ऊ पागल हो । ऊ डिभोर्सी हो । ऊ पागल भएको कारणले डिभोर्स भएको हो या डिभोर्स भएपछि पागल भएकी हो ?

दुबै हैन, म यकिन साथ भन्न सक्छु कि पच्चिस वर्ष पहिले पनि  ऊ पागल नै थिई, जति बेला प्रेमको प्रलोभनमा परेर एक चटकेको पछि लागेर आफ्नो जन्म घर र क्षमता अनि चाहनालाई चटक्क छोडेर उसको घरेलु नोकर र यौनदासी हुन स्वीकार गरेकी थिई । ऊ पागल नै थिई जसले प्रेमको बिरुवा सम्झेर सन्तान जन्माउने र लालनपालन गर्ने जिम्मेवारी निभाउने जमर्को गरी ।

ऊ एउटा घरको चारदिवारभित्र सुरक्षित बसिरही । बिहान झिसमिसेदेखि मध्यरातसम्म घर, चुलो, पाहुना, सासू, नन्द आमाजू, देवर जेठाजु र सन्तानको सेवा गरीरही । कहिले हाँसीहाँसी त कहिले झनक्क रिसाएर पनि, उसले कर्तव्य निभाइरही। पैसा कमाउने वा जागिर खाने रहर र क्षमता भएर पनि, श्रीमानको सहमति नपाएर घरमै थन्किरही।अहिले ऊसँग आफ्नो कमाइ केही छैन । उसको श्रीमान् कमाउने बहानामै घरबाहिर रहिरह्यो र मनग्ये धन, पैसा र प्रतिष्ठा कमायो ।

उसलाई आरोप लाग्यो, अरूले कमाएको बसी बसी खाइस् भन्ने । ऊ क्षमतावान् नारी थिई । बिहेअघि जागिर खाएकै थिई । बिहेपछि बालबच्चा हुर्काउँदै घर धान्न आफूले पनि मिहिनेत गरेकै तर्क लगाएर ऊ सम्हालिई । उसको पच्चीस बर्से हाउसकिपिङ र केयरगिभरको जबमा कहिल्यै तलब तोकिएन, प्रमोसन वा पेन्सन भएन।

पच्चीस वर्षमा सालाखाला पच्चीस दिन जति ऊ सजिएर नारिएर श्रीमानसँग भोजभतेर र समारोहमा पनि जाने अवसर पाई । कामकै सिलसिलामा वर्षमा दुई तीनपटक विदेश जाने श्रीमानसँगै, पच्चीस वर्षमा तीन चारपटक विदेश यात्रा ऊ पनि गएकै हो । यसकै आधारमा उसलाई गतिलो लोग्ने पाएकी भाग्यमानी आइमाई भनेर सहरले चिनेको थियो।

ऊ वास्तवमा सामान्य नारी थिई । ठाउँ ठाउँका सहर र गाउँ घुम्ने रहर गर्थी तर पाइनँ । यौन चाहना पुरा गर्नुपर्ने उमेरमा एक्लै बालबच्चाको रेखदेखमा जुटेर अतृप्त रहिरही । हर्मोनल साइकल, मुड सुइङ, थकान आदि आदिले कहिलेकाहीँ केटाकेटीसँग झर्कने र कहिले जोडले बजाउँदै भाँडा माझ्ने उसको बानी परेको थियो । यस कारण बिस्तारै ऊ रिसाही, अलच्छिनी, अराजक हुँदै अन्ततः  पागलको शब्द-पदवीले सुसज्जित बनी 

उसले ‘श्रीमानले मलाई प्रेम गरेको छ’ भन्ठानेर प्रेमिका हुने सपना देखिरही। पागललाई थाहै भएन, स्वास्नी घरकी दासी हुन् । प्रेमीका त उसका श्रीमान् जस्ता महापुरुषहरुले घरबाहिर घुमाइरहन्छन् । घरमा बालबच्चाको कारणले सम्भोग सम्भव नहुँदा अतृप्त रहनुपर्ने उसले मात्रै हो । उसको श्रीमान्ले त बाहिर होटेलमा प्रेमिकाहरूसँग तृप्ति बटुलिरहेको छ।

उसले खुलेर आफ्नो यौन सन्तुष्टिको माग राखेको दिनबाट उसलाई उसको श्रीमानले चरित्रहीनको दर्जा दियो । जोसँग बोलचाल गरे पनि यौनक्रिया गरेकै आरोप लगायो । ऊ बोलेका, उसले हेरेका हरेक उमेरका हरेक पुरुषलाई  उसकै नाठो करार गर्दै पाइला पाइलामा टोकसिरह्यो । तर प्रेमपूर्ण सम्भोगको माहौल बनाउन सकेन । श्रीमतीको झर्कने बानी आफूले माया, समय अनि साथ नदिएर उत्पन्न भएको हो भन्ने पनि ख्याल गरेन । उल्टै किचकिचे श्रीमतीले टेन्सन दिएको बहानामा प्रेमिकाहरूको सहानुभूति लुटिरह्यो । आफ्नी श्रीमतीसँग अझै टाढिइरह्यो ।

जब घरमा ठाकठुक र वैमनस्यको अवस्था सिर्जना भयो तब पनि ‘म त प्रेम गरेर बिहे गरेकी श्रीमती, छोराछोरीकी आमा, श्रीमानको जीवनमा मेरो अस्तित्व र हक छ’ भन्ने भ्रममा आफ्नो ऊर्जाशील उमेर र जवानी खेर फालिदिई । वर्षौँको तनाव, वैमनस्य, विषाक्त सम्बन्धले शारीरिक र मानसिक रूपमा कमजोर भइसकेपछि, सारा भ्रम र अपेक्षा तोडिएपछि सन्तानमाथि आफूलाई अड्याई । उसले फेरि हुर्किएका सन्तानले माया र साथ दिनेछन् भन्ने आशा र विश्वासमा  श्रीमानसँग अलग हुने निर्णय गरी।

बाहिर हाँसे पनि घरबार बिग्रेको दुःखले उसलाई पोलिरहेकै थियो । त्यसमाथि समाजका नकारात्मक टिप्पणीहरू ! बडो जोडले आफ्नो विक्षिप्त मन छेक्न खोज्थी, तर कता कताबाट बाँध भत्काएर आँखाको डिलसम्म आँसु आइपुगिहाल्थे । गलत नियत र प्रवृत्ति भएका व्यक्तिहरूका अनैतिक प्रस्तावसमेत सामना गरिरही । उसले कहिले रोएर, कहिले रिसाएर त कहिले हाँसेर प्रतिवाद, प्रतिकार र प्रतिउत्तर दिइरही ।

उसले हार मानिन जिन्दगीसँग । अझै विष पिएकी छैन । शरीरमा पेट्रोल खन्याएर वा कतै पासो लगेर मर्नेबारे सोचेकी पनि छैन।

उसले सम्बन्ध विच्छेदपछि, जीवनका सुनौला सपना देखेकी थिई । पच्चीस बर्षे वैवाहिक जीवनको घुटन, पिडा र कुण्ठा बुझ्न सक्ने, ऊप्रति भएको अन्याय महसुस गर्न सक्ने कुनै साहसी र असल पुरुषले उसलाई जीवनसाथी बन्न प्रस्ताव गर्नेछ । उसका छोराछोरीले पनि भन्नेछन्, “आमा ! तिम्रो जवानीमा बाबाको समय, सम्मान र माया तिमीले पाइनौ । हामीलाई हुर्काउँदा तिमीले आफ्ना चाहना र रहरको बलि चढायौ । अब हामी हुर्कियौँ, तिमीलाई साथ दिनेछौँ । एउटा योग्य वर खोजेर बिहे गर आमा ।” र, फेरि चालीसौँ बसन्तमा मधुमासको खुसी बर्सनेछ । तर पागललाई यति पनि थाहा भएन – दराजले पो नयाँ लुगा पाउँछ, मक्किएका लुगाले नयाँ दराज कहाँ पाउँछन् ?

उसले आफ्ना सुनौला सपनाहरू टुटेको त्यति बेला थाहा पाई जति बेला पितृसत्तात्मक समाजले पिलाएको विष पिएर उसका सन्तानले उसैलाई स्वार्थी आमा र खराब आइमाईको संज्ञा दिए ।

तर अझै उसले घुँडा टेकेकी छैन । साहस बटुलेर आफ्नै खुट्टामा उभिइरहेकी छ । उसको उपस्थिति नै कतिका लागि साहस जुटाउने प्रेरणा बनेको छ। बलत्कारी समाजका महिला र पुरुष हरदम उसलाई प्रहार गरिरहेछन्। अबुझहरू उसैलाई दोषी देख्छन् । बुझेकाहरूले बुझ पचाएका छन् । ऊ जस्तै पीडितहरू अझै घरबार जोगाउने र समाजमा इज्जत बचाउने निहुँमा पितृसत्ताको सर्वोच्चता स्वीकारी अपमान सहिरहेका छन् । उसको समर्थन गर्न र उसलाई यो युद्धामा साथ दिन कोही जान सक्दैनन् ।

हेरौँ, यो युद्ध एक डिभोर्सी आइमाई अर्थात् पागलले एक्लै कहिलेसम्म लड्न सक्छे !