वन्दनाजीको घरमा पुग्ने बित्तिकै उहाँले चिसो पानीले हामीलाई स्वागत गर्नुभयो । म त्यस घरमा पुगेको यो पहिलो पटक भए पनि चिरपरिचितझैँ लागिरह्यो । यद्यपि मलाई त्यो टोल नै प्रिय लाग्छ । त्यस टोलका प्रत्येक गल्लीहरूसँग मेरो व्यक्तिगत अतीतको कुनै आत्मिक सम्बन्ध भएझैँ लाग्छ । भनौँ न, बच्चैमा मैले मन नहुँदा नहुँदै छोडिगएको मेरो जन्म गाउँ यही हो । जो वर्षौँसम्म पनि मेरो सपनामा आइरहन्थ्यो ।
एघार बजिसकेको थियो । चाहना, वन्दना, जमुना, टोपेन्द्र र म वन्दनाकै घरमा अरू साथीहरूलाई कुर्दै बस्यौँ । केही बेरमा निराजनको आगमन भयो । निराजनको आगमन कुनै नायकको आगमनभन्दा कम लागेन । जहाँ निराजन पुग्छन् त्यहाँ मान्छेहरूको उत्सुकता अलि भिन्नै हुन्छ । निराजन पुगेको ठाउँमा समस्याहरू सामान्य लाग्छन्, चिन्ताहरू यसै दूर हुन्छन् । भनूँ, निभिसकेको आशाले पुनर्जीवन पाउँछ ।
अँ, निराजनकै पछाडि बसेकी नायिकालाई त धन्नै भुलेको । कल्पना क्या त । कालो लामो कपाल, चम्किला आँखाहरू । शरदको चन्द्रमाजस्तो उज्यालो चेहरा । त्यसमाथि कालो चस्मा, उफ् ! पहिरन उस्तै ।
यो तारिफ होइन, वर्णन मात्र हो ।
उसो त यो कस्मेटिक र आलङ्कारिक सामग्रीको प्रयोगले देखाउने क्षणिक ठाँटबाँट, साजसज्जा र त्यही साजसज्जामाथिको आडम्बर मेरा लागि प्रशंसनीय विषय हुँदै होइन । बरु सारमा यो पितृ सत्ता र रङ्गभेदी व्यवस्थालाई थप बलियो बनाउने अनेकौँ औजारमध्येको एक हो । यसमाथि थुप्रो बहसहरू छेडिएका पनि छन् । तर जसरी पनि सुन्दरी बन्ने ध्याउन्नमा तल्लीन स्त्रीहरूका अघि यस्तो कुरा गर्दा सुतेको बाघलाई चलाउँदाकै हाल हुन्छ भन्ने मलाई थाहा छ । फेरि पनि चित्त नबुझेको कुरामा खुलेआम बोलिन्छ । चाहे बाघ बिउँझियोस् या बिरालो ।
लेखक सरिता तिवारीले कतै लेखेकी थिइन्-
“लैङ्गिक पक्षधरता त्यति बेला सङ्कटमा पर्छ जब कुनै महिला विचारहीन,नैतिकहीन राजनीतिका एकोहोरो पिछलग्गू हुन्छन् । मेरा लागि विचार प्राथमिक हो र लिङ्ग,जात, वर्ग लगायतकाे पक्षधरता त्यसैको अनुगामी । महिला महिला भनेरै गरेको ‘गर्व’ राष्ट्रपतिका कर्मले ‘सर्म’ बनाइरहेको आलो साक्ष्य छ । जुन हरेकपल्ट थाप्लामाथि घन बजारिए जसरी रननन हुने गरी दुख्छ । यस कारण म महिला सहभागिता र नेतृत्वको निशर्त पक्षपाती होइन ।
विचारले दिमाग अर्जाप्न कहिल्यै तयार नहुने कस्मेटिक र आलङ्कारिक अर्थका, जैविक रूपले मात्र महिलाको जिन्दगी बाँचिरहेका सामन्ती-प्रतिगमनकारी विचार बोक्ने महिलाभन्दा Rational र न्यायिक चेत भएका पुरुषहरू कयौँ गुणा नजिकका लाग्छन् ।”
वाह ! मलाई दिदीको यो कुरा अहिलेसम्म स्मरण छ ।
किनकि कहिलेकहीँ म महिला मित्रहरूको छेउमा बस्दा उनीहरूले उप्काउने प्रसङ्ग र त्यसैमाथि गर्ने बहसहरू यस प्रकारका पाउने गर्छु-
‘ओइ सुन् न । त्यो केटाको त कस्तो चिउँडो नै नमिलेको । त्यो केटीको दाँत कस्तो बाङ्गोटिङ्गो । …बिहेपछि बच्चा क्युट जन्मिन्न कि भन्ने चिन्ता ला’छ यार । क्युट जन्मे त ठिकै छ तर भद्दा जन्म्यो भने ? (मानौँ कि बच्चा क्युट जन्मेन भने यिनीहरूको यो जन्म व्यर्थ जान्छ । बच्चा भद्दा शरीर लिएर जन्म्यो भने त यिनले घाँटी निमोठेरै मार्छन् होला । उता, ईसाको तेस्रो शताब्दीतिर युनानमा भद्दा जिउ लिएरै जन्मेका प्लेटोको इतिहास भने यिनका क्युट भनिएका बच्चाले बनाउने कुरूप इतिहासभन्दा बेग्लै छ) अँ सुन् न- त्यो त कस्तो कालो यार । कुरूप पनि देख्नै नसकिने गरी ।’
मानौँ कि कालो छाला अभिशाप नै हो । विश्व इतिहासका विभिन्न कालखण्डमा अश्वेतहरूमाथि भएका बर्बर र पाशविक अत्याचारहरू सुन्दै रगत उम्लन्छ । मिल्ने भए विगतमै फर्केर ती क्रूर श्वेत अत्याचारीहरूलाई जिउँदै जलाऊँ झैँ हुन्छ । फेरि दायाँबायाँ हेर्छु, आफ्नै छेउछाउमा छन् तिनै नरपशुहरूका जागित्र छाया । हाय !
बच्चा क्युट हुनै पर्ने जिद्दी आफैँमा एउटा कुरूपता हो । वैचारिक कुरूपता । फेरि यिनीहरू नै भन्छन्, ‘संसार कहाँ पुगिसक्यो, नेपालीहरू खत्तम छन्, मूर्ख छन्, यो छन्, त्यो छन्….।’
जसरी पनि सुन्दरजस्तो देखिनुपर्ने बाध्यताको भारले किचिएर मान्छे जीवनको बहुमूल्य समय शृङ्गारमा बिताउँछन् । आफ्नै समय हो, बिताउन्, ठिकै छ । तर वास्तवमा सुन्दरता भनेको मानिसको प्रिय दर्शनमा हुन्छ, प्रसन्न हेराइमा हुन्छ । यो अमूर्त वा हार्दिक विषय हो । यही प्रसङ्गमा चिनियाँ दार्शनिक कन्फ्युसियस भन्छन्- “सृष्टिका प्रत्येक वस्तु सुन्दर देखिन्छन् । बस्, तिमी प्रसन्न चित्तले हेर्नू ।”
यति भनिसकेपछि मलाई कहाँ कहाँबाट केके गाली आउँछ, कति ब्याक बाइटिङ हुन्छ भन्ने कुराको अनुमान लगाउन सक्छु । तर चिन्तन नेपाल कसैका गालीतिर टेरपुच्छर लाउने मान्छे भए पो ! बेठिक लागेका कुरामाथि निर्धक्क प्रहार गर्ने हो । कसैका गालीका डरले चुप बस्न सिकेको भए चिन्तन नेपाल आजसम्म महान् मान्छे बनिसक्थ्यो ।
खैर ! मैले बेठिक भनेका कुरा बेठिक नहुन पनि सक्छन् । त्यसैले सौन्दर्यबारेको यस विषयलाई थप बहसका लागि थाँती राखौँ ।
अँ, कल्पनाजी मोटरसाइकलबाट उत्रेर हामीतिर आउँदै भन्नुभयो- “नमस्कार है सबैलाई ।”
जे होस्, कल्पनाजीको सबैसँग खुलेर प्रस्तुत हुने बानी प्रिय लाग्छ । मन नपर्ने मान्छेसँग पनि हाँसेर बोल्नु उहाँको विशेषता हो । अरूको त के कुरा मैसँग पनि उहाँ कहिलेकहीँ झुक्किएर हाँसिहाल्नुहुन्छ ।
मान्छेको हाँसोभित्र सधैँ प्रसन्नता मात्र हुँदैन, ईर्ष्या पनि हुन्छ भन्ने कुरा मैले कल्पनाजीबाटै सिकेको हुँ ।
हामी गफ गर्दै बस्यौँ । एक छिनमा प्रदीप पनि आउनुभयो । बस्, उहाँकै प्रतीक्षा थियो, उहाँ आएपछि हामी छुट्ने तयारी गर्यौँ । चाहनाको स्कुटरपछाडि वन्दना बस्नुभयो । टोपेन्द्रको पछि प्रदीप, जमुनाको पछि कल्पना । अनि म निराजनको पछाडि । हामीलाई गाभर भ्याली जानू थियो । हाम्रो यात्राले एउटा रफ्तार लियो ।
गाउँ पार गरेपछि जङ्गलको बिचबाट बाटो गयो । निराजनले त्यहाँका सबै ठाउँहरू एकेक गरी मलाई चिनाउँदै जानुभयो । कहीँ समथर खेतहरू आउँथेँ, कहीँ फेरि जङ्गल सुरु हुन्थ्यो । बाटोका वरिपरि ठिङ्ग उभिएका रुखहरू हाम्रै स्वागतमा उभिएझैँ प्रतीत हुन्थ्यो । लाग्थ्यो, हावाको स्पर्शमा हल्लिरहने पातहरूले हामीलाई नै शुभकामना दिँदै थिए ।
अलि अगाडि गएपछि सुरु भयो उजाड तर सुन्दर देखिने डाँडाहरूको शृङ्खला । अहो ! पृथ्वीमाथि सुतेझैँ देखिने ससाना थुम्को आकारका बुट्यानहरूले भरिएको । अनन्तसम्म त्यस्तै । कति सुन्दर र अद्भुत हुन्छ कुनै कुनै भूगोलको समीकरण । त्यतै हेरेर जुनी बिताइदिऊँ जस्तो । तर रफ्तारमा कुदिरहेको मोटरसाइकलले कहाँ बुझ्थ्यो र हाम्रो मनको कुरा । मैले मन त्यतै छोडिदिएँ । शरीर बोकेर कुदिगयो निष्ठुर मोटरसाइकल । बिस्तारै ती दृश्यहरू पनि ओझेल पर्दै गए र निस्कियौँ रत्न राजमार्गको बिचमा ।
यसको केही बेरमा हामी गाभर भ्यालीको गेटभित्र पस्यौँ । भित्र पस्ने बित्तिकै हामी सरासर एउटा चौतारीमुनि बसेर केही बेर आराम गर्यौँ । बडो रमाइला गफहरू हुँदै थिए । यत्तिकैमा कल्ले फोटो खिच्ने कुरो निकालिदिए । अब भने फोटोकै लागि तँछाडमछाड सुरु भयो । सबैले फोटो खिचेको देखेपछि मैले पनि एउटा खतरा पोज दिएर बसेको थिएँ, जमुना म्यामको व्यङ्ग्य आयो- “वाउ ! सत्रौँ शताब्दीको पोज हो कि के हो ?”
बल्लतल्ल आएको पोज पनि सत्रौँ शताब्दीको परेर मरेछ । जमुना म्यामलाई कुन पोज कुन शताब्दीको हो भन्ने समेत थाहा हुने । हरे ! मलाई यता ‘प्रतिकूलता’ शब्दको अर्थ समेत थाहा छैन ।
उता फोटोको लागि पोज दिएर उभिइरहेका टोपेन्द्रतिर हेर्दै जमुना म्याम बोल्नुभयो, “वाउ ! मगर पनि बाहुनजस्तै हेन्सम देखिइरा’छ त यार !”
हेन्समजति बाहुन मात्र हुने रहेछन् भन्ने कुरो बल्ल थाहा पाएँ ।
सौन्दर्यमा पनि जातीय पूर्वाग्रह । हाय हाय !
अँ, म पोजमै तल्लीन थिएँ, एक्कासि सुरिलो आवाजमा गीत सुनियो- “म काउली…. ।” गीतसँगै सबै गल्ल हाँसे । के रहेछ भनेर हेरेको त कल्पनाजीले टिकटक बनाउँदै पो हुनुहुँदो रेछ ।
हैन हौ ! यो चिन्तन मुलाले ‘काउली’ शीर्षक दिएर भन्न खोजेको यत्ति नै हो त ?
थियो नि हौ अरू पनि । तर के अर्नु ! केही कुरा त नभनीकनै पनि बुझ्नू न ।
०००००
प्रदीप चाहिँ ब्लग बनाउनमै व्यस्त हुनुहुन्थ्यो । बिचबिचमा अन्तर्वार्ता लिइरहनुहुन्थ्यो । म चाहिँ फाट्टफुट्ट कविता सुनाइरहेको हुन्थेँ ।
मलाई फोटो खिच्नु थियो । वन्दना, चाहना र टोपेन्द्रसँग भएर ।
कस्तै परिस्थितिमा पनि अविचलित रहने वन्दना म्यामको सरलता, सचेतता र जिम्मेवारीपन अनि क्षणमै रिसाउने र क्षणमै हाँसिहाल्ने चाहना मिसको चञ्चलता, मिजास आदि जीवनका अपरिहार्य गुण लाग्छन् । टोपेन्द्र चञ्चलतामा चाहनाभन्दा एक इन्च बढी ! संसारमा तपाईँहरू र तपाईँहरूजस्तै मान्छे छन्, र त संसार प्रिय लाग्छ । कहिलेकहीँ सोच्छु, तपाईँजस्तै मान्छे नहुँदा हुन् त, संसार कति कुरूप देखिँदो हो !
उहाँहरूसँग फोटो लिइसकेपछि हामी फेरि गफमै तानियौँ ।
केही समय यसरी नै बितायौँ । अब भने कुनै रिसोर्टतिर जाने निधो गर्यौँ । जाँदै गर्दा बाटोमा बाघ, हात्ती लगायतका जनावरहरूका मूर्ति अवलोकन गर्दै अघि बढ्यौँ । रिसोर्टमा पसेपछि फेरि सुरु भयो गफगाफ । छेवैमा कलकल झरनाको आवाजले मेरो पहाडको गाउँ सम्झाइरहेको थियो । साथीहरू गफमा व्यस्त । बेलाबेला बेस्सरी हाँस्थे । म भने झरनाको सङ्गीतमै मन्त्रमुग्ध थिएँ ।
साथीहरूले केही खानेकुरा अर्डर गरे । अब खानमा व्यस्त । खाएर सकेपछि म्युजिक प्लेयरमा गीत बज्न सुरु भयो । बस्, गीतसँगै नाच्ने क्रम पनि सुरु । सबै जना नाच्नुभयो । मबाहेक ।
सायद नाचेर धित पुगेकै थिएन, म्युजिक प्लेयरको सास मधुरो हुँदै गयो । म्युजिकबिना त नाच्न पनि नसकिँदो रहेछ । यही बहानामा निस्कियौँ ।
झन्डै ४ बजिसकेको थियो । बाहिर आएर दुईचार वटा सामूहिक फोटो लिएपछि फर्किने भयौँ । फेरि पनि अघिजस्तै प्रत्येक साधनमा दुई दुई जना बस्यौँ र रमाउँदै फर्कियौँ । यसरी बित्यो हाम्रो त्यो दिन, अर्थात् ०७९ साल चैत महिनाको २५ गते ।
प्रिय टोपेन्द्र, प्रदीप, निराजन, वन्दना र चाहना ! धेरै धेरै प्रेम र सम्झना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।