घडी हेरेँ । समय बरफ भएर बसेको छ । घाम चर्को गरी लागे पनि मेरो शरीर माइनस तापक्रममा झैँ लगलग कामेको छ । चारैतिरको अँध्यारो, सूर्यले पनि कालो रूप लिएको छ । मलाई कसैले रोटेपिङमा राखेर घुमाएझैँ घुमाइरहेको छ ।

‘ब्रो, विड हो ?’

‘हो ब्रो । विड नै हो । नपत्याए लठ्ठ परेका केटीलाई सोधेर हेर ।’, सँधैको प्रश्नबाट वाक्क भएपछि मैले भनेँ । उसले मलाई ज्युँदै खाउँला झैँ गरेर हेर्यो । मानौँ, मैले उसको कुनै अङ्ग तस्करी गरेर बिक्री गरेको छु । हुनसक्छ, पशुपति क्षेत्र उसको तरकारी बारी हो, र म त्यहीँबाट उसले फलाएको बोडी र काँक्रा चोरेर भाग्दैछु ।

‘तैँले तेस्तो भन्न नहुने हो ।’ , मृगस्थली अगाडिको बेन्चमा बसेर टोलाइरहेको बेला अचानक उसले भनी । मैले मन्दिरबाट नजर उठाएर ऊमाथि बिछ्याएँ ।

यो त्यही ठाउँ हो जहाँ हजार वर्षअघि उसको र मेरो पहिलो भेट भएको थियो । उसलाई ‘यतिका दिनसम्म कहाँ हराइस् ?’ भनेर प्रश्न गर्न मन नलागेको हैन मलाई । तर मनलाई एकछिन मनकै हालमा छोडेर उसको प्रश्नको बदलामा प्रश्न गरेँ, “त्यसो हो भने मैले के भन्नुपर्थ्यो ? ”

उसले एकचोटि आँखा झिम्काई । दुबै एकसाथ । अचानक सब मेचहरू रित्ता भए । निलो उज्यालो आकाश कालोमैलो भएर आयो । उस्तैगरी परेवाहरू एकसाथ मन्दिरको छानो छोडेर उडे । एकसाथ परिक्रमा लगाएर आएर उही आसनमा बसे । घण्टीहरू एकसाथ बजे । शङ्ख एकनास बजे । धुँवा एकतमास उडे । अनि बिस्तारै मसँग कुनै दिन प्रेममा छु भन्नेहरू मेरो टाउकोमा आएर चिच्याउन लागे ।

घडी हेरेँ । समय बरफ भएर बसेको छ । घाम चर्को गरी लागे पनि मेरो शरीर माइनस तापक्रममा झैँ लगलग कामेको छ । चारैतिरको अँध्यारो, सूर्यले पनि कालो रूप लिएको छ । मलाई कसैले रोटेपिङमा राखेर घुमाएझैँ घुमाइरहेको छ ।

म भ्यात्त भुइँमा लढ्छु ।

‘तैँले दिउँसोको बोली फिर्ता लिन्छस् कि तेरो अन्त्य आजै घोषणा गरौँ ?’, मसँग अचाक्ली प्रेममा परेकी मेरी बहिनिले एकाएक यस्तो भनेपछि म औधी डराएँ । हुन पनि ऊ मिथ्या हो । तर उसले चाहेमा जे पनि गर्न सक्नेचाहिँ सत्य हो । अब फिर्ता लिने कुरामा बेफिकर भएर भन्नुपर्दा कोही पनि मलाई लिएर आकर्षित छैनन् । केटी त दूरको बात, मैले खाने के के जाती टी पनि छैन । किनकि जुन गाई वा भैंसीको दूधको चिया म पिउँछु, त्यो त उसले मेरो लागि भनेर पनि दिएकी हैन ।

‘ल मैले कबुल गरें, कोही केटी लठ्ठ छैन । के अब पशुपति क्षेत्रमा फेरि कसैले विडको लागि मलाई सोध्ने छैन त ? के कुनै भष्मे डनले मेरो बाटो छेक्ने छैन त ?’, हरेकचोटि पशुपतिको प्रसादमा यहाँको कोषले मलाई अफिम दिएको छ । मेरो रोजी फोटो खिचाउँछे अनि त्यो आएको पैसाले म रोटी खान्छु । तर बर्दीमा आएको कोषको अर्को गुन्डाले समाएर लैजान्छ । ५ हजारको दक्षिणा भेटी चढाएपछि उसले भन्छ, “यहाँ फोटो खिच्नु गैरकानुनी हो ।”

अनि टेन्डर भनेर उ जेन्डर डिस्कृमिनेन्ट गरेझैं उसैको पकेटमा महिनामा एक लाख उठाउन तयार बसेको छ गैरकानुनी काम गराएर । उसले भनेको अब फोटो खिचे हुन्छ किनकी उ गरम भैसकेको छ । अब यदि म गरम भएर कुनै नरमलाई झरम पारें भने जिम्मा कसले लिन्छ ?

घाम पुर्वबाट उदाउने जति सत्य हो फोटो खिच्न गैरकानुनी कुरा त्यतिनै । तर गैर हर्कत गरेपछी भने त्यो वैध भैसकेको छ । यो कुरा ठ्याक्कै मेरि बहिनी जस्तै छ । उ जन्मिएकी छैन त्यसैले ज्युँदो छे यदि उ यहाँ हुन्थी भने म उसको कथाको कल्पना किन गर्थें र ? किन ह्यालोजिनेट भएर उसँग बातिन्थे मेरा ओठहरू ।

‘तैँले विडको कुरा गरिस् तर मैले त भिड र भिडलाई लिएर तैँले गरेको बातको कुरा गरेकी हुँ ।’, ऊ फेरि उदाई जुनसँगै । जुनसँगै त कुनै दिन ऊ अस्ताएकी हो । जुनको वरपर तारा देखिन्छन् कहिलेकाहीँ । कतै त्यही भिडको केही बात त हैन ? मलाई यकिन भएन अनि प्रश्न गरेँ, “कुन भिड अनि कस्तो बात ?”

“बैनीहरू फोटो खिच्ने हो ? आउनुस् राम्रो आउँछ । युनिफर्ममा हुनुन्छ, म नि फर्ममा छु । यहाँ सबै राम्रो, म फर्ममा भएको नराम्रो ।”

“फोटो राम्रो निकाल्छु भन्या हो नि लाटी ।”

आफ्नो बचाउमा मैले जवाफ दिएँ तर मैले त्यो आशयमा भनेको थिइनँ भन्ने उसले बुझिसकेकी थिई । उसको कुरासँग म सहमत थिइनँ, तर विमति पनि थिएन । उसलाई कसैले यही कुरा भन्थ्यो भने ? आफैँलाई प्रश्न गरेँ । म झसङ्ग भएँ । म त साँच्चै विडको चार्जमा रहेछु । सुकेको पातको बोझले यसरी थिचिएछु, कहाँ उभिएर के बोलेँ होस् नै भएन । हजारौँ वर्षको उमेरमा यसभन्दा पहिले म यति निकम्मा थिइनँ । आज मेट्टाउन मन लागेको छ हातको ट्याटु । Because what i did isn’t type of soldier routine.

फेरि भोलि बिहान हुनेछ । फेरि म पशुपतिको बिउटिफुल डाँडामा उभिनेछु । फेरि तस्बिर खिच्न सोध्नेछु, तर फेरि कसैको आँखामा हेरेर म फर्ममा छु भन्न सक्दिनँ । किनकि फर्ममा त जनावर पालिन्छ, मान्छे हैन । मान्छेले त बरु जनावरलाई पो पाल्ने हो, म मान्छे हुँ कुनै बन्धनमा बाँधिएको जनावर हैन । I am man means soldier and i do respect girls (the most beautiful creature in this world).