प्रायः मोबाइलमाको अलर्म बज्नु अगाडि नै उठ्ने म; आज भने अलर्मको सहायताले नै उठायो । मनमा अनेक प्रश्न थिए; तर प्रश्न सोध्ने र उत्तर दिने एउटै पात्र थियो । म पात्रलाई खै किन हो, धेरै सोच्न मन लागेन । बिस्ताराबाट जुरुक्क उठ्यो; नित्य कर्म सकेर मोबाइल चलाउन थाल्यो । मनमा उठेका यावत् प्रश्नको उत्तर सायद शून्य थियो । हुन त मनभित्रको अन्तर्द्वन्द्व; बाहिरी शक्ति मोबाइलले कसरी समाधान गरोस् ?

बिहानको समय भएर होला, चराहरू चिर्बिर् चिर्बिर् गर्दै आफ्नो गुँडबाट आहारा खोज्ने तर्खरमा थिए, सायद । यता म पात्र भने आफैँमा हराइरहेको थियो । एक्कासी उसलाई कोइलीले आज ‘को हो, को हो? भन्न छाडेर ‘आज के गर्छस् त ?’ भन्दै प्रश्न तेर्स्याए जस्तो लाग्यो । उत्तर पाउने आसमा ऊ आफ्नो कोठाको वरिपरि हेर्न थाल्यो । उसका आँखा हिजो मात्र पढ्न सुरु गरेको किताबमा परे । शून्यतामा हराइरहेको उसलाई आज यसै किताबमा हराउन मन लाग्यो, तर भिन्न तरिकाले; जुन उसले सधैँ कल्पना गर्थ्यो तर पूरा भने गरेको थिएन ।

इन्टर्नसिप सुरु भएपछि ओपीडी पर्दाको दिनबाहेक शनिबार बिदा नपाएको उसलाई ‘आज के गर्छस् त ?’ भन्ने प्रश्न सुन्नु बिरलै थियो । शनिबारको दिन, ओपीडीको पालो सोझो अर्थमा भन्दा भाग्यले पाएको बिदाको दिन; उसलाई रमाइलो तरिकाले बिताउन मन थियो । सायद उसका आँखाले देखेको कुरा मनले पनि बुझेछ । हिजो पढ्न सुरु गरेको किताब झोलामा हाली लाग्यो जोर कुसुम पार्कतर्फ । पार्कको नजिकै नारायणी नदी बगिरहेकी थिइन् । नजिकैको चिया पसलबाट चिया मगाएर किताब पल्टाउन सुरु के गरेको थियो; उसको मनमा एउटा प्रश्नले नमिठो झापड हान्यो । कस्तो संजोग ? किताबको कभरमा लेखिएको कुरा र उसको प्रश्न उस्तै उस्तै थियो – “आखिर शून्यको मूल्य के हो त ?”

बालरोग विशेषज्ञ डा. नवराज कोइरालाद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ पढ्न सुरु गरेको उसले हिजो कोठाभित्र बसेर पढ्दा शीर्षकमा खासै ध्यान दिएको थिएन । आज भने लेखकले यसबारे प्रस्ट्याएको कुरा जुन उसले हिजो मात्र पढेको थियो; त्यो कुरा याद आयो । जहाँ लेखकले कत्ति मज्जाले लेखेका थिए; “शून्यको पनि मूल्य हुन्छ ? नहुँदो हो त शून्य हुँदो नै किन हो ? शून्य भनेको एकमा पुग्नुअगाडिको तयारी हो नि । फूल फुल्ने र फल फल्ने वृक्ष उम्रिने माटोमा हो । शून्य पनि अरू अङ्कका मान बढाउने त्यही माटो हो ।”

खै के सोच्यो ? के सम्झियो ? केही पाउने आशमा हो वा नपाउने आशमा, एकैछिन टोलायो । टोलाए पनि नतिजा भने शून्य थियो । उसलाई भने आजको दिन शून्य बनाउनु थिएन । लाग्यो किताबका पाना पल्टाउन । चियाको चुस्कीसँगै उसलाई लेखकले कहिले कर्णाली पुर्‍याउँथे त कहिले ऊ आफैँ पनि कता पुग्थ्यो कता, आफ्नै सोचको सागरमा । उसले पनि लेखकले जस्तै आफ्नै मातृभूमिको सेवा गर्ने सपना देखेको छ । लेखकले उच्च शिक्षा विदेशमा हाँसिल गरे तापनि आफ्नै कर्णालीमा सेवा गरिरहेका थिए । किताबमा आफू बालचिकित्सक भएर कर्णालीको स्वास्थ्य क्षेत्रमा ल्याएका परिवर्तन र आउँदा दिनमा अझै राम्रो बनाउन गरिरहेका प्रयास उल्लेख गरिरहेका थिए ।

त्यतिमात्र पनि होइन, लेखक विभिन्न कथा र उपकथाको माध्यमबाट नाम नै नभएका पात्रहरू प्रयोग गरी समाज रूपान्तरण गर्न महिला शिक्षा र शिशुको उचित पालनपोषणमा जोड दिनु पर्ने बताइरहेका थिए । यता उसलाई फेरि सोच्न बाध्य बनाएको थियो; साँच्चै यो संसारमा आफ्नो नामै थाहा नभएका आमाहरू पनि होलान् ? तर फेरि पढ्दै गर्दा उसलाई लाग्छ, ‘छन् नि !’

कर्णालीमा आफ्नो नाम नै थाहा नभएका आमाहरू थुप्रै छन् । पुस्तकमा जसको आफ्नै सुन्दर कथा छ । तर उनीहरूलाई थाहा छैन, हाम्रो कथा कति प्राकृतिक छ । उनीहरूका लागि त यो सबै कथा केही नहोला तर मलाई भने कर्णाली र त्यहाँको स्वास्थ्य सेवा बुझ्ने राम्रो माध्यम बन्यो ।

ए साँच्चै, त्यति मात्र कहाँ हो र ! लेखकले पाकिस्तानका गाउँहरूमा गरिएको एउटा अध्ययन जहाँ हजुरआमाद्वारा हुर्काइएका बच्चाहरू तुलनात्मक रूपमा हजुरआमा नभएकाहरूभन्दा बलिया, बौद्धिक ,भावनात्मक रूपमा पनि सन्तुलित देखिएको कुरा सम्झिँदै थिए । मलाई पनि आफू हजुरआमाको काखमा नै हुर्किएको र उहाँले गरेको माया याद आयो । पढ्दा पढ्दै भक्कानिएछु; आमा स्वर्गवास भएको पनि ७/८ वर्ष भइसकेछ । एकैछिन पछि आफ्नो पाखुरा छामेँ; दह्रै छु लाग्यो । अनि हजुरआमालाई मनबाटै धन्यवाद भनेर पुन लेखकले डोर्‍याएको बाटोतिरै लागेँ ।

कहिले कर्णाली, कहिले हस्पिटल, कहिले आफ्नै विभिन्न सोचको संसारमा पुर्‍याएका लेखकले लेखेको पुस्तकको अन्तिम पाना पढिसकेपछि भने मलाई पुनः त्यही ठाँउ पुर्‍याए जहाँ ४/५ घन्टा अगाडि आएर पढ्न सुरु गरेको थिएँ । मेरो छेउमा बसेर ‘देशमा केही गर्न सकिँदैन, विदेश जाने तरखरमा छु’ भन्दै गफ लगाउने दाइ पनि कता गइसकेछन् । अघिसम्म चिर्बिर् गरिराखेका चरा पनि बच्चालाई आहार खुवाएर कता उडेर गएछन् कता । नारायणी नदी भने उही रफ्तारमा बगिरहेकी थिइन् । यता मलाई भने अब आफ्नो गन्तव्य चयन गर्नुपर्ने थियो । तर तन-मन सबै पुस्तकमा नै थियो ।

पुस्तकमा उल्लेख गरिएका ‘बुधेकी फुपूआमा’, ‘बुवालाई चिठी’, ‘भेडिनी कान्छी’, ‘मृत्युपछिको जीवन’, र ‘पुतली आमा’; पाँचवटा कर्णालीका कथा नै दिमागमा घुमिरहेका थिए । हरेक कथाहरू कतै न कतै आमासँग जोडिएका भएर पनि होला, पढ्दै गर्दा आमालाई धेरै नै सम्झिएँ ।

हरेक डाक्टरको सबैभन्दा धेरै परीक्षा उसका बिरामीले लिन्छन् रे । यस कथाभित्रका आमाहरूले पनि डाक्टरको बारम्बार परीक्षा लिएका थिए । डाक्टर पनि उक्त परीक्षामा सफल भएका थिए । यता म पनि आफ्नो भिन्न तरिकाले पढ्ने सोच पूरा हुनुका साथै देशमा नै स्वास्थ्य क्षेत्रमा केही गर्ने अठोटमा थप उर्जा थपिएकोमा झनै मख्ख थिएँ ।