उसले चिसो दिनलाई तातो कफी मगमा डुबाइदियो । दुई हत्केला माड्यो र दुवै कानलाई परस्पर स्पर्श गर्यो । हत्केलातीत स्पर्शबाट कानातीत चिसो न्यानो भयो । र, यो दोहोर्याइरह्यो ।
ऊ मूल सडकलाई हेरिरहन्छ । सडक हुँदै हिँडिरहेका चिसा हत्केलाहरूलाई ऊ तातात्तो कफी दिलाउन चाहन्छ । कसैले ऊतिर हेरेका छैनन् । ऊ अनवरत मूल सडकतिरै हेरिरहन्छ ।
माघी मनाएर आएको चिसोले शहरलाई जमाउन खोजेको छ । मौसम पूर्वानुमान भन्छ, “भोलि र पर्सी पानी पर्छ । हिउँ पर्ने सम्भावना ।” अर्को साथी अफिसबाट निस्कनै लाग्दा भन्दै थियो, “परोस्, म यसपालि पनि कालिन्चोक जान्छु ।”
पादेर न्यानो हुने समयमा को लेकाली हिउँको सुगन्ध खोज्न त्यतिपर जाओस् ? उसलाई साथीको कुराले झोँक चल्छ ।
उसको आँखाद्वय मूल सडक नै ताकिरहेको छ, मूल सडक सुनसान छ । क्याफे चकमन्न छ । क्याफे साहु भेडाजस्तो बनेको छ, अनुहारको चोसो देखिनै मुस्किल पर्नेगरी बर्दी ओढेको छ । कतिबेला ‘भ्या’ गर्देला र आपत् ।
उसको डेरा अलि पर छ, त्यही १० मिनेटको दूरी । कोठाको एक्लोपना साह्रो चिसो छ, यसैले ऊ कफी पिउने बहानाले क्याफे छिरेको छ । कोठामा पनि कफी पाक्छ तर एक्लोपनका कारण स्वाद आउँदैन । दिनभर अफिसमा हुँदा पसिना छुट्नेगरी भागदौड हुन्छ । हरेक कमर्चारीलाई माघ पनि जेठ हुन्छ । श्रम मन्त्रालय हिमाल बन्दिँदा मुलकमा यस्तै हुन्छ । उसलाई यस कुरालाई खासै फरक पार्दैन । पार्छ तर ऊ ठान्दछ- ‘जाँगमा लुतो सल्किएपछि धेरै कन्याउनु हुँदैन ।’
भर्खरै क्याफे साहूले टाउको कन्यायो । चाया भुरुरु… ।
उसको पनि आफ्नो कपाल चिलाउँछ तर कन्याउँदैन ।
मूत्र बिसर्जन होइन, एउटालाई लाग्यो भने अर्कोले पनि झाडी पस्नुपर्ने ।
ऊ फ्याट्टै भन्दिन्छ, ‘कि दाज्यै, जिब्रो फेरि सुख्खा भयो । एउटा चिया ल्याउनुस न !’
क्याफे साहू चाया झार्दै भित्र पस्छ र चाया बनाउँछ । होइन चिया बनाउँछ । ऊ चिया पिउँदै मूल सडक ताकिरहन्छ ।
उसको अनुसार चाया संक्रामक र गम्भीर तब हुन्छ जब मस्तकको छालाको सबैभन्दा माथिल्लो पातलो ‘पत्र’ निष्क्रिय हुन्छ । ऊ शहरको मस्तिष्कमा फंगस (यिस्ट) को अत्यधिक वृद्धि भइरहेको कुराको साक्षी भएकाले चायालाई अति सामन्य घरेलु सरुवा रोग बताउँछ । हालसालैको मन्त्रिपरिषद्को विस्तारलाई उसले ‘फोहोर टाउको’को उपमा दिइसकेको छ । कसैले भनेका हुन् उसलाई- ‘चाया मानसिक तनावको कारक हो’ । उसले बाल भन्दिएको थियो ।
‘स्याम्पु, साबुन, रिठ्ठा वा सफा पानीले चायाविरुद्धको युद्ध जित्तिन्न कि दाज्यै, बरू कपाल फुलाउनुस् कि सेतो रङ ल्याउनुस् !’
क्याफे दाज्यै आफ्नो लागि बनाएको चियाको अन्तिम घुँट गिलासमै छाडेर भित्र छिरे । पक्का छ, उनको टाउकोको छाला मुलायम भयो ।
मूल सडकमा धमिलो हुस्सु बरालिने क्रम बढेको छ । फ्याट्टफुट्ट मोटरका राता चाकहरू देखिँदै छन् । क्या नजाती, अस्ताउँदो क्षितिजले आफ्नो रातो मुख लुकाएपछि शहरका मोटरहरू रातो चाक देखाउन आतुर हुन्छन् । हुस्सिलो मूल सडकतिर आँखा फ्यालिरहन पनि अब उसलाई झिँझक लाग्छ । ‘चिसोदेखि भाग्नेहरू प्रमिथसको आगो सेक्दैछन् । हरामखोरहरू । मख्खीचुसहरू । जुम्साहरू । निकम्माहरू ।..’ गालीगलौजमा उत्रिएको उसले एक खेप मुखैले भनी पनि दियो, “कि दाज्यै, आज भालेपोथी खेल्ने दिन परेछ क्या !’
क्याफे साहू भित्तामा टाङ्गिएको स्वास्नी आकारको तस्बीरलाई घुर्छ र ठुटे जुँघा मुसार्दै भन्छ, “गड्यौला बने भइगो नि भाइसाहेब ! भाले पनि, पोथी पनि ।” ऊ फुङ्ङ/फुस्रो सडकको अनुहार सम्झिन्छ र मुलायम जिउधारी गड्यौलालाई सम्झिन्छ । कताकता उसलाई सिमेन्ट पोतेर गड्यौला नासेकाहरू आफैँ गड्यौला बनिरहेका देखेर झोँक पनि चल्छ । फेरि सोच्छ, ‘आफैँ भाले, आफैँ पोथी हुनुको मर्का गड्यौलालाई जति कसलाई होला ?’ होओस्, भालेपोथीको खेलमा उमामहेश्वर नै लागिरहून् ।
स्मृति र पुनरावृत्तिले गाँजिएको जीवनलाई एकातिर राख्न खोजिरहेको ऊ एकाएक पार्वती नामसँग ठोक्किन पुग्छ । उसले पार्वतीसँग पाङ भ्याली पुगेर जेठो बुढो धानको भात खाएको थियो । खेतीयोग्य फाँट पाङमा पुगेर उसले पार्वतीसँग आफ्नो भाग्य र चिनाको अडेसो लगाएर भनेको थियो, “ज्योतिषको राजधानीमा छौँ । तिमि पार्वती, म महादेव ।’
“पार्वतीले सत्ययुगमै महादेव पाइसकेकी छन् । प्रेममा पुनरावृत्ति आवश्यक छैन । एकैपटक हुन्छ र सदैव भइरहन्छ ।” पार्वतीको यस भनाईलाई उसले सकारात्मक हिसाबले ग्रहण गरि आफू महादेव ठान्दै थियो । एकाएक पार्वतीले अर्कै महादेव भेटाई र नाङ्गोबाङ्गो किराँतरुपधारी महादेवलाई छोडीदिई । पार्वतीकै प्रेमबाट उत्पत्ति भएको आराध्यदेव महादेव यहीं शहरी वनजंगलमै अल्झिरह्यो । उसले कैलाश फर्किने बाटो यद्यपि भेटेको छैन ।
यसपछि उसले शहर-शहरमा स्वघोष गर्दै हिड्न थाल्यो- “मानव सभ्यताको लागि स्त्री-पुरुष तत्त्व लाभदायक छ अन्यथा संसारमा वैवाहिक मटन चाहिँदैन । प्रेम नै सर्वस्व हो !”
ऊ आफूलाई ब्रम्हचारी पनि भन्दो हो तर, उसले त्यो हद पार गरिसकेको छ । उही, कतैकतै ऊ प्रेमलाई जीवनशृंगार र सौन्दर्यको द्वीप बताउँछ तर असलीमा ऊ सुकुमारिताको खोजी गरिरहन्छ । र, चिसो बढेका यस्ता दिनहरूमा त ऊ झनै व्याकुल हुन्छ ।
क्याफेको चिसो छिडीमा बसी मूल सडक ताक्नु कति विषादपूर्ण कुरा हो ! मूल सडक हुँदै कोही तरुनी हिडली र आफू तातौला सोच्नु कति घिनलाग्दो छ तर ऊ त्यस्तो देखिंदैन !
ऊ ठान्दछ, ‘चिसोको कारण आज शहरले सम्साँझै सिरक ओढ्यो । अंगेनो छेउको बिरालो बन्यो ।”
र, अलिबेरपछी,..
ऊ रित्तो कफी मग नियाल्दै सोच्छ, “चिसो दिन कफी मगमा पनि डुबेन !”
अस्तु!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।