म चाहन्छु, मेरा पैतालाहरू कतै रोकिउन् । विश्राम लिउन् तमाम सपनाहरूले । फोक्सो निर्धक्क फुलोस् चुरोटको धुवाँले । तर यो माइक्रोबसले दिनहुँ अचेल कसैको जिन्दगी जलेपछिको अवशेष बोकेर हुइँकिन्छ चक्रपथको दौडधुपमा ।

मैले देख्ने हरेक अनुहार मलीन छ । निक्लिऊँ कतै त सबको कण्ठमा क्रन्धन अड्किएको छ । झ्यालबाहिर एकोहोरो पोखिइरहेछन् सबका आँखा । बोलूँ कसैसित – यो शहर बिरानो । कति पछ्याउनु यादका पदडाेबहरू ?

फोनमा बजिरहेको बैरागी धून एयरफोनको मसिनो तारबाट बग्दै बग्दै पस्छ कतै छातिभित्र र निचोरिदिन्छ हृदयको कुनै नरम कुनो । पाटनका गल्लीहरूबीच कोही बरालिन्छ बेसुरो गीत बनेर ।

दिनहुँ छिर्छु त्यो क्याफेमा तर मेरा सामुन्ने बस्न आदत परेको मान्छे अचेल आँउदैन । सायद बाटाे भुल्यो कि ? कता हराइगएछन् ती चेहेरामा उदासी बोकेर फुर्सदमा छुट्ने खित्काहरू । ऊ सायद आज पनि आउने छैन ।

उसले सायद हामी बिचको प्रेम जलाइदिई
मैले हामी बिचको घृणा जलाइदिएँ
अब हामी तापिरहने छाैँ युगौँयुगसम्म जलिरहेको सम्बन्धको आगो ।

म कतै सुल्झनमा छु या त कुनै उल्झनको गिरफ्तारीमा ? पत्तो छैन । मैले बाँचेका दिनहरू बिरामी छन् । थला परेका छन् । गीतहरू बेसुरा सुनिँदै छन् । बैरागी धूनहरूले घाँटी च्याप्छन् । शब्दहरूले चिमोट्दै छन । अचेल रात किन यसरी जिस्किएको ?

जवानी हराएका ती गल्लीहरूमा आफूलाई फेरि समेट्न बेतालिएको छु । जून बालेर छायाहरूले शहरमा जुलुस निकालेका छन् । खोजिहिँडेका छन् हाड-मासुका थुप्राहरूलाई । बेहोसनगर पुग्नै लागेजस्तो लाग्छ तर पैतालाहरूलाई भट्टीसम्मको बाटो मात्र याद छ ।

मोडिदिऊँ कि त पैतालाको गन्तव्य ? कि सुम्पिदिऊँ आफैँलाई – हालत, हयात र हबिकतको हातमा ? कि फेरि भ्रम उनेर हिँडूँ आँखाभरि ? कि फर्किऊँ चेहेरा उतारेर आफ्नै घर ? के तसल्ली दिलाऊँ ऎनाअगाडि नाङ्गो उभिएर आफैँलाई ?

शनै: शनैः सम्झिरहेछु कसैलाई । बिर्सिहिँडेको छु आफैँलाई ।