“जब बुबाले सन्तानलाई केही दिन्छन् तब बुबा र सन्तान दुबै हाँस्छन् । तर जब सन्तानले बुबालाई केही दिन्छन् तब बुबा र सन्तान दुबै रुन्छन् ।” – विलियम शेक्सपियर
असत्य ब्राह्मणको एक सत्य जीवन शास्त्रको नाम हो, बुबा । जहाँ प्रेम, करुणा, माया, सन्तानको रुचि, रिस, दण्ड, अधिकार सबै विषयको पूर्ण पाठ छ, पूर्ण ज्ञान छ । यी सबै विषयको पूर्ण पाठ बुबा आफ्ना लागि हैन, आफ्नो सन्तानका लागि प्रयोग गर्नुहुन्छ । जब सन्तान मुस्कुराउँछ तब बुबा मुस्कुराउनु हुन्छ तर सन्तानको मुहारमा मुस्कान छैन भने बुबा फेरि घोत्लिनु हुन्छ, बुबा जीवन शास्त्रको पूर्ण पाठमा ।
सामान्यतया हाम्रो समाजमा बुबा भनेको वंश दिने भन्ने बुझिन्छ। बुबा वंश दिने मात्र न भएर संरक्षण प्रदान गर्ने, शैक्षिक विकासमा सहयोग गर्ने, प्रोत्साहन गर्ने, उपयुक्त हेरचाह गर्ने, सुन्दर भविष्यको मोडेल तयार गर्ने जस्ता हाम्रो जीवनको महत्त्वपूर्ण पक्षको सारथि हुनुहुन्छ।
मेरो परिवारको परिवार हो, बुबा । त्यो परिवारको घर हो बुबा, जग हो बुबा, जगको ढुङ्गा हो बुबा, थामिदिने थाम हो बुबा, आफैँ पानीमा रुझेर परिवारको छाता बनिदिने छाना हो बुबा । त्यसैले बुबा, सन्तानको आशा र भरोसा हो । सुन्दर भविष्यको सारथि हो । आजको भोटो, बाजा बज्ने जुत्तादेखि भोलिको पाइला पाइलाको मिल्ने साथी हो । आत्मैदेखि आत्ममोह भएर पनि व्यक्त गर्न न सकिने मोहको पात्र हो ।
बुबाको नजिककी पात्र हो आमा । आमा, टोलटोलका गीतमा भेटिन्छिन् । कविका कवितामा भेटिन्छिन् । हरेक दिन लेखिने निबन्धमा भेटिन्छिन् । कथामा भेटिन्छिन्, काहनीमा भेटिन्छिन् । तर बुबा यो शब्द, बुबाका आँखामा लुकेका आँसु जति पनि भेटिँदैनन् । हामी सधैँ घरमा आमाको कुरा गर्छौं । तर खेतमा एक्लै कोदाली चलाउने बुबाको कुरा कहिले गर्दैनौँ ।
आमा पकाएर दिनुहुन्छ तर बुबा पकाउने समानको जोहो गर्नुहुन्छ। आमाले भान्सामा बगाएको पसिनाको कथा “अहो गाह्रो” भन्दै सुनायौँ तर बाबाले खेतको आलिमा बगाएको पसिना आलीसँगै खेतमै सुक्यो । आमाले दाउरा फुक्दै खाना बनाएको देख्यौँ, आगोले पोलेको देख्यौँ तर बुबाले वनबाट दाउर ल्याएर चिरेको र दाउरा चिर्दा हातमा उठेको फोका आफैँ सुम्सुम्याएको देखेनौँ ।
आमाले सन्तानको लागि टाइ किन्न दिएको पैसा देख्यौँ तर त्यही पैसा आमालाई बुबाले दिएको देखेनौँ । त्यही आमालाई दिएको पैसाका लागि बुबाले साहुको काम गरेर बगाएको पसिना देखेनौँ । किनकि बुबाले त्यो पसिना बोकेर कहिले घर फर्किनु भएन, सन्तानका अघि पर्नु भएन ।
आमा र बुबा दुबैको समन्वयमा मात्र सन्तान असल सन्तान हुन्छ भनिन्छ । तर समाजको हिसाबकिताबमा आमा लेखिन्छ, देखिन्छ तर बुबा न लेखिन्छ न देखिन्छ । हुन त, महत्त्वपूर्ण र महान् विषयमा कम लेखिन्छन् । सायद बुबा त्यही कम लेखिने महान् विषय हुनुहुन्छ । आमाको पनि त अभिमान र स्वाभिमान हुनुहुन्छ बुबा ।
बुबा कर्म गर्नुहुन्छ, प्रतिस्पर्धा गर्नुहुन्नु । बुबा काम गर्नुहुन्छ, धेरै बोल्न हुन्न । सन्तानलाई पाइला देखाउनु हुन्छ, सपना देखाउनु हुन्न । हिँड्न सिकाउनु हुन्छ तर आफू अघिअघि हिँड्नु हुन्न । आफू अघि लाग्नै परे आफ्नो कान्छी औँला कहिल्यै छोड्न दिनुहुन्न । बुबाको त्यो कान्छी औँलामा केको शक्ति छ कुन्नि ! कोशौँको बाटो नजिक लाग्छ, एक्लोपन संसार लाग्छ, आफू एक हैन कयौँ भएको महसुस हुन्छ।
बुबा जित्नका लागि हौसला दिनु हुन्छ तर आफैँ भने जितको हिस्सा हुन चाहनु हुन्न। बुबा हार्दा हार्नु जित हो भन्नु हुन्छ तर जित नै हार्नु भनेर सिक्न बुबालाई नै पढ्नु पर्ने रहेछ ।
बुबा आफ्नो पीडा खै कसरी सहनु हुन्छ ! सधै सन्तानकै पीडाको कुरा गर्नु हुन्छ । लाग्छ, बुबा बुबा भएर हैन सन्तान भएर बुबाको रूपमा बाँच्नु हुन्छ ।बुबा सधैँ सन्तानसँग हार्नु हुन्छ तर हारको उपहारमा मुस्कान देखाउनु हुन्छ । कहिलेकाहीँले त लाग्छ, बुबाको आँखाको डिलमा बालुवाको थुप्रो छ, जहाँ पानीरूपी अश्रुका मोतीहरू सन्तानले देख्नै नपाई बिलाउछन् ।
सन्तानको आसाको घुम्टो ओढेर चहार्दा चहार्दै चम्किला आँखा गहिरो परे, फुक्क परेका गाला चाउरिए, बाक्लो कपाल नाम्लोले तल-माथि सरेर लुछ्यो तर मुहारमा सन्तोष छाएन । किनभने आज सन्तान, सन्तानले नै देखेको बाटोमा सफल भएको छैन । तैपनि बुबा मरिमेट्नु हुन्छ, भन्नुहुन्छ, “छोरा चिन्ता नली । छोरी चिन्ता नलेऊ । एक दिन अवश्य पूरा हुन्छ तिम्रो सपना ।”
तर सन्तान भएर म कहिले सोध्न सक्दिनँ, “हजुरको सपना के थियो बुबा ?”
अन्त्यमा, बुबाले हामीलाई गर्भास्थादेखि नै दिएको माया, प्रेम, संस्कार, शिक्षा, सही मार्गदर्शन, सुरक्षा, अप्रदर्शित माया, त्यो काँधको जिम्मेवारीको कदर गर्न सक्छौँ होला ?
मेरो यस संसारमा सबैभन्दा नजिकको साथी, विश्वास गर्ने व्यक्ति नै मेरो बुवा हुनुहुन्छ । उहाँको पेट भोको किन नहोस् तर उहाँले पहिला “बाबू खाना खाइस् ?” भनेर सोध्नु हुन्छ। आफू खेतमा दिनभर काम गरेर घर फर्किएको किन नहोस्, घर आउनेबित्तिकै सोध्नु हुन्छ, “आज तँलाई काठमाडौँदेखि आउँदा गाह्रो त भएन नि ?”
आफूले आफूलाई नै थाहा नदिई आफू बेचेर सन्तान हुर्काउनु भयो तर आफ्नो ईमान बेचेर क्षणिक खुसीको प्रयास कहिल्यै गर्नुभएन । मलाई आफ्नो प्राण रहुन्जेल आफ्नो प्राणदाताको गुणगान गाउन मन छ, लेख्न मन छ, कथा भन्न मन छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।