म पेशाले प्रहरी । अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहत नारायणहिटी दरबार संग्रहालय सुरक्षा गुल्ममा कार्यरत छु ।
चैत्र ११ गतेबाट देशभर पूर्ण रूपमा लकडाउन घोषणा भएसँगै हामीले सुरक्षा प्रदान गर्दै आएको नारायणहिटी दरबार संग्रहालय बन्द भयो। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभाग र कन्सुलर सेवा विभाग (प्रमाणीकरण विभाग) तर्फको पनि सम्पूर्ण कामकाज बन्द भएपछि हामी लगभग ८५ जनाको हाराहारीमा रहेका प्रहरी कर्मचारीहरूको ड्युटीमा कमी आयो । धेरै जना चाहिने काममा थोरै संख्याले पनि पुग्ने भयो। एक किसिमले कामको बोझ घट्यो। सामान्य अर्थमा हेर्दा दरबार, संग्रहालय तथा राहदानी विभाग क्षेत्रको सुरक्षामा खटिने केही कर्मचारीबाहेकका अन्य कर्मचारीहरू फुर्सदमा भयौँ । फुर्सदमा भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर, काठमाडौं र अन्य केही प्रहरी वृत्तहरूको मातहतमा रहेर हामीले पनि सरकारको कोरोना विरुद्धको लडाइँमा प्रत्यक्षरूपमा हातेमालो गर्ने अवसर पायौँ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट नेपाल पनि अछुतो रहेन। देशमा चार महिनाभन्दा बढी समय बन्दाबन्दी (लकडाउन) चल्यो। देशमा कोभिड – १९ को संक्रमणको रोकथामका लागि राज्यका सबै निकाय आ-आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय रहे। यसको लागि पहिलो र मुख्य भूमिकामा सुरक्षा निकाय रहे भन्नेमा कसैको दुई मत नहोला। देशैभर कोरोना महामारी विरुद्धको लडाइँको अग्र मोर्चामा खटिए, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना । अन्य सामान्य अवस्थामा पनि देश र देशवासीको सुरक्षाको अहम् जिम्मेवारीमा अब्बल भूमिका निर्वाह गरिरहेको नेपाल प्रहरीलाई महामारीजन्य परिस्थितिले थप नयाँ जिम्मेवारी पनि थपिदिएको थियो। उपत्यकाभित्र बसेर ड्युटी गरिरहेको एक प्रहरी कर्मचारीको हैसियतले यस लेखमा मैले उपत्यकाभित्रको लकडाउन र आफ्नो अनुभव संगाल्ने कोसिस गरिरहेको छु।
उपत्यकामा लकडाउन सुरु भएसँगै स्वास्थ्य विज्ञानले सुझाए अनुसार कोरोना भाइरस महामारी विरुद्धको अभियानमा हामीले विभिन्न स्थान, कार्यालयहरूमा साबुनपानीले हात धुने कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्यौँ । राहत वितरणको कार्यलाई सहजीकरण गर्दै, काठमाडौँबाट बाहिरिन चाहने व्यक्तिलाई अवस्था हेरेर सहजीकरण गर्दै आफ्नो दैनिक नागरिक सुरक्षाको जिम्मेवारी निर्वाह गर्नु त छँदै थियो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल, महानगर र उपत्यकामा प्रहरी हाँक्ने पहिलो कमाण्डर हुनुहुन्छ। आफूसमेत खटिएर काम गर्दा अन्य प्रहरी कर्मचारीको पनि मनोबल बढ्छ भन्ने उद्देश्यले वहाँदेखि तल्लो स्तरसम्मको प्रहरी कर्मचारीको सक्रियता उच्च रह्यो। स्वास्थ्य विज्ञानले सुरुवाती दिनहरूमा सुझाएअनुसार कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने, पञ्जा, मास्क र सेनिटाइजरको नियमित प्रयोग गर्ने, अत्याधिक भीडभाड नगर्ने तथा सामाजिक दूरी कायम गरी कार्य सम्पादन गर्ने जस्ता कार्यहरू आवश्यक थिए। हिजोका दिनमा मापसे (मादक पदार्थ सेवन) लाई निर्मूल पार्न लागिपरेका हामी प्रहरी आज फेरि मापसे (मास्क, पञ्जा र सेनिटाइजर) को प्रयोगमा जोड दिइरहेका थियौँ। यो सम्पूर्ण कुराहरूबारे नागरिकमा चेतनाको विकास भइसकेको अवस्था थिएन । यसमा पनि दुई किसिमका नागरिकहरू भेटिए; यसबारे यथेष्ट ज्ञान हुँदाहुँदै पनि सजग नभएका र यसका जोखिमबारे जानकारी नभएर सजग नभएका ।
विभिन्न स्थानीय तहसँग सहकार्यमा विभिन्न स्थानमा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीको वितरण कार्यमा हामीले सहयोगी भूमिका निर्वाह गर्यौँ। लकडाउनका समयमा पहिलो कुरा प्रहरी आफैँ सुरक्षित रहनुपर्ने कुरा चुनौतीपूर्ण थियो। आफू सुरक्षित भएर नागरिकलाई लकडाउन भनेको के हो? भनेर बुझाउने र यो अवस्थामा नागरिकको दैनिक जीवनमा आइपर्ने समस्या के हो? भनेर आफुले बुझ्नुपर्ने र त्यससँग कसरी जुध्ने भन्नेबारे जानकार हुनु पनि उत्तिकै आवश्यक थियो।
लकडाउनका सुरुवाती दिनहरूमा लकडाउन उल्लङ्घन गर्नेलाई पहिले समात्ने र केही समयपछि छाड्ने गरिएको भए तापनि पछिल्ला दिनहरुमा त्यसो गर्दा हुनसक्ने कोरोना संक्रमणको खतरालाई न्यूनीकरण गर्न त्यस्ता व्यक्तिलाई सडकमै केही समय होल्ड गराउने र कोरोना तथा यसका खतराबारे शिक्षा दिई छोड्ने कार्य पनि गरियो । पछि गएर यो योजना प्रभावकारी त भयो तर २४ घण्टा सडकमा र विभिन्न मानिसहरुसँगको सम्पर्क र संसर्गमा रहेर काम गर्ने प्रहरी कर्मचारीलाई संक्रमणको चुनौती बढ्ने आँकलन गरियो । यस्तो अवस्थामा काम गरिरहँदा केही त्यस्ता घटनाहरू पनि प्रकाशमा आए जसमा जनताको साथी प्रहरीकै कमजोरी र ज्यादती पनि देखिए। यसो हुनुमा नागरिक र सुरक्षाकर्मीबीच केही असमझदारी हुनु नै प्रमुख कारण हुन्छ।
प्रहरी तपाईं हाम्रै साथी हो । तपाईँ प्रहरीकै सहयोगी हुनुहुन्छ । तपाईं र हामी देशका लागि हौँ ।
चौतर्फी खतराको बाबजुद पनि प्रहरीले दबाबमा काम गरिरहेको हुन्छ। चौबीसै घण्टा काम गर्नुपर्ने, सयौँ मानिससँग भेटघाट हुने, पारिवारिक समस्या पनि आफ्नै ठाउँमा रहिरहने हुँदा यस्तो परिस्थितिमा काम गर्दा कुनै वातावरणले प्रहरी र नागरिकलाई उत्तेजित पार्न सक्छ। यस्ता विविध स्थानमा भएका असमझदारीका घटनाहरूको हकमा दुई पक्षकै बीचमा सहमति भइसकेको र सम्बन्धित पक्षको सानातिना कमीकमजोरीलाई समीक्षा गर्दै सुधार गर्दै लगिएको अवस्था छ। यस्ता घटनामा कमजोरी प्रहरीकै पाटोबाट मात्र पनि हुँदैन, तत्कालीन परिवेश र परिस्थितिलाई उत्तेजित बनाउने कुराले पनि हुने गर्दछन्। त्यसतर्फ आम नागरिकले पनि सचेत हुनु अत्यन्त जरुरी हुन्छ।
मैले व्यक्तिगत रूपमा पनि धेरै कुरा अनुभव गर्ने अवसर पाएँ। नागरिकमा चेतनाको स्तर यतिसम्म कमजोर देखियो कि, केही मानिसहरू ‘लकडाउन कस्तो हुँदोरहेछ ?’ भनेर हेर्न समेत बाहिर निस्किरहेका देखिए। बाहिर निस्किँदा पनि अनिवार्य र अत्यावश्यक मानिएको सुरक्षा कवच मास्कको प्रयोग नगर्ने जस्ता सामान्य देखिने तर भोलिका दिनमा ठूलो क्षति निम्त्याउन सक्ने किसिमका बेवास्ताका घटनाहरू पनि देखिए । त्यसैगरी, एक जनाले निस्कँदा हुने काममा एकै परिवारबाट बढी व्यक्तिहरू बाहिर निस्कने, निस्फिक्री रूपमा मर्निङ वाकमा निस्कनेजस्ता क्रियाकलाप गर्ने र सम्झाइबुझाइ गर्दा उल्टै प्रहरीसँगै भनाभन गर्ने र जाइलाग्ने किसिमका कार्यले फिल्डमा खटिएका प्रहरीको मनोबल घटाउने कार्यहरू सर्वत्र भएको पाइयो। लकडाउनको सुरुवाती चरणदेखि नै प्रहरीलाई नै स्वास्थ्य सामाग्रीको निकै अभाव रहिआएको थियो । अझ पनि यो अवस्था यथावत छ।
मास्क पञ्जा र सेनिटाइजर जस्ता प्राथमिक स्वास्थ्य सामाग्रीको अभावमै काम गर्नुपरेको अवस्था छ। आफ्नो घरपरिवारबाट टाढा रहेर अरूको सुरक्षाको लागि अहोरात्र खट्ने प्रहरीलाई यो अवस्थामा हौसला र ऊर्जा प्रदान गर्दै अगाडि बढाउनुपर्नेमा नकारात्मक टिप्पणी र अझ उत्तेजित बनाई मनोबल गिराउने किसिमका कार्यहरू हुँदा यसबाट भोलि सबैलाई खतरा बढ्न सक्ने निश्चित छ। हातेमालो गरेर अगाडि बढौँ ।
प्रहरी तपाईं हाम्रै साथी हो । तपाईँ प्रहरीकै सहयोगी हुनुहुन्छ । तपाईं र हामी देशका लागि हौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।