उसो त नेपाली सिनेजगत्को इतिहास त्यति पुरानो होइन । देशमा जब प्रजातन्त्र स्थापना भयो, नागरिकले अभिव्यक्ति स्वतन्त्रताको हकलाई उपयोग गर्न पाए । सोहीअनुरूप नै चलचित्रको रङ्गिन दुनियाँ हेर्ने मौका नेपाली नागरिकले प्राप्त गरे । यदि वि.सं. २००८ सालमा नेपाली भाषामा बनेको पहिलो फिल्म ‘सत्य हरिश्चन्द्र’ लाई पहिलो नेपाली फिल्म मान्ने हो भने यो अवधि ७१ वर्षको हुन जान्छ । यद्यपि यो फिल्मबारे विवाद भएकाले नेपालमै बनेको फिल्म ‘आमा’लाई पहिलो नेपाली फिल्म मान्ने गरिएको छ । यसबिचमा हजारौँ फिल्महरू बने, लाखौँ फिल्मकर्मीहरू भित्रिए र तिनले करोडौँ दर्शकहरू पाए । नेपालको सिनेबजार सानै भए पनि सिनेक्षेत्रको सम्भावना भने अथाह छ । छायाङ्कनका लागि विश्वकै उत्कृष्ट स्थानहरू देखि अनगिन्ती मौलिक कथाहरू यहाँभित्र छन् । तर हामीकहाँ ठ्याक्कै उल्टो छ । चलचित्र समाजको दर्पण हो भनेर पढाइन्छ अनि कथा बलिउडको देखाइन्छ । हाम्रा फिल्ममेकरहरूले नेपाली माटोको कथालाई किन बुन्न रुचाउँदैनन् र बुनिहाले पनि सशक्त प्रस्तुतिमा देखाउन सक्दैनन् त ? बहस गर्ने बेला आएको छ।

त्यसका लागि पहिला नेपाली सिनेजगत् कुन कालखण्ड र कस्तो परिस्थितिबाट तङ्ग्रिरहेको छ भनेर हेर्नुपर्छ । चलचित्र आमादेखि कुसुमे रुमाल हुँदै राँको बन्दै गर्दा ताका सम्मको एक समय थियो । जहाँ पर्दामा मौलिक कथा हेर्न पाइन्थ्यो । त्यसताका सिनेमा फाट्टफुट्ट मात्र बन्ने गर्दथे । एउटा सिनेमा बनेपछि कति वर्षपछि अर्को सिनेमा बन्छ भन्ने टुङ्गो हुँदैनथ्यो । यसै क्रममा २०४६ को राजनीतिक परिवर्तनपछि देशले काँचुली फेर्‍यो । सिनेजगत्ले पनि बजार लियो, सिनेमा बन्ने क्रम ह्वातै बढ्यो । राजेश हमालको प्रवेशपश्चात् सिनेजगत् अझ लोकप्रिय हुन थाल्यो । तर बिस्तारै ५० को दशकपश्चात् नेपाली चलचित्र हिन्दी तथा कोरियन कथाहरू चोरेर निर्माण गर्न थालियो । त्यसपछि सिनेजगतबारे नागरिकको धारणा बद्लियो । नेपाली सिनेक्षेत्रको यौवन अवस्था जहाँबाट नेपाली सिनेमा बजार फल्नुपर्थ्यो, फुल्नुपर्थ्यो त्यही बखत अर्काको कथावस्तु चोरेर सिनेमा निर्माण हुन थाल्नु नै सिनेजगतको दुर्भाग्य बन्यो । र, सिनेमाको विषयवस्तुलाई मात्र आधार मानेर हेर्ने हो भने त्यो बेलादेखि आजसम्म आई पुग्दाको परिस्थिति उस्तै छ । अधिकांशले ‘बिक्ने’ कथामा चलचित्र निर्माण गर्न थालेका छन् । तर २००८ देखि अहिले ८० को दशक आसपास आई पुग्दासम्म नेपाली माटोको कथामा सिनेमा बनेको बिरलै उदाहरणहरू छन् ।

सुबिन विश्वकर्मा

यसो भन्दै गर्दा केही सिनेमाहरूप्रति अन्याय हुनसक्छ । जस्तो, यसैबिचमा लुट र चपली हाइटजस्ता विशुद्ध नयाँ शैली र विषयका फिल्म बने । साँघुरोजस्तो सूक्ष्म मानवीय कथा (यौन मनोवैज्ञानिक) बोकेको फिल्म बन्यो भने वधशालाजस्तो राजनीतिक फिल्म पनि बन्यो । जति बेला नेपाली बाहेकका भाषामा सिनेमा बनाउनु निकै चुनौती थियो, तर शिलु, उर्नी, स्याङब्रुङ, नुमाफुङ लगायतका सिनेमा बने । यो एक उपलब्धि र परिवर्तन नै हो । यस मानेमा पनि केही परिवर्तन त पक्कै भएको छ तर पर्याप्त परिवर्तन ?

फेरि पनि लेख्छु, नेपाली माटो बोल्ने कथामा सिनेमा नबनेका होइनन् । तर जसरी गहन विषयमा सशक्त प्रस्तुतिसहित सिनेमा बन्नुपर्थ्यो, सिनेमाले कथा उठान गर्नुपर्थ्यो त्यो भने देखिएको छैन । समाजको दर्पणमा देखाइनुपर्थ्यो, हाम्रो समाजको कुप्रथाहरू, विसङ्गतिहरू, असमानताहरू तर त्यसो नभएर अरूको कथा हुबहु चोरेरै सिनेमा बनिरहे । नेपाली सिनेमाले महिला मुक्ति आन्दोलन, दाइजो, छाउपडी, वर्गीय सङ्घर्ष, जातीय विभेद लगायतका विषयहरू कुन रूपमा उठान गरेका छन् भन्नेबारे अर्को कुनै आले खामा चर्चा गरौला । आउनुस्, आजको आलेखमा नेपाली सिने नगरीले दलितहरूको कथालाई कुन रूपमा स्थान दिएको छ भन्नेबारे चर्चा गरौँ ।

एउटा सिनेमा किन राम्रो हुन्छ ? यसको सर्वमान्य जवाफ नहुन सक्छ । कुनै सिनेमा सङ्गीत राम्रो भएर राम्रो लाग्न सक्छ भने कुनै सिनेमा अभिनय, विषयवस्तुले राम्रो हुनसक्छ । तर यो सत्य हो कि अधिकांश सिनेमा कथावस्तुकै कारण राम्रो हुने गरेका छन् । त्यसमा पनि मौलिक कथावस्तु ।  जस्तो, २००८ देखि २०७९ आइपुग्दा सम्म पनि हाम्रो समाजमा व्याप्त रहेको जातीय विभेदलाई कति नेपाली सिनेमाले कुन रूपमा उठान गरे त ? जवाफ तपाईँ हाम्रो अगाडि छर्लङ्ग छ ।

पहिलो कुरा त दलितको विषयवस्तुलाई पर्दामा देखाउने आँट र मन धेरै कम फिल्ममेकरले गरेका छन् । यसको एउटै कारण हो, हाम्रो सामाजिक संरचना र जात व्यवस्थामा हुर्किएको मानसिकता । अपवादलाई छोडेर धेरै फिल्मकर्मीहरूमा समाज बोध र त्यसमा पनि जात व्यवस्थाबारे ज्ञान नै छैन । त्यसैले पनि यस विषयवस्तुलाई हत्तपत्त पर्दामा देखाइँदैन र देखाइहाले पनि अत्यन्त कमजोर र मजाकको मनोरञ्जनको रूपमा बनाइने गरिएको छ ।

यसलाई प्रमाणित गर्न दुई वटा ताजा उदाहरण हेरौँ । दिनेश राउतको निर्देशन गरेको पछिल्लो फिल्म ‘प्रसाद’मा दलित पात्र बाबुरामका परियार (विपिन कार्की)का कारण कथित उच्च जातकी नारायणी (नम्रता श्रेष्ठ)को कोखमा बच्चा हुन नसकेको देखाइएको छ । झट्ट हेर्दा सामान्य लागे पनि यसभित्रको अन्तर्य भने डरलाग्दो छ । दलित पात्र बाबुरामले यौन सम्बन्ध राख्दा बस्न नसकेको गर्भ उच्च जातको अर्को पुरुष (निश्चल बस्नेत)ले बलात्कार गरेपछि नारायणीको कोखमा बच्चा हुन्छ ? यसले कुन सन्देश प्रवाह गर्न खोजेको हो ? अझ सिनेमाले ती बलात्कार गर्ने पात्रलाई समेत सहजै स्वीकार गरेको छ, आफ्नो बलात्कारी विरुद्ध महिलाहरूले (नारायणी) बोल्नु नपर्ने/नहुने हो ? बलात्कारीलाई सजायको प्रक्रियामा लैजानुपर्दैन ? बलात्कारबाट जन्मिएको बच्चालाई प्रसादको रूपमा स्विकार्नुपर्ने, यो कस्तो मानसिकता ?

केही समयअघि सफल भनिएको चलचित्र प्रकाशको पनि हालत उस्तै छ । उसले दिन खोजेको सन्देश उस्तै छ । निर्माण टिम मध्येका एकले एक अन्तर्वार्तामा भनेका छन्, प्रकाश फिल्मले जातको आधारमा होइन, वर्गको आधारमा आरक्षण दिनुपर्छ भन्ने सन्देश बोकेको छ । समावेशी समानुपातिक वितरण प्रणाली के हो, आरक्षणको अन्तर्य के हो ? आरक्षण जातीय हुनुहुँदैन भन्नेले इतिहासको अध्ययन गर्नुपर्दैन ? सिनेमाले यसरी ऐतिहासिक तथ्यहरूलाई मोड्न मिल्छ ? नेपाल जस्तो मुलुकमा आरक्षणजस्तो संवेदनशील विषयलाई यसरी अपव्याख्या गरिइएपछि नयाँ पुस्ताले के सिक्ने ? अनि यस्तो मानसिकताबाट गुज्रिरहेको फिल्मकर्मीहरूबाट समाज रूपान्तरण कसरी होला ? समावेशितातर्फ फिल्मी क्षेत्र कसरी अघि बढ्न सक्ला ? अधिकांश पर्दामा दलितको चरित्र चित्रण दलिएको, हेपिएको, फोहोरी लवाइ–खवाइ र कमजोर पात्रका रूपमा प्रस्तुत गर्ने मानसिकता त पुरानै भइहाल्यो । यसैबाट बुझ्न सकिन्छ, सिन नगरी कुन मानसिकताबाट प्रभावित भइरहेको छ । तर अब यस किसिमको मानसिकता बदलिनु जरुरी छ । दलितहरू सशक्त चरित्रमा प्रस्तुत हुन जरुरी छ ।

तर त्यसो भन्दैमा हामीले निर्माता तथा कलाकार यश कुमारलाई पनि भुल्नुहुँदैन । जसले आफ्नो चलचित्र बाटो मुनीको फूलमा दलितहरू आर्थिक विपन्न मात्र होइन, सम्पन्न पनि हुन सक्छन् भन्ने चित्रण गरे । लेखक तथा निर्देशक रामबाबु गुरुङलाई पनि भुल्नुहुँदैन । जसले आफ्नो चलचित्र कबड्डीको पहिलो भागमा बिके भन्ने पात्रलाई लिएर दलित र गैर दलितबिचमा विभेद हुने अवस्थालाई चित्रण गरे । बिके पात्र काजी (दयाह्याङ राई)को जिग्री भए पनि अन्य पात्रहरूले अपहेलन गर्थे, स्वयं काजीले पनि । घरभित्र पस्न दिँदैनथे, सबैलाई हातमा चिया दिइन्थ्यो, उसलाई भुईँमा राखिदिन्थे । बिकेलाई सधैँ दोस्रो दर्जामा राखिन्थ्यो । तर सिक्वेलको रूपमा आएको कबड्डी ४ मा आइपुग्दा ती बिके पात्र (विजय बराल) सशक्त, साथीप्रति बफादार र भान्सामा सँगै बसेर खाना खाने मुख्य कलाकारको रूपमा स्थापित गरे । परिवर्तनको रेखा चित्रित गरे ।

नेपालमा दलितको मुद्दामाथि बनेको पहिलो टेलीसिरियल ‘काली गण्डकीको सेरोफेरो’ हो । ०५३ सालमा बनेको १६ भागको यो टेलिसिरियल नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । तर त्यसयता पनि कयौँ टेलीसिरियलहरूमा दलित समुदायको कथा बुन्न कोसिस नगरिएको त होइन तर त्यसपछिका सिरियलहरूमध्ये आहुतिको लेखन र नवीन सुब्बाको निर्देशनमा रहेको ‘दलन’ बाहेक सम्झिन लायक कुनै छैनन् । बनेका सिरियलहरूले पनि समुदायगत सतही ज्ञान नभई हल्काफुल्का विषयको रूपमा प्रस्तुत गर्ने गरेका छन् । जसको पछिल्लो उदाहरण हो, बल्छी धुर्बे र राजु मास्टरको कथा तथा निर्देशनमा रहेको टेलिसिरियल ‘जुठे’ । त्यस सिरियलले दलितको मुद्दालाई यति भद्दा मजाकको रूपमा प्रस्तुत गर्‍यो कि त्यसले दलित मुक्ति होइन, दलित समुदायकै अपमान गर्‍यो । सिरियलको पहिलो अङ्कमा जुठे भन्ने पात्रले हँसिया अर्जाप्छ तर बिँड नफुकाली । बिँड नफुकाली अर्जाप्दा बिँड डढ्छ भन्ने पात्रगत सामान्य ज्ञान समेत नभएकाले यस्तो गहन विषयमा सिरियल बनाएपछि त्यसबाट के अपेक्षा हुन्छ ?

सिनेमामा दलितको विषयलाई उठान गरेन भनियो भने ती फिल्ममेकरहरूप्रति अन्याय हुनेछ जसले सिमाना, रगत, बाटोमुनिको फूल, प्रसाद लगायतका फिल्म बनाए । तर बिडम्बना, यी फिल्महरूले दलित र गैर दलितबिचको प्रेमकथालाई बुने । त्यो पनि दलित मुद्दाको गहिराइमा नपसी कमजोर प्रस्तुतिमा । त्यो कसरी, अर्को कुनै लेखमा चर्चा गरौँला । तर जति पनि सिनेमाले दलितको कथा बुने, समग्र जात व्यवस्था र दलितहरूले गरेका एवं गर्नुपर्ने सङ्घर्ष देखाएनन् । यस्ता विषयमा बनेका अधिकांश फिल्महरूमा हामी देख्न सक्छौ, उच्च भनिने जातकी केटी हुन्छिन् र केटा तल्लो जातको । ती दुई दलित र गैर दलितबिचमा प्रेम बस्छ । गैरदलित समुदायकी ती केटी आर्थिक रूपमा सम्पन्न हुन्छिन् तर केटो विपन्न । अझ कुनैकुनै परिस्थितिमा त ती सम्पन्न देखाइएका गैर दलित मुखिया/साहुकहाँ दलितहरू अनिवार्य हली बसेकै हुन्छन् । प्रेमपश्चात् केटा वा केटी पक्षबाट एउटा संवाद अनिवार्य हुन्छ, ‘हामीबिचमा जातको पर्खाल छ, त्यसैले हामी एकर्काका हुन सक्दैनौ’ सिनेमाको सार लगभग यति नै हुन्छ ।

ती फिल्ममेकरहरूलाई मेरा केही जिज्ञासाहरू, समग्र दलित समुदायको कथा बुनिरहेको फिल्मले अन्तर्जातीय प्रेम बाहेकको कथा बुन्न नसकेको हो कि नजानेको ? सानो जात भनिने दलित समुदायको केटाले आफ्नो अन्तर्जातीय प्रेम प्राप्त गर्न किन कुनै सङ्घर्ष गर्दैन, किन ‘हामीबिचमा जातको…..सकेनौं’ भनेर पन्छाइन्छ, यसको सन्देश कस्तो हुन्छ ? दलितहरूलाई निरीह र आर्थिक विपन्न अनि गैरदलितलाई सम्पन्न देखाउनुपर्ने बाध्यता नै छ ?

त्यसो त दलित समुदायको भावनालाई बुझ्न नसक्ने हाम्रो राज्यव्यवस्थाको विशेषता नै हो । यहीँ ‘स्कुलिङ’बाट हुर्किएको यो समाजको एउटा कुन्तर हो, सिने नगरी । त्यस कारण पनि दलित समुदायको आवाजलाई रोक्ने कोसिस हाम्रो राज्यव्यवस्थाले कहीँ न कहीँ गरिरहेकै हुन्छ । एक पटक लेखक अविनाश श्रेष्ठले सार्वजनिक रूपमा भनेका थिए, दलित समुदायको कथालाई बुनेर बनाइएका टेलीसिरियलहरू नेपाल टेलिभिजनबाटै रोक्ने कोसिस गरिएको छ । श्रेष्ठले लेखेको दलित समुदायको पहिलो टेलिसिरियल ‘काली गण्डकीको सेरोफेरो’ चर्को दबाबपछि जसोतसो नेपालले टेलिभिजनले प्रसारण त गर्‍यो तर अर्को सिरियल ‘हिजो आज भोलि’ दलित विषयवस्तु भएकै कारण नेपाल टेलिभिजनबाट प्रसारण हुन नसकेको उनको तर्क छ ।

फिल्मले दलित, जनजाति, महिला आदि विषय फिल्ममा उठान गरे पनि त्यसलाई राम्रोसँग सम्बोधन गर्न नसक्नुको पछाडिको एउटा कारण हो, समुदायगत मेकर नहुनु । जस्तो, दलित मुद्दामा सिरियल जुठे जस्तो सिरियल बन्छ, जहाँ न मेकरहरूलाई सम्बन्धित विषयको ज्ञान छ न त दलित समुदायका कलाकार, मेकर नै छन् । त्यसैले पनि समुदायगत मेकर आवश्यक छ । यस तर्कलाई अझ मज्जाले बुझ्न सिरियल दलनलाई हेरे पुग्छ । आज पनि दलित विषयवस्तुमा आधारित सिरियल मध्ये सबैको मुखमा झुन्डिने नाम दलन हो, किनकि त्यसमा दलित समुदायकै मेकर (आहुति) थिए । जसले यस मुद्दाको अध्ययन र मर्मलाई बुझ्न सकेका छन् । हाम्रा फिल्ममेकरहरूमा चेतनाको अभाव त छँदै छ । त्यसमा पनि अधिकांश फिल्मकर्मी र स्टारहरू कथित उच्च जातका छन् । अनि उनीहरूलाई यो दलितको मुद्दासँग के लेनादेना ?