भैरहवा, बुद्ध चोकको केही तल, मूल सडकको बायाँतर्फ, एक भव्य भवन छ  । कम्युनिस्टहरूका शब्दहरूमा पुँजीपतिहरूका विलासिताको परिपूरक   ! मानौँ गाँठवाला भेट हुने एक मन्दिर   ! टिलिक्क बत्तीमा सजिने सयौँ ठूलासाना सामाग्रीको घर  । उही आफ्नो साम्राज्य विस्तारमा केन्द्रीकृत र धेरै हदसम्म सफल, गुरुङजीको भाटभटेनी   !

ली (LEE) नामक एक अनौठो कृषि कार्यक्रमले जुराएको संयोग, म जेठको गर्मीमा भैरहवा सयर गर्दै छु  । यो माटोमा यति धेरै पसिना बगाएँ, मानौँ एउटा ड्याममा खन्याएर हुत्त टर्वाइनको ढोका खोले एक मेगावाट बिजुली निस्किन्छ  ।

तर भन्नुपर्ने कुरो अर्कै छ   !

एक दुई दिनको अन्तरालमा म घडीको सुई चार आसपास हुँदा अफिसबाट फूत्त निस्किन्छु  । चितवनबाट दुःखसाथ ट्याक्सीमा चढाएर ल्याएको जि.टी.एस. ब्रान्डको मनाङ साइकल अनलक गर्छु  । चार वर्ष भयो, उस्तै छ  । सायद म चढ्दा खुसी पनि हुँदो हो  । निकै प्यारो छ  । हरियो र कालो रङ्ग पोतिएको  । कहिलेकाहीँ मानव आकृति देख्छु उसमा  । ममताले मुसार्छु  । यसो पानीका फोहोरा छर्किदिन्छु  । सुकेपछि एकदम हाँसेको देखिन्छ  । म पनि प्रफुल्लित मुद्रामा पेडल दबाउँछु  ।

आज पनि साइकल सयर गरेर भाटभटेनी पुगेँ  । बयालिस डिग्रीको घाम सहँदै त्यहाँ पुग्दा शीतलताले मन रोमाञ्चित हुन्छ, मानौँ कोही प्रेमिकाको पर्खाइमा छु  । ऊ दूरबाट समीप आउँदै छे, यस्तै केही  ।

रामपुरमा साइकल गुडाउँदा अर्कै माहौल हुन्थ्यो  । सबैजसो चिनजानेका  । नामले बोलाउँथे  । कसैले नाममा सम्बोधनार्थी शब्द जोड्थे  । म देब्रे हात उठाएर उनीहरूलाई जवाफ फर्काउँथे  । उन्मुक्त हाँसोको गुञ्जायस हुन्थ्यो  । उसो त, कोही राम्री युवती देख्दा बडो संयमित एवम् करुणा भावले साइकल चलाउँथेँ, मानौँ उसका आँखा मेरो साइकलका पाङ्ग्रामा गढेका छन्  । सायद सुन्दर युवतीका अगाडी संयमित हुनु, उसको सुन्दरताको कदर हो  । ताडका रूख आडमा, देब्रे हातले झ्याप्प ब्रेक लगाएर, ट्याक्क साइकल अड्याउन खुब मजा लाग्थ्यो  । कुनै दक्षिण भारतीय फिल्मी हिरो झैँ  । म पुलकित हुन्थेँ  । ताडका रूख आसपास, केन्द्रीय पुस्तकालय सम्मुख, कङ्क्रिटका कुर्सीमा बसेका युवतीहरू तर्फ ध्यान आकृष्ट हुन्थ्यो  ।

कवि मन र हाइकुको सोख, फूलहरू त देखेको थिएँ  । तर खुल्ला चौरमा त्यसरी विस्तारित रङ्गमा युवतीहरू पहिलो पटक देखेको थिएँ  । एकदम फूलहरूझैँ लाग्दथे ती  । म सुलुत्त परेर साइकलबाट ओर्लन्थेँ र सिधा पुस्तकालयको कुनै कुनामा हराउँथे  । केही विशेष खोजमा हुन्थेँ, सायद  । धुलोले पुरिएका पुराना पुस्तकहरूबिच मेरा केही औँठाका छापहरू भेटिएलान्  ।

अझै म खास विषयमा प्रवेश गर्न सकिरहेको छैन  । धेरै समयपश्चात् शब्द जोड्नुको पिडा हो जस्तो लाग्छ, सबै मनोभाव एकै वाक्य वा एक परिच्छेदमा उतार्ने दुस्साहस गर्नु  ।

म यसै शीतलतामा सुस्ताइरहेको थिएँ  । दिउँसो साढे चार सम्म पनि प्रचण्ड गर्मी व्याप्त थियो  । केही किनमेल पश्चात्, गोजीमा बाँकी हरियो नोट तेर्स्याउँदै, मैले भाटभटेनी बाहिर, आइसक्रिम स्टलमा बसेकी, एक युवतीलाई भनेको थिएँ, “वन बटर स्कच प्लिज  ।” उनले फिर्ता गरेको चिट लिएर एक एन.डिज.को आइसक्रिम पाएको थिएँ  । क्या अनुभूति थियो   ! मन्द बतासमा सेलाउँदै गएको आकाश र चिसो बटर स्कच  । केही समयपश्चात् अनायासै शरीर केही फुर्तिलो भयो  । झोलाबाट अस्तित्ववादी दर्शनमा आधारित एक पुस्तक झिकेँ  । बुक मार्क गरेको पृष्ठ खोलेर, मेरा प्रिय फ्रेन्च लेखक एल्बर्ट कामुलाई अध्ययन गर्न थालेँ  ।

व्यस्त भाटभटेनीमा सबैजसो वर्गका मानिसको ओहोरदोहोर देखिन्थ्यो  । धेरै मानिसहरूको आवागमन भयो  । धेरै उसै गरी बाहिरिए  । मलाई भने कामुले एकै ठाउँमा अड्याइरहे  ।

मेरो ध्यान भङ्ग त्यस बेला भयो, जब तीन नवयुवक म बसेको कुर्सी सामुन्ने गफिन थाले  । अस्तित्ववादको नसाले छोएको बखत अक्सर साना लाग्ने विषयमा पनि महानताको आभास हुन्छ  । म अनौठो मानी उनीहरूका कुरा सुन्दै थिएँ  । उनीहरू घर, सम्बन्ध, नाता, पैसा आदिबारे गफिन्थे  । म मनोवैज्ञानिक अस्तित्ववादी चेतले उनीहरूको अवस्थाको आन्तरिक विश्लेषण गर्थेँ  । गोजी खाली भएकाले म कोठासम्म पुगी, कार्ड टिपेर, ए.टी.एम. तर्फ लाग्ने सोच्दै थिएँ  । त्यहाँको शीतलतालाई लत्त्याएर, घामलाई मुख देखाउने इच्छा पनि थिएन  । केही बेर अझै त्यहाँ बस्ने मन भयो  । बसेँ  । मानिसहरू उसै गरी ओहोरदोहोर गर्दै थिए  ।

यत्तिकैमा एक बालक मेरो कुर्सीका सामुन्ने बस्यो  । मैलै उसलाई पनि गहिरो गरी नियाँले  । फिक्का हाँसो हाँस्ने उसको सुक्का मुहारमा अभावका धर्साहरू पोतिएको प्रतीत हुन्थ्यो  । सायद केही माग्न चाहन्थ्यो ऊ  । सम्भवतः पैसा वा खाना  । वरिपरि नजर डुलाइरह्यो  । संसारमा चाहना विपरीत फालिएको वस्तु झैँ, लाग्थ्यो ऊ हाइडिगरको “डेसिन” अवस्थाको पर्याय हो  । एकदम एक्लो देखिन्थ्यो, मानौँ उसलाई कसैले छोएको छैन, हेरेको छैन  । सायद हेरेर पनि देखेको छैन  । उसको मुहारमा मैले हार देखेँ, विवशता देखेँ, अन्योलता देखेँ, वियोग देखेँ  । तर यस्तो लाग्थ्यो, उसले संसार बुझेको छ  । मानिसको खोक्रोपन देखेको छ  ।  बाहिरी आवरण च्यातेर भित्री तहसम्म हेर्न सक्छ  ।

बेलाबखत मतर्फ फर्कँदा यस्तो लाग्थ्यो, ऊ गिज्याइरहेछ मेरो नयाँ पहिरनलाई  । उसको उपस्थिति नै एक भयङ्कर प्रश्न थियो, समाज शास्त्रीय चेतबाट  । सोचेँ, एक छिपछिपे चिन्तक त म पनि हुँ  । मलाई हीनताबोध भयो  । साहस जुटाएर मागिहाल्यो भने, मैले उसलाई के दिऊँ  । गोजीमा बाँकी नोट हेरेँ  । दश-बिसका दुई नोट रहेछन्  । म अलिक आश्वस्त भए  । तर मागेन भने, म के यत्तिकै निस्कूँ ? अप्ठ्यारो मनोभावमा जकडिएको अनुभूत भयो  । अवाक् शान्त बालकलाई हातमा दश-बिसका नोट थमाएर हिँड्नु कति शोभनीय होला ? मनमा तर्कहरूको द्वन्द्व चल्यो  । महान् विचारक मार्क्स देखि पुराना सुकरात एवम् रसेलका वाणीहरू मस्तिष्कमा दगुरे  । केही दर्शनको सहाराले मन शान्त गर्ने प्रयत्न थियो  ।

यत्तिकैमा मेरो कुर्सी छेउका युवकहरू चकलेट एवम् भेनिला आइसक्रिममा रमाइरहेको देखेँ  । सानो बालकले उनीहरूले खाएको छड्के परेर हेर्थ्यो  । उसको हेराइलाई सहज मानेर खाने अवस्था थिएन  । यद्यपि उसले हेरि मात्र रह्यो  । बोली फुटाएन  । मलाई असहज लाग्यो  । ग्लानि भावले गाँजेझैँ, म रन्थनिएँ  । मन थियो गोजीबाट केही रुपैयाँ निकालेर उसलाई पनि एक आइसक्रिम दिलाऊँ  । मनमनै एउटा आदर्शको धरहरा खडा भयो  । एक क्षणमा जब रित्तो गोजी मेरो कल्पनामा आयो, तब तारबारले सुसज्जित, मेरो काल्पनिक धरहरा गर्ल्यामगुर्लुम ढल्यो  । यस्तो लाग्यो, म पनि अहिले ऊ जत्तिकै रित्तो छु  । मन शून्य भयो  ।

तीन युवाहरूमध्ये एक अलिक उन्मत्त एवम् रवाफिलो देखिन्थ्यो  । “कागज खाने हो ?”, हातको टिस्यु बालकतर्फ सोझायो  । मलाई असह्य पीडा बोध भयो  । मस्तिष्कको कुनै कुनामा आगो सल्केझैँ, मैले निभाउने प्रयास गरिन  । उन्मत्त केटालाई मनमनै गाली गरेँ  । एकदम अशोभनीय लाग्यो  । बालक उनीहरूले खाएको हेर्दै बस्यो  । म ई-सेवा मार्फत एक आइसक्रिम बालकलाई दिलाउने सोच्दै थिएँ  । तर तीन युवाका अगाडी त्यसो गर्न असहज भइरहेको थियो  ।

अनौठो त्यति बेला लाग्यो, जब सोही युवाहरूमध्ये, छेउपट्टिको झट्ट उठ्यो, बालकलाई हेर्‍यो र भन्यो, “ल हिँड   !” बालक छोटा छोटा पाइला सार्दै केटालाई पछ्याइरह्यो  । बाँकी दुवै केटाहरू मुखामुख गरे तर केही बोलेनन्  । त्यहाँ केही अकल्पनीय कार्य भएझैँ उनीहरू असहज मुद्रामा बसे  । एकै छिनमा तेस्रो केटो बालकलाई अघि लगाउँदै फर्कियो  । अभिभावकत्व ग्रहण गरेझैँ, उसको मुहार चम्किलो थियो  । मैले उसको मुहार सम्झने प्रयास गरेँ  । मनमनै धन्यवाद दिएँ  । केटोले निस्फिक्री हाँसो हाँस्यो र पुनः वार्तालापतर्फ लाग्यो  । मैले उसमा जेन आत्मा भेटेँ  । ऊ साधारण थियो  । उसका कार्यहरू निर्बाध थिए  । सायद उक्त घटनाका साक्षीहरूलाई केही असल ज्ञान प्राप्त भयो  । लाग्यो, एउटा काव्य विमोचन भयो । जसको कवि सोही युवक थियो  ।

बालकले निकै अनुग्राही मुद्रामा भेनिला आइसक्रिम खान थाल्यो  । निकै रोचक दृश्य थियो, मेरा लागि  । फोन छड्के बनाएर बालकको फोटो कैद गरेँ  । सहयोगी युवाको भने खिच्ने अवसर मिलेन  । हतार भएकाले, अन्तिमपल्ट बालक र उक्त युवाको मुहार हेरी साइकल स्टलतिर लागेँ  ।