सफलताको परिभाषा वा सोही बारे बुझाइमा व्यक्तिअनुसार फरक-फरक पर्न जान्छ। यो व्यक्तिको चेतनाको स्तरमा पनि भरपर्ने कुरा हो। यद्यपि आम मानिस विशेषगरि भौतिक सुख र सुविधाहरु प्राप्त गर्नुलाई नै सफलता ठान्छन्। अर्को शब्दमा भन्नुपर्दा, ठूलो संस्थामा काम गर्न पाउनु, आकर्षक पारिश्रमिक लिनु, अथाह आम्दानी गर्नु, आलिसान महलमा बस्नु, नयाँ-नयाँ मोडेलको कारमा यात्रा गर्नुलाई सफलताको रुपमा परिभाषित गर्छन्। जुन अपूर्ण परिभाषा एवं सीमित बुझाइ हो। जीवनमा सफल हुनुलाई के-के प्राप्त गरियो होइन, यस विश्वलाई के-के दिइयो तथा के-कस्तो व्यक्तित्व बन्न पुगियो भनेर बुझ्नु उचित रहन्छ।

असफलताका प्रमुख कारणहरू

अधिकांश मानिसहरु औसत स्तरमै जीवन बिताउँछन्। उनीहरु केही बन्न सकिरहेका हुँदैनन्। यसको पछाडि केही मुख्य कारणहरु हुन सक्छन्। कारण एक, पोखरीको माछा बन्नु। स्वभाविक रुपमा माछा रमाउने भनेको पोखरीमा हो। माछाले पोखरीलाई नै सम्पूर्ण ठान्छ। पोखरी बाहिर बाँच्न सक्दैन। पोखरी बाहिर अर्को संसार हुनसक्छ भन्ने बारे सोच्न सक्दैन र त्यसतर्फ जान समेत चाहँदैन। धेरै मान्छेहरु यस्तै स्वभावका हुन्छन्। खुला विचारधारा होइन, अतिनै संकुचित सोच राख्छन्। निश्चित सुरक्षा घेराभित्र बस्न बढी मन पराउँछन्। त्यस घेराबाहिर आउनु परेको खण्डमा असुरक्षित महसुस गर्छन्। जसकारण नयाँ सम्भाव्यता एक्सप्लोर (अन्वेषण) गर्न चाहँदैनन्। अझ यसो भनौँ, नयाँ संसारमा प्रवेश गर्न सक्दैनन्। एउटा माछालाई पोखरीबाट झिकेर बाहिर जमीनमा राखियो भने के होला? अवस्यनै माछा छट्पटाउन थाल्छ। मुस्किलले एक मिनेट सम्म बाँच्न सक्छ। मानिसहरु पनि त्यही माछा जस्तै हुन्छन्। सुरक्षा घेरा तोडेर उनीहरु बाहिर आउनै चाहँदैनन्। घेराबाहिर आए पनि धेरै समय टिक्न सक्दैनन्। र, पुनः पहिलेकै अवस्थामा, संसार अथवा सुरक्षा घेराभित्र फर्किन्छन्।

कारण दुई, अग्रसरता नदेखाउनु। प्रायः मानिसहरू चाहिने कुरामा अग्रसर हुन चाहँदैनन्। अगाडि बढ्नुपर्नेमा पछाडि हट्ने गर्छन्। आफूमा विशेष क्षमता हुँदाहुँदै पनि सो क्षमताको सही सदुपयोग गर्न जान्दैनन्। अन्तरमनको आवाज नसुनेर, आफ्नो आवश्यकता नबुझेर अरुको अनुमति कुरिरहेका हुन्छन्। मान्यता खोजी रहेका हुन्छन्। यही कारण समयमा क्षमताको पूर्ण उपयोग हुन सक्दैन र समग्रमा उपलब्धि शून्य हुने गर्छ।

सफलताका पाँच खुड्किलाहरूः

जीवन कठिन हुनु सँगसँगै उत्तिकै म्याजिकल पनि छ। यस कठिन जीवनलाई सरल र झन् म्याजिकल बनाउन केही काम गर्न सकिन्छ। स्पष्ट रुपमा भन्नुपर्दा, जीवनलाई सफल, अर्थपूर्ण र भरिपूर्ण बनाउनका निम्ति स्पष्ट मार्गचित्र डिजाइन गर्न वा सफलताका पाँच खुड्किलाहरु अक्षरशः पार गर्न सक्नुपर्छ।

दूरदर्शिता

सफलताको पहिलो खुड्किलो हो, दूरदर्शिता अर्थात् भिजन। सफल जीवन परिकल्पनाको लागि दमदार भिजन अनिवार्य चाहिन्छ। भिजन हुनु भनेको अरुले नदेखेको पनि देख्न सक्नु हो। दूरदराजसम्म देख्नु हो। अदूरदर्शी व्यक्ति लामो दौडको घोडा हुन सक्दैन। उसको यात्रा बीचमै रोकिन सक्छ। भिजन नहुनेको कुनै भविष्य हुँदैन, अस्तित्व हुँदैन। कहीँ जानु छ भने स्पष्ट मानचित्र हुनु जरुरी छ। यस बिना कहीँ कतै पनि पुग्न सकिँदैन। चित्रमा उतार्न सकिने चीज मात्रै वास्तविकतामा परिणत गर्न सकिन्छ। उसो भए कत्रो भिजन सेट गर्ने? सकेसम्म ठूलो र स्पष्ट। भिजन यस्तो होस् सम्झँदा पनि आँखा भरियोस्, गौरवान्वित अनुभूति होस् र सधैँ उर्जाशील रहन मद्दत गरोस्। आफ्नो भिजन अरूलाई पनि देखाउने र बुझाउने कोसिस गर्नुहोस्। यसो गर्दा तपाईंको भिजनलाई बुझ्न सक्ने धेरै साथीहरु भेट्न सक्नुहुन्छ। ती साथीहरु नै तपाईंको सहकर्मी, सहयोद्धा बन्न सक्छन्।

अध्ययन र अनुसन्धान

सफलता प्राप्तिका लागि अध्ययन र अनुसन्धानले विशेष महत्व राख्छ। अध्ययनबिना केही उपलब्धि हुँदैन। हरेक क्षेत्रमा सफल हुनको लागि आधारभूत ज्ञान, सीप र क्षमता चाहिन्छ नै। ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न पढ्नैपर्छ, अनुसन्धान गर्नैपर्छ। अनुमानको भरमा सफलता प्राप्त हुँदैन। मानौँ, तपाईं मार्केटिङ क्षेत्रमा करिअर निर्माण गर्न चाहनुहुन्छ। यसका लागि सर्वप्रथम पढाइमा जोड दिनुहोस्। नयाँ व्यक्तिलाई कसरी पहिलो प्रभाव जमाउन सकिन्छ, त्यसबारे पढ्नुहोस्। प्रभावकारी संवाद कौशल र सम्बन्धको विषयमा अध्ययन साथसाथै प्रयोग पनि गर्नुहोस्। आवश्यक परे तालिममा भाग लिनुहोस्। त्यसैगरी यदि तपाईं गेम डिजाइनरको रुपमा करिअर निर्माण गर्न चाहनुहुन्छ भने आवश्यक खोज अनुसन्धान गर्नोस्। कुन विषय पढ्ने हो, कुन-कुन विशेषज्ञहरुलाई भेट्नुपर्ने हो, के-कस्ता गेम डिजाइन भइसकेका छन्, त्यसबारे प्रस्ट हुनोस्। अनि सोहीअनुरुप आफ्नो पढाइ र अभ्यासलाई निरन्तरता दिनुहोस्। मलाई सबै आइहाल्छ नि भन्ने मानसिकता राख्नु गलत हो। यस्तो सोच राख्नेहरू कहिल्यै मनोवैज्ञानिक रुपमा विकसित हुन सक्दैनन्।  सफल हुने त झन् सम्भावना नै रहेन। त्यसैले आफूलाई जीवनमा एक सच्चा शिक्षार्थीको रुपमा स्थापित गर्नोस्। आफ्नो रुचिको बिषयमा अध्ययन र अनुसन्धान कार्यलाई तिव्र गतिमा अगाडि बढाउनुहोस्।

कडा मिहिनेत

हल्का वा सानो मिहिनेतले ठोस परिणाम दिन सक्दैन। सजिलै अपेक्षित परिणाम प्राप्त गर्न सकिँदैन। कडा, कठोर मिहिनेतको आवश्यकता पर्छ। चाहिने भन्दा बढी आरम गर्नु भनेको कामप्रति गम्भीर नहुनु हो। भविष्यप्रति कुनै चिन्ता नभएको भन्ने बुझिन्छ। मिहिनेत नै नगरी परिणाम आउने भए, सोचअनुसार पुग्ने भए सबै मानिसहरु सफल हुने थिए। सफल मानिसहरु भाग्यको कारण होइन, धेरै मिहिनेत गरेर, मिहिनेतसँगै अनेकन् चुनौतीहरु सामना गरेरै सफल भएका हुन्। मिहिनेतले सिकाइको स्तर बढाउँछ। अन्ततः विज्ञता हासिल गर्न पनि विशेष भूमिका खेल्छ। अध्ययनअनुसार कुनै पनि काममा विज्ञता हासिल गर्न दश हजार घण्टा बढी समय खटिनुपर्ने हुन्छ। यसर्थ कडा मेहनत गर्नुको विकल्प छैन। यस चरणमा प्रयास र मिहिनेतअनुसार परिणाम आउँछ नै भन्ने कुनै ग्यारेन्टी हुँदैन। समय र उर्जा त्यसै खेर गएको हो कि भन्ने भ्रम उत्पन्न हुनसक्छ। त्यसैले धेरै मानिसहरू कडा मिहिनेत गर्नुपर्ने प्रक्रियालाई निरन्तरता दिन सक्दैनन्। भनाइको तात्पर्य, यही चरणमा आफूले गर्दै आएको कामलाई चटक्कै छाडिदिन्छन्। अनि सजिलो कामको खोजीमा तल्लिन रहन्छन्। यदि जीवनमा कुनै अपेक्षा पूरा नभए, सोचअनुसार काम सम्पन्न हुन नसके अरुलाई दोषारोपण गर्ने होइन, आफ्नो प्रयास र मिहिनेत पर्याप्त नभएको ठान्नुहोस्। यसलाई एउटा उदाहरण मार्फत बुझ्ने कोसिस गरौँ। हामी ट्युबवेलबारे परिचित छौँ। यसबाट धारामा पानी ल्याउन हातले पम्प गर्नुपर्छ भन्नेमा पक्कै पनि स्पष्ट छौँ। यस्तोमा केवल  एकदुई पटक पम्प गरेर धारामा पानी आउँदैन। प्रायजसो मानिसहरु एकदुई पटक पम्प गर्दा पानी आएन भनेर पम्प गर्नै बन्द गरिदिन्छन्। जो व्यक्ति अलि बढी समय पम्प गर्न तयार हुन्छ, उसैले पानी पिउन पाउँछ। सफलताका लागि मिहिनेत गर्नु भनेको ट्युबवेल धारा पम्प गरेजस्तै हो। तपाईंको मिहिनेत कहिल्यै खेर जाँदैन। अपेक्षित परिणाम प्राप्त गर्नका लागि हरदम प्रयासरत रहनोस्। यति मात्र होइन, केही राम्रो हुन्छ भन्ने मानसिकता विकास गर्दै आफ्नो कामप्रति प्रतिबद्ध रहनोस्।

स्थिरता

कुनै पनि कामको सफलता/असफलता त्यो काम निरन्तर चलिरहेको छ वा छैन, स्थायित्व कायम भएको छ वा छैन भन्नेमा भर पर्छ। कुनै व्यवसाय पाँच वर्ष चलाएर बन्द गरिन्छ भने त्यो एउटा असफल व्यवसाय हो। काम जतिसुकै सानो या ठूलो होस्, त्यसले गति लिन समय लाग्छ। सुरुवाती चरणमै आकर्षक फलको आशा गर्नु अज्ञानता हो। कहीँ बिरुवा रोप्ने बित्तिकै फल पाइन्छ र! त्यसको लागि समय लाग्छ। धैर्यशील हुन सक्नुपर्छ। कुनैपनि काममा हतार गर्नु भनेको थप समस्यालाई निम्तो दिनु हो। समय र परिस्थिती सधैँ एक नासको हुँदैन। हामी मान्छे न हौँ। कहिलेकाहीँ उत्साह, उर्जाको कमी हुन्छ। जाँगर हराएको अवस्थामा पुग्न सक्छौँ। स्वास्थ्य प्रतिकूल रहन सक्छ। केही समयका लागि आराम गर्नुपर्ने हुन्छ। त्यसैगरी मनोभावना निरन्तर परिवर्तन हुँदै जान्छ। पारिवारिक झमेला, आर्थिक समस्या, मुड खराबीले पनि उत्तिकै सताउन सक्छ। मनमा अनेक शंका-उपशंकाहरु उत्पन्न हुन सक्छन्। आत्मविश्वासको कमी हुनसक्छ। यसले गर्दा ध्यान विकेन्द्रीत, भङ्ग हुनसक्छ। कुनै कुराबाट ध्यान हट्नु, पहिलेजस्तो चाख नपर्नु सरासर असफल भइने मेलो हो। यस्तो अवस्थामा ध्यानलाई पुनः केन्द्रित गराउन सक्नुपर्छ। कुनै पनि हालतमा हार मान्नु हुँदैन। परिस्थिति जस्तो भए पनि स्थिरता कायम राख्न सक्नुपर्छ। अनि मात्र सफलता दिगो हुन जान्छ।

सफलता

स्थिरताको चरणपश्चात् सफलताको चरण सुरु हुन्छ। यस चरणसम्म आइपुग्न माथिल्लो कुनै पनि चरण छुटाउन, बेवास्ता गर्न मिल्दैन। स्थिरता कायम गरेपछि काममा सफलता पाइन्छ। मानौँ, तपाईंले कुनै व्यवसाय छनोट गर्नुभयो। तपाईंको स्वभाविक चाहन हुन्छ- सफलता, तर पाउनु हुन्छ- असफलता। केही नगरी बस्नुस्, असफलता सजिलै प्राप्त हुन्छ। अनि सफलता? के सफलता त्यसै प्राप्ति हुन्छ? असफलता प्राप्त गरेजस्तै सजिलो छ? व्यवसाय बिजुलीपंखा जस्तो होइन, स्विच अन गरेलगत्तै घुम्न थाल्ने। यसमा सफल हुन विभिन्न चरणहरु पार गर्नैपर्छ। सुरुमा स्पष्ट भिजन हुनु आवश्यक छ। के-कस्तो व्यवसाय गर्दै छु, यो व्यवसाय कसरी गर्दै छु र किन गर्दै छु भन्ने विषयमा कुनै दुविधा हुनु हुँदैन।

यसका अतिरिक्त त्यो व्यवसाय प्रति अथक लगाव हुनुपर्छ। पागलपन सवार भएन भने? कुनै पनि बेला व्यवसाय स्थगित हुन सक्छ र हात लाग्छ शून्य। भिजन सेट गरेपछि अध्ययनमा लाग्नुहोस्। के गर्दा फाइदा र के गर्दा घाटा हुन्छ, त्यसबारे गम्भीरतापूर्वक खोज गर्नुहोस्। केही समय  गहन रिसर्चमा दत्तचित्त हुनोस्। अध्ययनमार्फत सफल हुने उपयुक्त बाटो पहिल्याउन सकिन्छ। थप अवसरहरु प्राप्त हुँदै जान्छन्। ब्याकअप योजना पनि बनाउन सकिन्छ। व्यवसाय गर्ने तरिका पत्ता लागेपछि ढिलासुस्ती नगर्नोस्। कठोर भन्दा कठोर मिहिनेत गर्नोस्। उत्साह र उर्जामा एकरुपता ल्याउनुहोस्। कुनैपनि किसिमको सम्झौता नगर्नोस्। सुतेर सफलता प्राप्त हुँदै हुँदैन। वास्तविक काममा खटिनैपर्छ। यही कामलाई निरन्तरता दिनुहोस्। स्थिरता कायम राख्नोस्। आफूले भने जस्तो नभइ दिँदा मन अस्थिर राख्ने, अनावश्यक रुपमा चिन्तित हुने र तुरुन्तै नयाँ व्यवसायमा संलग्न हुने गलत कदम नचाल्नुहोस्। यसो गर्न सके व्यवसायमा सजिलोसँग सफलता हात लाग्न थाल्छ। तपाईंलाई हरेक व्यवसायको अग्रणी, अगुवा बन्नबाट कसैले रोक्न सक्दैन। यही सिद्धान्त अरु कार्यमा पनि प्रभावकारी रुपमा लागू गर्न सकिन्छ। हरेक पेशामा सफल हुन दूरदर्शिता, अध्ययन, कडा मिहिनेत र स्थिरताको चरण हुँदै गुज्रन अत्यावश्यक छ।