सिड्नीको उठ्ने समय त होइन तर मेरो काम अलि चाँडै नै पर्यो । काममा पुग्नुअघि एउटा तातो कफीको स्वाद लिन रेस्टुराँ पुगेँ ।
ठीकै आकारको रेस्टुराँको एउटा कुनामा बस्दै गर्दा एउटी महिलासँग आँखा जुध्यो । उसको टेबुलमा लगभग आधा खाइसिध्याएको कफी थियो ।
मैले पिलिक्क हेरेको उसले अलिकति थाहा पाई। ऊ फोन कलमा गफ गर्दै एउटा अचम्म तरिकाले हाँस्दै थिई। उसको ओठमा एउटा अनौठो शरारती मुस्कान थियो र हाँसोमा अल्हडपन ।
उसको हाँसोसँग मेरो दूरदूरको साइनो थिएन । स्वभावतः म उसको हाँसोमा प्रशन्न थिइनँ ।
मैले चिया अर्डर गरेर छिरेको छु । अब कुन बेला आउने हो ! समय काट्न म गोजीबाट मोबाइल झिक्छु । पल्लो टेबलमा बसेर ब्ल्याक कफीसँगै कुरा पनि रित्याइरहेकी महिलालाई मैले चिनेको छैन तर उसको बर्ताव मलाई मन परेको छैन।
म आए पनि मतलब छैन । हाँस्नु, मस्किनु, घरी लजाउनुका बर्ताव जारी थियो । ऊ यसरी खुलेर गफ गरिरहेकी थिई कि केही टेबुल पर भए पनि उसका सबै गफ मैले प्रस्ट सुनिरहेको थिएँ । कुरा सुन्दा, हिजोको कुरामा ऊ आनन्द लिइरहेकी छे ।
गफ यस्तो थियो कि, म यहाँ लेख्न सक्दिनँ । अहिले हामी कति खुला भइसकेछौँ भने अगाडि पछाडि को छ भन्ने लाज सरम नै मान्दैनौँ ।
अँ, त ऊ फोनमा ओरल सेक्सका कुरा गर्दै थिई । स्याटिस र इन्जोयको कुरा गर्दै थिई ।
उसको आनन्दको रहस्य मैले चाल पाइसकेपछि म आफैँ लजाएँ । र, उसका कुरा नसुनेझैँ झन् धेरै फोनमा व्यस्त रहेको देखिएँ ।
कुरा अझै गहिरो हुन थाल्यो ।
निकैबेरपछि उसले फोन कललाई आफ्नो करेन्ट लोकेसन सेन्ट गरिदिने अनि छिट्टै आउन आग्रह गरेर कल डिस्कनेक्ट् गरी ।
यत्तिकैमा अघि मगाएको चिया र बटरटोस्ट आइपुग्यो ।
छेउकी नौलीको फोन कलको प्रसंग त मलाई पहिला मन परेको थिएन तर उसले फोन कलमा गरेको वर्णनले मलाई खिच्यो । मलाई अझ खुल्दुली त उसको डियर लभर चाँडै नै यहीँ आउँदै गरेको थाहा पाएँ ।
मलाई मेरो चिया सकिनुअघि नै ती दुईको भेट हेर्न जिज्ञासा बढेर आयो । उसको प्रेमी आएपछि मलाई त्यो महिलाको मिलन अवस्था हेर्नुछ ।
अब भने म ऊभन्दा रोमाञ्चित हुन थालेँ । सोचेँ, यसै विषयलाई लिएर एउटा राम्रो प्रेमकथा लेखेर फेसबुकमा पोस्ट गरूँ !
छड्किएर हेरेँ, त्यो महिलाले आफ्नो ब्यागबाट पकेट् मिरर निकाली । ओठको लिपिस्टिक बडो कामुकताका साथ मिलाई । नियालेर अनुहार हेरी अनि उस्तै कामुकता मुस्कान दिँदै मतिर हेरी !
त्यतिञ्जेल म टोस्ट चपाउन व्यस्त रहेको अभिनयमा मग्न थिएँ ।
रेस्टुराँको अर्को कुनामा डेस्कमा बसेको युवकतिर हेर्दै अलि चर्को आवाजमा भनी, “मेरो लभ आउँदैछ ! झट्ट एउटा कफी बनाऊ ! क्विक !”
आदेश सुनेपछि डेस्कको युवा मुस्कुरायो । मानौँ उसले परैबाट अर्डर टिप्यो ।
बित्थामा म पनि एक्साइटेड थिएँ, उसको डियर हेर्न। पक्कै ड्यासिङ, हेन्डसम हुनुपर्छ !
अनेकन् कुरा सोच्दै गर्दा र जतिसुकै ढिला गरे पनि मेरो चियाको अन्तिम चुस्की सकिइसकेको छ । म उठ्न ढिला भइसकेको छ । तर उसको डियरको अत्तोपत्तो देखिएन ।
म मोबाइलमा दृष्टि लगाउँदै उठ्नै लाग्दा अघिकी महिला लगभग चिच्याएको आवाज सुनेँ । खुसीले चिच्याएकी रहिछ । अँ, उसको प्रियतमको आगमन भएको देखेँ । दुवैले ग्वाम्मै अँगालो हाले । त्यसपछि लिप्स् ! डिप किस्…!
•
रेस्टुराँबाट निस्किदै गर्दा मैले अन्तिम दृष्टि लगाएँ । उनीहरू लपक्क टाँस्सिएका थिए ।
•
उसको लभर डियर ऊजस्तै महिला नै थिई ।
*********
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।