लक्ष्मी गौली:
“लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ”
म एउटा मार्क्सवादी विद्यार्थी । लकडाउनले मलाई श्रम र उत्पादनसँग जोडेपछि धेरै नयाँ कुराहरूको अनुभूति गर्न पाएँ । हरेक कुरालाई भिन्न दृष्टिकोणले हेर्दै आलोचनात्मक अध्ययन रुचाउने भएकोले यो देशको सुन्दरतामाथि पनि आलोचनात्मक भएर सोच्ने एउटा सन्दर्भ यही लकडाउनले जुरायो ।
घर छोडेर बिर्तामोड बस्न थालेको पनि पाँच वर्ष भैसकेछ । दशैँ-तिहारमा पन्ध्र-पन्ध्र दिन त गाउँतिर आएर पनि बसेकै हो, तर यतिका लामो समय गाउँमा बसेको चाहिँ पाँच वर्षमा पहिलोपटक नै होला । सयौँ वर्षमा एकपटक आउने महामारीले मलाई पनि पाँचौं वर्षमा एकपटक सयौँ दिनसम्म गाउँमा बसाइदियो । समग्र देश लकडाउन भएर आफू गाउँमा बस्दैगर्दा मेरो मनमा एउटा कुरा खेल्यो, एकपटक एक जना अर्थमन्त्रीले सदनमा बजेट भाषणको बेला भनेका थिए, “देशलाई सहरी मोडलको विकासमा अगाडि लाने ।”
जब महामारी आएर संसार घरभित्रै थुनिन र भोकभोकै बस्न बाध्य भयो, त्यतिबेला पनि गाउँमा लकडाउनले त्यत्रो ठूलो असर भने गरेन । मेलापात, घाँस-दाउरा, जमघट, भेटघाट सबै चलिरह्यो | अलिकति पनि कमी आएन । टाढा गएर काम गर्ने मजदुरहरूलाई केही गाह्रो भए पनि आपसी सर-सहयोगले उनीहरूलाई पुग्दो सहयोग भयो । मलाई पनि के लाग्यो भने, यो देशमा सहरी मोडलको हैन गाउँले मोडलको दिगो विकास चाहिएको छ । गाउँमा भातृत्व छ, एकअर्कामा स्नेह छ र सुरक्षित छ र नजिकैको जंगलको चिसो वातावरण पनि ।
गाउँमा हुँदा सबैभन्दा नजिक श्रम र उत्पादनसँग भइँदोरहेछ । ठ्याक्कै मकै गोड्ने बेलामा लकडाउन भएछ । गाउँ पुग्नासाथ हतियार बोकेर युद्धमैदानमा उत्रनै पर्यो । कृषिसँग नजिक भैइयो । गाउँमा दलाल पूँजीको उत्पादन सहरभन्दा धेरै कम हुन्छ । त्यहाँ पार्क देखाएर पैसा असुल्ने काम हुँदैन, पाठोलाई बोको बनाएर बेच्ने काम हुन्छ । त्यहाँ पारिको सामान १० मा ल्याएर २० मा बेच्ने काम हुँदैन, त्यहाँ त दाना रोपेर घोगा उत्पादन गरिन्छ । यो नै सही मानेमा उत्पादन हो जस्तो लाग्छ ।

लक्ष्मी गौली
म आफैँमा एक मार्क्सवादी भएको कारणले श्रम र उत्पादनसँग यसरी जोडिन पाउँदा हर्षित छु । लकडाउनभरिमा दुइ-चार केजी बोसो त पसिनै भएर निस्किएछ ।
सानैदेखि घरमा खासै काम गरिनँ । बुबाआमाले ‘खुरुखुरु पढ, यो काम गर्ने काम नै हैन’ भनेर हुर्किएँ । आफूले पनि धेरै दु:ख गरेको कारणले सायद यही क्षेत्रमा छोराले काम नगरोस् भन्ने ध्येयले बुबाआमाले सधैँ यो क्षेत्रबाट टाढै राख्नुभयो । जब मौकाले कृषिसँग नजिक बनायो, किसानको वास्तविक समस्या आफैँले भोग्ने मौका मिल्यो । थोरै उत्पादनका लागि अत्याधिक धेरै श्रम र अहोरात्र खट्नुपर्ने अवस्था, रासायनिक मल कतै पनि नपाउँदा उत्पादन सबै माटोमै मिल्छ कि भन्ने चिन्ता अनि फौजी किरासँगको घमासान लडाइँ । यी सब समस्याहरूका बाबजुद बिरुवामा घोगा लाग्दा आफ्नै बच्चा हुर्किएजत्तिकै खुसी लाग्ने रहेछ । सायद यही भएर पनि होला, जति दु:ख गर्नु परे पनि गाउँमा मानिसहरू खुसी नै हुन्छन । खुसी भए पनि सन्तुष्टचाहिँ सायद हुँदैनन् ।
आफैँ त्यस क्षेत्रमा पसेर हिसाबकिताब गर्दा श्रमको तुलनामा उत्पादन निकै कम हुँदोरहेछ भन्ने लाग्यो । मकै-धान सारै अनुत्पादक लागेपछि सुपारीको बीउ लिन रोङ २, इलाम पुगियो । मेनरोडमा साधन राखेर निकै तलसम्म हिँड्नुपर्ने रहेछ । निकै शितल ठाउँ, हावा पनि चिसो चलिरहने । एक्लै थिएँ, अनायसै मुखबाट फुत्किहालेछ- फकिङ ब्युटिफुल यार !
ओरालो बाटो निकै मज्जा आयो हिँड्न । बाटोमा मोबाइलमा त्यहाँको सुन्दरता क्याप्चर गर्न खोजेँ, कुनै फोटा चित्त बुझेनन् । हुन पनि चिसो हावाले शरीरमा उमारेका काँडा फोटोहरूमा कैद हुने कुरै भएन, न त्यहाँको तापक्रम नै । केही समय ओरालो हिँडेपछि बीउ बेच्ने घरमा पुगियो । ड्याम्म आँगनभरि राता-राता सुपारीका दाना लडेका थिए । ठूला ठूला दाना, त्यहाँको माटो नै सुपारी उमार्न लालायित रहन्छन् जस्ता । छेउमा एक जना बूढा हजुरबा बूढो तराजु बोकेर ‘चार चार …, पाँच पाँच ….’ भन्दै तौलिएको सुपारीको गन्ती नभुल्ने प्रयास गर्दै थिए । आफ्नो पालो पर्खिनै पर्यो । पालो पर्खिएर मोलतोल गरेर ४० केजी सुपारी लिएर म त्यही बाटो फर्किएँ । लकडाउनले भारी त मनका मन बोकाएकै हो, तर ठाडो उकालोमा त्यत्रो भारीले त ‘ऐं ऐँ’ पारिहाल्यो । अघि खुसीले गदगद हुँदै, ‘फकिङ ब्युटिफुल यार’, अब ब्युटिफुल लागेन । तर केही गम्भीर कुराहरू मेरो मनमा उब्जिरह्यो;
१) हामीले पहाडी क्षेत्र सुन्दर, चीसो, हरियो भनेर गीत गाइरहदा कतै त्यस क्षेत्रको संघर्षलाई पनि त्यही गीतमै उडाइरहेका पो छौ कि ?
२) टाढाबाट हेर्दा हिमाल निकै सुन्दर लाग्छन्, यस बारेमा धेरै कविता, गीत लेखिएका छन् तर जुन दु:ख त्यस क्षेत्रका बासिन्दाले भोग्छन्, त्यसको साहित्यचाहिँ यथार्थवादी साहित्य हैन र ? के त्यस्तो कतै लेखियो ?
३) डाँडाकाँडा, पहाडपर्वत हामीलाई निकै सुन्दर लाग्ला तर यो सुन्दरताको भजन गाउँदा त्यही पाखाका गगनचुम्बी रूखमा चढेर घाँस काट्ने दिदीबहिनीको संघर्षलाई नजरअन्दाज त गर्दै छैनौँ ?
४) हाम्रो बालापन त ‘यो देश यति सुन्दर उति विशाल’ भनेरै गयो, तर मधेसमा आफ्नो खेतभन्दा बाहिर कहिले पनि जान नपाएको किसानलाई पनि यो देश उति नै सुन्दर त्यति नै विशाल लाग्दो हो ?
५) यो देश क्यामेरा बोकेर फोटो खिच्न हिंडेकाहरूको लागि मात्रै सुन्दर हो कि भारी बोकेर जिन्दगी चलाउन हिंडेकाहरूको लागि पनि सुन्दर हो ?
६) यो देश कसरी सबैका लागि सुन्दर हुन्छ होला ? ठाउँठाउँमा भ्युटावर, पार्क बनाएर कि हरेक क्षेत्रमा मोटरबाटो पुर्याएर ? बाग्लुङकी एउटा विद्यार्थीले पार्क बनाउँदा यो देश सुन्दर देख्लिन् कि तुइनको ठाउँमा पुल आइदिँदा सुन्दर देख्लिन् ?
अन्तिममा एउटा गीतको दुई लाइन लेखिहालौँ, “बसाइँ हिड्नेको ताँतीले, बस्नेको मन रुवाउँदछ, लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ |”
दुर्गा जोशी:
“मुस्कुराउदै ऐना हेर्नूस्, संसारकै सुन्दर अनुहार भेटिन्छ”

दुर्गा जोशी
साँझ पर्न थालेपछि, “ओहो ! आजको दिन यसै खेर गयो”, भन्ने लाग्न थालेको पनि तीन महिना भन्दा बढी भैसकेछ । हुन त लकडाउन अवधिमा मैले मेरो काम, अध्ययन र जिम्मेवारीलाई घट्न दिएकी छैन । सुरुवाती दिनमा जस्तो अचेल कोराेनाको त्रास मात्र छैन, एकातिर भोक, तनाव, अभाव र अर्कोतिर हत्या, आत्महत्या, बलात्कारका डरलाग्दा रूपले खुब त्रसित बनाउँछ । अनि जिन्दगीको झन् झन् माया लाग्छ ।
सोच्ने गर्छु, मान्छे अरूलाई जलाउनका लागि आफू सलाईको काँटी बनेर सिद्धिन किन तयार हुन्छ होला ? के आवेशमा आएको बेला बा-आमाको माया लाग्दैन होला ? पत्थरको रूपमा त भगवान छन् नि ! मान्छेका मन कसरी पत्थर भएका होलान् ? अचेल मनका यस्तै प्रश्नहरू सुन्ने समयको अभाव छैन मलाई । मनलाई समय दिएकी छु, मन खुसी छ ।
उसो त चामलका दाना र झुलका प्वालहरू गन्नु नपरेकोमा म पनि खुसी छु । गाउँको माटोसँग जिस्किन नपाएको पीडा मुटुमै छ । साथीहरूले काचो आँप, हरिया काँक्रा, ऐँसेलु ,काफल खाँदै गरेका तस्बिरले मन झन् लोभ्याउँछ । साहित्य मन पराउने मान्छे, साहित्यिक कार्यक्रमका लाइभ छुट्टाउनु परेको छैन । पुस्तक पढ्दा शब्द भित्रै हराएर, मुभी हेर्दा पात्रसँगै दाँजिएर जीवन र वास्तविकता बुझ्ने अवसर पाएकी छु ।
यो लकडाउनको अर्को उपलब्धि भनेको मेरा पुराना साथीहरूसँगको भेट पनि हो । अचेल मेसेन्जरभरि गाउँ छदाँका, बजारका डुल्दाका ,स्कुल पढ्दाका, कलेजमा रमाउँदाका, जागिर खाँदाका साथीहरूसँग फरक फरक ग्रुपमा मीठामीठा कुरा साट्न सिकिएको छ । बेला-बेला कोठाका चार भित्ता देखेर आँखा र मन अघाउँछ, भोको रहनेभनेको त पेट मात्र हो ।
दिन बिराएर अफिस जान थालिसकेकी छु । अचेल पहिले जसरी शनिबार पर्खिनु त पर्दैन, तर रमाउनलाई संसार उज्यालो हुनुपर्दो रहेछ । शनिबारमा रमाइलो होइन, बिदा मात्र हुन्छ भन्ने बुझ्न थालेकी छु ।
खुसी हुनलाई संसारै जित्नु पर्दैन, लुडो खेल्दा जितेर होस् या इन्टरनेट राम्रो चलेर होस्, बिहान अबेरसम्म निदाउन पाएर होस् या मेसेन्जरमा कसैको मेसेज देखेर होस्, खुसी हुन अलिकति पनि बिर्सिएकी छैन । भोलि सुन्दर छ भन्ने विश्वास मनभरि जोडेकी छु । सन्तुष्ट बन्न सके रहर खोज्दै भौतारिनु पर्दैन ।
कामहरू अपुरा रहेका होलान्, जिन्दगी पूरा बाँकी छ । कोही पनि मनमा पीडा नलुकाउनूस् बरु आँसुलाई बग्न दिनूस् | तर आँसुमा आफूलाई नबगाउनूस् । मुस्कुराउदै ऐना हेर्नूस्, संसारकै सुन्दर अनुहार भेटिन्छ । आउनूस्, सबै मिलेर एकपटक विश्वशान्तिको कामना गरौं ।
मनोज मुस्किल:
“कविता मबाट र म कविताबाट कहिल्यै पृथक् रहन सक्दैन ।”

मनोज मुस्किल
लकडाउन अनुभूतिमा माटोको कविता
यो प्रकृति, यो समय, यो ब्रह्माण्ड सयोँगहरूको संयोगपुन्ज हो । वास्तवमा संयोगहरू सुन्दर हुन्छन् । यादगार हुन्छ्न् । अभूतपूर्व हुन्छन् । भूतपूर्व प्रेमिकालाई वर्षौँपछि पहिलोपटक भेट भएको ठाउँमा संयोगवश भेट हुनुजस्तै सुन्दर हुन्छ्न् । पहिलोपल्ट मुस्कुराएको बच्चाको मुस्कानजस्तो सुन्दर हुन्छन् । कुनै कविले आफ्नो आमाको बर्णनमा दिएको उपमा जस्तो सुन्दर हुन्छ्न् । यस्तै संयोगले लक डाउन हुनुभन्दा केही दिनअघि घर आइपुगेको थिएँ ।
आरम्भ: एउटा मुस्कान आँखादेखि ओठसम्म माताजी गोबरले भान्सा-आँगन लिप्नुहुँदै थियो। घर-आँगन माताजीको अनुहारको उज्यालोले उज्यालो भयो । एसएलसी दिएपश्चात् दशैँ-तिहारबाहेक घरको बसाई कमै हुन्थ्यो । त्यसमा पनि घरै कहिले नबस्ने म । कता कता डुलिहिँड्नु पर्ने ।
एकपटक माताजीले “तँलाई त घरै आउन मन लाग्दैन छोरो, हामीलाई माया गर्दैनस् तैलें” सम्म भन्नू भएको थियो । एकान्तमा खुब रोएको थिएँ । दिदीहरूले “मेरो भाइ त सारै निस्ठुरी छ” भनेको हो कि हो कि जस्तो भएको थियो ।
ब्याचलर सकेर केही समय घर बस्छु सोचेको थिएँ । एक-दुई दिनमै काठमाडौं जानुपर्यो । माताजीको आँखाले चुप लागेर केही त पक्कै भनिरहेका थिए । योपटक मलाई घर बस्न मन थियो, मैले भनिन् ।
“योपटक चाहिँ अलि दिन बसेर जानू है ! समय पनि ठीक छैन,” माताजीले भन्नुभयो । संयोगवश लक डाउन भयो । फेरि लाग्यो संयोगहरू सुन्दर हुन्छन् । तर लक डाउनको समय बित्न सकस हुँदै गयो । एक-दुई दिन त बस्छु भनेर राखेका केही कविता, कथा र उपन्यासका पुस्तक हतारमा नलिई आएकोमा पश्चताप पनि भैइरह्यो । पछि वेबसिरिज र मूभी हेरेर दिन बित्न थाल्यो । केही राम्रा र साथीहरूले सजेस्ट गर्नुभएका हेरिभ्याए । सबैभन्दा कम हेरेको ‘हरर्र’ जनराको सेरिज/ मूभी राती १/२ बजेसम्म तर्सिनेगरी हेर्नभ्याए । मन हर हर भएर आयो । लक डाउन हरर्रमय भयो ।
मध्य-अन्त: असारे कविता
कविता नेलेखेको पनि वर्ष दिन बढी भएको रहेछ । यसमा मेरो आफ्नै निजि कारणहरू छन्, पछि कतै लेखौँला । तर कविता मबाट र म कविताबाट कहिल्यै पृथक् रहन सक्दैन ।
यसपटकको मेरो कविता अनुभव अलि फरक रह्यो । मनभरि गाउँको कविता बसेको थियो । छातीभरि माटोको कविताले उभार हाल्यो । हृदय झरीको कविताले कुत्कुत्यायो । आमाको ममताजस्तो अर्ग्यानिक केही तत्त्वबोधले मेरो कविताको मुटु सुम्सुम्यायो । साँच्चै भन्नुपर्दा यस बीचमा मेरो जर्जर कवि हृदय केही सलबलाएको महसुस गरेँ ।
वर्षौँपछि माटोको सुगन्धले नाकबाट सेन्स अफ स्मेल लिएर मस्तिष्कसम्म जाने स्नायुको जाम कतै खुले जस्तो भयो। गाउँको अर्ग्यानिक लिची, आँप, किम्बु, जामुनले जिब्रोको स्वाद फेर्यो । आँखाले गाउँको सुन्दर कविताहरू देख्यो । हृदय वर्षौपछि गाउँ हुँदाको उस्तै/फरक अनुभूतिले पुलकित भयो।
सबैभन्दा संयोग र मेरो लागि हर्षको कुरा यसपटक म माटोसँग जोडिन पाएँ। खेतीमा माताजी-पिताजीको मीठो-तीतो अनुभूतिबाट छामिन पाएँ। झरीले टिनको छानामा लेखेको गीतको अन्तरामा गुनगुनाउन पाएँ । कोदालोले आली तास्दा पानीमा बजेको छप्लक्क आवाज हिँड्दा कोही चिनेको आवाजले आवाज दिए जस्तो मीठो थियो । बिउ काड्दा बिउले माटो छोड्नु पर्दाको चरक्क आवाज, पहिलोपटक प्रेम पत्र च्यातिदाको जस्तो पीडामय थियो । खेतमा पजाइसकेपछि उही बीउ वर्षौँपछि ‘मूभ अन’ भए जसरी हाँसिरहेजस्तो देखिन्थ्यो । मलाई यो सब एउटा सुन्दर कविताभन्दा कम लागेन ।
काम गरिसकेपछिको अनुभव अझ वर्णनातीत छ । थाकेको शरीरले दिने मिठास कस्तो सुन्दर ! मन्द-मन्द दुखाइ, हल्का-हल्का आहट कति मिठो ! माताजीले हात्केलाभरि तोरीको तेल लगाएर गर्दिनुभएको मालिस, त्यो ममता, त्यो सामीप्य, त्यो प्रेम मेरो लागि अनन्त छ । त्यो छटपटी कविता लेख्न बस्दाको भाव, आवेग र लेख्न नसक्दाको छटपटी जस्तै मिठो । त्यो दुखाइ निको हुन लागेको घाउ हल्का चिमोटेर दुखाइरहँदाको जस्तो मिठो । खासमा त्यो दुखाइ कुनै वियोगान्त कविले आफ्नो प्रेमको लागि लेखेको अन्तिम कविताभन्दा पनि सुन्दर थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

नवपुस्ताको प्रश्न: मान्छेले मान्छेलाई मान्छेकै रूपमा स्वीकार कहिले गर्छ होला ?
