आदिमकालदेखि अहिलेको युगसम्म आइपुग्दा पुरूषहरूले नै महिलाका लागि सामाजिक तथा सांस्कृतिक मूल्यमान्यताहरू निर्माण गरेका छन्। शारीरिक रूप-रङका आधारमा महिला के कति सुन्दर हुन्छे, त्यो पनि समाजले तोकिदिएको छ। आदिमकालदेखि नै पुरुष मालिक र महिला दास हुन भन्ने सोच विकसित भएको हो। जुन आज पनि कायमै छ । पुरुषको मातहतमा बस्नुपर्ने, उसले भनेको मान्नुपर्ने, पुरुषहरूका लागि मनोरञ्जनका साधनका रूपमा आफूलाई सुम्पनुपर्ने जस्ता मान्यताको अभ्यासले महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको छ ।
रङ्गकर्मी तथा सिने पत्रकार प्रकाश सुवेदीले लिएको एक अन्तर्वार्तामा सोधिएका केही प्रश्नहरूको जवाफ नआएपछि नायिका पूजा शर्मा उक्त भिडियो सम्पादनगरी काटी दिन आग्रह गर्छिन् । तर बिनासम्पादन उक्त भिडियो सार्वजनिक गरिदिन्छन् सुवेदी। तत्पश्चात पूजा र प्रकाशबीच विवाद भएको हुनसक्छ । अर्को एक एपिसोड ‘विनाश काले विपरीत बुद्धि’ भन्दै सुरू गरेका सुवेदीले पूजामाथि आफ्नो रिस छताछुल्ल पारिदिन्छन् । बलिउडकी एक हिरोइनको असफल करियरको खिल्ली उडाउँदै पूजाको पनि त्यस्तै हालत बनाइदिने शैलीमा आक्रामक अभिव्यक्ति दिन्छन् । टिकटकको युगमा नायिकाहरूको भविष्य खतरामा रहेको भन्नसम्म भ्याउँछन् । चार पुस्तासम्मका नायिकाहरूको वृत्तिविकास गर्नमा उनले लिएका अन्तर्वार्ताहरूको ठूलो हात रहेको भन्ने आशय पनि व्यक्त गर्छन् र पाँचौँ पुस्ताको ठेक्का पनि आफ्नै हातमा पर्नेछ भन्ने भविष्यवाणी गरिदिन्छन् । तर यसरी अरूको अपमान गरिरहँदा आफ्नो इज्जत पनि घटाइरहेको पत्तै पाउदैनन् सुवेदी ।
‘दारा निस्किएको अनुहारको भिडियो काटिदिनुपर्ने रे !’, यो सुवेदीकै खुल्ला अभिव्यक्ति हो जसले पुजा शर्मा नराम्री छिन भन्ने आशय व्यक्त गरेको छ । पितृसतात्मक सोच कुन हदसम्म महिला विरोधी हुन्छ भनेर बुझ्न प्रकाश सुवेदीका प्रस्तुत अहंपूर्ण अभिव्यक्तिहरू काफी छन् ।
यदि पूजा कुरूप हुन् भने महिला सौन्दर्यका मानकहरू के के हुन् त महाशय ? सलक्क जिउडाल, बारुले कम्मर, टमक्क परेका नितम्ब, छातीको उभार, गोरो छाला, कालो लामो कपाल, मृगनयन, चुच्चो नाक, पिपलपाते ओठ अनि दारा ननिस्केको दाँत ! शारीरिक अवयवले महिलालाई औधी सुन्दर देखाउँदो होला हैन ?
‘भिडियो क्लिप काटिदिएर महानायिका बनाइदिनुपर्ने रे !’ जस्ता प्रश्न तेर्स्याएर पुरुष शाषित टेलिभिजन दुनियामा सञ्चालक र कार्यक्रम प्रस्तोतालाई मनलाग्दी गर्ने छुट छ भनिरहेको आभाष हुन्छ । एउटी महिलाले सफल चलचित्रकर्मी बन्नको लागि दबिएका दाँत जसरी नै दबिनु पर्ने ? यो हो लोकतन्त्र ?
डार्क स्किन टोन, कुरूप नृत्य र औसत अभिनय क्षमता भएका पुरुषलाई फिल्मी महानायक बनाउन सक्ने चलचित्र उद्योगमा कुनै महिला कलाकारलाई महानायिकाको उपाधी किन दिइएन ? यो सोचनीय विषय हो ।
मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको पहिलो धारामा सबै व्यक्ति जन्मजात स्वतन्त्र छन् र ती सबैको समान अधिकार छ भनेर उल्लेख गरिएको छ । तर पनि यहाँ महिला र पुरुषबीच निकै अन्तर रहेको देख्न सकिन्छ । अन्य क्षेत्रमा जस्तै सिने उद्योगमा पनि महिलाहरूमाथि विभेद रहेको पाइन्छ । अधिकांश महिला कलाकारहरू श्रमिक समष्टिगत हिंसामा परेको देखिन्छ । उस्तै अभिनय क्षमता र मेहनत हुँदाहुँदै पनि महिला कलाकार र पुरुष कलाकारलाई फरक पारिश्रमिक तोकिनु श्रम शोषण हो । यस क्षेत्रमा यौन हिंसा पनि हुने गरेको बेलाबेलामा सुन्नमा आउँछ । पछिल्लो समय भुवन-साम्राज्ञी द्वन्दले यसलाई प्रमाणित गरेको छ। भुवन केसीद्वारा उनीमाथि यौन हिंसा गरिएको कुरा बाहिर ल्याउने हिम्मत गरेकी उनलाई महिला सहकर्मीहरूबाट नै समर्थन मिल्दैन । झन् पुरुषमुखी सिने उद्योगमा पाच्य हुने कुरै भएन । बरू उल्टो उनीमाथि नै मानहानीको मुद्दा दर्ता गराइन्छ । यसबाट के प्रष्ट हुन्छ भने, पुरुषको त कुरै छाडौँ स्वयं नारीलाई पनि पितृसत्तात्मक मानसिकताबाट मुक्त हुन कठिन छ ।
चलचित्र उद्योगमा कथाले मागेको भन्दै अंग प्रदर्शन, हट आइटम डान्स र बेड सिनलाई अत्यधिक प्रयोग गरिन्छ । अर्कोतिर चिसो ठाउँमा हिरोले शरीर ढाक्ने पहिरन लगाएर नाच्दै गर्दा नायिकाहरू छोटा र पातला लुगामा देखिइनु नै पर्ने मानसिकता निर्माता निर्देशकहरूको हुन्छ । मनोरन्जनको क्षेत्रमा महिलालाई सिँढी बनाएर सुन्दर देखिनुपर्छ भन्ने वाहानामा उनीहरूको शरीरलाई परोक्ष यौन व्यापारको रूपमा प्रस्तुत गरे झैँ भान हुन्छ । चलचित्रमा देखाइने अश्लील सिनहरूले बलात्कार जस्ता जघन्य अपराधलाई प्रोत्साहन दिइरहेको हुन्छ । तर यसतर्फ धेरै जसोले नजरान्दाज गरेको पाइन्छ । किनकि अर्थ बजार त पुरुषको अधिनमा छ । त्यसैगरी उपभोग्य वस्तु तथा सेवाको विज्ञापनमा पनि महिलाकै अङ्ग र सुन्दरता प्रस्तुत गरिन्छ । महिलालाई कमाउधन्दाको कच्चा पदार्थको रूपमा प्रयोग गर्ने पुरुषमुखी समाज उनीहरुलाई हरतवरमा शोषण गर्न तल्लीन देखिन्छ ।
पुरुष इगो हर्ट भएपश्चात बदला लिने उदेश्यले घटाइने यस्ता घटनाले युवतीमा हिनताबोध र रोग त निम्त्याउँछ नै परिवारलाई पनि दुखी बनाइदिन्छ ।
महिलाहरू सुन्दर प्रजातिका हुन् भन्ने अवधारणा नै गलत छ । यो पुरुषसत्ताको चाल हो । सुन्दर ठानिएकै कारण महिलाहरूले धेरै समस्याहरू झेल्नुपरेको हुन्छ । दैनिक यात्रामा हिँड्दा पुरूषबाट जिस्काइनु, एकोहोरो प्रेमप्रस्ताव राखिनु ,स्वीकार नगरे तनाव दिनु, बलात्कार गर्नु , एसिड खन्याइनु र हत्यासम्म गरिनु जस्ता अपराधहरू पटक पटक दोहोरिने गरेका छन् । मुस्कान खातुन जस्ता छोरीले सुन्दरताकै कारण आजीवन पीडा खप्नुपर्ने भएको छ । पुरुष इगो हर्ट भएपश्चात बदला लिने उदेश्यले घटाइने यस्ता घटनाले युवतीमा हिनताबोध र रोग त निम्त्याउँछ नै परिवारलाई पनि दुखी बनाइदिन्छ । जिन्दगीभर उपचार गरिरहनु पर्दाको आर्थिक भार त छँदैछ ।
एउटा पुरुषले आफूलाई महिलाको योनीबाट नै जन्मिएको कुरो बिर्सिन्छ र विवेक गुमाएर बलत्कार गर्न पुग्छ। सुन्दर ठानिएका महिलाहरू मात्र होइन, साना बालिकादेखि वृद्धासम्म बलात्कारको सिकार भएका छन् । प्रकृतिले दिएको महिला शरीर सृष्टिसहितको विशेष गुण भएको शरीर हो, तर कमजोर होइन । कमजोर हो भन्ने धारणा त पुरुषसत्ताले निर्माण गरेर जबरजफ्ती समाजमा प्रचार प्रसार गरी स्थापित गरेको हो । जसले महिलालाई जिन्दगीभर असुरक्षित बनाएको छ । महिलालाई सन्तान उत्पादन र भोग्य वस्तुका रूपमा मात्र परिभाषित गर्न रुचाउने पुरुषमुखी सोचको कारण महिलालाई आफ्नै शरीर शत्रु बनेको छ ।
विभिन्नखाले अन्तर्वार्ता केन्द्रित कार्यक्रममा बोलाएर महिलाहरूलाई भर्जिनिटीका बारेमा सोधिनु, प्रेमी संख्या सोधिनु, कारलाई प्रेमीको उपहारको संज्ञा दिनु जस्ता नितान्त निजी जीवनमा हस्तक्षेप पुर्याउन खोज्नु हिंसाकै एक रूप हो । कुनै पत्रकारको गलत नियतका कारण शिर्षा कार्कीले आत्महत्या गर्नुपर्यो । भर्खरै मात्र एउटा राष्ट्रिय दैनिकले प्रियंका कार्कीलाई ‘बिग्रिएकी छोरी बिहे गरेपछि सुध्रिएकी छिन्’ भनेर पूर्वाग्रही ढंगले समाचार छाप्यो । यस्ताखाले समाचार आउनुले हाम्रो समाजमा महिलाप्रतिको पुरुष दृष्टिकोण कस्तो छ भनेर छर्लङ्ग बनाइदिएको छ । यही कुरालाई लिएर प्रियंका डिप्रेसनमा गइन् र आत्महत्या गरिन् भन्ने कसले जिम्मा लिन्छ ? बिग्रिनु भनेको के हो ? चरित्रलाई कसरी परिभाषित गर्ने ?
कोही मान्छे सही या गलत भन्ने कुरा कसैको हेर्ने नजरियामा मात्र भर पर्छ । कुनै कुरा खराब छ कि छैन भन्ने कुरा समाजले निर्धारण गरेको विषय मात्र हो । कुनै समाजमा पाच्य हुने विषय अर्को समाजमा अपाच्य हुनुले यसलाई प्रस्ट पारिदिन्छ । को कति चरित्रवान् छ भनेर निर्क्यौल गर्ने अधिकार कसैलाई छैन । एउटी नारीलाई झुक्याएर देहव्यपारको लागि बेच्नु र समाचारको हेडलाइनमा कसैको नाम राखेर चरित्र हत्या गर्दै समाचार बेच्नु दुवै यौनिक अपराध हुन् । पत्रकारिताका नाममा मनलाग्दी लेख्ने यस्ता पत्रुकारहरूलाई सजाय हुने कि नहुने ?
कानुनमा महिला हिंसा हुनुहुन्न र भएमा हदैसम्मको सजाय हुनेछ भनिए पनि कार्यान्वयन पक्ष फितलो देखिन्छ । दिनहुँ महिलामाथि विभिन्न रूपमा प्रहार हुँदा पनि सरकार मौन देखिन्छ । निर्मला पन्तका हत्याराहरूलाई सार्वजनिक गर्न नचाहने प्रहरी प्रशासन र श्रीमतीका हत्यारा रन्जनहरूले उन्मुक्ति पाउने न्याय प्रणाली गणतन्त्रमाथिको उपहास हो । सिसि क्यामेरासहितको सूचना प्रविधिको जमानामा समेत न्याय पाउन मुस्किल हुन्छ भने झन् यस अघि महिलाहरू कति हिंसामा परे ? कल्पना गर्दा पनि कहाली लाग्छ ।
पुरुषले त सीतालाई उभ्याएर समस्त नारीलाई सहनशील हुन बाध्य पारेको छ । किनकि ऊ महिलाले विद्रोह गरुन् भन्ने चाहँदैन ।
कमला भसिनको एउटा भनाइ छ-“पुँजीवादले घरमा श्रीमती राखेर बजारमा सेक्स खरिद गर्छ ।”, विशेषगरी महिला कलाकार एवम् सम्पूर्ण महिला वर्ग नै प्रत्यक्ष वा परोक्ष खरिद गरिने सेक्स बनिरहेका हुन्छन् ।
सामाजिक संजालमा सक्रिय केही महिलाहरुले शरीर नङ्ग्याएर महिला सशक्तिकरणको हुंकार पिटिरहेका भेटिन्छन् । नाङ्गिदैमा कोही सुन्दर हुँदैन । सुन्दरता भन्नू भ्रम मात्र हो । साईबाबा भन्छन्- “सहनशीलता नै महिलाको गहना हो।”, पुरुषले त सीतालाई उभ्याएर समस्त नारीलाई सहनशील हुन बाध्य पारेको छ । किनकि ऊ महिलाले विद्रोह गरुन् भन्ने चाहँदैन । नारीलाई धर्म, संस्कार र संस्कृतिले बाँधेर आफू मात्र स्वतन्त्र बनिरहन चाहन्छ ।
अब आफूलाई शिक्षित र चलाख सम्झने महिलाहरूले विद्रोहि चेत निर्माण गर्नुपर्छ । अब सौन्दर्य र कस्मेटिक संसारमा महिलालाई भुलाइदिएर अर्थतन्त्रमा एकछ्त्र राज गरिरहेको पुरुषसत्तासँग आर्थिक लडाइँ लड्नै पर्छ । घरधन्दा र परिवारमोहमा घोत्लिन बिसिर्एर आफ्नो अस्तित्वको रक्षार्थ हरतवरले जुट्न अत्यावश्यक छ । महिलाहरू कुनै पनि हालतमा कमजोर होइनन् भन्ने प्रमाणित गर्ने ढिला भइसकेन र ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।