अहँ ! कहिल्यै दुखेको थाहै भएन । एेय्या भनेको पनि सुनेनौँ कहिल्यै । मानौँ, त्यो शरीर नै होइन ।

आधा दर्जन छोरी र एउटा छोरा । हामीपछिको पुस्ताले नपत्याउने कुरो ! कुखुराका अण्डासरि जन्मियौँ हामी । त्योबेला त आमाको साह्रोगाह्रो बारे थाहै थिए, अहिले आफू आमा बनिसकेपछि लाग्छ – आमा हुन कति गाह्रो !

दुईवटा बच्चामै शरीर लत्र्याकलुत्रुक हुने हाम्रो पुस्ताका मलगायत आमाहरूलाई देख्दा लाग्छ – अण्डासरि बच्चा पाउँदा पनि आमालाई कुनै पीडा नभएको हो या केही पनि नभएझैँ गर्नुभएको हो !

बेला बेलामा सम्झन्छु, सुत्केरी भएर सुत्केरी बस्न जाँदा आमाको मालिसले रातभरि निदाएको । त्यो ऊर्जा आमा भएरै आएको हो या बलियो भएर ? मैले बुझ्न नसकेको कुरो हो ।

जब साँझ पर्थ्य‍ो तब सुत्केरी जिउ त्यसै त्यसै दुखेर आउँथ्यो । झन् आमालाई देखेपछि त्यो दुखाइ दुईगुना हुन्थ्यो । अघिल्लो दिन मालिस गरेको समयमा भोलिपल्ट शरीरले बुझिहाल्थ्यो, र खोज्थ्यो उही आमाको मालिस । ‘हेर त, कति तेल खायो’ भन्दै आमाले मालिस गर्दाको क्षणको बयान सम्भव छैन । म आफू कान्छी छोरी भएर पनि हुनुपर्छ, आमाको हातको मालिस पाउनुलाई आफ्नो भाग्य ठान्दछु । कान्छी छोरी सुत्केरी हुँदासम्म आमाको स्याहार पुग्नु सानो खुसीको कुरा होइन ।

कहिलेकाहीँ सोच्ने गर्छु – आमाको पनि शरीर दुख्यो/दुख्छ होला तर उहाँले कहिल्यै ‘दुख्यो’ भन्नुभएन । न त आमाको शरीरले तातोचिसो भन्यो न त तेलको मालिस नै पायो ।

मनका कुरा गर्ने गर्छु छोरीहरूसँग । छोरीहरूले बेलाबेला भन्छन् – एकपटक मजाले मालिस गरिदिनु न मम्मी ! हजुरआमाको सधैँ यही कुरा दोहोर्याउनु हुन्छ ।’

आमाले आफ्नो खुट्टामा आफैँले मालिस गर्दा छोरीहरूले भनेको सम्झिन्थेँ अनि भन्थेँ, ‘आमा, आज म हजुरको खुट्टा मजाले मालिस गरिदिन्छु ।’

तर आमा मरीकाटे दिनुहुन्न थ्यो । बरू उल्टै ‘मालिस गरिदिन्छु, आ’ भन्दै मेरै खुट्टा तान्नु हुन्थ्यो । ‘उसलाई कति दुखेको होला !’ भन्दै हाँस्नु हुन्थ्यो । मलाई नै उल्टो तेल लगाइदिन खोज्नु हुन्थ्यो । म लाजले ‘छैन दुखेको’ भनेर हाँस्थेँ ।

एकदिन, अकस्मात् आमा लड्नुभयो । बुढेसकालमा खुट्टाको ठुलो अप्रेसन गर्नुपर्ने भयो । तेइस दिनको हस्पिटल बसाइमा नुहाउनुको नाममा शरीर पुछ्पाछबाहेक अर्को विकल्प थिएन । जाडोमा पनि चिसो पानीले छलछली नुहाउने बानी आमाको, ‘शरीर नुहाइदेऊ’ भनेर भनिरहनु हुन्थ्यो । माइजूले घाउमा असर नपर्ने गरी नुहाइदिँदा उहाँ आनन्द मान्नु हुन्थ्यो । तर नुहाएको दिन उहाँलाई झन् गाह्रो हुन्थ्यो । अनि चाहिँ जिद्दी नै गरे पनि पुछपाछले नै काम चलाउँथ्यौँ ।

पसिनाले निथ्रुक्क भिजेको थियो आमाको शरीर । कचौराभरि तेल लिएँ र आमाक‍ो शरीर तेलले मालिस गर्दै सफा कपडाले पुछ्दै गर्न थालेँ ।आमाले आनन्द मान्नु भयो । शरीरले तेल खायो, आमाले भनेझैँ । शरीर सफा भयो मन शान्त पनि । अनि सम्झेँ, मनमा खड्किएका कुरा भगवान्ले पुर्याइदिएका हुन् ।

अर्को दिन, त्यसैगरी प्लास्टिकको बाटामा तातोपानीमा नून राखेँ । र बिस्तारै आमाका खुट्टा धोइदिएँ । पसिनाले भिजेर होला, पत्रपत्र निस्किए । सफा रूमालले पुछेर हल्कासँग मालिस गरिदिएँ । आमा हल्का हुनुभयो, उहाँको मुस्कानबाट थाहा पाएँ । ‘काम त जानेकी छे, जिद्दी छे र पो’, आमा ओठमा मुस्कान दौडाउँदै बोल्नु भयो ।

‘आमा दुखेको होला है ?’ आमाको छटपट्टी देख्दा लाग्थ्यो ।

‘छैन छैन, सुत् । भोलि गाह्रो हुन्छ तिमीहरूलाई ।’, आमा भन्नु हुन्थ्यो ।

दुखाइ बाँड्न मिल्ने भए हामी यति धेरै सन्तानले बाँडेर आमालाई मजाले निदाउन दिने थियौँ होला । धेरै सन्तान हुनुको सुख सायद आमाले यतिखेर महसुस गर्दै हुनुहुन्छ । सन्तान हुर्काउन गरेका सङ्घर्षका दिनहरू यही दुखाइसँगै भुल्नु हुँदैछ । ती क्षणहरू उहाँको मानसपटलमा दौडिँदै होलान् । अभावका दिनहरू, दुःखका दिनहरू, कठिनभन्दा कठिन दिनहरू, टाढाको माइती जान नपाएका अप्ठ्यारा दिनहरू; यस्तै यस्तै कुराहरू मनमा खेल्दै होला उहाँको । आमाका लागि त यति धेरै सोच्ने फुर्सदको दिन पनि कहाँ रह्यो र !

कान्छी छोरी जति जान्ने भए पनि सबैँ सानै ठान्छौँ हामी आमाहरू । अझ आमा मेरा कुराहरू आलोकाँचो नै देख्नुहुन्छ । सधैँ मलाई बच्चै ठान्नु हुन्छ । मैले जति नै परिपक्वता जनाए पनि उहाँ मलाई सानै सम्झिनु हुन्छ । दिदीहरूले भनेको कुराहरूमा सहमत भइहाल्ने आमा, मेरो कुरा भने जति नै सही हुँदा पनि चुपचाप बसिदिनु हुन्छ । र, कहिलेकाहीँ त रिस पनि उठ्छ । दुःख त त्यसै पनि लाग्ने भइहाल्यो । लाग्छ – जति गर्दा पनि आमाले मेरो कुराचाहिँ किन कहिल्यै नसुनेको होला !

धेरैपछि सबै सँगै रहँदाका क्षणहरूले बुझायो – कान्छी छोरी हुनुको महत्त्व, दाइले दिएको माया, दिदीहरूले सानी ठानेर गर्ने व्यवहारमा लुकेको ममता । अनि यसमै मन रमायो । वाइफाइको पासवर्डमा मेरै जन्म मिति र नाममा देख्दा लाग्यो – अझै पनि यो परिवारमा म नै सानो रहेछु । भाग्यमानी रहेछु । पासवर्ड भन्ने कुरा सबैले सम्झिने गरी राखिन्छ वा भनौँ, सबैले सधैँ सम्झनका लागि राखिन्छ । मलाई सबैले सधैँ सानो देख्नु र मेरो कुरा नसुन्नुको अर्थ यति गहिरो पो रहेछ !

धेरैका मुखबाट प्राय: सुन्ने गरिन्छ –

– आमा भए यसो गर्थें र उसो गर्थेँ ।

– आमा कति खुसी हुनुहुँद‍ो आज हामीलाई देखेर ?

– त्योबेला यो थिएन त्यो थिएन । अहिले मसँग सबै छ तर आमा हुनुहुन्न । आमा हुनु भएको भए… !

– आमाले पकाएको त्यो कति मिठो यो कति मिठो !

– अहिले आमाको हातले पकाएक‍ो जस्तो मिठो जति गरे पनि हुँदै हुँद‌‌‌ैन। आमाले खै कसरी पकाउनु हुन्थ्यो त्यति मिठो ? आमाले झैँ पकाउँदा पनि आमाले पकाए जस्तै हुँदै नहुने । आमाले यसरी पस्किनु हुन्थ्यो कि थोर‌ै चिजले पनि सबैलाई पुग्थ्यो । भाँडा नरित्तेसम्म उहाँ थपिरहनु हुन्थ्यो ।

यी र यस्तै गुनासोहरू सुन्छौं धेरैको मुखबाट । कतिपयले चाहेर पनि गर्न नपाएका क्षण सम्झँदै भावुक भएका क्षणहरू पनि देख्छौँ । त्यसैले आमालाई समयमै आफूसँग जे छ त्यसमै माया मिसाएर दिन नभुलौँ । भोलि फेरि दिने दिन आउला नआउला !

आमाका सानातिना खुसी केमा अडेको छ ? बुझ्नतर्फ लागौँ । आमालाई ठुलै कुराले खुसी पार्छु भन्नेतिर भन्दा ससाना खुसी र आवश्यकता पूरा गरिदिनतिर लागौँ । मलाई थाहा छ, आमाका खुसी ससाना कुरामा अडेका हुन्छन् । आमालाई ठुलै कुराले खुसी राख्न सकिन्छ भन्ने भ्रमबाट बाहिर आऔँ । आमा त आफ्ना सन्तानले दिएका सानातिना खुसीमै औधी खुसी हुन्छिन् । सन्तोष लिन्छिन् ।

हरेक सन्तानको मायासँगै आमाको भरोसा पनि जोडिएको हुन्छ । सन्तानको आशामा कैयौँ सपनाहरू जोडिएका हुन्छन् आमाका । सकेसम्म मेरो कुरा सुनिदियोस् भन्ने चाहना हुनेगर्छ आमामा । जति नै अनपढ भए पनि आमाको हृदयभित्र सन्तानका लागि सधैँ उज्यालो सपना रहेको हुन्छ । त्यसैले त आमा यस्तो भावना जसको ठाउँ अर्को कुनै भावनाले लिन सक्दैन ।

आउनुस्, आमाको मन राख्नतिर लागौँ । आमाको मन राख्नु हरेक सन्तानको कर्तव्य हो । धर्म र संस्कार पनि त हो ।

आमा हाम्रो आड हो । सधैंभरिको भरोसा । शक्ति । हामी सबैको भक्ति । ज्यूँदो भगवान् । त्यसैले बाँचुञ्जेल खुसी र सुखी राखौं । आमाको सेवा जति ठूलो धर्म संसारमा अर्को छैन । त्यसैले बाँचुञ्जेल आमाको सेवा गरौं ।

आमा, पूर्ण स्वास्थ्यलाभको कामना तपाईँलाई । एकपटक पहिलेकै जसरी हाम्रो आँखाअघि टकटक हिँडेको हेर्न पाईय‍ोस् । हजुर हुँदासम्म हामीलाई संसारको जुनसुकै दुःखले पनि छुने छैन । आमा, यो संसारमा आमा हुने जति भाग्यमानि अरू देख्दिनँ म !