देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तोबेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाए ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्नेछौँ |
दीपिका खतिवडाः “बचत गर्ने राम्रो बानी बस्नु मेरो लागि लकडाउकै देन हो।”
भोलिबाट लकडाउन अरे भनेपछि त्यसपछिका दिनहरू के कसरी बित्छन् होला भन्ने कुराको मेलोमेसो पाउन गाह्रै थियो । लक डाउनअगाडिको दैनिकी भनेको बिहानै उठेर कलेज, त्यसपछि अफिस र साँझ ६ बजेपछि घर फर्किने हुन्थ्यो। लक डाउनपछि कलेज ठप्प भयो । अफिस विहान ९ देखि साँझ ५ घरबाटै चल्न थाल्यो । रोजीरोटीको समस्या भएन।
तर त्यसअघि कहिल्यै घरबाट काम गरेको रेकर्ड थिएन । मन न हो, आकस्मिक आइपरेको परिवर्तनसँग डरायो । झन् कोरोनासँग नडराउने त कुरै थिएन । त्यसपछिका दिनमा मेरो दैनिकी भनेकै कोरोनाले गरेको विध्वंस बारे सुन्ने, पढ्ने र लेख्ने । म त्यसबेला खाडी मुलुकको रोजगारीसँग सम्बन्धित मोबाइल एपमा लेख लेख्ने काम गर्थेँ। म शब्द मन पराउने तर अङ्कसँग डराउने मान्छे । तर त्यसो भनेर कहाँ पाइयो र ? त्यसपछिका दिनमा मेरो कुखुरी काँ नै अङ्कबाट हुन थालेको थियो। खाडीमा कति जनालाई कोरोनाले समात्यो, कतिलाई छोड्यो भनेर हिसाबकिताब राख्नुपर्ने भयो । अङ्क जति बढ्यो उति भयानक ।
अलिक समयपछि घरबाटै काम गर्न अभ्यस्त भएँ । त्यसपछि अन्य विषयवस्तुतिर पनि बिस्तारै ध्यान जान थाल्यो। किताब पढ्न र फिल्म हेर्न सुरु गरेँ। केही महिना अघिदेखि पढ्छु भनेर थाती राखेका किताब र फिल्महरू हेर्ने मौका जुरेको थियो । लकडाउन अवधिभर १५ वटा किताब पढेँ र ५० वटा जति फिल्म हेरेँ। व्यक्तिगत रुचिका लेखहरू अलिअलि केरकार गरेँ। आफूले कहिल्यै सुन्ने नगरेका विधाका गीतहरू खोजीखोजी सुनेँ। धार्मिक र आध्यात्मिक विषयसँग सम्बन्धित भिडियोहरू हेरेँ । त्यति गरिसक्दा जिन्दगीको एउटा ओझेल परिरहेको पाटो नै भेटिएको जस्तो महसुस हुन थालेको थियो । त्यसैले होला, म केही समय घरभित्र इन्टरनेटकै दुनियामा हराएँ । डेढ महिनासम्म घरबाहिर नै निस्किनँ भनौँ । एकदिन ४० मिनेट जतिको बाटो नहिँडी भएन । सुरुको २० मिनेट हिँड्दा गलेर भुतुक्कै र अर्को २० मिनेटमा चक्कर लागेर खुत्रुक्कै भएँ। त्यहाँबाट पातला, अझ म जस्ता फुकिढलका लागि चाहिँ घरबाट बाहिरै ननिस्किनु उति उचित होइन रहेछ भन्ने निचोड निस्कियो। हरेक दिन शरीरले ताजा हावा माग्ने रहेछ। म बाहिर निस्किन थालेँ। क्रमशः समस्या समाधान भएर गयो।
केही कुराहरू सामान्य दिनहरूबाट ठीक विपरीत हुँदै गएका थिए। लकडाउन अघि धेरै समय घर बाहिर बित्थ्यो। प्रत्यक्ष भेटिराख्ने साथीहरूसँग धेरै कुरा गरिन्थ्यो। लक डाउनपछि भने विदेश गएका साथीहरूसँग बढी कुराकानी हुन थाल्यो । लकडाउनले उनीहरू पनि फुर्सदिला जो भएका थिए । डिजिटलमा समय बढेको थियो । त्यसले निद्रामा असर पुर्यायो। जुन दिन सुतेको उही दिन उठ्न थालियो। त्यसैगरी लकडाउन अघि दिनदिनैको दौडधुपमा बाह्य कुराहरूकै चटारो बढी हुन्थ्यो। घरै बसेपछि भने आफैँले गुनगुनाएको आवाजलाई पनि ध्यान दिएर सुनियो। आफैँसँग संवाद गरियो। बिस्तारै स्व:मुल्यांकन गर्ने बानी पनि बस्यो। एकान्तको स्वाद मलाई धेरै गुलियो लाग्दै गयो। तर फेरि तीतो लाग्न पनि समय लागेन।
कोरोनाका कारण शारीरिक र मानसिक सन्तुलन केही मात्रामा पक्कै खलबलियो। तर अर्कातिर समयको सदुपयोग गर्न र गल्तीहरूबाट सिक्न पनि पर्याप्त अवसरहरू मिलेका हुन्। अर्को जीवनोपयोगी कुरो; बचत गर्ने राम्रो बानी बस्नु मेरो लागि लकडाउकै देन हो। रोग फैलिने सन्त्रासको बीचमा पनि यी आदि सकारात्मक पक्षहरूको विकास भयो। यो ४ महिनामा जे जति कुराहरू सिकियो त्यी प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भविष्यमा पक्कै काम लाग्ने छन्। चुनौतीले जीवन लिन मात्र नभएर जीवन जिउन पनि सिकाउँछ भन्ने एउटा जीवन्त उदाहरण नै बन्न गयो मेरा लागि कोरोना।
नीतेस ओलीः “आफूलाई समाजप्रति थप जिम्मेवार र संवेदनशील रहेको पाएँ ।”
लक डाउन सुरु भएसँगै सामाजिक कार्यको अग्रसरता थप बढ्यो । आफूलाई समाजप्रति थप जिम्मेवार र संवेदनशील रहेको पाएँ । मेरो त घर थियो, दुई छाक खानकै लागि कुनै दुःख थिएन । तर दिउँसो काम गरेर साँझको छाक जुटाउनेहरुका लागि अवस्था सहज थिएन । विभिन्न संस्था तथा दाताहरुको सहकार्यमा लक डाउन सुरु भएको हप्ता दिनबाटै सहभागिता जनाउन थालेँ । दुई छाक खाने पनि स्थिति नभएका, सडकमा बस्ने, दुःखी र अशायहरुलाई खाना तथा अन्नको व्यवस्थापन गर्नमा आफूलाई खर्च गरे । विभिन्न क्षेत्रबाट साथ पनि पाएँ । लाग्यो, अझै मानवता जिउँदै रहेछ ।
स्थानीय निकाय तथा अन्य विभिन्न संस्थाहरुले पनि राहत वितरणको काम त गरिरहेका थिए । तर प्रयाप्त थिएन । के कति ठाउँमा राहत पहुँचले प्रचाव पारिरहेको थियो । यस्तो अवस्थामा गाउँका कुनाकाप्चामा रहेका राहत आवश्यक हुनेहरु पहिचान गरी दाताहरु समक्ष ल्याई राहतको व्यवस्था गरिने काममा सरिक भइयो । यस यात्रामा आफूसँग केही थियो, बाँकी साथ दाताहरुले दिनुभयो ।
समाजिक सञ्जालमा हेरेँ, मेरो पुस्ताका अधिकांश युवाहरुले लक डाउनका सुरुवाती दिनहरु चामलका दाना गरेर, गीतका शब्द गनेर, विवेचनात्मक उत्तरजस्तो कमेन्ट गरेर, विभिन्न परिकारलाई बनाएर, खाएर, फेसबुकमा सजाएर बिताए । मलाई के लाग्छ भने, हामीमा सिर्जनात्मकलाको अभाव छैन । र त्यही सिर्जनात्मकतालाई थोरैमात्र संवेदनशील बनेर समाजहीत तथा दीन दुःखीका लागि खर्चिने हो भने हाम्रो समाजको रुप अर्कै हुने थियो ।
लक डाउनमा भए पनि कोरोनाको कहर बढ्दै गयो । राहत भन्ने कुरो एक छानकले हुने थिएन । त्यसलाई निरन्तरता त दिनु नै थियो । वास्तविकरुपमा कसलाई आवश्यक छ भन्ने कुराको पहिचान गरेर राहत निरन्तरता पायो । दोस्रो हप्तादेखि नियमित औषधीको प्रयोग गर्नहरुका गुनासोहरु आएँ । स्थानीय बजारमै पाइनेमा त समस्या थिएन, तर कतिपयले नियमित खाने औषधी नक्साल र पानीट्यांकीलगायत भारतमा मात्र पाइन्थे । मलगाय टीमले यस कार्यमा पनि आफूलाई खर्चियौँ ।
देश र जनताका पहरेदार सुरक्षाकर्मी । कोरोना महामारीका बीच सबैभन्दा ठूलो जोखिममा उनीहरुसमेत थिए । न हातमा सेनिटाइजर न त मुखमा सुरक्षित मास्क नै । देशका सुरक्षार्थ खटिएको पहरेदारहरुलाई पानी, मास्क तथा सेनिटाइजर जस्ता आवश्यक सुरक्षा र आवश्यकता वितरणसमेत गरियो ।
अहिले देश लक डाउन मुक्त भए पनि अवस्थामा उति परिवर्तन छैन । केही समय घटेका जस्ता देखिएका संक्रमित पछिल्लो दिन लगातार बढिरहेका छन् । फेरि पनि कुन बेला, कति समयका लागि लक डाउनको सामना गर्नुपर्ने हो ? थाहा छैन । तर आफूलाई थोरै मात्र पनि समाजप्रति उत्तरदायी बनाई, मानवीय संवेदनाका साथ आफूलाई थोरै मात्र खर्च गर्न सके कोही भोकैले मर्नु पर्ने छैन । रोगसँग कसको के नै पो लागेको छ र ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।