तीज भन्नेबित्तिकै महिलाको चाड हो भन्ने सोच आइहाल्छ । अविवाहित छोरीले अब्बल दर्जाको पुरुष पाइयोस् भनेर अनि विवाहित महिलाले आफ्नो पुरुषको आयु वृद्धि होस् भन्ने हेतुले व्रत राख्नु नै तीजव्रतको मुख्य ध्येय हो । यसरी चाडको नाममा पुरुषकै निमित्त भनेर रचिएको यो प्रपञ्च कसरी महिलाको भयो ? महिलाको आस्थामाथि चढेर पुरुष लामो जीवन किन बाँच्न चाहन्छ ? कुनै नरले आफ्नी नारी पाउन व्रत लिनु पर्छ भनेर किन आवश्यक ठानेन ? आफ्नी पत्नीको दिर्घायुको कामना गरेर किन कुनै पति व्रत राख्न चाहँदैन ?

नेपाली हिन्दू धर्मवालम्बी महिलाहरूले लिने तीजको व्रत भारतीय हिन्दु महिलाहरूको “कर्वाचौथ” सँग ठ्याक्कै मिल्न जान्छ । नेपालमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन तीजको व्रत राखिन्छ र चौथीको दिन स्नान गरी व्रतको समापन गरी खाना खाइन्छ । भारतमा भने कर्वाचौथ कार्तिक कृष्णपक्षको चतुर्थीका दिन मनाइन्छ । विशेषगरी सौभाग्यवती स्त्रीले राख्ने यो व्रत सूर्योदयभन्दा पहिले र रातमा चन्द्रमाको दर्शनपछि समाप्त हुन्छ । नेपालमा मनाइने तीजभन्दा भारतमा मनाइने कर्वाचौथ महिलाप्रति केही मात्रामा भए पनि बढी उदार देखिन्छ । लगभग १८ घन्टाको व्रतमा चन्द्रमासँगै पतिको मुख हेरेर उनको हातबाट पानी पिएपछि पूर्ण भएको मानिन्छ । त्यसपछि भने शुद्ध शाकाहारी भोजन गर्न सकिन्छ । तर नेपालमा भने लोग्नेको खुट्टाको पानी पिउनुपर्ने चलन छ ।

तीजको दिन दिनभरी भोको पेट, पानी पिउन नपाएर सुकेको घाँटी र नाचेरै थाकेको ज्यान, बेलुकी सूर्य अस्ताएपछि लोग्नेको खुट्टाको पानी खाएर आफूलाई चोख्याउनुपर्ने, त्यसपछि मात्र जलपान गरेर सुत्न पाइने । पूरा दिन खाना-पानी निषेध गरे मात्र व्रत पूर्ण भएको मानिने । यो कस्तो संस्कृति ? तीजको दिन पुरुष दिनभरि नानाथरी भोजन गर्छ, मदिरा नै पनि पिउँछ अनि आफ्नो फोहोरी खुट्टा स्वास्नीको हातमा थमाइदिन्छ र भन्छ, ‘लु धोएर पानी खा !’

आफ्नो स्वाभिमान लोग्नेको पाउमा निहुराउनपर्ने यो कस्तो परम्परा ? अर्कोतर्फ श्रीमानका लागि भनेर तीजको व्रत राख्नुपर्छ भनिरहँदा एकल महिलाहरूलाई कस्तो लाग्दो हो ? श्रीमानको नाममा व्रत राख्नुपर्छ भन्नु नै गलत होइन र ?

ब्राह्मपुराण अनुसार भाद्र शुक्लपक्षको पञ्चमी तिथिलाई ऋषिपञ्चमी भनिन्छ । भविष्योत्तरपुराणमा भनिएको छ, ‘भगवान् इन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रम्हाले भगवान् इन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाडिँदिए । जसअनुसार पहिलो पापको पुल्ठो अग्निको धुँवामिश्रित ज्वालामा, दोश्रो नदीहरूमा बग्ने फिँज भएको वर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रूखमा उम्रने एंजेरु तथा सेपमा बसेको ढुंगाको काईको रूपमा तथा चौथो नारीजातिहरूको रजस्वलाको रूपमा । र मासिक धर्मका समयमा लाग्ने पापहरूको निवृत्तिको लागि ऋषिपञ्चमी व्रत महिलाहरूद्वारा गर्नुपर्ने चलन राखियो ।

ईश्वरा शिवा

एक त भगवान् इन्द्र पुरुष हुन् । पुराणमा उल्लेख भएअनुसार पुरुषले गरेको पाप महिलाको शरीरमा लगेर थोपरियो । अर्कोतिर नितान्त प्राकृतिक प्रक्रियालाई धर्मका नाउँमा रजस्वला हुनु भनेको रगतका रूपमा पाप बगेको हो भनियो र ती दिनहरूमा छोरी मान्छे अछुत हुन्छे भनेर विभेद पनि खडा गरियो । महिनावारीको समय भुलबस ( जानेर त जतिसुकै शिक्षित भए पनि त्यस्तो गर्दैनन्, किनकि यस्तो गर्नु पाप हो भनेर सानैदेखि घरसमाजले अभ्यस्त गराएको हुन्छ) स्त्रीले पति र छोरालाई छुनु, खानेपानी छुनु, भान्साकोठामा पस्नु , पूजास्थलमा जानू , मन्दिर प्रवेश गर्नु इत्यादी पापकर्म हुन् । र त्यसको निवारणको लागी ऋषिपञ्चमीको व्रत राख्नुपर्छ भन्नु पाठेघरको अपमान हो ।
नेपालको पश्चिमी भागतिर त रजस्वला हुनुलाई यति हेय भावले हेरिन्छ कि छाउगोठमा नै बस्नुपर्छ ! आमाको पाठेघरमा बन्ने रगतको डल्लाबाट मान्छेको रूप लिएर धर्तीमा निस्किएपछि चाहिँ महिलाको योनिबाट बग्ने मासिक श्रावलाई पाप बगेको सम्झने ? महिलाको सृष्टि क्षमताको यस्तो अपव्याख्या भइरहँदा पनि महिलाहरू नै ऋषि पञ्चमीको व्रतलाई धुमधामसँग निरन्तरता दिइरहने ?

पञ्चमीका दिन ३६५ वटा दतिवनले दाँत माझेर माटोको लेपन गरी स्नान गर्नु, हलोले नजोतेको अन्नको भात, एक सुइरे भएर उम्रने कर्कलोको तरकारी र एकदलीय अन्न खानु जस्ता कार्य पूर्ण प्राकृतिक तथा वैज्ञानिक रूपमा स्वास्थको लागि राम्रो हो । तर व्रतका सबै सामाग्री जुटाउन गाउँमा गाह्रो छ, सहरमा त लगभग असम्भव नै देखिन्छ । आजको बद्लिदो परिवेशमा यो व्रतको पुर्ण पालना गर्न निकै कठिन हुन जान्छ । फेरि, जुन व्रतको मुलमर्म रजस्वला हुँदा घटित पाप हटाउनु पर्छ भन्ने छ त्यस्तो व्रत आजको शताब्दीका जागरुक महिलाहरूको लागि अनुपयुक्त होइन र ?

अहिले त “दर-पार्टी” को नाममा “दारु-पार्टी ” चल्न थालेको छ ।

तीजको व्रत लिने अघिल्लो दिन दर खाने चलन छ । पहिला-पहिला बुहारी भइसकेपछि ससुरालबाट माइती आउन बिदा पाउनको लागि तीज नै पर्खनु पर्थ्यो । बल्ल बल्ल आएकी छोरी अनि काम गरेर थाकेको ज्यानलाई भनेर पोसिलो र मीठो मीठो खाना दरको रूपमा आमाले पकाएर खुवाउने चलन थियो । भोलिपल्ट निराहार, पानीसमेत नखाइकन व्रत राख्नुपर्ने भएकोले दूधबाट बनेका परिकारलगायत विशुद्ध शाकाहारी एवम् आडिलो भोजन खाइन्थ्यो । तर आजकल दरको रूप खाइने परिकारको प्रवृतिमा व्यापक परिवर्तन आएको छ । अहिले त “दर-पार्टी” को नाममा “दारु-पार्टी ” चल्न थालेको छ ।

सभ्यहरूको सहरमा महिनौँ अघिदेखि तीज-कार्यक्रम र दर-पार्टी गरिन्छ । गाउँतिर पनि यो हावाले छुन थालिसकेको छ। यस्तो खाले तीजको लहरले महिलाहरूमा मोटोपन बढाउने सम्भावना अत्यधिक हुन्छ । सहरमा शारिरिक परिश्रम निकै कम हुन्छ । विशेषत: घरेलु कामदार राखेर दिनभरि घरमै बसिरहने गृहिणीहरूको लागि त दर-पार्टी अत्यन्तै घातक हुन्छ । पसिना नबगाइकन शरीरले खाना पनि पचाउन सक्दैन । अनि आफ्नै शरीर रोगको घर बन्छ ।

अर्कोतिर पार्टी आयोजना गर्दा परिवारमा आर्थिक भार पनि बढ्छ । हुन त पार्टीहरू अटेन् गर्दाको दृश्यमा हुनेखानेहरूलाई खाना बढी पकाएर फ्याक्ने त शौख नै हो जस्तो देखिन्छ । हाम्रो पृथ्वीमा खानाको उत्पादनभन्दा मानिसको संख्या बढी छ । आफूले खान सक्नेभन्दा बढी खाना पस्किएर डस्बिनमा मिल्काउनुअघि अफ्रिकी मुलुकहरूमा माटोको रोटी बनाएर खाएको, पानी पिउन नपाएको जस्ता अति कारुणिक तथ्य किन सम्झदैनन् मान्छे ? योपाली भने कोरोना कहरका कारण यस्ता खाने दुष्काम खासै देखिएको छैन ।

तीज गीतको मौलिक विशेषता छ । तीजको दिन खासगरी महिलामाथि हुने उत्पीडन, ज्यादतीलाई गीतमा उनेर गाइन्छ । धेरैपछि भेट भएका संगीहरूसँग खुसी साटासाट गरिन्छ। व्रतको दिनभरि नाचेर रमाइलो गर्दा गीतहरूले मनलाई आनन्दित बनाउन सक्नुपर्ने हो । तर आजकल “सेल रोटी पकाउनी गिलास ठट्टाउनी ” , “हामी पनि नाच्नुपर्छ बीचबीचमा” जस्ता उट्पट्याङ शब्दहरू प्रयोगगरी अश्लिल भिडियो बनाएर कमाउधन्धामा लागेकाहरूले तीजको मर्म र मौलिक भाकाहरूको चिरहरण गरिरहे झैँ भान हुन्छ । यस्ताखाले बिकाउ मानसिकताले समाजमा विकृती फैलाउँछ । मिलियनभन्दा बढी भ्युज दिएर छाडा गीतहरूलाई कहिलेसम्म भाईरल गराउने ? कि हामी आम मानिसहरू पनि त्यस्तै रोगी मानसिकताबाट ग्रसित छौँ ?

तीजविशेष फेसन-सो ,फोटो प्रतियोगिता गरेर जसले धेरै गहना र महंगा सारी लगाउन सक्छ त्यही विजेता हुन्छ भनेर उद्घोष गरिएको पनि भेटिन्छ। यो त विकृतिको पराकाष्ठा हैन र ?

तीज भनेको गहना देखाउने प्रतिस्पर्धाकै रूपमा विकास भइरहेको छ । यसले संभ्रान्त वर्गमा त सामान्य असर पुर्याउला तर मध्यम र निम्न वर्गका महिलालाई मानसिक तनाव थपिरहेको छ । महंगा सारी र गहना दिन नसकेकोमा पुरुषलाई पनि ग्लानी हुन्छ । कतिपय अवस्थामा पारिवारिक कलहको कारणसमेत बनेको छ । अर्कोतर्फ तीजविशेष फेसन-सो ,फोटो प्रतियोगिता गरेर जसले धेरै गहना र महंगा सारी लगाउन सक्छ त्यही विजेता हुन्छ भनेर उद्घोष गरिएको पनि भेटिन्छ। यो त विकृतिको पराकाष्ठा हैन र ? तर यस्तो कार्य गलत छ भनिदिँदा सुन्न नसकेर सामाजिक सञ्जालमा अन्फ्रेण्ड गर्नेहरूको पनि कमी छैन ।

हालसालै धेरैतिर तीजको नाममा टिकटक प्रतियोगिता पनि आयोजना गरियो । यस्ता हर्कतहरूले तीजको मौलिकतामाथि प्रश्नचिन्ह खडा गरेको छ। बद्लिँदो परिवेशमा आएका यस्ता परिवर्तनले हामीलाई कतातिर लादैछ ? यस्ता वाहियात ट्रेन्डहरू रोक्ने कि नरोक्ने ?

एकैछिन व्रतका फाइदाको पनि कुरा गरौँ। व्रत बस्नु भनेको अनुशासनमा बस्नु हो । आन्द्रालाई आराम दिनु हो । पोषणविद्हरूका अनुसार योग, व्यायाम , कम खाने या उपवास गर्नाले इनकम्युनिकेबल डिजिजलाई निकै फाइदा पुर्याउँछ । सन् २०१६ मा एक जापानी वैज्ञानिकले व्रत बस्दा मानव शरीरले कसरी रियाक्सन गर्छ र विषालु तत्वहरू निकालेर फ्याँक्छ भनेर प्रयोग गरिहेरे । उनको रिसर्चबाट व्रतले शरीर स्वस्थ राख्न मद्दत गर्छ भनेर प्रमाणित भयो । उनको यस्तो अमूल्य योगदानको लागि नोबेल पुरस्कारसमेत पाए । रमजानमा महिनौँसम्म एक छाक नखाँदा शरीरलाई पुगेको फाइदा पनि वैज्ञानिकरूपमा प्रमाणित भइसकेको छ । आयुर्वेदिक अस्पतालमा व्रतलाई रोग निको पार्ने विधिको रूपमा अपनाइन्छ । व्रत मोटोपन घटाउन पनि सहयोगी हुन्छ । यसरी हेर्दा व्रतका धेरै छन् । तर ब्रतको दिनैभरि प्रसस्त पानी पिउन जरुरी छ । शारीर कमजोरी भएका र गर्भवती महिलाले व्रत नलिएकै राम्रो ।

अत: व्रतलाई नो हैन यस भनौँ । संसारमा कयौँ मानिस भोकमरीले मरिरहेका छन् । हामीले वर्षमा केही दिन व्रत लिँदा के बिग्रिन्छ ? अर्को वर्षको अरू केही दिनको लागि खाना जोगिने अनि संस्कार पनि जोगिने । झन् अहिलेको विषम परिस्थितिमा त व्रत लिनु उपयुक्त देखिन्छ । अब महिलाले मात्र होइन पुरुषले पनि व्रत लिनु जरुरी छ । अनुशासन सधैँ महिलाको ठेक्का हैन । तसर्थ पुरुषले पनि हिन्दुधर्म अनुसारका हरेक व्रत राख्नुपर्छ । कसैको आयु बढाइदिने हेतुले नभई आफ्नै स्वास्थको लागि तीजको व्रत राखौँ । लोग्नेको खुट्टाको पानी खाने र पाठेघरको उपहास गर्ने ऋषि पन्चमीको व्रत लिने चलन हटाउन आफैँबाट सुरु गरौँ ।

अन्त्यमा, आयातित विदेशी संस्कृति सजिलै स्वीकार्ने हामीले आफ्नो यति सुन्दर पर्वलाई विवादरहीत बनाउन पुरुषले तीजको व्रत किन नलिने ?