मान्छे निकै सभ्य भइसके । राम्रो लाउने, मीठो खाने, रमाइलो गर्ने, घुम्न जाने सबै कुराहरूले फड्को मारिसक्यो । ‘दुई दिनको जिन्दगी हो मरेर लानु के छ र ?’ भन्दै रमाइलो गर्नेको होडबाजी नै देखिन्छ । सबै कुरामा चेतना देखिन्छ तर ‘पर्यावरण कसरी जोगाउने ?’ भन्ने विषयमा मानिसको चेतना शून्य छ । आरामले  सास फेर्न पाइएको छैन, तर जनप्रतिनिधिदेखि लिएर सर्वसाधारण कसैलाई पनि  पर्यावरणको चिन्ता छैन ।

यत्रतत्र फ्याँकिएका प्लास्टिकजन्य पदार्थले माटोलाई पार्ने दीर्घकालीन असरका बारे कसैको ध्यान पुगेको देखिँदैन । कुलो, कुलेसो, खोल्सो, बाटोको छेउ, खेतबारी प्लास्टिकजन्य पदार्थ  नभएको कुनै ठाउँ नै छैन । जता मन लाग्यो त्यतै फोहोर फ्याँक्ने त बानी नै भइसक्यो ।

टोलटोलमा दिनहुँ गीत बजाउँदै फोहोर उठाउने गाडीहरू आउने गर्दै छ्न् । जसले गर्दा प्रत्येक टोलहरू सफा देखिएका छन् । चिटिक्क परेका सफा घर, राम्रा सुकिला मान्छेहरू । घरमा थुप्रिएका प्लास्टिकका झोला लगायत घस्याङघुसुङ सड्ने नसड्ने फोहोर एकै ठाँउमा राखी थुपारेर फोहोर लिन आउने गाडीमा चढाएर मक्ख पर्दै हामी सफा मान्छे घरभित्र पस्छौँ ।

प्रत्येक घरबाट निस्कने कुहिने र नकुहिने (प्लास्टिकजन्य) फोहोरले गाडी खचाखच भरिन्छन् । अझै भनौँ हाम्रो घरबाट निस्कने फोहोरले डम्पिङ साइडको एरिया पनि दिनानुदिन बढ्दै गइरहेको छ । यहीँ रफ्तारमा फोहोरको डम्पिङ साइडको क्षेत्रफल फैलिँदै जाने हो भने बन्चरे डाँडा र सिसडोलको जस्तो भयावह स्थिति प्रत्येक गाउँ शहरले भोग्नुपर्ने दिन धेरै टाढा छैन ।

यो त भयो सहरको कुरा सुविधाको कुरा ।

सामान्य गाउँघर तिर त त्यहीँ हो खोला, खोल्सा जता फ्याके पनि भयो ।

एक छिन एक पलको सुविधाको लागि मान्छेले प्रयोगमा ल्याउने गरेको प्लास्टिकले डम्पिङ साइडको क्षेत्रफल त बढाएको छ । त्यसको अलावा यत्रतत्र छरिएका प्लास्टिकजन्य पदार्थले खेतीयोग्य जमिन, नदी, ताल, पोखरी, वन जङ्गल सबैतिर प्रत्यक्ष असर पारेको छ ।

बिहानैदेखि सुरु हुन्छ प्लास्टिकको प्रयोग अझै भनौँ चियाको चुस्कीसँगै । सुर्तीजन्य पदार्थका खोल, तयारी प्याकिङ खानेकुराका खोलहरू, पानी, कोल्ड ड्रीङ्सका बोतल, दूधका प्लास्टिकदेखि लिएर हरेक कामका लागि व्यापक रूपमा प्लास्टिकको प्रयोग भइरहेको छ ।

हामीले खाने प्रत्येक गाँस अनि प्रत्येक घुट्की पानीमा प्लास्टिकको प्रयोग भइरहेको छ । यत्रतत्र सर्वत्र अनियन्त्रित रूपमा प्रयोग भइरहेको प्लास्टिक कहाँ  गएको छ त ? त्यतातिर ध्यान गएको खासै देखिँदैन ।

धेरै जसो मानिसमा अलिकति चेतनासम्म पनि छैन कि आफूले दैनिक रूपमा व्यापक प्रयोगमा ल्याउने गरेको प्लास्टिकको दीर्घकालीन असरको बारेमा ।

कुलो, कुलेसो, खोला, खोल्सा, खाली जमिन, पार्क जता पनि प्लास्टिक नभएको ठाउँ नै छैन । प्रत्येक किराना पसलेले मात्रै दिनको आधा केजीदेखि लिएर लगभग १०-१२ केजीसम्म प्लास्टिकको खपत गर्छन् । भनेपछि प्रत्येक पसलमा अनियन्त्रित रूपमा प्लास्टिकको प्रयोग हुन्छ ।

साँझमा पसल बन्द गर्ने बेलामा दिनभरिको फोहोर सडक छेउमा घोप्टाएर छोड्ने बानी परेको छ । एउटा राम्रो फोहोर मलाईको भाडा प्रायः कसैको पसलमा देखिँदैन ।

नेपालमा दैनिक सयौँ टनको फोहोर प्लास्टिक सङ्कलन हुन्छ । यो फोहोरलाई पुनः प्रयोग गर्ने त नेपालमा कुनै प्रविधि नै छैन ।

कवाडी सङ्कलन गर्न आउनेले लिएर गएको प्लास्टिकजन्य वस्तु बाहेक अरू प्लास्टिक जाने भनेको कि त डम्पिङ्ग साइड कि त यत्रतत्र जतासुकै जमिनमा । एक छिनको सुविधाको लागि प्रयोगमा ल्याइने प्लास्टिकले पार्ने दीर्घकालीन असरबारे कसैले पनि सोचेको छैन ।

अर्कोतिर यसरी छरिएको फोहोर हावाहुरी र पानीले बगाएर लैजाने ठाउँ भनेको खोला, कुलोकुलेसो, खोल्साखोल्सी हुँदै खेतीयोग्य जमिनसम्म हो ।

यसले माटोको उर्वाराशक्तीलाई प्रत्यक्ष असर पार्छ र पारेको पनि छ ।

मीठो खान मन लाग्छ हामीलाई । कता राम्रो छ ? कुन अर्ग्यानिक छ ? अलिकति महँगो परे पनि खाना चाहिँ अर्ग्यानिक खानुपर्छ भनेर अहिलेको मानिसहरू सचेत देखिन्छन् ।

तर खानेकुरा उत्पादन हुने माटोको चिन्ता कसैलाई छैन ।

भान्सा असुरक्षित बनेको छ । भविष्यको लागि धेरै गरिन्छ । जीवन बिमा, स्वास्थ्य बिमा । छोराछोरीको लागि पनि मरिमेट्छौ कसरी हुन्छ भनेर । तर माटो र पर्यावरणको लागि हामी सचेत मात्रै पनि छैनौ । यसको असर प्रत्यक्ष रूपमा हाम्रा सन्ततिलाई पर्नेछ । भनेपछि यसले पार्ने दीर्घकालीन असरका बारेमा बेलैमा सचेत हुन जरुरी छ । माटो छ, र जीवन छ ।

अनियन्त्रित रूपमा बढ्दै गइरहेको प्लास्टिकको प्रयोगले नेपालजस्तो सुन्दर भूमिलाई विकृत पार्ने निश्चित प्रायः नै छ । विकसित देशहरूमा प्लास्टिकको प्रयोग हुन्छ तर त्यहाँ जति मात्रामा प्लास्टिक उत्पादन भएको छ त्यति नै मात्रामा प्लास्टिकको पुनः प्रयोग हुन्छ ।

नेपालमा अहिले देखिएको अनियन्त्रित प्लास्टिकको प्रयोगले यहाँको माटोलाई प्रत्यक्ष असर पारेको छ । सुर्तीजन्य पदार्थ,  चाउचाउ, बिस्कुट, चकलेट, प्याकिङ खानेकुरा आदि धेरै प्रकारका खोल र बोतल हरू खेत बारीको माटोमा मिसिएको देखिन्छ ।

ठुला ठुला नदीहरूमा पनि प्लास्टिक र प्लास्टिकका बोतलहरू तैरिरहेको देख्न सकिन्छ । यसबाट माछा र समुन्द्री जीवहरूको अस्तित्व नै लोप हुने खतरा बढेको छ । आकाशमा उड्ने चराचुरूङ्गीहरूले खानेकुराजस्तै देखिने प्लास्टिकका टुक्रा खाएर दिनहुँ मरिरहेका छन् ।

यही तरिकाबाट प्लास्टिकको प्रयोग हुने हो भने धर्ती छोपिने निश्चित नै छ । एक मुठी माटो हातमा लिँदा एउटा प्लास्टिक आउनेछ । सोचौँ, धर्तीको अस्तित्व र हाम्रा सन्ततिको भविष्य ?

यसैको एउटा ज्वलन्त उदाहरण हो बन्चरे डाँडा र सिसडोलमा रहेको डम्पिङ साइड । १७ वर्षदेखिको फोहोर थुपारदिएर काठमाडौँ बासीले बन्चरे डाँडा र सिसडोलजस्ता सुन्दर बस्तीहरूलाई रोग र शोकको उपहार दिएका छन् । मात्रा मात्रै थोरै धेरै हो अहिले जतासुकै प्लास्टिक देख्न सकिन्छ । यसले पार्ने विकराल समस्याको बारेमा बेलैमा सचेत हुन अत्यन्तै जरुरी छ ।

प्रत्येक सहरको फोहोर फ्याँक्ने डम्पिङ साइड बनेका जमिन वरपरका वस्तिहरूमा बसोबास गर्ने त्यहाँका बासिन्दाहरूलाई यसबाट पर्ने प्रत्यक्ष असरको बारेमा पनि सोचौँ है ।

वास्तवमा भन्ने हो भने अनियन्त्रित प्लास्टिकको प्रयोग गर्न दिनु र गर्नु भनेको विनाश निम्ताउनु हो । जति प्लास्टिकजन्य वस्तुहरू पुनः प्रयोगमा ल्याउन सकिन्छ त्यति नै प्लास्टिकजन्य बस्तुको प्रयोग गर्नुपर्छ । त्यो पनि अत्यावश्यक चिजको लागि मात्रै ।कति सौखिन भयौ हामी, १ मिनेटको सुविधाको लागि हातमा प्लास्टिकको झोला झुन्ड्याएर शानले घरभित्र पस्छौ । फोहोर थुपार्छौ । गाडी आउँछ शानले गाडीमा हाल्छौँ । एउटा प्लास्टिक कुहिन १०० वर्ष लाग्छ ।  तर यसरी हालेको फोहोर कता गएको छ ? कुन सुन्दर ठाउँ विकृत बन्दै छ भन्नेतिर मतलब हुँदैन । हामीलाई हाम्रो घर आँगन सफा भए पुग्यो । धर्तीको के चासो किनेर खान पाइएकै छ ।

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै डर र नियम बनाउने हो भने असम्भव केही छैन । किनमेल गर्न जाँदा  वातावरण मैत्री झोला लिएर जाने त्यसलाई धुन मिलोस लामो समयसम्म प्रयोग गर्न सकियोस् । दुग्धजन्य पदार्थको विक्रीमा प्लास्टिकको प्रयोग गर्न दिनुहुँदैन । पसलहरूमा फोहोर मलाइका भाडाहरू अनिवार्य रूपमा राख्नुपर्ने । जथाभाबी फोहोर फ्याँक्न नपाइने अभियान चलाउन जरुरी छ । कुहिने फोहोर र नकुहिने फोहोर अलग अलग राख्नुपर्ने, अत्यावश्यक चिजमा बाहेक सकेसम्म प्लास्टिकको प्रयोग गर्न नपाइने अभियान राज्य स्तर बाट नै सुरु गर्नुपर्ने तड्कारो रूपमा देखिएको छ । सानो देश प्राकृतिक सुन्दरताले धनी देशलाई प्लास्टिकको बढ्दो प्रयोगले विकृत बनाइरहेको छ र यसले विकराल रूप लिने कुरा नकार्न सकिन्न ।

केही गर्नुपर्दैन बेस्सरी गाह्रो कुरा पनि होइन । सकेसम्म म प्लास्टिकको प्रयोग गर्दिन भनेर आफ्नो बानीमा परिवर्तन ल्याउनुस् । आफ्नो साथमा एउटा झोला नछुटाउनुस् । लाज मान्नुस् प्लास्टिकका झोला प्रयोग गर्न ।

प्रकृति संरक्षण लागि केही योगदान गरौँ । प्लास्टिकको विकल्प खोजौँ । सकेसम्म प्लास्टिकको प्रयोग नगरौँ  अनि नगराऔँ । माटो जोगाऔँ । जीवन जोगाऔँ ।