्तारै उसले पनि चाल पायो । हिन्ट मैले नै दिएको थिएँ । केटो त एकाएक पूरै चेन्ज ! त्यसपछि मन्सुलाई कर्के नजर पनि लगाएन । बरू उल्टै मसित आएर “मिलाइदिम् पण्डित ?” भन्दै सोध्न र जिस्कन थाल्यो । मिलाउने भन्न साथ ममा गढेर बसेको डर नामक वस्तु हाबी भइहाल्ने । तेत्रा केटाहरूका प्रोपोजल रिजेक्ट गरेकी मन्सुले मलाई कहाँ मन पराउली र ?, मनलाई आफ्नो औकातमा बस्न निर्देश गर्न थालेँ मैले ।
यो मन पनि क्या अजीव ! न त मन्सुलाई माया व्यक्त गर्न तयार न त उसलाई हातबाट फुत्किन दिन नै । आरिसले पनि प्रयास भने नगरेको होइन । कहिलेकाहीँ कक्षामा बसिरहेको बेला प्वाक्क भन्न भ्याउँथ्यो, “मन्सु, बोलाको छ।”
मन्सु उत्सुक नजर लिएर पछाडि फर्कन्थी, “किन बोलाको ?”, उसको आँखाले प्रश्न गर्थ्यो । म लाजले रातोपिरो बन्न पुग्थेँ । यता आरिस हत्केला पिटीपिटी हाँस्न थाल्थ्यो। उसले आफ्नो ठाउँबाट जति सक्थ्यो, त्यो गरेको थियो ।
भाद्रको महिना थियो, स्कुलमा आएर पुस्तक मेलाका आयोजकले विद्यार्थीहरूलाई सक्ने जति टिकट बिकाएर महोत्सवमा आउन अनुरोध गरे । पुस्तक मेलामा हामी पनि जाने भयौँ । मन अत्यादिक खुसी थियो, कारण मन्सु पनि जानेवाला थिई।
मैले पहिले नै “माहोल मिलाइदे है” भनेर आरिसलाई संकेत गरिसकेको थिएँ । सनिबारको दिन दिउँसोको चर्किएको घाममा पनि भृकुटीमण्डवको वातावरण बडो रमाइलो थियो। हामी किताबभन्दा बढी केटीहरूमा नजर बिच्छाउँथ्यौँ । आरिस र म, मन्सु र उसका साथीहरूको पछि पछि छाया जसरी हिँडिरहेका थियौँ ।
मन्सु टक्क अडिन पुगी । उसको हातमा कमल घिमिरेको (न देखेको सपना) थियो । ऊ पछाडि फर्की । क्लासकै पढन्ते थिएँ म । मलाई नै सोधी, “यो नोवेल कस्तो छ ?”
मैले उसको हातबाट किताब लिएँ । किताब लिदै गर्दा मेरो हातका औँलाहरूले उसको हत्केलालाई कसरी कसरी स्पर्श गर्न पुगे। उसको हातको तातोपन किताबमा बाँकी नै थियो ।
“र… र… राम्रैछ ।”, मेरो बोली बल्लतल्ल फुट्यो ।
जिन्दगीमै पहिलोपटक ऊसँग त्यती धेरै निकटमा थिएँ म । उसको पर्फिमको वास्ना आज वर्षौँपछि पनि महसुस गर्न सक्छु । नीलो जिन्सको चुज पेन्ट र टम एन्ड जेरी अङ्कित सेतो टिसर्टमा खुलेको उसको हँसिलो मुहार अहिले पनि मनको ग्यालरीमा कत्ति पनि ब्लर देखिदैन ।
त्यसपछिका दिनहरू पढाइको तयारीमै बित्न थाल्यो । नजर लुकाएर उसलाई हेरिरहने बानीचाहिँ उस्तै थियो । एसएलसी आयो र जिन्दगीको बाटोबाट ऊसँग छुट्टिनु पर्यो । छुट्दा ऊ सबथोक लिएर तर याद बनेर आज मनमा बसेकी छे । मार्क जुकर्वगको आविष्कारले पनि उसलाई भेट्न सकेन । मन्सु भनेर धेरै खोजे, विभिन्न सोसल साइटहरूमा तर हात लाग्यो शून्य ।
जिन्दगीमा ऊसित भेट होला नहोला ? म भन्न सक्दिनँ । पृथ्वी गोलो छ भन्छन्, हराएको मान्छे भेटिन्छ रे !
भेटमा नडराइकन उसलाई मैले त्योबेला गरेको एकतर्फी प्रेम बताउनुछ । उसले त पक्का चिन्दिन होली, तर केही छैन । चिनाउने कोसिस गर्नेछु, “मन्सु ! कक्षा १० मा हुँदा पुस्तक मेलामा जुन किताब तिमीले मलाई देखाइकी थियौ नि, हो त्यही किताब लेख्ने लेखकको छोरो हुँ म । जसले आज तिम्रो बारे कथा लेख्दैछ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

