जुन सेवा सुविधाहरू सजिलै उपलब्ध हुन्छन्, ती सेवा सुविधाहरूको सजिलै दुरूपयोग हुने सम्भावना अत्याधिक रहन्छ। जसमध्ये सामाजिक सञ्जाल पनि एक हो। यहाँ सामाजिक सञ्जाल भन्नाले फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक, युट्युब, ह्वाट्स एप आदि बुझिन्छ। सन् २०२१ को एउटा तथ्याङ्कले विश्वको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी मानिसहरू यी यावत् सञ्जालहरूमा सक्रिय रहेको देखाउँछ। यी मानिसहरूमध्ये कतिले केवल प्रयोग गरे होलान्? कतिले वास्तविक अर्थमा सदुपयोग गरे होलान्? र, कतिले दुरूपयोग गरे होलान्?
सामाजिक सञ्जालहरू कुनै पनि ठाउँमा, कुनै पनि समय, कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ। यसमा उमेर हदम्याद र कम्युनिटी गाइडलाइन्स त्यति प्रभावकारी हुन सकेको देखिँदैन। यसर्थ सामाजिक सञ्जालहरूको जति धेरै सदुपयोग भएको छ, त्यति नै धेरै दुरूपयोग भएको पाइन्छ। अझ यसो भनौँ, यी सुविधाहरू जति धेरै सजिलै दुरूपयोग हुन सक्छन्, त्यतिनै धेरै कठिनाइका साथ सदुपयोग हुन सक्छन्।
अधिकांश मानिसहरू जीवनको कुनै न कुनै क्षण एक वा एकभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्न पुग्छन्। यही सिलसिलामा उनीहरू कुनै न कुनै क्षण सोही सामाजिक सञ्जालहरूको दुरूपयोग गर्न पनि पुग्छन्। उनीहरू सहजै सदुपयोगको चरणमा जाने सम्भावना निकै न्यून रहन्छ। जसकारण उनीहरू बारम्बार विवादमा आउने गर्छन्। उनीहरूलाई आफ्नो सामाजिक पद र प्रतिष्ठा जोगाउनकै लागि ठाउँठाउँमा, व्यक्तिपिच्छे स्पष्टीकरण दिँदै हिँड्नुपर्ने परिस्थिति सिर्जना हुन सक्छ। यसबाट प्रायः मानिसहरूमा ‘सोसल मिडिया एटिकेट’बारे चेत निकै कम छ भन्ने बुझ्न सकिन्छ। स्पष्ट रूपमा भन्नुपर्दा, उनीहरू सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने, त्यसमा के गर्ने, के नगर्ने भन्ने विषयहरूबारे अनभिज्ञ रहेको बुझ्न सकिन्छ। अब तिनै विषयहरू बारे संक्षेपमा वर्णन गरौँ।
अत्याधिक पोस्ट नगर्ने
सामाजिक सञ्जालमा आफ्ना गतिविधि तथा कार्यहरू बारे फोटो, भिडियो, स्टाटस (निजी विचार), स्टोरी आदि पोस्ट गर्न पाउनु व्यक्तिगत रोजाइ एवं स्वतन्त्रताको विषय हो। तर यसो भन्दैमा ओभरपोस्टिङ (अत्याधिक पोस्ट) गर्नु भने उचित होइन। सामाजिक सञ्जालमा राखिएका पोस्टहरूकै आधारमा मानिसहरूले तपाईंलाई मूल्याङ्कन गर्न सक्छन्। तपाईंबारे विविध अड्कलबाजी, अवधारणाहरू तय गर्न सक्छन्। जस्तो कि तपाईं एक अव्यवहारिक, अपरिपक्व, बेकामे, उत्ताउलो, कम बुद्धिमत्ता भएको, मानसिक रूपमा अस्थिर व्यक्तिको रूपमा पनि बुझ्न सक्छन्। त्यसैगरी अत्याधिक पोस्ट गरेकै कारण तपाईंले गर्ने यावत् पोस्टहरूको महत्व र विश्वसनीयता गुम्दै जान्छ। मानिसहरू तपाईं प्रति आकर्षित हुन सक्दैनन्। अनि अनफलो गरिदिन्छन्। यसको ठीक विपरीत, जति तपाईं सामाजिक सञ्जालमा निष्क्रिय हुनुहुन्छ, त्यतिनै तपाईंको महत्व बढ्दै जान्छ। तपाईंको खोजी हुँदै जान्छ। जति तपाईं त्यसमा आफ्ना गतिविधिहरू विरलै पोस्ट गर्नुहुन्छ, त्यतिनै तपाईं र तपाईंको पोस्टको महत्व बढ्दै जान्छ। तपाईं आदर्श व्यक्तित्व बन्ने सम्भावना उच्च रहन्छ। त्यसैले तपाईं सामाजिक सञ्जालहरूमा सीमित पोस्ट राख्ने गर्नोस्। फेसबुक र इन्स्टाग्राममा हरेक दिन दर्जनौं फोटो वा स्टोरी राख्ने, ट्वीटरमा सेकेण्ड सेकेण्डमा ट्वीट गर्ने र टिकटकमा रमाइलोको नाममा दिनकै दर्जनौं भिडियोहरू राख्ने काम बन्द गर्नोस्। तपाईंलाई पोस्ट गर्नु नै छ भने विशेष क्षणका, महत्व बोकेका, ज्ञानबर्दक, उद्देश्य उन्मुख फोटो, भिडियो वा विचारहरू पोस्ट गर्नोस्। सकेसम्म हप्ताको एकदेखि दुईवटा मात्र पोस्ट गर्नोस्। अर्को महत्वपूर्ण कुरा, रक्सीले मातेको बेला कुनै पोस्ट नगर्नोस्। सामाजिक सञ्जालबाट पूर्ण रूपमा अलग रहनोस्। अन्यथा तपाईं अत्याधिक पोस्ट गर्ने मनस्थितिमा पुग्नुहुन्छ। जसकारण निकट भविष्यमा विभिन्न जटिलताहरू, उलझनहरू आइपर्न सक्छन्।
शोअपमा नअल्मलिने
आफ्नो दैनिकी, व्यक्तिगत र व्यवसायिक गतिविधिहरू, उपलब्धिहरू तथा आफूमा आएका परिवर्तनहरू अरु मानिसहरू माझ सेयर गर्नु व्यक्तिगत अधिकारको कुरा हो। यस कार्यमा कहीँ कतैबाट, कसैबाट पनि अवरोध वा यसो गर उसो गर भन्ने किसिमको आदेश आउनु हुँदैन। तर यसो भनिरहँदा एक व्यक्तिलाई सामाजिक सञ्जालमा के-कस्ता कुराहरू देखाउन, सेयर गर्न मिल्ने वा नमिल्ने, के-कति गर्दा शोअप (अति प्रदर्शन) को स्तरमा झर्न सकिन्छ या अशोभनीय कार्य देखिन्छ भन्ने ज्ञान हुनु अत्यावश्यक छ।
मानौँ, तपाईं आफ्नो स्वास्थ्य स्थिति बारे सचेत हुनुहुन्छ। शरीरको तौल घटाउन, शारीरिक सुगठन कायम गर्न सन्तुलित भोजन साथसाथै व्यायाम गर्नमा पनि सक्रिय हुनुहुन्छ। अब तपाईं सोही गतिविधिहरू हरेक दिन फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालमा राख्नुभयो भने? आज यति घण्टा दौडिएँ, व्यायामशाला भित्र यस्ता व्यायामहरू गरेँ तथा यो डाइट प्लान फलो गरेको छु भनेर सेल्फी, फोटो र भिडियोहरू मार्फत अपडेट गराउनु भयो भने? व्यायाम गर्ने प्रक्रिया र त्यस सम्बन्धित सामाग्रीहरू नियमित पोस्ट गर्नुभयो भने? तपाईंको सम्पूर्ण ध्यान, समय र उर्जा व्यायाम गर्नमा भन्दा पनि व्यायाम कार्य देखाउनमै बढी खर्च हुन्छ। परिणामस्वरूप व्यायाम गरेर जुन स्तरको फाइदा पाउनुपर्ने हो, त्यसबाट तपाईं वञ्चित हुनुहुन्छ। तपाईंले अरुहरूलाई आफू स्वास्थ्य, व्यायाम प्रति गम्भीर रहेको देखाउन सफल भएपनि तपाईंको स्वास्थ्य स्थिति र शारीरिक आकर्षणमा भने कुनै परिवर्तन देख्न सकिँदैन। त्यसकारण मानिसहरूलाई व्यायामका प्रक्रियागत कुराहरू देखाएर दिक्क बनाउने होइन, आफूले प्राप्त गरेको परिणामहरूले आश्चर्यचकित बनाउनुहोस्।
त्यसैगरी मानौँ, तपाईं प्रेममा बस्नुभयो। अब तपाईं प्रेमी वा प्रेमिकासँग डेटिङ जाँदाका क्षणहरू, एकले अर्कालाई प्रेमभाव व्यक्त गरेका तस्बिरहरू, प्रेमी/प्रेमिकाको नाममा बनाइएका टाटु, म्यासेन्जरमा कुरा गर्दाको समयावधि रिल वा स्टोरीको रूपमा सामाजिक सञ्जालमा अत्याधिक पोस्ट गर्नुभयो भने? यी कुराहरूले तपाईंहरूबीच प्रेमको गहिराइ होइन, असुरक्षा र अपरिपक्वता देखाउँछ। तपाईं प्रेममा कत्तिको गम्भीर र प्रतिबद्ध हुनुहुन्छ भन्ने होइन, तपाईं कति बेकामे र नाटकीय हुनुहुन्छ भन्ने देखाउँछ। साँचो प्रेममा रहँदा देखाउनुपर्ने आवश्यकता महसुस नै हुँदैन। जब देखाउनुपर्ने आवश्यकता अनुभूत हुन्छ, बुझ्नुस् त्यहाँ तपाईंहरूबीच विश्वासको सम्बन्ध छैन, साँचो प्रेम छैन।
त्यसैगरी मानौँ, तपाईंले नसोचेको व्यवसायिक सफलता पाउनुभयो। प्रसिद्धि सँगै सम्बृद्धि पनि प्राप्त गर्नुभयो। अब तपाईंले महङ्गो गरगहना किन्नुभयो, अत्याधुनिक विद्युतीय उपकरणहरू उपभोग गर्नुभयो, हरेक वर्ष ब्रान्डेड गाडी चढ्नुभयो, अन्तर्राष्ट्रिय भ्रमणमा निस्कनुभयो, विलासी होटलमा बस्नुभयो र यी सम्पूर्ण गतिविधिहरू सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो भने? मानिसहरू तपाईंप्रति आकर्षित हुन सक्छन्। केही हदसम्म तपाईंको महत्व बढ्न सक्छ, तर जुन दिन तपाईं बाहिरी रूपमा भरिपूर्ण देखिएता पनि भित्री रूपमा रित्तो रहेको रहस्य उजागर हुन्छ, त्यो दिन तपाईंको आकर्षण र महत्व शून्यतामा झर्छ। भनाइको तात्पर्य, मानिसहरूको तपाईंप्रतिको आकर्षण र उनीहरूले तपाईंलाई दिने महत्व छोटो समयावधिको लागि मात्र कायम रहन्छ। त्यसकारण अथाह धन सम्पत्ति जोडेर, त्यसको प्रदर्शन गरेर या तडकभडक जीवनशैली अपनाएर होइन, सचेतनाको स्तर बढाएर आफूलाई आकर्षक एवं मूल्यवान् बनाउने कोसिस गर्नोस्।
गोपनीयता कायम राख्ने
सबैको प्राइभेट लाइफ (निजी जीवन) हुन्छ। उनीहरू आफ्नो गोपनीयता कायम होस्, एकअर्काबीच निश्चित दुरी होस् र अनावश्यक रूपमा हस्तक्षेप नहोस् भन्ने चाहन्छन्। त्यसैले हामी अन्तरक्रियामा वा कुनै पनि किसिमको सम्बन्धमा रहँदा उनीहरूको गोपनीयताको उचित सम्मान गर्न सक्नुपर्छ।
मानौँ, तपाईंले कुनै एउटा साथीलाई फेसबुक वा इन्स्टाग्राममा चौबिसै घन्टा अनलाइन देख्नुभयो। अब तपाईं बोल्नका लागि भनेर कल गर्नुभयो तर ती साथीले तपाईंको कल बेवास्ता वा अस्वीकार गरिदिए? नराम्रो महसुस नगर्नोस्। लगालग कल नगर्नोस्। कुनै पनि व्यक्ति अनलाइन बसेको छ भन्नुको अर्थ ऊ तपाईंको लागि उपलब्ध छ भन्ने होइन। ऊ खोज अनुसन्धान वा लेखन कार्यमा व्यस्त भएको हुनसक्छ। ऊ आफ्नो विशेष मान्छे वा परिवारसँग बोलिरहेको हुनसक्छ। ऊ सामाजिक सञ्जालमा अनलाइन बसेरै सुतिरहेको हुनसक्छ। व्यक्तिगत वा व्यवसायिक जीवनमा प्राप्त अस्वीकृति र असफलताका कारण उसको मुड (मनस्थिति) सही नहुन पनि सक्छ। त्यसैले अनलाइनमा तपाईंको कल अस्वीकृत हुँदा तुरुन्तै कल नगर्नोस्। उताबाट आउने कलको प्रतिक्षामा रहनोस्। यदि कुनै प्रतिक्रिया वा कल नआएको खण्डमा म्यासेज छोड्ने, केही समयपछि सम्पर्क गर्ने वा अर्को दिन सबेरै सम्पर्क गर्ने कोसिस गर्नोस् । एउटा विशेष ख्याल गर्नुपर्ने कुरा, बेलुकीको समयमा (आठ बजेपश्चात) कहिल्यै पनि अनलाइन देखियो भन्दैमा बिना उद्देश्य सम्पर्क गर्ने प्रयत्न नगर्नोस्।
त्यसैगरी मानौँ, तपाईं एउटी महिलासँग प्रेम-सम्बन्धमा रहनुभयो। नयाँ-नयाँ ठाउँमा घुम्न गएर विभिन्न चरणको गुणवत्ता समय पनि व्यतीत गर्नुभयो। यस्तोमा ती महिलासँग बिताएका रमाइला पलहरू अनुमतिबिना सामाजिक सञ्जालमा पोस्ट गर्ने, ट्याग गर्ने नगर्नोस्। त्यसमाथि प्रेमिकाको अरु पुरुष साथीहरूले लाइक, कमेन्ट गर्दा असुरक्षित महसुस गर्ने, अनावश्यक चियोचासो राख्ने र स्पष्टीकरण माग्ने पनि नगर्नोस्। उनीलाई त्यसो गरेको मन नपर्न सक्छ। उनी रिसाउन सक्छिन्। यसलाई अपव्याख्या नगर्नोस् । एकअर्काबिचको प्रेम-सम्बन्ध सार्वजनिक गर्दैमा, कुनै पनि कुरा गोप्य नराख्दैमा, दूरी घटाउँदैमा त्यो प्रेम-सम्बन्ध विशेष वा गहिरो हुन्छ भन्ठान्नु गलत बुझाइ हो । त्यसैले प्रेमिकाप्रति सतप्रतिशत विश्वास गर्दै गोपनीयताको सम्मान गर्नोस् । हक जमाउने दुष्प्रयास नगर्नोस् ।
अज्ञात व्यक्तिसँग नजोडिने
सामाजिक सञ्जालमा अरु मानिससँग जोडिनुका वा जोडिने कोसिस गर्नुका कयौँ उद्देश्यहरू हुन सक्छन्। कसैको प्रमुख उद्देश्य लिङ्क, साथी सर्कल वृहत् बनाउनु हुन्छ त कसैको मित्रता गाँस्नु। कसैको उद्देश्य भावनात्मक सम्बन्ध जोड्नु हुन्छ त कसैको केवल शारीरिक आवश्यकता परिपूर्ति गर्नु। यस्तोमा सामाजिक सञ्जालमा एड/फलो रिक्वेस्ट आउने र पठाउने क्रम चल्नु सामान्य कुरा हो। सामाजिक सञ्जालमा भेटिने सबै मानिसहरूको नियत, उद्देश्य प्रष्ट बुझ्न सकिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। यद्यपि अधिकांश युवाहरू जो आकर्षक महिला वा पुरुषलाई खोजीखोजी एड/फलो रिक्वेस्ट पठाउँछन्, उनीहरूको उद्देश्य स्पष्ट रहन्छ। उनीहरू केवल भावनात्मक सम्बन्ध स्थापित गर्न या शारीरिक निकटता कायम राख्न या कुनै फाइदा लिन आतुर रहन्छन्। त्यसैले अपरिचित व्यक्तिको एड/फलो रिक्वेस्ट बेवास्ता गरिदिनुस्। तपाईंको साथी वा परिवारले चिनेकासँग मात्र सामाजिक सञ्जालमा जोडिने गर्नोस्। यदि अपरिचित व्यक्तिलाई एक अवसर दिन चाहनुहुन्छ भने उसको पूरा प्रोफाइल हेरेर, फेक एकाउन्ट भएको नभएको निर्क्योल गरेर मात्रै सामाजिक सञ्जालमा जोडिने गर्नोस्। त्यसैगरी तपाईं पनि अज्ञात व्यक्तिसँग जोडिने कोसिस नगर्नोस्। एकपटक एड/फलो रिक्वेस्ट अस्वीकृत हुँदा पनि पटकपटक एड/फलो रिक्वेस्ट पठाउने, डिएम गर्ने नगर्नोस्। ती व्यक्तिले तपाईंलाई सामाजिक सञ्जालमा साथी बनाउन असहज महसुस गरेको हुनसक्छ। तपाईंप्रति विश्वास भाव विकास नभएको पनि हुनसक्छ। त्यसैकारण ती व्यक्तिको अस्वीकृति स्विकार्नु बुद्धिमानी रहन्छ। यति मात्र होइन, तपाईंलाई ब्लक गरिदिँदा पनि अरु नयाँ एकाउन्ट बनाएर एड/फलो रिक्वेस्ट पठाउने, डिएम गर्ने र रिसको झोँकमा अश्लीलता मच्चाउने कुचेष्टा नगर्नोस्। त्यसो गर्नु बचकना हो। त्यसबाट तपाईंको चरित्रहीनता/कुनियत नै झल्किन्छ। जबरजस्ती गरेर, जोडबल गरेर कोही पनि तपाईंको साथी बन्न सक्दैन। सम्बन्ध स्थापित हुने त झन् काल्पानिक कुरा हो। त्यसकारण एकपटक ब्लक खाइसकेपछि ती अज्ञात व्यक्तिबाट अलग रहनु, मित्रताको निम्ति थप कसरत नगर्नु र संयमित रहनुमै दुवैको भलाइ रहन्छ।
कसैको मजाक नउडाउने
अहिले सामाजिक सञ्जालको युगमा जो कोही व्यक्ति ट्रोल हुन, हाँसोको पात्र बन्न समय लाग्दैन। सामाजिक सञ्जालमा पोस्ट/सेयर गरिने, देखिने ट्रोल वा मिमहरू रमाइलोका निम्ति भएतापनि ती ट्रोल वा मिमहरूले भावनामा ठेस पुर्याउन सक्छन्। एकअर्काप्रति विकर्षण, वितृष्णा वा वैरभाव बढाउन, सम्बन्धमा थप तिक्तता पैदा गराउन पनि सक्छन्।
मानौँ, तपाईंलाई कुनै एक मित्रको शारीरिक बनावट र ड्रेसअप कत्तिपनि मन पर्दैन। अब उही साथीले फेसबुक वा इन्स्टाग्राममा फोटो राख्दा तपाईंले हास्यास्पद कमेन्ट गरिदिनु भयो भने? एकदुई पटकका लागि त्यसो गर्दा रमाइलो माहौल सिर्जना हुनसक्छ। तर तपाईंले हाँसउठ्दो बन्ने वहानामा आफ्नै साथीको बारम्बार मजाक उडाउन थाल्नुभयो भने? सो कुराले तपाईंको साथीलाई भावनात्मक पीडा हुनसक्छ। तपाईंहरू बीच रहेको मित्रताको आयु पनि घट्दै जानसक्छ।
त्यसैगरी मानौँ, तपाईं प्रेम-सम्बन्धमा असफल हुनुभयो। यस्तोमा तपाईंले भुतपूर्व प्रेमी वा प्रेमिकाको मजाक उडाउन थाल्नुभयो भने? सामाजिक सञ्जालमा प्रेमी वा प्रेमिकाप्रति लक्षित ट्रोल वा मिमहरू पोस्ट र सेयर गर्नुभयो भने? तपाईंप्रति आकर्षित मानिसहरू तपाईंलाई विश्वास गर्न सक्दैनन् र तपाईंबाट टाढा रहने कोसिस गर्छन्। त्यसमाथि भुतपूर्व प्रेमी वा प्रेमिकाले आफू हाँसोको पात्र बन्न पुगेको थाहा पाए? तपाईं पनि सोही भुतपूर्व प्रेमी वा प्रेमिकाबाट ट्रोल हुन सक्नुहुन्छ। अन्ततः तपाईंहरूबीच पुनः प्रेमभाव जागृत हुने सम्भावनाको ढोका सधैँका लागि बन्द हुनसक्छ। त्यसैले कसैको जीवन अवस्था हेरेर सार्वजनिक रूपमा मजाक उडाउने गल्ती नगर्नोस्।
हेडलाइनको आधारमा प्रतिक्रियात्मक नबन्ने
अनलाइन मिडिया (सञ्चार माध्यमहरू) पाठकहरू, दर्शकहरूको साथ बिना बाँच्न सक्दैनन्। कुनै पनि बेला बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। त्यसैले ती सञ्चार माध्यमहरूले आम मानिसहरूलाई आफ्ना सेवा सुविधाहरूतर्फ आकर्षित गर्न अनेकन् हथकण्डा अपनाएका हुन्छन्। जसमध्ये आकर्षक, चोटिलो हेडलाइनको प्रयोग गर्नु एक प्रभावकारी हतियार हो। यस मामिलामा सञ्चारकर्मीहरू विशेषज्ञ नै हुन्छन्। सञ्चार माध्यमहरूमा देखिने र सुनिने सम्पूर्ण हेडलाइनहरू अन्तिम सत्य हुन सक्दैनन्। यसबारे थप चर्चा गरौँ। हेडलाइन केवल धेरै भन्दा धेरै मानिसहरूको ध्यान खिच्ने, भ्यूज र क्लिकको सङ्ख्या बढाउने उद्देश्यले डिजाइन गरिएको हुन्छ। यसले पूर्ण स्टोरी, पृष्ठभूमि र सत्यता दिन सक्दैन। यसले पूर्ण होइन, अपूर्ण बुझाइको सुनिश्चितता गर्छ। त्यसैगरी धेरैजसो हेडलाइनहरू भ्रामक नै हुने गर्छन्। ती पढ्दा एउटा आशय निस्किन्छ, तर भित्री वास्तविकता भने अर्कै हुन्छ। त्यसैले हेडलाइन देखेकै आधारमा प्रतिक्रिया जनाउनु मुर्खता हो। तपाईंको दिमाग तात्छ, तर उपलब्धि केही हुँदैन। अनलाइन मिडियामा पोस्ट गरिएका कुनै पनि सामाग्रीको शीर्षक पढेर अनावश्यक रूपमा उत्तेजित नहुनुस्। पहिले त्यसलाई अक्षरशः पढ्ने गर्नोस्। अनिमात्र जिम्मेवार भएर, शिष्टता कायम राख्दै आफूलाई लागेका कुराहरू निसंकोच व्यक्त गर्नोस्। सकेसम्म भ्रामक सामाग्रीहरू पोस्ट र सेयर गर्ने सबै अनलाइन मिडिया वा पेजहरू अनफलो गरिदिनुस्।
वादविवादबाट टाढा रहने
विशेषतः फेसबुक, युट्युब र ट्वीटर व्यक्तिगत विचारहरू व्यक्त गर्न सकिने केही सरल माध्यमहरू हुन्। यी माध्यमहरूमा व्यक्त गरिएका विचारहरू सजिलै अस्वीकृत, आलोचित वा विवादास्पद हुन सक्छन्।
मानौँ, तपाईंले फेसबुक वा ट्वीटरमा आफूलाई लागेका कुराहरू, सुझावहरू एकदेखि दुईतीन हरफमा व्यक्त गर्नुभयो। ती विचारहरू, सुझावहरू सबैले रुचाउँछन् र सहमति जनाउँछन् भन्ने छैन। उनीहरूले प्रतिक्रिया स्वरूप आफ्ना धारणाहरू, आलोचनात्मक टिकाटिप्पणीहरू पनि दिन सक्छन्। कारण? तपाईंले जे देख्नुहुन्छ, त्यो अरुले देख्छन् भन्ने छैन। तपाईंले जे बुझ्नुहुन्छ, त्यो अरुले बुझ्छन् भन्ने छैन। तपाईंले जे अनुभूत गर्नुहुन्छ, त्यो पनि अरुले अनुभूत गर्छन् भन्ने छैन। त्यसैले आफूले देखेका, बुझेका र अनुभूत गरेका कुराहरू फेसबुक वा ट्वीटरमा व्यक्त गर्दा अरुबाट असमझदारी, अस्वीकृति र विवाद खडा हुनु स्वभाविकै हो। यस्तोमा प्रति-तर्क दिने प्रयत्न नगर्नोस्।
त्यसैगरी मानौँ, तपाईंले फेसबुक वा युट्युबमा एक राजनीतिक नेताको अन्तरवार्ता हेर्नुभयो। तपाईंलाई ती नेताको विचार, व्यवहार र कार्यशैली मन परेको छैन भने? अवस्यनै तपाईं कमेन्ट बक्समा गएर वा फेसबुक स्टाटस मार्फत आफ्नो रिस पोख्नुहुन्छ। कतिपय अवस्थामा निकै तल्लो स्तरमा झरेर आलोचना गर्न पनि पछि पर्नु हुन्न। यो कुरा ती नेताको समर्थकहरू, अन्धभक्तहरूलाई पच्दैन। उनीहरू तपाईं माथि जाइलाग्न सक्छन्। तपाईं आफ्नो बचाउमा झन् धेरै उग्र हुन सक्नुहुन्छ। कमेन्ट बक्स वादविवाद गर्ने थलो बन्नुका साथै तपाईंको फेसबुक होम पेज कुरूप बन्न जान्छ। यसकारण तपाईंमा तनाव र क्रोधको स्तर झनै उच्च हुनसक्छ। तपाईंले कमेन्ट बक्समा लेखेका कुराहरू तपाईंकै पारिवारिक सदस्यहरूले समेत पढ्न सक्छन्। यस परिस्थितिमा तपाईं जवाफदेही हुन सक्नुहुन्न। त्यसैगरी यदि तपाईंको चेतनाको स्तर बढ्न गयो भने विगतमा लेखिएका पोस्ट र कमेन्टहरू देख्दा र सम्झँदा तपाईंलाई लज्जाबोध हुनसक्छ। त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा वादविवादबाट टाढा रहने कोसिस गर्नोस्। कहिल्यैपनि विवादास्पद पोस्टहरू लेख्ने र सेयर गर्ने नगर्नोस्।
भाइरल मानसिकता त्याग्ने
सामाजिक सञ्जालमा कस्ता कन्टेन्ट वा सामाग्रीहरू भाइरल हुनसक्छन्, त्यसबारे यकिनका साथ भन्न निकै कठिन छ। तर प्रायःजसो मानिसहरू भाइरल हुन, सस्तो लोकप्रियता कमाउन चाहन्छन्। यसै क्रममा हदैसम्मको गतिविधि तथा कार्यहरूमा संलग्न हुन थाल्छन्। इमान्दारिता, नैतिकता, मानवीय संवेदना र संवेदनशीलताको हेक्का राख्दैनन्। केही उदाहरणहरू बारे चर्चा गरौँ।
आम अनलाइन मिडिया हाउसहरू सत्यतथ्य केलाउन, समसामयिक विषय र भुइँमान्छेहरूको कथा सुनाउन भन्दा बढी भाइरल कन्टेन्टहरू खोजी गर्न तथा छाप्नमा नै बढी रुचि राख्छन्। निष्ठाको पत्रकारिता गर्नमा होइन, हेडलाइन वा ब्रेकिङ् न्युज बनाउनमा विश्वास गर्छन्। यसै क्रममा फेक न्युज छाप्न, मृत्यु नभइसकेको सेलिब्रेटी वा राजनीतिज्ञप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न, गैरजिम्मेवार तरिकाले जहाज दुर्घटनाका फोटो र भिडियोहरू सार्वजनिक गर्न हिच्किचाउँदैनन्। अब युट्युब प्रत्रकारहरूको त के कुरा गरौँ! हातमा माइक र क्यामेरा लिएर घरघर धाउँछन्। उनीहरूलाई पृष्ठभूमि बुझ्ने फुर्सद नै हुँदैन। अनि अपमानजनक तरिकाले साधारण मानिसहरूको व्यक्तिगत र व्यवसायिक जीवनमा हस्तक्षेप गर्छन्। अनि सोही भिडियो सामाग्रीहरू एकपटक सोचविचार नगरी फेसबुक र युट्युबमा अपलोड गरिदिन्छन्। यस्ता गतिविधिहरूबाट समाजका मानिसहरू सुसुचित, सुशिक्षित हन सक्दैनन्। समाजमा सद्भाव बढ्ने होइन, सामाजिक खलल भने सिर्जना हुनसक्छ।
त्यसैगरी चेतनाको स्तर कम भएका मानिसहरू भाइरल मानसिकताले ग्रसित हुन्छन्। उनीहरू भाइरल हुने मनसायले फेसबुकमा जे पनि लेख्न र सेयर गर्न सक्छन्। युट्युबमा जस्तो पनि भिडियोहरू अपलोड गर्न सक्छन्। टिकटकमा दुई अर्थ लाग्ने, अश्लील या गुणस्तरहीन कन्टेन्टहरू पनि राख्न सक्छन्। यस्ता गतिविधिहरूबाट कसैलाई पनि फाइदा हुन सक्दैन। समय, उर्जा, बुद्धिमत्ता त्यसै खेर फाल्ने काम हुन्छ। मनोदशा बिगार्ने काम हुन्छ।
त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा भाइरल मानसिकताबाट निर्देशित नहुनुहोस्। नैतिक मूल्य मान्यता, मानवीय संवेदना र संवेदनशीलतामा सम्झौता नगर्नोस्।
असन्तुष्टि नपोख्ने
विगतमा जान सकिँदैन। वर्तमानमा सोचअनुरूप चल्न सकिँदैन। भविष्य अनिश्चित छँदै छ। यसर्थ जीवनमा सहजै पूर्ण सन्तुष्टि प्राप्त गर्न सकिँदैन। एक न एक कुराले दुःखी बनाउँछ। असन्तुष्टिका अनेकन् लहरहरू बग्न सक्छन्। अनि हामी ती असन्तुष्टिहरू सामाजिक सञ्जालमा पोख्न थाल्छौँ। आफ्नो परिस्थिति सँग मिल्दोजुल्दो सामाग्रीहरू पनि सेयर गर्न थाल्छौँ। केही असन्तुष्टिहरू बारे चर्चा गरौँ।
मानौँ, तपाईंले प्रेम-सम्बन्धमा ब्रेकअप वा अस्वीकृति पाउनुभयो। यस्तोमा पीडा अनुभूत हुन्छ नै। यही पीडा भुलाउन फेसबुकमा स्टाटस लेख्न, पोस्ट सेयर गर्न थाल्नुहुन्छ। तपाईंले पोस्ट र सेयर गर्ने स्टाटस र भिडियोहरू प्रेम वा अस्वीकृति सम्बन्धित हुने गर्छन्। तपाईं अरु मानिसहरूबाट सहानुभूति खोज्नु हुन्छ। उनीहरूबाट केही लाइक र कमेन्टहरू पाउनुहोला। तर वास्तवमा भन्नुपर्दा, उनीहरूलाई तपाईंको कुनै पर्वाह हुँदैन। प्रेम-सम्बन्धमा आइपर्ने ब्रेकअप र अस्वीकृति तपाईंको व्यक्तिगत समस्याहरू हुन्। त्यसैले सो समस्याहरूलाई सामाजिक सञ्जालमा पोख्नुको साटो आफै समाधान गर्ने कार्यमा तल्लिन हुनुहोस्।
त्यसैगरी मानौँ, तपाईं एउटा संस्थामा कार्यरत हुनुहुन्छ। यदि तपाईं संस्थामा काम गर्ने वातावरण या कुनै एक सहकर्मीको व्यवहारबाट असन्तुष्ट हुनुभयो भने? यी कुराहरू सामाजिक सञ्जालमा लेख्न हतार नगर्नोस्। सर्वप्रथम काम गर्ने वातावरण ठीक लागेको होइन भने कार्यकारी प्रमुखसँग आफ्ना कुराहरू खुलस्त रूपमा राख्नोस्। सहकर्मीको व्यवहार ठीक लागेको होइन भने ऊसँग एक्लै भेट गर्नोस्। त्यो भेटमा गहन र स्पष्ट संवादलाई प्राथमिकता दिनुहोस्। यसो गर्नाले असमझदारी मेटिन सक्छ। यति गर्दा पनि कुनै परिवर्तन नआएको खण्डमा पूर्वाग्रह बिना नयाँ जागिरको खोजी गर्नोस्। गुणवत्ता सहकर्मी साथीहरूको संगतमा रहने कोसिस गर्नोस्।
त्यसैगरी मानौँ, तपाईं आर्थिक कारोबार कारण कोही एक साथी वा व्यवसायिक पार्टनर सँग असन्तुष्ट हुनुहुन्छ। लामो समयदेखि ती व्यक्तिबाट आउनुपर्ने पैसा पाउनु भएको छैन। ती व्यक्ति सम्पर्कविहीन पनि छन्। अब तपाईंले ती व्यक्तिको फोटो सामाजिक सञ्जालमा राखेर चरित्र हत्याको बाटो रोज्नुभयो भने? केहीजानी भेट हुँदा ती व्यक्तिलाई खुइल्याउने अभिप्रायले भौतिक कार्बाही गरेको भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो भने? तपाईंको पैसा उठ्ने सम्भावना न्यून रहन्छ। ती व्यक्तिसँगको सम्बन्ध अन्त्य हुन्छ। अरु मानिसहरू पनि तपाईंसँग आर्थिक लेनदेन अघि बढाउन चाहँदैनन्।
त्यसैले व्यक्तिगत, व्यवसायिक जीवनमा उत्पन्न हने असन्तुष्टिहरू सामाजिक सञ्जालमा छताछुल्ल पोख्ने नगर्नोस्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।