दिनहुँ बगरमा बसिरहने बैरागी को होला ? किन बेकार मान्छे ऊ ? किन बे-घर ? किन बेसुरो ? किन बेगाना ? उसलाई कसैको बन्नु छैन सायद ।
ऊ – उनी बेगरै पनि जिउँदो छ । उसकाे हामी बेगरै पनि अस्तित्व छ ।
कस्तो बौलाह रहेछ, दुनियाँ सब बौलाहा छ भन्दै हिँड्छ रे ? “साधो देखो जग बौराना ” – धुनमा कदम चलिरहेका छन् ।
ऊ थाकेको यात्री जस्तो पनि त देखिँदैन । अघोरी, साधुजस्तो हुलिया पनि त छैन । जिउँदै हरेक दिन घाट आउने कष्ट किन गरेको होला ?
समयले मृत्यु पर्खे जसरी कसको प्रतीक्षामा छ ऊ ? कि त भागी हिँडेको हुन सक्छ । ऊ आत्महत्याको विचार निफन्न आउँछ ! खैर जिउँदो छ कि सास मात्रै फेरिरहेको छ ?
साँच्चै, मलाई के नै पो फरक पर्छ र !
ऊ खोला किनारमा स्थिर थामिन आउँछ कि खोलासँगै बग्न ? कि बगाउन आउँछ आफ्नै अतीतलाई ? आँखाबाट ऊ शहरको डेरामा एक्लै बगे हुन्थेन र ? कुनै रेस्टुरेन्ट-क्याफेकै चिया चुरोटमा उतै थामिन किन सकेन होला ?
ऊ कलामा पोखिन चाहन्न ? उसलाई सङ्गीत मन पर्दैन ? उसले कविता बन्न चाहेन ? ऊ समाज बन्न सकेन ? सामाजिक हुन जानेन ? उसलाई किन हामी मन परेन ?
घर बिरक्त् लाग्छ ? खोलाकै बालुवाले चम्काइएका घरका चिल्ला ओथारामा पाउ रोकिन्नन उसका ? खोलातिर कुदिहाल्नु पर्ने ?
ऊ मान्छेको गुण र गुँड दुबै छोडेर हिँडेको बेरङ्गी । पानीको पनि रङ, स्वाद, आकार हुँदैन भन्ने सत्य थाहा पाएपछि पनि ऊ यतै रोकिएला कि फेरि अर्को रङ खोज्न निक्लिएला ?
खासमा उसलाई रङ्गीन हुनु छ कि रङ्गहीन हुने चाहात हो ?
कतिन्जेलबाट म आफ्ना नजर ऊसँग मिलाउन खोज्दै छु । तर उसका नजर पानीको बहकावमा एकोहोरो अडिएका छन् ।
अब यो पात्रलाई म के भनेर पुकारुँ ?
कुन आधार र रिवाजमा टेकुँ ?
कुन आदरको दर्जामा राखुँ ?
कसरी चिन्नु चित्त ?
कसरी मापन गरुँ उसको चरित्र ?
कसरी कण्ठ गरुँ चित्र ?
कि बिर्सिदिऊँ ?
कि बगाईदिऊँ उसको कायालाई पनि खोलामै ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ माघ २०८२, मंगलवार 







