म पितृसत्ता वा मातृसत्ता कुनैको पक्षधर होइन । मैले धेरै पुस्तकका ठेलीहरू पनि पढेकी छैन, तर स्नातकोत्तरमा समाजशास्त्र विषय पढ्दै गर्दा विवाह र परिवारलाई एक सामाजिक संस्थाको रूपमा व्याख्या गर्ने क्रममा प्राध्यापकले भनेका केही वाणीहरू याद छन् । तिनै वाणीहरू अनि मैले देखेको र भोगेको समाजको अनुभवका आधारमा केही लेख्ने दुस्साहस गरेकी छु।

मेरो बुझाइमा विवाह गरेर महिला पुरुषको घरमा जानुपर्ने, श्रीमती र छोराछोरीको लालनपालनको आर्थिक भार पुरुषको काँधमा बढी हुने,  छोराछोरी बाबुको सम्पत्ति र थरको हकदार हुने, पारिवारिक सम्पत्तिको किनबेच वा उपयोगमा पुरुषको निर्णय लागु हुने जस्ता पुरुषलाई प्रमुख स्थानमा स्वीकार गरिएको सामाजिक मान्यता नै पितृसत्ता हो । पितृसत्ता आफैँमा खराब व्यवस्था होइन । मानिस चेतनशील प्राणी भएकाले सकेसम्म न्यायिक र आदर्श जीवनयापन गर्ने उपायको खोजीमा आविष्कार गरिएको क्रान्तिकारी कदम थियो ।

मानवीय अधिकारमा बराबरीको हकदार भए तापनि शारीरिक रूपमा महिला र पुरुषमा प्राकृति प्रदत्त भिन्नताहरू छन् । जस्तैः

एउटै दम्पतीबाट जन्मे पनि प्रायः छोरीभन्दा छोराको उचाइ धेरै हुन्छ ।

• छोरीसँग अलग प्रजनन अङ्ग र छोरासँग फरक अङ्ग हुन्छन् ।

• मांसपेशीको घनत्वको हिसाबले एउटै खानपान र व्यायाम गरे पनि छोरीको तुलनामा छोराको मांसपेशी केही बढी बलियो हुन्छ ।

•किशोरावस्था पछि छोरीहरूको महिनावारी रक्तस्राव हुन्छ तर छोराहरूको हुँदैन ।

• छोरीहरूको प्रजनन हर्मोनहरू इस्ट्रोजन र प्रोजेस्टेरोन मध्ये पालैपालो कहिले कुनै उच्च, कहिले कुनै न्यून हुन्छन् । जसको आधारमा उनीहरूको मनस्थिति पनि कहिले स्थिर त कहिले चञ्चल हुन्छ ।

• छोराहरूको टेस्टेस्टोरोन हर्मोन सधैँ एकैनासको रहन्छ र मनस्थिति पनि एकैनास हुन्छ । यद्यपि, मनस्थितिलाई अन्य बाहिरी वातावरणका कुराले पनि असर पार्न सक्छ । तर हर्मोनले नै फरक पार्ने कुरा छोराहरूमा हुँदैन ।

• चाहेर पनि पुरुष गर्भवती हुन सक्दैनन्, गर्भधारण गर्ने काम महिलाको नै हो ।

प्राचीन समाज र पितृसत्ताको सुरूवातः

पुरानो समाजमा, जति बेला आधुनिक तकनितीको विकास भएको थिएन । शिक्षाको विकास भएको थिएन । हातमुख जोर्न कठिन शारीरिक श्रम नगरी सुखै थिएन । न त गर्भधारण र सन्तानोत्पादन रोक्ने साधन नै थिए । एउटी महिला या त गर्भवती हुन्थी या दुधे बालककी आमा । त्यस्तो समाजमा श्रमविभाजन गर्दा महिलालाई उपयुक्त हुने घरभित्रका सरसफाइ, खाना बनाउने, सन्तानलाई खुवाउने, रेखदेख गर्ने, गाईभैँसी गोठमा घाँस पराल दिने, पानी बोकेर सञ्चित गर्ने जस्ता तुलनात्मक रूपमा थोरै बल पर्ने कामहरू महिलाको जिम्मा लगाइएका थिए । खनजोत गर्ने, हलो कोदालो खन्ने, अग्ला रुखहरू चढी डाले घाँस झार्ने, दाइँ हाल्ने, बन्चरोले दाउरा चिर्ने, सिकार खेल्ने, मार हान्ने जस्ता धेरै शारीरिक बल चाहिने काम पुरुषको जिम्मा थियो । कति राम्रो व्यवस्था है न र यो ?

अहिले आधुनिक शिक्षा, खानेकुरा र स्वास्थ्य सेवा जताततै उपलब्ध भएको समाजमा त महिलाहरू कुपोषित छन् भने त्यति बेलाका महिला कति कुपोषित थिए होलान् ? त्यस्ता महिलाले गर्न सक्ने घरायसी काम मात्रै त हो । यही घरबारको निर्माण र श्रम विभाजनबाट नै पितृसत्ताको सुरुवात भएको मानिन्छ ।

आधुनिक समाज र पितृसत्ताः

समाजमा मानिसको जीवनशैलीले फड्को मारिसक्यो । मानिसका कामहरूमा शारीरिक बलका कार्य मात्रै नभई बौद्धिक कार्यहरू, यान्त्रिक कार्यहरू, कम्प्युटरमा आधारित कागजी कार्यहरूको प्रधानता छ । शिक्षा र अवसरले गर्दा अर्थोपार्जनमा महिला अगाडि आइसके । देश विदेशमा रोजगारका अवसरहरू पाइसके । गर्भनिरोधका उपाय र सीमित सन्तान जन्माएर महिलाहरू स्वस्थ र बलिया हुन सके । यस परिप्रेक्ष्यमा अब सीमित गर्भावस्था, सुत्केरी र महिनावारीभन्दा अरू समयमा लगभग महिलाहरू पुरुषसरह शारीरिक रूपले पनि बलिष्ठ हुन सक्छन् । बौद्धिक कार्यमा त झन् अगाडि छन् । यस्तो परिप्रेक्ष्यमा अब घरेलु कामको सम्पूर्ण जिम्मा महिलालाई थोपर्नु वा घरेलु काममा मात्रै सीमित राख्न खोज्नु उचित होइन ।

पितृसत्ताको फाइदा कसलाई ?

पितृसत्ताको फाइदा न पुरुष न महिला, जसले फाइदा लिन जान्दछ उसैलाई छ । वा भनौँ, पितृसत्ताको फाइदा कसैलाई छैन । यसले पुरुषलाई “मर्द”को दर्जा दिएर सिङ्गो परिवारको लालनपालनको कठिन बोझ बोकाइदिएको छ । जीवनसाथी बिचमा म अलिक महत्त्वपूर्ण वा ठुलो व्यक्ति हुँ भन्ने अहम् पैदा गरिदिएको छ, र पत्नीले साथीसमान व्यवहार गर्दा पनि आफू अपमानित भएको महसुस गर्दै हीनताबोध पैदा गराइरहेको छ । कयौँ पुरुषलाई पारिवारिक जिम्मेवारीकै खाँतिर खाडीमा भाँसिन बाध्य बनाएको छ । महिलाहरूलाई आफ्नो क्षमता उपयोग नगरी, श्रीमानमा आश्रित र निर्भर हुने अल्छी बनाएको छ । पुरुषलाई जोतिइरहने श्रमिक र महिलालाई अनावश्यक शृङ्गार र पहिरनको उपभोग गरी श्रीमानको श्रमको शोषक बनाएको छ । यद्यपि कतिपय महिलाहरू आफैँ कमाउन सक्षम छन्, र पनि उनीहरू त्यति कमाइको परिचालन गरेर घरघडेरी जोड्नेसम्मको सफलता बिरलै सोच्दछन् वा कमले मात्र सफलता प्राप्त गर्दछन् ।

थर र घरको वादविवादः

मानिस चेतनशील प्राणी हो । आपसी सहमति, सम्झौता र सहयोगले चलेको हुन्छ । पहिचानको लागि सहमतिमा एउटा थर जे राखे पनि हुन्छ, जसको राखे पनि हुन्छ । अहिले त श्रीमान्-श्रीमतीले आ-आफ्नै थर राख्ने प्रचलन पनि बढ्दो छ । एउटा सक्षम वा बालिग व्यक्ति पढ्न वा जागिर खान परिवारबाट टाढा बस्न सक्छ, र बसिरहेको पनि छ । अनि विवाह गरेर परिवारबाट टाढा बस्नु कुनै ठुलो कुरा होइन । केही फरक पर्दैन, विवाहपछि केटाकेटीको घर जाओस् वा केटी केटाको घर जाओस् । जहाँ गए पनि उसले न्यूनतम माया, सद्भाव र सम्मान दिनु जरुरी छ, र पाउनु पनि आवश्यक छ । न बुहारी अपमानित होस्, न ससुराली बसेको ज्वाइँ नै । वृद्धावस्थाका अभिभावकको स्याहारसुसार छोराबुहारीले मात्रै गर्ने होइन, छोरीज्वाइँ पनि जानुपर्छ । जिम्मेवारी ननिभाउने कुमानवहरूले त यसै पनि निभाउँदैनन्, चाहे नजिक हुन् या टाढा । यदि यस्ता थर र घरसम्बन्धी अनावश्यक राजनैतिक विवादबाट मुक्ति चाहने हो भने, विवाह गर्नेबित्तिकै नवदम्पतीलाई नयाँ घर र थर दिएर छुटै बसोबास गर्नुपर्ने कानुन अनिवार्य गर्नुपर्छ ।

यौन र बलात्कारः

हिन्दु धर्मशास्त्रका कथाअनुसारका “ब्रम्हा”ले कसरी सृष्टि गरे, थाहा भएन । मैले बुझेअनुरूप मानव सृष्टि यौनमा निर्भर छ । यौन मानिसको आधारभूत आवश्यकता, मनोरञ्जन र सन्तानोत्पादनका लागि बाध्यता हो । प्रकृतिले नै गरेको विभेद यस्तो छ कि, पुरुषले चाहे महिलाले नचाहे पनि समागम र गर्भाधान हुन सक्छ । तर महिलाले चाहँदैमा पुरुषले चाहेन भने यो सम्भव छैन । त्यसैले प्रायः महिला बलात्कृत हुन सक्छे । महिलाले यौन प्रस्ताव मात्र राख्न सक्छे, पुरुषको इच्छाबिना समागम भने सम्भव हुँदैन । यसैले पुरुष बलात्कृत हुनु दुर्लभ छ । यदि पुरुष अनुशासनविहीन भएमा आत्मरक्षामा सक्षम हुनुसिवाय महिलाको अर्को उपाय छैन । कमजोर र नाबालिगहरू त आफ्नै जन्म घर, स्कुल, पार्क, जङ्गल, खेत, बाटोघाटो जता पनि बलात्कृत भइरहेका छन्।

बाँकी रह्यो घरेलु हिंसाको सम्भावना । घरेलु हिंसाको मामलामा श्रीमान्-श्रीमती बिच नै द्वन्द्व भयो भने पराई घरबाट एक्लै आएकी बुहारीको पक्षमा अल्पमत र अल्पशक्ति हुने नै भयो। यसमा पनि ‘घर’ दोषी हुँदैन । मान्छेको अविवेकी सोच र आपराधिक नियत दोषी हुन्छ । कुनै घरमा बुहारी मारिएकी छन् त कुनै घरमा ससुरा पनि काटिएका छन् । अपराधी मनोवृत्ति भएका मानसिक रोगीले त घरभित्रको मात्रै हैन बाहिरका व्यक्तिको पनि हत्या गर्दछन् ।

अन्तमा, समाजमा मौलाएका भ्रूणहत्या, बलात्कार, सम्बन्धविच्छेद जस्ता घटनालाई पितृसत्ताको उपजको रूपमा जोडेर विरोध भइरहेको पाइन्छ । पितृसत्ता भनेको परिवार पुरुषको स्वामित्वमा रहनु र पुरुषको थर लिएर नयाँ सदस्यको पहिचान हुनु हो । यसले कौमार्य महिलाले मात्रै जोगिनुपर्छ भनेको छैन । महिलालाई स्वतन्त्रता र मौलिक हकबाट वञ्चित हुनुपर्छ भनेको छैन । छोरी भ्रूणहत्या गरेर छोरा पाउनै पर्ने नियम कतै उल्लेख गरेको छैन । भ्रूण हत्या मानिसको धार्मिक अन्धभक्तिपना र आपराधिक सोचको उपज हो ।
मानिसहरू छोराछोरी बिच विभेद गरिरहेका छौँ । महिला विभेद र स्वतन्त्रता हनन् जन्मघरबाटै सुरु हुन्छ, पराई घरमा गएर होइन। महिला स्वयंले महिलालाई विभेद गरिरहेका छन्, पुरुषले मात्रै पनि होइन । व्यक्तिहरूमा रहेको अज्ञानता र अहम अनि आपराधिक मानसिकता र गतिविधिलाई पितृसत्तासँग जोड्नु जायज होइन । हामीले माग गर्नुपर्ने वा समाजमा स्थापित गर्नुपर्ने कुरा यत्ति हो कि महिलालाई आफ्ना अधिकार उपभोगमा अङ्कुश लगाउन पाइँदैन, श्रमको मूल्यमा विभेद गर्न पाइँदैन, घरायसी श्रमको पनि मौद्रिक मूल्य मापन गरिनुपर्छ । यसको लागि हरेक तह र तप्काका महिला तथा पुरुष वर्गहरूले सामान्य कानुन, मानव अधिकार र मौलिक हक के के रहेछन् भनेर जान्नु र हकको सम्मान गर्नु जरुरी छ । हरेक व्यक्ति आफैँमा अनुशासित, नैतिकवान् र जिम्मेवार नभएसम्म कुनै व्यवस्था र लेखिएका कानुनले न्यायिक समाज स्थापना हुँदैन ।