सुरूमै भन्छु – यो वर्तमान समयप्रतिको व्यङ्ग्य हो । कसैको सिद्धान्त, जीवन र व्यवहारमा मेल खान गएका केवल संयोगमात्र हुनेछ ।

सपनाको मोह सजिलै बिपना हुन नसक्ने कुरामा मेरो पनि सहमति छ । तर कसैले आफूले देखेको सपनामा रम्न पाउने अधिकारप्रति पूर्ण विश्वास राख्नु पनि उपयुक्त नै होला । कुनै सुन्दर वस्तुप्रति संवेदनशील मुटु आकर्षित हुनुलाई तिमी आशक्ति नै भन, तर म चाहिँ त्यसलाई स्वाभाविक ठान्छु । हो, त्यस सुन्दर वस्तुलाई तुरुन्त पाइहाल्ने अनधिकार चेष्टा गर्नुलाई चाहिँ म पनि मूर्खता नै ठान्छु । तर त्यसलाई पाउने कल्पनामा रम्न मात्र त पाइन्छ होला । फेरि त्यसबाट तिमीलाई कुनै नोक्सान पनि त हुँदैन । मैले त तिमीलाई पाउने सपनासम्म पनि देख्न सकेको छैन । तिमीलाई पाउने कल्पना मनमा आउन साथ मेरो औकात साह्रै डराउँछ, जीवन-नौका ढल्मलिन्छ – अनर्थ हुने डरले । मैले बाचेको परिवेश तिम्रो भोगाइको स्तरभन्दा धेरै तल खोँचमा छ । जहाँ तिम्रो सौन्दर्य निसासिन्छ अनि चुपचाप ओइलाउँछ ।

प्रविनकुमार मल्ल

तिमीलाई प्राप्त गरेपछिका कर्तव्यहरू थुप्रै हुन सक्छ्न्, जुन तिम्रो सपनाको एउटा हिस्सा हुनसक्छ । तिम्रो सपना र मेरो औकातबिच यती ठुलो खाडल छ कि मिलाउने प्रयास मात्र गर्‍यो भने दुवै जना त्यस खाडलमा परिन्छ । त्यस्तो विकराल गहिराइको खाडल सायद मन नपर्ने मात्र होइन तिमी त्यसतर्फ सोच्नसम्म चाहँदैनौ । यो मेरो अड्कल मात्र हो – कम भए थप तिमी । तिम्रो कोमल अवयवलाई पैदल हिँडाएर महापाप गर्नु हुँदैन भन्ने कुरा मैले अलिअलि बुझेको छु । तर त्यसलाई कार्य रूप दिन मसँग साधन छैन । तिमीलाई घुमाउन एउटा कोरोला कार त हुनै पर्‍यो, तैपनि सय सी.सी.को मोटरबाइकले पनि काम चल्ने कुरा मैले पत्तो पाएको छु । हालसाल नगरकोट घुम्न जाँदा तिमी एउटा मान्छेसँग मोटरबाइकको पछाडि बसेर त्यस मान्छेको कम्मरमा च्याप्प समातेर अपूर्व मुस्कान छर्दै गएकी देखेको थिएँ । त्यो व्यक्तिसँग तिम्रो कस्तो सम्बन्ध छ ? भावनाको वा रगतको ? त्यो तिमी नै जान । आजको युगसँग मेरो राम्रो परिचय छैन ।

हिँड्दाहिँड्दै थाकिसकेको शिथिल मेरो शरीरले साइकलसम्म चढ्ने सौभाग्य पाएको छैन । त्यसले थोत्रो लोकल बसको भिडमा तिम्रो गाली खान परिरहेको छ । साँच्चीकै त्यस दिनको भिड सम्झँदा त अझै निसासिन्छु । बसको हल्लाईले त्यो दिन तिमीलाई धकेल्दा के के गाली गर्‍यौ मलाई ? तर मैले सुनिनँ । मान्छेको भिड थियो । तर त्यो तिम्रो मप्रतिको लक्षित गाली मैले भने अनुभव गरेँ । अनुहार र आँखाबाट महसुस गरेँ । तर कुनै प्रतिकार गरिनँ । बरू छक्क परेँ । तिमीलाई मैले क्याम्पसको क्यान्टिनमा यदाकदा चिया पिउँदै गरेको देखेको थिएँ । तिमी एक शिक्षित युवती हौ भन्ने कुरामा विश्वस्त थिएँ ।

त्यस दिनको मबाट हुन गएको सामान्य धक्कालाई तिमीले स्वाभाविक रूपमा नै लिन सक्नुपर्थ्यो । क्याम्पस आउने मान्छेले माध्यमिक विद्यालयमा पढेको न्युटनको चाल सजिलै बुझ्दछ । तर खोइ ? तिमीले विज्ञान पढेको जस्तो लागेन । हुनसक्छ, तिमी त्यो न्युटनको सिद्धान्तप्रति असहमत छाै । यदि हो भने ठिकै छ ! त्यो दिन मेरै गल्ती भएछ । तर त्यसको केही दिनपछि मैले तिमीलाई बसमा एकदमै बेहालामा देखे । त्यस लामो कपाल भएको युवकलाई थाम्न तिमीलाई सङ्कट परिरहेको महसुस गरेँ । तर तिम्रो सहनशीलता ! त्यस दिनको तारिफ मैले गर्नपर्छ र मेरो धक्काले प्रस्फुटन भएको तिम्रो प्रतिक्रिया मैले अहिले बुझ्न पाउँदा स्वयम् धन्य छु ।

अनि चुहिगम जुहारीमा तिमी सहभागी रहने कुरामा पनि शङ्का गर्न मिल्दैन । तिम्रो मुखमा चुहिगम टुट्यो भने अनिष्ट हुन्छ । तिम्रो त्यो रस बिनाको चुहिगम चपाउने र पडकाउने जागर देख्दा मलाई हीनताबोध हुन्छ । तिम्रो तथाकथित आधुनिकताको धज्जी उडाएर मलाई फाइदा छैन । बरु मेरो कागज, मसी सकिन्छ । यसको क्षतिपूर्ति पनि हुन्न । तिम्रो दृष्टिमा त म सोह्रैआना मूर्ख छु । र, अझै बढी हुने प्रयास पनि गर्दै छु । तर स्वयमलाई मूर्ख ठान्नु प्रकृतिको अनुमति छैन । म यति कुरामा प्रयास गर्दै छु कि तिम्रो बहुआयामिक रुचि, आकर्षण र क्रियाकलापको चित्र उतार्ने नाकाम प्रयास ! यदि यसप्रति तिम्रो सहानुभूति भए मेरो प्रयासलाई बैसाखी टेकाऊ, नत्र मौन स्वीकृतिसम्म देऊ । त्यति भए पनि मलाई लाख हुन्छ ।

आजकल तिमी स्वयमले महसुस नगरे पनि म तिमीलाई युगभाषी देख्छु । विश्वलाई जनसङ्ख्या वृद्धिको चापले आक्रान्त पारेको बेलामा वस्त्र पहिरनको क्षेत्रमा तिमीले जुन क्रान्ति ल्यायौ, त्यो प्रशंसनीय मात्र नभएर मनमोहक र ऐतिहासिक पनि छ । हुन पनि एक मिटर कपडाले काम चल्ने ठाउँमा चार पाँच मिटरको साडी लतारेर युगलाई धोका दिनु पनि त भएन ! तिम्रो यो मितव्ययिता अनुकरणीय छ । त्यत्ति मात्रै कहाँ हो र ?  मानव अधिकारलाई पनि तिमीले राम्ररी बुझिछौ । त्यसैले त पुरुषको सट-पाईन्ट पनि तिमीले पहिरिदियौ । ठिकै छ, राम्रो छ “महिला र पुरुष एउटै रथको पाङ्ग्रा” । तिम्रो यो विचार समयसापेक्ष छ । दिनहुँ स्याहार्नु पर्ने केश पनि सर्लक्क छाँटिदियौ, यति भए समयको पनि बचत । तिम्रो प्रचलनका यी हरेक क्षेत्रको सरलीकरणले पुरुषको मापनमा पुग्ने प्रचेष्टा गरिरहेका छन् । तर पुरुषहरू पनि तिमीभन्दा के कम ? तिम्रो कानमा लगाउने कुण्डलहरू पुरुषहरूको कानमा पुगेका छन् । तिमीले छाँटेको लामो केश पुरुषहरूको टाउकोमा पुगेका छन् । यो वर्तमान जे होस् उत्साहप्रद् छ ।

महिला अधिकारप्रति तिमी सजग र संवेदनशील छौ भन्ने कुरा त प्रस्तुत दृष्टान्तबाटै स्पष्ट हुन्छ । एक पटक सिनेमा हलको प्राङ्गणमा तिमीलाई मैले लाइनमा उभिएको देखेको थिए । त्यस दिन त तिमी आधुनिकताको एउटा नमूना नै बनेकी थियौ । अर्को दिन मैले तिम्रो घरमा तिम्री नोकर्नी रुँदै कराउँदै गरेको देखेको थिए – “मलाई सन्चो छैन । आज मलाई अस्पताल जान दिनोस् ।”

उसको त्यो बिन्तीको सहानुभूति मैले सुने – नाथे त्यति ज्वरो आउँदा पनि अस्पताल जानुपर्छ ? आज म महिला सम्मेलनमा जानु छ । भरे आउँदा सिटामोल ल्याइदिउँला ।

त्यो सहानुभूति भएको आवाज तिम्रो आमाकै हो । तर तिम्रो मुहारमा त्यतिखेर प्रकाश सपूतको ‘कानमा झुम्का तिम्लाई कसले किन्दियो ?’ गीतमा नाचिरहेको थियो । हैन त ?