कुनै पनि व्यक्तिले पाउने ठोस परिणाम, सफलता या असफलता भनेको उसको भाग्यमा भर पर्ने कुरा हो । तर प्रायः हामी सबैमा भाग्यबारे परम्परागत बुझाइ रहेको छ । बिना मिहिनेत, बिना कार्य वा संयोगबस प्राप्त हुने सकारात्मक या नकारात्मक परिणाम, सफलता या असफलतालाई नै भाग्यको रुपमा परिभाषित गरेका हुन्छौँ। राम्रो भाग्य भए अपेक्षित परिणाम, सफलता र खराब भाग्य भए अनपेक्षित परिणाम, असफलता पाइने कुरामा ढुक्क रहन्छौँ। केही उदाहरणहरू चर्चा गरौँ:

मानौँ, कुनै एक व्यक्तिले ठूलो धन राशिको चिट्ठा जित्यो। अब हामी भन्ने गर्छौँ, कति धेरै भाग्यमानी! ती व्यक्तिले विगतमा कतिवटा चिट्ठा खरिद गरे, अहिलेसम्म कति पैसा खर्च गरे भन्नेमा हाम्रो कुनै चासो रहँदैन। त्यसैगरी मानौँ, एउटा साधारण पुरुष एउटी आकर्षक महिलासँग सम्बन्ध जोड्न वा बिहे गर्न सफल भयो। अब हामी भन्न सक्छौँ, भाग्य त लिएरै आएको रहेछ! ती पुरुष अहिलेसम्म कति जना महिलाहरुबाट अस्वीकृत हुन पुगे, आफ्नो आकर्षण बढाउन के कति तयारी गरे भन्नेमा कत्तिपनि हेक्का राख्दैनौं। त्यसैगरी मानौँ, एक व्यक्तिले हजारौँ प्रतिस्पर्धीहरुलाई पछाडि पारेर एक प्रतिष्ठित संस्थामा आवद्ध हुने मौका पायो। अब हामी भन्न सक्छौँ, ती व्यक्तिको निधारमै लेखिएको रहेछ यो जागिर! ती व्यक्तिले आफूलाई योग्य बनाउन कति कठोर परिश्रम गरे, जागिरको लागि एक ठाउँबाट अर्को ठाउँमा भौंतारिँदै हिँड्ने क्रममा कस्तो मनोदशा राखे भन्ने बुझ्ने कोसिस गर्दैनौं। त्यसैगरी मानौँ, एक व्यक्तिले संगीत क्षेत्रमा करिअर (भविष्य) बनाउने लक्ष्य लियो। सोही लक्ष्य हासिल गर्न एक दशक संघर्ष गर्यो। तर ती व्यक्तिले कुनै सफलता पाएन भने? अब हामी भन्न सक्छौँ, उसलाई संगीत सिर्जना गरेर खान लेखेको रहेनछ। सो व्यक्तिमा सांगीतिक चेत र क्षमता भएको या नभएको, भएपनि मनोवृत्ति सही भएको या नभएको, उचित अवसर पाए पनि पर्याप्त कार्य गर्न सकेको या नसकेको भन्नेमा विश्लेषण गर्न सक्दैनौं। उसको असफलताको कारण खराब भाग्यलाई दिन्छौँ। त्यसैगरी मानौँ, एक अनुभवी व्यक्तिले नयाँ व्यवसाय सुरुवात गरे। ती व्यक्तिले अनपेक्षित रुपमा व्यवसायिक असफलता पाए भने? अब हामी भन्न सक्छौँ, कहाँ सधैँ भाग्यले साथ दिन्छ र! उसले व्यवसायलाई कति गम्भीरतापूर्वक लिएका थिए, गल्तीहरूबाट सिके कि सिकेनन्, नयाँ व्यवसाय स्थापित गर्न कुन रणनीति अनुसार काम अगाडि बढाए भन्ने कुराहरु केलाउन आवश्यक ठान्दैनौं। खराब भाग्यले गर्दा उसले व्यवसायमा घाटा व्यहोर्नु परेको र ऊ यसपटक अभागी रहेको अन्तिम निष्कर्ष निकाल्छौँ।

जीवन बदल्न, आफ्नो भाग्य खुलाउन अथवा भनौँ भाग्य नै पूर्ण रुपमा बदल्न हामीले भाग्यबारे राख्ने परम्परागत, साझा सोच मेटाएर नयाँ सोच विकास गर्न सक्नुपर्छ। अर्को शब्दमा भन्नुपर्दा, भाग्यको वास्तविक अर्थ खोजी गर्न र त्यसबारे नयाँ दृष्टिकोण राख्न सक्नुपर्छ। आखिर भाग्य भनेको के हो? कुन आधारमा भाग्यमानी मान्ने? कुन आधारमा अभागी मान्ने? यसबारे अमेरिकी लेखक ड्यारेन हार्डीले आफ्नो पुस्तक ‘दि कम्पाउन्ड इफेक्ट’ मा एउटा सूत्र मार्फत खुलाएका छन्, जुन यस प्रकार रहेको छ:

तयारी + मनोवृत्ति + अवसर + कार्य = भाग्य

यस सूत्रबाट तयारी, मनोवृत्ति, अवसर र कार्यको सन्तुलित संयोजन नै भाग्य हो भन्ने स्पष्ट बुझ्न सकिन्छ। यदि तयारी, मनोवृत्ति, अवसरहरू र कार्य शून्य छन् भने भाग्य पनि शून्य हुन्छ भन्ने सूत्रबाट अनुमान गर्न सकिन्छ। यति मात्र होइन, यस सूत्रबाट कसैले भाग्य लिएर नआउने, भाग्य आफैं निर्माण गर्नुपर्ने, सशक्त तयारी गर्न सके, जस्तोसुकै समय परिस्थितिमा पनि सही मनोवृत्ति राख्न सके, उपलब्ध अवसरहरू चिन्न र बुझ्न सके, सोही अवसरहरू आत्मसात गरेर कार्यमा अग्रसर हुन सके मात्र जो कोही भाग्यमानी ठहरिने, अन्यथा अभागी ठहरिने जस्ता निष्कर्षहरू प्रतिपादन गर्न सकिन्छ।

तयारी

पूर्ण तयारी बिना सफलताको परिकल्पना गर्न सकिँदैन। यो कुनैपनि क्षेत्र वा कार्यका लागि लागू हुन्छ। केही उदाहरणहरू लिऊँ:

उदाहरण एक, सन् २०२२ को विश्वकप फाइनल खेल हुनुभन्दा एकदिन अगाडि अर्जेन्टिनी खेलाडी लिओनल मेसीले सामाजिक सञ्जालमा ‘आई एम रेडी’ अर्थात् ‘म तयार छु’ भनेर एउटा पोस्ट राखेका थिए। यो पोस्टले मेसी विश्वकप जित्ने कुरामा आत्मविश्वासी छन् भन्ने सन्देश दिन्थ्यो। प्रतिस्पर्धी रहेको फ्रान्सेली टिममा पनि उत्तिकै क्षमतावान् खेलाडीहरु थिए। तर कुनै खेलाडीले पनि आत्मविश्वास व्यक्त गर्ने खालको पोस्ट सामाजिक सञ्जालमा राखेनन्। उनीहरु पूर्ण रुपमा तयार छैनन् कि भन्ने आभास हुन्थ्यो। जसकारण अर्जेन्टिना विश्व विजेता बन्न पुग्यो। अझ यसो भनौँ, मेसीले अर्जेन्टिनालाई विश्वकप विजेता बनाउन सफल भए।

उदाहरण दुई, एउटा सेना प्रमुखले युद्ध हुने सम्भावना भएको खण्डमा तयारी गरौँला भनेर बस्यो भने के होला? ती सेना प्रमुख लगायत उसको निर्देशनमा रहेका सैनिकहरुमा आत्मविश्वासको कमी हुन्छ र उनीहरु कुनै युद्ध जित्न सक्दैनन्। त्यसैले हरेक देशका सैनिक प्रमुखहरु तयारी अवस्थामा रहने गर्छन्। आफ्नो नेतृत्वमा रहेका सम्पूर्ण सैनिकहरूलाई आवश्यक तालिम प्रदान गरि अनिश्चितता र युद्धको समयमा लड्नका लागि योग्य बनाएर राख्छन्।

यी उदाहरणहरू मार्फत कुनैपनि काममा सफलता प्राप्त गर्नका लागि तयारी कत्तिको महत्वपूर्ण छ भन्ने बुझ्न सकिन्छ।

तयारी व्यक्तिगत विकास केन्द्रित हुनुपर्छ। यसको लागि आवश्यकता अनुसारको पुस्तक पढ्ने, तालिममा सहभागी हुने गर्नुपर्छ। त्यसैगरी आफ्नो गुरुको सल्लाह सुझावहरु शिरोधार गर्नुपर्ने हुन्छ।

मनोवृत्ति

मनोविज्ञान अनुसार कुनै पनि वस्तु, व्यक्ति, कुरा वा घटनाक्रमप्रति राखिने भावनाहरू, विश्वास प्रणाली र व्यवहारलाई मनोवृत्ति भनिन्छ । छोटकरीमा भन्नुपर्दा, कुनै पनि कुराबारे कसरी सोच्छौँ वा कसरी अनुभूत गर्छौँ भन्ने नै मनोवृत्ति हो । केही कुरा, समय र जीवन परिस्थितिहरु लिऊँ:

मानौँ, तपाईंले पत्र पत्रिकामा देश खाली हुँदै छ, देशको अर्थतन्त्र र राष्ट्रियता धरापमा छ भन्ने जस्ता नकारात्मक समाचारहरु निरन्तर पढ्नु भयो। शीर्ष नेताहरु सुन काण्ड, यौन काण्ड र भ्रष्टाचारमा संलग्न भएको विविध सामाग्रीहरु देख्न र पढ्न पाउनु भयो। त्यसैगरी मानौँ, तपाईं लामो समय बेरोजगार बस्नुपर्ने अवस्था आइपर्यो। बिना पैसा वा कम पैसामा काम गर्नुपर्ने भयो। त्यसैगरी मानौँ, तपाईंले नयाँ व्यवसाय सुरुवात गर्दा पटकपटक असफलता पाउनु भयो। यही कारण प्रेमी वा प्रेमिकाबाट तपाईं अलग हुनुपर्यो। नयाँ सम्बन्ध स्थापित गर्ने सिलसिलामा धेरै महिला वा पुरुषहरुबाट अस्वीकृति पाउनु भयो। त्यसैगरी मानौँ, तपाईं कसैबाट बिना गल्ती अपमानित हुनु भयो। अब यस्तो समय र परिस्थितिमा कस्तो अनुभूति गर्नुहुन्छ? आफ्ना भावनाहरु कसरी व्यक्त गर्नुहुन्छ? आफूलाई अरु सामु कसरी प्रस्तुत गर्नुहुन्छ र के-कस्ता व्यवहारहरु देखाउनु हुन्छ? तपाईंले व्यक्त गर्ने यीनै भावनाहरु, विचारहरु र व्यवहारहरु नै तपाईंको मनोवृत्ति हो। र, तपाईं हाम्रो मनोवृत्ति जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सकारात्मक हुनु आवश्यक छ। हामीले सकारात्मक मनोवृत्ति राख्न सक्यौँ भने अरुले नदेखेका कुराहरु देख्न, अरुले नबुझेका कुराहरु बुझ्न सक्छौँ। यसको सिधा प्रभाव भाग्य निर्माण कार्यमा प्रस्ट सँग देख्न सकिन्छ।

अवसर

अवसरहरु के कसरी प्राप्त हुन्छन् भन्ने विषयमा छोटो चर्चा गरौँ। सबैको लागि समान रुपमा अवसरहरू उपलब्ध हुन्छन्। ती अवसरहरू हामी देख्न, चिन्न, बुझ्न र सदुपयोग गर्न सक्छौँ या सक्दैनौं भन्ने मूल विषय हो। त्यसैगरी अवसर भन्ने कुरा पर्खेर पाइँदैन। स्वयं खोज्न या सिर्जना गर्न सक्नुपर्छ। त्यसैगरी अवसर भन्ने कुरा हाम्रो समय, योजना वा अनुकूलता अनुसार आउँदैन। ढिलो, चाँडो या अनपेक्षित समयमा पनि अवसर प्राप्त हुन सक्छ। त्यसैले प्रतिकूलतामा पनि अवसर देख्न सक्ने दृष्टि हुनुपर्छ। त्यसैगरी हामी तयारी अवस्थामा छौँ र मनोवृत्ति पनि सकारात्मक छ भने सबै मानिसहरु हामीलाई अवसर दिन राजी हुन्छन्। अन्यथा मानिसहरु हामीलाई अवसर दिन राजी हुँदैनन्। त्यसैगरी हामी तयारी अवस्थामा रहे पनि हाम्रो मनोवृत्ति ठीक छैन भने मानिसहरु हामीलाई अवसर दिन राजी हुँदैनन्। केही उदाहरणहरू मार्फत बुझ्ने कोसिस गरौँ:

मानौँ, तपाईं कुनै एक संस्थामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न सक्ने हैसियतमा हुनुहुन्छ। तपाईं सो चुनौतीपूर्ण जिम्मेवारी  लिनका लागि मनोवैज्ञानिक रुपमा तयार हुनुहुन्छ। तपाईं सँग पर्याप्त अनुभव नभएपनि मनोवृत्ति सकारात्मक छ भने? तपाईंले उक्त जिम्मेवारी पाउने सम्भावना उच्च रहन्छ।

त्यसैगरी मानौँ, तपाईंले शिक्षण पेशा सुरु गर्ने निर्णय लिनु भयो। तर तपाईं शिक्षक बन्नका लागि पूर्ण रुपमा तयार हुनुहुन्न र मनोवृत्ति पनि अति नकारात्मक छ भने? तपाईं अन्तर्वार्तामा सिधा अस्वीकृत हुनुहुन्छ। कुनैपनि स्तरका विद्यार्थीहरुलाई पढाउने, मार्गनिर्देशन गर्ने अवसर प्राप्त गर्नुहुन्न।

त्यसैगरी मानौँ, तपाईं एक उत्कृष्ट मार्केटर हुनुहुन्छ। कयौँ वर्षको अनुभव हुँदाहुँदै पनि तपाईंको मनोवृत्ति नकारात्मक छ, तपाईं घमण्डी स्वभावको हुनुहुन्छ भने? तपाईंको लागि प्रत्येक संस्थाको ढोका बन्द नै रहन्छ।

कार्य

तयारी पूरा गरियो। जुनकुनै अवस्थामा मनोवृत्ति सकारात्मक राखिएको छ। अवसरहरू उपलब्ध छन् तर कुनै कार्य गरिएन र लामो समय निष्क्रिय बसियो भने कुनै परिणाम प्राप्त गर्न सकिँदैन। जीवनमा कुनै किसिमको प्रगति हासिल गर्न सकिँदैन। एउटा अन्तरवार्ताको प्रसंग लिऊँ। त्यस अन्तरवार्तामा बलिउड अभिनेता शाहरुख खानलाई तपाईं अरु समकालीन अभिनेताहरु भन्दा आकर्षक नभएपनि कसरी उनीहरु भन्दा फरक, महान् कलाकार बन्न सफल हुनुभयो भनेर प्रश्न गरिन्छ। यस प्रश्नको उत्तर दिने क्रममा शाहरुख भन्छन्, ‘म अवसर पाउनका लागि कडा मिहिनेत गर्छु। अनि अवसर प्राप्त गरेपछि अरुले भन्दा झन् धेरै कडा मिहिनेत गर्छु।’ यो भनाइको अर्थ, शाहरुख धेरै कार्य गर्छन् र सोही कारण महान् कलाकार बन्न सफल भएका हुन् भन्ने नै हो। यो प्रसंगबाट सफलताको लागि कार्य कति महत्वपूर्ण छ भन्ने प्रस्ट हुन सकिन्छ। त्यसैले उचित अवसरको पहिचान भइसकेपछि केवल विचार मन्थन गरेर बस्ने होइन, तत्काल कार्यमा संलग्न हुनोस्। निरन्तर रुपमा कार्य निष्पादन गर्दै जाने क्रममा सकारात्मक एवं नकारात्मक परिणामहरु प्राप्त हुन सक्छन्। यस्तोमा सकारात्मक परिणामहरुमा ध्यान केन्द्रित गर्दै र नकारात्मक परिणामहरुबाट शिक्षा लिँदै अघि बढ्नुहोस्।

सूत्रको व्यवहारिक प्रयोग

भाग्य सम्बन्धित सूत्रको प्रभावकारी प्रयोग मार्फत कुनैपनि क्षेत्रमा स्थापित हुन सकिन्छ। भनाइको तात्पर्य, सो सूत्र प्रयोग गरेर व्यवसाय, मिडिया (सञ्चार), शिक्षा, स्वास्थ्य, समाज सेवा, हस्पिटालिटी (आतिथ्य), मनोरञ्जन, विज्ञान र प्रविधि लगायतका क्षेत्रहरुमा सफलता सुनिश्चित गराउन सकिन्छ। मुख्य कुरा, सूत्रको प्रयोग विधि के? यो बुझ्न केही क्षेत्रहरुमा भाग्य खुलाउने सूत्र के कसरी प्रयोगमा ल्याउन सकिन्छ, त्यसबारे संक्षेपमा वर्णन गरौँ।

व्यवसाय

व्यवसाय गर्ने सपना देख्न निकै सजिलो छ। तर सफल व्यवसायी बन्न भने निकै कठिन छ। जुनकुनै व्यवसायमा आफ्नो भाग्य जाँच्नु पहिले सचेत रहन जरुरी छ। मानौँ, तपाईं सँग नयाँ व्यवसाय गर्ने एउटा गज्जबको आइडिया फुर्यो। यस्तोमा बिना सोचविचार गरेर व्यवसाय सञ्चालन गर्नुभयो भने? तपाईंले पाउने भनेको निराशा नै हो। त्यसैले व्यवसाय सुरु गर्नु पूर्व तयारी गर्नोस्। व्यक्तिगत विकास कार्यमा सक्रिय रहनोस्। आफूलाई व्यवसाय सञ्चालन गर्न सक्ने हैसियतमा पुर्याउनका निम्ति व्यवसाय, बजारीकरण, संवाद कौशल, नेतृत्व कला, व्यक्तित्व विकास आदि सम्बन्धित पुस्तकहरु अध्ययन गर्नोस्। विभिन्न स्तरको देशी, विदेशी सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुनोस्। त्यसबाट प्राप्त ज्ञान र सीप व्यवसायमा लागू गर्नोस्। यस अतिरिक्त अनुभवी प्रशिक्षक, गुरु साथसाथै सफल व्यवसायीहरुको छत्रछायाँमा रहने गर्नोस्। व्यवसाय फैलाउँदै लैजाने क्रममा सधैँ सकारात्मक मानसिकता कायम राख्ने गर्नोस्। अवसरहरू खेर जान नदिनुहोस्। निरन्तर कार्य गर्नोस्। जे जस्ता परिणामहरु आए पनि, धेरै घाटा व्यहोर्नु परेपनि अविचलित रहनोस्। आफ्नो कार्य गर्न नछोड्नुहोस्। यसो गर्दा अन्ततः व्यवसायमा तपाईंको भाग्य चम्किलो रहन सक्छ। तपाईं एक आदर्श व्यवसायीको रुपमा चिनिन थाल्नुहुन्छ।

मनोरञ्जन

सुनिश्चित भविष्य निर्माणको लागि ठूला क्षेत्रहरु मध्ये मनोरञ्जन पनि एक हो। यसर्थ मानिसहरु यसप्रति आकर्षित हुने गर्छन्। मानौँ, तपाईंले मनोरञ्जन क्षेत्रमा आफ्नो भविष्य देख्नुभयो। यसको लागि तपाईंले अभिनेता बन्ने लक्ष्य तय गर्नुभयो। अब तपाईं आफूलाई अभिनयमा अब्बल बनाउने तयारीमा जुट्नुहोस्। अभिनय शिक्षा दिने वा अभिनय सिकाउने संस्थाको खोजी गर्नोस्। आफूलाई मनपर्ने अभिनेतालाई आदर्श गुरु मान्नुहोस्। म एक उत्कृष्ट अभिनेता बन्न सक्छु भन्ने विश्वास प्रणाली विकास गर्नोस्। अरुबाट तँ कलाकार बन्न सक्दैनस्, अभिनय गरेर खान पुग्दैन, पढ्न नसक्नेले मात्र हो अभिनय रोज्ने आदि जस्ता नकारात्मक टिकाटिप्पणीहरु आए पनि संयमित, सकारात्मक रहनोस्। अभिनय कला देखाउने उचित अवसर नपाए पनि मानसिकता दह्रो बनाउनुहोस्। जब अवसर प्राप्त हुन्छ, त्यसको भरपूर सदुपयोग गर्न कत्तिपनि ढिलाइ नगर्नोस्। अवसर जति नै सानो किन नहोस्, कुनै पनि नाटक या चलचित्रमा जतिसुकै सानो भूमिका किन नहोस्, त्यसलाई स्वीकार गर्नोस्। आफूले खेलेको नाटक र चलचित्रले व्यवसायिक सफलता पाउने वा नपाउने भन्ने विषयमा अनावश्यक चिन्ता नलिनुहोस्। अभिनय गर्दा आफ्नो तर्फबाट उत्कृष्टता दिनुहोस्। यही कार्यशैलीबाट तपाईं भाग्यमानी बन्दै जानुहुन्छ। भनाइको मतलब, तपाईंलाई अभिनय कला व्यक्त गर्नका लागि थप उत्कृष्ट भूमिकाहरु, अवसरहरू उपलब्ध हुँदै जान्छन्। अनि तपाईँलाई एक सम्मानित अभिनेता बन्न र मनोरञ्जन क्षेत्रमा विरासत छोड्नबाट कोही समकक्षी अभिनेताहरुले रोक्न सक्दैनन्।

विज्ञान र प्रविधि

अहिलेको अत्याधुनिक युग विज्ञान र प्रविधिकै देन हो। विज्ञानमा हुने प्रत्येक नयाँ सोध र आविस्कारले जो कोहीको ध्यान खिच्न सक्छ। मानौँ, तपाईं विज्ञान र प्रविधि क्षेत्रमा आफ्नो योगदान दिन चाहनुहुन्छ। यसको लागि तपाईंले भौतिक शास्त्र रोज्नु भयो र वैज्ञानिक बन्ने लक्ष्य पनि निर्धारण गर्नुभयो। यस्तोमा तपाईंले आफ्नो अध्ययन स्नातक या स्नातकोत्तर तहसम्म मात्र सीमित गराएर तपाईंको वैज्ञानिक बन्ने सपना पूरा हुन सक्दैन। पीएचडी अध्ययनको लागि आवश्यक तयारी गर्नुपर्छ। स्वदेशमा अध्ययन गर्न चाहनुहुन्छ भने सोही अनुरुप तयारी गर्नोस्। विदेशमा अध्ययन गर्न चाहनुहुन्छ भने सोही अनुरुप तयारी गर्नोस्। मानौँ, तपाईंले विदेशमा अध्ययन गर्ने निर्णय लिनुभयो। अब विदेशी विश्वविद्यालयहरु खोजी गर्नोस् र त्यहाँ भर्नाका लागि आवश्यक न्यूनतम मापदण्ड अध्ययन गर्नोस्। उनीहरुले भनेका  आवश्यक कागजातहरु तयार पार्नुका साथै मानकीकृत परीक्षणमा आकर्षक स्कोर ल्याउने कोसिस गर्नोस्। यसले तपाईंलाई पीएचडी अध्ययनका लागि योग्य सावित गराउन सक्छ। विभिन्न विश्वविद्यालयहरुमा भर्नाको लागि निवेदन गर्दैमा तपाईं स्वीकृत हुनुहुन्छ भन्ने छैन। लगालग अस्वीकृति प्राप्त हुनसक्छ। जसकारण अत्याधिक पीडा महसुस हुनु स्वाभाविक हो। यस क्षण आफ्नो मनोवृत्ति सकारात्मक राख्नोस् र निरन्तर निवेदन गरिरहनुहोस्। कुनै एक विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएपछि त्यस अवसरको शतप्रतिशत सदुपयोग गर्नोस्। आफ्नो अध्ययन र खोज अनुसन्धान गम्भीरतापूर्वक सञ्चालन गर्नोस्। खुला विचारधारा साथ सोध कार्यमा आवद्ध रहनोस्। अपेक्षित परिणाम प्राप्त हुन नसके पनि हार नमान्नुहोस्। आफूलाई परिस्कृत गर्दै, धैर्य रहँदै, उचित अवसरको खोजी गर्दै वैज्ञानिक खोज अनुसन्धान प्रक्रिया, कार्यमा डटिरहनुहोस्। यही कार्यविधि अवलम्बन गरेको आधारमा तपाईंको भाग्य झन् बलियो हुँदै जान्छ। विश्वस्तरीय अनुसन्धान केन्द्रमा गहन अनुसन्धान गर्ने अवसर जुर्न सक्छ। त्यसपछि तपाईं विज्ञान र प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्षम हुनुहुन्छ। स्पष्ट रुपमा भन्नुपर्दा, नयाँ सिद्धान्त प्रतिपादन गर्न वा नयाँ प्रविधि आविस्कार गर्नमा अग्रगामी भूमिका खेल्न सक्नुहुन्छ।   परिणामस्वरूप तपाईं एक प्रतिष्ठित, महान् र दुरदर्शी वैज्ञानिकहरूको वर्गमा सहजै अटाउन सक्नुहुन्छ।