साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोही आफैँभित्र जाने बाटो खोज्दै, कोही हजुरामाका कहानीमा खित्का छोडेर हाँस्दै

Chovar Blues Mobile Size

देशको भविष्य धेरै हदसम्म नवपुस्ताको भविष्यमा निर्भर हुन्छ । नवपुस्ताको धरातल, सिकाइ, विचार र साधनाले नै स्वयं र देशको मुहार चम्किलो बनाउँछ । यस्तोबेला नवपुस्ताका उदीयमान साहित्यकार, कलाकारहरू तथा समाज रूपान्तरणका संवाहक के गर्दैछन् त ? उनीहरू बन्दाबन्दीलाई कसरी उपलब्धिमूलक बनाए ? उनीहरूका आवाज पनि अनेक छन् । हामी यस स्तम्भमा नवपुस्तालाई सुन्नेछौँ

स्वस्थानी कार्की :

लगभग एक वर्ष पहिले एउटा हिन्दी चलचित्र हेरेको थिएँ, “ट्रयाप्ड” । जसमा एक जना व्यक्ति थुप्रै दिनको लागि एउटा अपार्टमेन्टमा थुनिएका थिए । त्यो फिल्म सक्किदा म निकै आत्तिएको थिएँ, र सोचेको थिएँ- ‘कोही महिनौँको लागि थुनिएर कसरी बाँच्छ होला ?’

यो लक डाउन पनि सुररूसुररूमा मेरो लागि त्यही फिल्मको सिन जस्तै भएर आएको थियो । चामल, दाल, तरकारीको अभाव नै त भएको थिएन, तर चामल, दाल, तरकारी, छत मात्र जिउनु रहेनछ । लकडाउन भएको एक महिना जति त मजै आयो । लाग्यो, क्या लाइफ छ ! न काम गर्नु परेको छ, न पढ्नु परेको छ । आनन्दले घरमा बस्यो , फेसबुक चलायो, मन परेको फिल्म, सिरिज हेर्यो, किताब पढ्यो, गीत सुन्यो, नयाँ नयाँ परिकार पकाउन सिक्यो । अझै त्यतिबेला त घरकाले पनि केही नभन्ने, जतिखेर सुत, जतिखेर उठ, काम नै के छ र ? न केही टेनसन लिनुपर्ने, न घर फर्किदा गाडीभित्र हुने ठेलमठेल सहनु पर्ने । वाह ! सँधै यस्तै भैदिराखे हुने जस्तो पनि लाग्यो । तर बिस्तारै लक डाउनको अवधि थपिदैजाँदा त्यो मजा, त्यो उत्साह पनि घट्दै जान थाल्यो ।

लक डाउन एक महिना, दुर्इ महिना, तीन महिना गर्दै थपिन थालेपछि सबैथोक मोनोटोनस हुँदै जान थाल्यो । कति बस्ने घरभित्र ? कति हेर्ने एउटै मान्छेहरूको मुख ? कति चलाउने फेसबुक पनि ? कति पकाउनु ? कति हेर्नु फिल्म ? सबैबाट वाक्कदि

sagarmani mobile size
स्वस्थानी कार्की

क्क लाग्न थाल्यो । न कुरा गर्नलाई केही नयाँ विषय न त पुरानै कुरा सुनाउनलाई नयाँ अनुहारहरू । बिहान दालभात र बेलुका चाहिँ भातदाल खाए जस्तै हुन थाल्यो दैनिकी ।

विस्तारै म फ्रस्टेट नै हुन थालेँ । समाचार सुन्यो, कोरोना केस थपिएका कुरा, सुसाइडका कुरा बाहेक केही नहुने । यस्तो परिस्थितिमा मेरो मानसिक स्थिति एकदमै मन्द हुन थाल्यो । म जे कुरा पनि बढी सोच्न थालेँ र अन्त्यमा सधैँ नकारात्मक निर्ष्कषमै पुग्न थालेँ । कतिपल्ट त आफ्नो घरपरिवारसँग निहुँ नै नभर्इ पनि झगडा गर्थेँ । उहाँहरूलाई पनि त्यस्तै भइरहेको हुँदो हो । यो सबै बढ्दै जान थालेको थियो र म आफ्नै लागि एकदम टक्सिक हुँदै थिएँ ।

लक डाउनको तेस्रो महिना चल्दै थियो, म दिक्क मानेर बसिरहेको थिएँ । युट्युब हेर्दै जाँदा मैले एउटा भिडियो भेट्टाएँ, जसको टाइटल थियो, “द आर्ट अफ डुइङ् नथिङ्” । मलाई टाइटल नै एकदम मन पर्यो र खोलेर हेरेँ । त्यो भिडियो मेरो लागि, गर्मीमा सीतल हावा, जाडोमा न्यानो आगो जस्तै भएर आयो । त्यहाँ सधैँ केही न केही गर्नैपर्छ भन्ने छैन, प्रकृतिले हामीलाई “तँ सँधै प्रोडक्टिभ हुनैपर्छ” भनेर जन्माएको हैन भन्ने जस्ता थुप्रै कुराहरू थिए । म त्यो हेरेर दङ्ग परेँ । सोचेँ- म किन यति प्रोडक्टिभ हुने कोसिस गर्दैछु ?

त्यसैबेलादेखि मैले जबर्जस्ती केही गर्न छाडिदिएँ र त्यही छाडेकै बेलादेखि मेरो मन, मस्तिष्क र शरीरलाई आरामको अनुभूति हुन थाल्यो । भोलिपल्ट बिहानैदेखि मलाई फेरि सास फेरे जस्तो लाग्यो । मैले सोच्न कम गरिदिएँ । म छतमा गएर गहिरो, नीलो, अनन्त आकाशलाई हेरेर बस्न थालेँ । मलाई लाग्यो- म बाहिर पो जान सक्दिनँ, भित्र जान त मलाई कसैले पनि रोकेको छैन । मैले आफुभित्र जाने बाटोहरू खोज्न थालेँ ।
फेसबुकमा साथीहरूको पोष्ट हेर्थेँ, धेरै जस्तो हावादारी भए पनि कुनै कुनै साँच्चीकै धेरै रिलेटेबल र प्राक्टिकल हुन्थे । मलाई लाग्यो, म जस्तै आफुभित्र जान चहानेहरू पनि धेरै रहेछन् । उनीहरू मेरो प्रेरणाको स्रोत पनि बन्दैगए ।

मलाई फेरि पकाउन मन लाग्यो तर जबर्जस्ती कुनै नयाँ परिकार होइन । पहिला जे पकाउँथेँ त्यही नै तर मन कस्तो चङ्गा जस्तो हुन थाल्यो पकाउँदा मात्रै पनि । पहिले कहिल्यै मीठो छ नभनेकी मेरी बहिनीले समेत खाना मिठो छ भन्न थाली । यही खुसी थियो मेरा लागि । साथीहरूबाटै प्रेरित भएर मैले गार्डेनमा धनियाँ, पुदिना, खुर्सानी रोपेँ । दिनदिनै म तिनीहरूलाई हेर्थेँ र तीनै बिरुवाको हरेक पातसँगै मभित्र पनि एउटा नयाँ म पलाउँदै जान्थ्यो । सारा जगत किन प्रकृतिको गीत गाउँछ भनेर मैले तब बुजेँ जब मलाई माटो खेलाउँदा खेलाउँदै त्यही ओसिलो माटोमै समाहित हुन मन लाग्यो । र निथ्रुक्क भएर फेरि जरैबाट पलाउन मन लाग्यो ।

लक डाउनभरिमा मलाई बिरुवासँग एकदमै धेरै लगाव हुन थाल्यो र मैले कोसिस पनि गरेँ सासाना मिनिएचर रूखहरू बनाउन, जसलाई बोन्साई भन्छन् । मैले एउटा सानो सृष्टि बनाएँ । मलाई त्यसको माया त्यति नै लाग्छ जति कुनै आमालाई बच्चाको लाग्छ । बिरुवाहरूबाहेक मलाई रङ्गहरू पनि प्यारा लाग्न थाले । म नजानी नजानी भए पनि रङ्गहरूसँग खेल्न थालेँ । मलाई पनि मेरो जिन्दगी सबै रङ्ग मिस्सिएपछिको सेतो रङ्ग बनाउन मन लाग्यो । हरेक पेन्टिङ् सकिदा मेरो हाँसो कानसम्म पुगेको हुन्थ्यो । अहिले पनि हुन्छ ।

मैले आफूभित्रको ‘म’लाई चिन्न थालेँ । मैले मेरो साइकोलोजिकल स्थितिसँग पनि राम्रोसँग नजिक हुने मौका यही लक डाउनले गर्दा पाएँ । मेरा बानीव्यवहारहरू किन यस्तो छ ? म यसलाई कसरी आफ्नो अधिनमा राख्न सक्छु ? भन्ने कुरा सिकेँ । यही कुराहरू थाहा पाउने क्रममा नै मैले मभित्र भएका ट्रमा र डरहरूबारे पनि थाहा पाएँ । जसले गर्दा अहिले आफैँदेखि त्यति अचम्म लाग्दैन जति पहिले लाग्थ्यो । मैले आफ्ना ट्रमाहरूको बारे एउटा आर्टिकल पनि लेखेँ, जसलाई धेरै जनाले मन पराइदिनुभयो । मैले बुझेँ कि यी सब कुराहरू सहने म एक्लै होइन रहेछु ।

मैले यस्ता गीतहरू सुनेँ जुन सुनेपछि हृदयले गुनगुनाइरहन्छ । मैले मान्छेहरूलाई हेर्ने दृष्टिकोण बदल्न मात्र हैन न्यून नै गर्दिएँ । म किन हेरुँ अरूलाई ? अङ्ग्रेजीको एउटा दिव्य मन्त्र छ “माइन्डिङ वन बिज्नेस्” । म त्यसैलाई मनन् गर्न थालेँ । जज्मेन्टल मान्छेहरूबाट टाढै रहनु, र मन परेकालाई मनले पूजा गर्नु भन्ने ज्ञान, मेरो यो लक डाउनको सबैभन्दा ठूलो उपलब्धी हो । आफूभित्रको रुद्रलाई चिनेँ र आफैँभित्रको कृष्णलाई पनि चिनेँ ।

यसरी यो लक डाउनमा म घर भित्रैबसेँ, आफू भित्रै बसेँ र पनि योभन्दा पहिले सायदै मैले यति स्वतन्त्र, यति हलुँगो महसुस गरेँ हुँला । यति धेरै सिकेँ हुँला ।

स्वर्निम (किसन) कार्की:

स्वर्निम (किसन) कार्की

बिहान खेतबारीको काम, दिउँसो अफिस अनि बेलुका घरमा आएर समय बितिरहेको थियो । परिवारसँग भन्दा बढी बाहिर समय बित्ने गर्थ्यो । सहरको कोलाहल वातावरण अनि धुलो धुवाँसँगै लिइरहेको अक्सिजन ।

विभिन्न समाचारका माध्यमहरूबाट विश्वभरि फैलिएको कोरोना र त्यसले मानव जीवनमा गरेको असर सुन्दा मनमा एकप्रकारको डर नै थियो । सहकारी तथा बैंकिङ कार्यालय संचालन भइरहेको हुँदा आफ्नो कामतिर लागिरहेको थिए।

चैत १० गतेसम्म बजार बजार पुगेर ग्राहकहरू समक्ष दैनिकी कारोबारहरू चलिरहेको थियो। भोलिपल्ट सरकारले लक डाउन गरेलगत्तै पूरा देशभरि नै बन्दाबन्दी भयो । लकडाउन भएको केही दिन त समय कटाउनै एकदम गार्‍हो हुन्थ्यो । कलेजका साथीहरू पनि आ-आफ्नो घर गइसकेका थिए।

खेतबारीको काम बिहानै सकिन्थ्यो भने दिउँसो चाहिँ फिल्म हेरेर, सामाजिक संजालमा सक्रिय भएर समयहरू बित्थे । लक डाउनले गर्दा दैनिक गुजारा गरेर छाक टार्ने मान्छेहरूको पीडा तथा आफ्नो घर जाननपार्इ बीच बाटैमा अलपत्र परी दु:ख पाएको खबर सुन्दा एकदमै नरमाइलो लाग्थ्यो । अरनीको राजमार्ग हुँदै धेरै मानिसहरू आआफ्नो घर हिँडेर गएका दुई आँखाले एक चित्त भएर हेरिरहन्थ्यो । कोहीको चप्पल चुँढिएर तातो घाममा खाली खुट्टाले हिँड्न बाध्य थिए भने कोही प्यासले प्याकप्याकी हुँदै भारी बोकेर हिँड्दै थिए । यी सबै दृश्यहरू प्रत्यक्षरूपमा देख्दा मनमा च्वास्स सियोले रोपेको जस्तै भान हुन्थ्यो। त्यसपछि धुलिखेलको हस्पिटल चोकमा केही साथीहरू मिलेर बाटोमा हिँड्ने दाजुभाइ तथा दिदीबहिनीलाई पानीको व्यवस्था गर्न पाउँदा र उहाँहरूसँग कुरा गर्न पाउँदा मनमा छुट्टै प्रकारको आनन्द आउथ्यो । जुन आनन्द मैले योभन्दा अघि अनुभव गरेको थिइनँ।

जेठ महिनाको आगमनसँगै धानको बीउ राख्ने र रोपाइँ सुरू हुन थाल्यो। हिलोले एकअर्कालाई छ्याप्दै, लड्दै, हाँसोठट्टा गरी गीत गाएर मेलापातमा साथीभाइसँग खुसीका पलहरू बिताउने मौका पाएँ । जुन मेरो जीवनकै एक अविस्मरणीय खुसीको पल बन्न पुगेको थियो। हजुरआमा बिगत एक वर्षदेखि प्यारालाइसेसले गर्दा थला पर्नुभएको छ। उहाँसँग भलाकुसारी गर्न पाउँदा एकदमै रमाइलो भयो। उहाँले पहिल्यै पहिल्यैको कुरा गर्दागर्दै हामी दुवै खित्का छोडेर हाँसेका थियौं।

समय यसरी नै चलिरहेको थियो। बेलाबेलामा कविता र गीतहरू लेख्ने गर्थेँ । तर खासै मन भने चाहिँ लाग्ने थिएन । त्यस्तै जेठको दोश्रो साता हुनुपर्छ, म फेसबुक चलाइरहेको थिए। एउटा दाइले साहित्य क्षेत्रका आदरणीय गुरु महेश पौड्यालको कविता सेएर गर्नुभएको रहेछ। उहाँको कविता हेर्नेबित्तिकै प्रभावित भएँ । अनि उहाँको प्रोफाइल हेर्दै गएँ । उहाँसँग कुराकानी पनि गर्न थालेँ । बिस्तार बिस्तारै महेश सरसँगै कविता लेखनमा पनि मन ढल्किन पुगेछ।

थाहा नै भएन, म पनि कविता लेखन र वाचनमा आकर्षक हुँदै गएछु। म कविता लेख्नेबित्तिकै महेश सरसँग सेएर गर्थेँ । मैले नजानेका कुराहरू सिकाउनु भएसँगै सुधार्नुपर्ने गल्तीहरूका बारेमा पनि बोध गराउनु हुन्थ्यो । अनि माया पनि । उहाँको माध्यमबाट साहित्य जगतका अग्रजहरूसँग समाजिक संजालमा जोडिने मौका पाएँ । जुन कुरालाई म आफ्नो उपलब्धी ठान्दछु । जसले गर्दा “कविता भनेको वास्तवमा यस्तो हुनुपर्छ, कसरी आकर्षक बनाउन सकिन्छ?” भन्ने कुरा पढ्न र बुझ्न पाएँ ।

आजकल म साहित्यतर्फ निकै तानिएको छु। बिगतका अविस्मरणीय घटनालाई आफ्नो कलमले उतार्न र राष्ट्रको समयसापेक्ष अनुपयुक्त रणनीति तथा निर्णयहरूलार्इ कविताका माध्यमबाट आवाज उठाइरहेको छु। दिनदिनै भइरहेको आत्महत्या, एसिड प्रहार तथा बलात्कार जस्ता समाजिक विषयमा न्याय र सुरक्षा व्यवस्थाका लागि सरकारको ढोका ढकढक्याइरहेको छु।

लक डाउनअघि म पूरा खाली थिएँ, आफ्नो कुनै खुबीलाई बुझ्न सकेको थिइनँ । तर लक डाउनले गरेको खाली समयमा स्वयम् आफैँलार्इ चिन्न सकेँ । जुन मेरो लागि सबैभन्दा ठूलो उपलब्धी भएको छ ।

प्रतिक्रिया
Loading...