“छोरी मान्छेको कपाल लामो हुनुपर्छ।”, सानैबाट यही सिकाएर हुर्काइयो।

जब ४-५ वर्षकी थिएँ, त्योबेला कपाल पूरै खौरिदिनुहुन्थ्यो । पाल्ने रहर हुँदाहुँदै पनि काटिदिनुहुन्थ्यो । कपाल अलिकति बढ्दा साथीहरूसँग कसको लामो कपाल भनेर झगडा गरेको सम्झना पनि ताजै छ । स्कुल जाने शृंखला सुरू भएपछि क्रमशः कपाल काटिदिने शृंखला पनि छोडिदै गयो ।

साथीहरूसँग भाँडाकुटी खेल्दा केटा बन्नु पर्यो भने लामो कपाल गुजुल्टो बनाएर टोपी लगाउँथ्यौँ। सिकेकै त्यही थियो कि, केटीको कपाल लामो हुनुपर्छ, केटा छोटो । कसैले ‘कस्तो राम्रो कपाल, कति राम्री देखिएकी’, भन्दा म मख्ख पर्थेँ । कपाल पाल्ने रहर जो थियो । त्यसपछि त घरमा कपाल काट्छु भन्दा पनि कहिल्यै दिनुभएन। काटे पनि पछाडि बाँधिने गरीको चाहिँ राख्न भन्नुहुन्थ्यो । एकपटक लामो कपाल काटेर घाँटीसम्मको बनाउँदा एक जना आफन्तले भन्नुभएको थियो, “कपाल काटेपछि छोएको पानी कसले खान्छ ? श्रीमान् मरेको हुनुपर्छ कपाल काट्न त ।”

सँगैमा सिकेकी थिए, कपाल काटेपछि छोएको पानी खादैनन् । श्रीमान् मरेकाले मात्र कपाल काट्ने हो ।

छोरीको कपाल लामो नै किन हुनुपर्छ ?, प्रश्न जब गर्न सक्ने भएँ, जवाफ एउटै पाउथे, “छोरी मान्छेको कपाल सौन्दर्यको मानक हो । संस्कारी हुनुपर्छ । छोटो कपाल भएकी केटीलाई पनि केटी भन्छन् कसैले ?”

मलाई बुझाइएको थियो, केटी हुनुको पहिचान लामो कपाल हो। तर मैले त कपाल काटिदिएँ । के म अब कुरूप भएँ ? म संस्कारी भइन हो अब ? अँ साँच्चै, कपाल छोटो भएपछि म छोरी मान्छे नै रहिन हो भए ?

मलाई यो प्रश्नको जवाफ कपाल काटेपछि मेरै भनिएको समाजले दियो । मेरै साथीसर्कलले दिए ।

कपाल काट्न ब्युटीपार्लर गइनँ । सैलुन पसेँ । सैलुन पस्दा वरिपरिका मान्छेले मलाई एकटकले हेरिरहेका थिए । सैलुनको दाइले मलाई पटक पटक ‘बहिनी पार्लर उता छ’ भनेर छेउको पार्लर देखाइरहनुभयो। मैले दुई तीनपटक ‘दाइ कपाल छोटो बनाएर काट्ने हो’ भनेपछl मात्र उहाँले कैँची मेरो कपालमा चलाउनुभयो । लामो कपाल लिएर कुनै पुरुष सैलुन पस्दा उहाँले त्यत्रोबेर सोच्नुहुन्थ्यो होला ? कपाल काटेर घर फर्किदा सार्वजनिक यातायातमा होस् या त बाटोमा, मलाई धैरै आँखाहरूले आश्चर्य मानेर हेरिरहे । मानौँ, म सैलुनबाट एलिएन बनेर निस्किएकी छु ।

जब कपाल काटेँ, प्रश्नहरू बढे- “कपाल काट्यौ ? किन काट्यौ ?”

कपाल काटेको देखेर पनि कपाल काट्यौ भनेर सोध्नु मलाई कत्ति पनि जायज लागेन । म प्रश्नकर्ताहरूको अनुहारको भावलाई मज्जाले पढिराथेँ। बोलाइको शैली मज्जाले बुझिराथेँ । उनीहरूले मेरो कपाल काटेको प्रस्ट देखेर पनि त्यही प्रश्न किन गरे ?

संस्कृति रिजाल

कपाल काट्यौ सम्म त ठीकै थियो, तर सँगै अर्को प्रश्न जोडिइहाल्छ, “किन काट्यौ ?”, यसरी सोधिरहेका थिए कि मानौँ कपाल काटेर मैले ठूलो अपराध गरेँ । या त भनौं मैले कपाल काट्न उनीहरूसँग अनुमती लिनुपर्ने थियो । मैले उनीहरूको प्रश्नका लागि कपाल काट्नुपूर्व उत्तर खोज्नुपर्ने थियो ।

मैले कपाल काट्दा अरूलाई यतिका धेरै आपत्ति किन ? मैले छोटो बनाएको मेरो कपाल फेरि लामो बनाएँ भने उनीहरू फेरि मलाई सोध्लान्, “कपाल पाल्यौ ? किन पाल्यौ ?”
ल, मेरो कुरा नगरौँ । कुनै पुरुषको लामो कपाल देख्दा आजसम्म उनीहरूले सोध्या होलान्, “कपाल किन पाल्यौ ?” !

पुरुषले कपाल पाल्दा सामान्य रूपमा लिनसक्ने हामीले महिलाले कपाल काट्दा किन सामान्य रूपमा लिन सक्दैनौँ ? यही कि छोरी मान्छेको कपाल सुन्दरताको मानक हो ? मैले कपाल काट्दा “छोरी भएर कपाल काटिछे, विवाह गर्ने उमेर हुन लाको छ कपाल काटिछे, यो त असल छेकी जस्तो लाको थियो तर यसले पनि कपाल काटिछे, कपाल काटेर के चटक देखाको, कस्तो विद्रोहको ढोल पिटेको”, जस्ता कुरा किन्न सुन्न परिराछ ? म छोरी हुनुसँग मेरो कपालको सम्बन्ध के ? म असल या खराब हुनुसँग कपालको सम्बन्ध के ? विवाह र कपालको सम्बन्ध के ? कपाल काट्दा कस्तो विद्रोह हुने हो ? प्रश्न गर्नेहरूसँग नै छैन कुनै उत्तर ।

४-५ वर्षको हुँदा मेरो कपाल छोट्याउन कुनै आपत्ति नहुने बुवाआमालाई आज म आफैँ कपाल छोट्याउछु भन्दा किन आपत्ति ? यही कि छोरी मान्छेको उमेर बढेसँगै सुन्दर देखिनुपर्छ । सुन्दरताको मानक कपाल हो !

स्कुलसँगै पढेका केही साथीहरू जो बाटोमा कतै देख्दा बोल्न नपरोस् भनेर नदेखे झैँ गरी हिँड्छन्। उनीहरूले सामाजिक सञ्जालमा फोटो पोस्ट भएको देख्नेबित्तिकै लाइक गर्नुभन्दा अघि इनबक्समा प्रश्न गर्न किन गर्छन् ? फेरि सबैले दोर्‍याएको प्रश्न दोर्‍याएर किन गर्छन्, “कपाल काट्यौ ? ला किन ? तिमीले त्यति राम्रो कपाल काट्दा मलाई रिस उठ्यो ।” मैले मेरो कपाल काट्दा उनीहरूलाई किन रिस उठ्ने ?

वर्षौँदेखिको साथी जो मैले कपाल काटेपछि मसँग बोल्न छोड्यो र भन्यो, “अब म कहिल्यै बोल्दिनँ ।” कपाल पल्दासम्म बोल्ने, कपाल काटेपछि नबोल्ने ! उसलाई पनि यही लाग्छ कि केटीको सुन्दरताको मानक कपाल हो ?

लामो कपालमा सुन्दर देख्ने केही मान्छेका लागि कपाल काटेपछि म सुन्दर देखिन छाडेँ । उनीहरूले पटक पटक भनिरहे, “अब कपाल नकाट है । कस्तो नराम्रो देखियो ।”, के मैले उनीहरूले सुन्दर देखुन भनेर कपाल पालिदिनुपर्ने ? उनीहरूका आँखाका लागि सुन्दर बनिदिनु पर्ने ? मेरो कपाल काट्दा यति धेरै टाउको अरूको किन दुख्यो ? सधैँ देखिरहेका मान्छेहरूले कपाल काटेपछि मलाई एकटकले हरेक दिन किन हेरिरहन्छन् ? के सोच्छन् ? यही कि, केटी भएर कपाल काटिछे । कुरूप भइछे।

वरिपरि रहेका साथीहरूले पनि त्यही कुरा किन भन्छन् जुन कुरा मलाई सबैले भने, “छोरी मान्छेको सौन्दर्य भनेको त कपाल नै हो है। तिम्रो त्यस्तो लामो कपाल थियो, काटेर कस्तो नराम्रो देखियो।” तर किन काट्यौ, के भएर काट्यौ, नराम्रो देखियो इत्यादि भनेर प्रश्न गर्नेहरूले कहिल्यै सोधेनन्, ‘कपाल काटेर खुसी छौ तिमी ?’

कपाल काटेपछि मैले मानेका केही अग्रज पुरुष साथीहरूले कपालले राम्रो देखियो भन्दै मेरो कपालको विषयलाई शरीरसँग जोडेर टिप्पणी गर्नु भयो। जुन विषयले मलाई असहज महसुस गरायो । चुपचाप बस्न सकिनँ, र बाेलेँ । कपाल काटिसकेपछि राम्रो देखियो भन्नु वाहानामा गरिएको हिंसा हो भन्ने मैले महसुस गरेँ । केही साथीहरूले प्रश्न गरे पनि राम्रो देखियो भन्नु भयो। उहाँहरूको भावमा कुनै अचम्म भए जस्तो थिएन । यसको मतलब उहाँहरूले राम्रो देखियो भन्नु भयो त्यही भएर मलाई नराम्रो लागेन भन्ने होइन । तर उहाँहरूको व्यवहार, बोलाइको शैलीले म प्रष्ट थिएँ।

धेरै केटी साथीले, “मलाई पनि यस्तै काट्न मन लाग्यो तर घरबाट दिनुहुन्न” भन्नुभयो । मैले हरेक प्रश्न गर्नेले मलाई नै किन गरे भन्या होइन, मेरो आपत्ति गलत व्यवहार र बोलाइको शैलीमा मात्र हो ।

केही दिनअगाडि फेसबुकमा आफ्नै उमेर समूहकी एक जना साथीसँग कुरा भयो, जसले लामो कपाललाई छोटो बनाएकी छिन्। उनी पनि भन्दै थिइन्, “कपाल काटेर म खुसी छु । म आफू भएर खुसी छु । तर जाबो कपाल फ्याँक्दा मैले हरेकलाई कपाल काट्नुको कारण बताउनुपर्यो । सायद अब मैले मेरो रहरलाई मारेर अरूका लागि उही पुरानो रूपमा फर्किनुपर्छ ।”

कपाल काट्दा यति विघ्न प्रश्न गर्ने समाजले आफू भएर बाँचिरहेको भने किन देख्दैन ? मलाई ‘आफू’ बन्नुछ। मलाई ‘म’ हुनुछ । मैले चाहेको ‘म’।