दिनहुँ बगरमा बसिरहने बैरागी को होला ? किन बेकार मान्छे ऊ ? किन बे-घर ?  किन बेसुरो ? किन बेगाना ? उसलाई कसैको बन्नु छैन सायद ।

ऊ – उनी बेगरै पनि जिउँदो छ । उसकाे हामी बेगरै पनि अस्तित्व छ ।

कस्तो बौलाह रहेछ, दुनियाँ सब बौलाहा छ भन्दै हिँड्छ रे ? “साधो देखो जग बौराना ” –  धुनमा कदम चलिरहेका छन् ।

ऊ थाकेको यात्री जस्तो पनि त देखिँदैन । अघोरी, साधुजस्तो हुलिया पनि त छैन ।  जिउँदै हरेक दिन घाट आउने कष्ट किन गरेको होला ?

समयले मृत्यु पर्खे जसरी कसको प्रतीक्षामा छ ऊ ? कि त भागी हिँडेको हुन सक्छ ।  ऊ आत्महत्याको विचार निफन्न आउँछ ! खैर जिउँदो छ कि सास मात्रै फेरिरहेको छ ?

साँच्चै, मलाई के नै पो फरक पर्छ र !

ऊ खोला किनारमा स्थिर थामिन आउँछ कि खोलासँगै बग्न ?  कि बगाउन आउँछ आफ्नै अतीतलाई ? आँखाबाट ऊ शहरको डेरामा एक्लै बगे हुन्थेन र ? कुनै रेस्टुरेन्ट-क्याफेकै चिया चुरोटमा उतै थामिन किन सकेन होला ?

ऊ कलामा पोखिन चाहन्न ? उसलाई सङ्गीत  मन पर्दैन ? उसले कविता बन्न चाहेन ? ऊ समाज बन्न सकेन ? सामाजिक हुन जानेन ? उसलाई किन हामी मन परेन ?

घर बिरक्त् लाग्छ ? खोलाकै बालुवाले चम्काइएका घरका चिल्ला ओथारामा पाउ रोकिन्नन उसका ? खोलातिर कुदिहाल्नु पर्ने ?

ऊ मान्छेको गुण र गुँड दुबै छोडेर हिँडेको बेरङ्गी । पानीको पनि रङ, स्वाद, आकार हुँदैन भन्ने सत्य थाहा पाएपछि पनि ऊ यतै रोकिएला कि फेरि अर्को रङ खोज्न निक्लिएला ?

खासमा उसलाई रङ्गीन हुनु छ कि रङ्गहीन हुने चाहात हो ?

कतिन्जेलबाट म आफ्ना नजर ऊसँग मिलाउन खोज्दै छु । तर उसका नजर पानीको बहकावमा एकोहोरो अडिएका छन् ।

अब यो पात्रलाई म के भनेर पुकारुँ ?

कुन आधार र रिवाजमा टेकुँ ?

कुन आदरको दर्जामा राखुँ ?

कसरी चिन्नु चित्त ?

कसरी मापन गरुँ उसको चरित्र ?

कसरी कण्ठ गरुँ चित्र ?

कि बिर्सिदिऊँ ?

कि बगाईदिऊँ उसको कायालाई पनि खोलामै ?