बिरामी रेखदेख गर्ने मानिस कृष्णभजनमा असहजताका बिच भक्तिभावका साथ लिप्त देखिन्थे । यसले आगोको रापझैँ उठेका मनोवेगलाई शान्त बनाइरहेको देखिन्थ्यो ।

म सहानुभूति, संवेग र संवेदनाहरुको प्रवेशद्वार हुँ । मेरो अमानवीय आँखाले मानवीय आँखालाई मज्जाले अवलोकन गरिरहेको हुन्छु । ती आँखाहरू सँग आँखा जुधाएर पलपल नयाँ आँखालाई पढिरहेको हुन्छु। मैले हजारौं मानिसका लाखौं अनुभूतिका विविधतालाई नियालिरहेको हुन्छु । सायद म जति आशा, भरोसा अनि निराशामा बदलिरहेका भावहरु कोही कसैले पनि बुझेको छैन होला । किनकि मेरो काखमा छरप्रस्ट जिन्दगीहरु लम्पसार परिरहेका हुन्छन् । कोही जिन्दगी जीवनको परम आशामा हुन्छन् त कोही मृत्युको दर्दनाक पर्खाइमा हुन्छन् ।

मेरो शरीरको अंगअंगमा , तन्तुतन्तुमा, रोम रोममा मानिसका आवाजहरू मिश्रित भएर बसेका छन् । कोही चिन्ताका आवाज, कोही हर्षका आवाज, कोही दुःख पीडाका आवाज, कोही जीवनका आवाज त कोही मरणका आवाज । यदि यस ब्रह्माण्डमा आवाजका विभिन्न प्रकार कतै भेटिन्छन् भने त्यो शीप मसँग भेटिन्छन् । मेरा आफ्ना अनुभूतिहरु छैनन्, आफ्ना विचारहरु छैनन् ,संवेगहरु पनि छैनन् तर यो सबै घुलित मिश्रण मेरो अंश अंशमा छरपष्ट फैलिएको छ ।

आज म तपाईंलाई भन्दै छु त्यो मृत्यु कसको हो , त्यो जन्म कसको हो, तिनी संवेदना र संवेग कसका हुन् , ती मैले पढ्ने आँखा कसका हुन अनि ती विभिन्न मानवीय मनोवेगका आवाज कसका हुन् । ल सुन्नुहोस्…

विशाल पाण्डे

मेरा गल्लीहरुमा, शौचालयहरुमा, कोठाहरूमा, प्रतीक्षालयमा, चमेना गृहमा तिम्रा मानवीय संवेगका अमिट छापहरु छन् । लतपतिएर लपक्क टासिएका छन् । प्रतीक्षालयमा तिमी कसैको प्रतीक्षामा हुँदैनौ, तिमी आफ्नो वैचारिक युद्ध मैदानमा तछाँडमछाँड गर्दै निराशाले पछार्न नसकेको अनि आशाले उचाल्न नसकेको योद्धा हुन्छौ। त्यो युद्ध भूमिमा तिमीले तिमीसँग लडिरहेका हुन्छौ । जो लडाइँ जीवनको श्रेष्ठ लडाइँ हो।

म एक अस्पताल हुँ । कर्णाली प्रदेश अस्पताल । म बिरामीको आशा अनि भरोसाको केन्द्रबिन्दु हुँ । सबैभन्दा सुरक्षित स्थान हुँ । मलाई थाहा छ मेरो शरणमा आएपछि मानिस मनोवैज्ञानिक तवरले आत्मविश्वासी हुन्छ, हलुका महसुस गर्छ। म विभिन्न भवनका विभिन्न कोठामा विभिन्न वार्डको रूपमा फैलिएको छु । जहाँ मानिस आशा र निराशाका रस्साकस्सिमा रुमालिराएका हुन्छन् ।

यही रस्साकस्सीको हिस्सा भएर राती एघार बजे एउटा व्यक्ति यहाँ आइपुगेको थियो । अर्थात् कर्णाली प्रदेश अस्पतालमा आएको थियो। आफ्नो बहिनीलाई लिएर इमर्जेन्सीमा आएको थियो । भित्र उपचार हुँदै थियो । ऊ बाहिर चिएरमा बसिरहेको थियो। बसेको करीब चालीस मिनेट बितिसकेको थियो। म मौन थिएँ । समय मध्य रातिको थियो । ऊ वैचारिक मनोबेगको तीब्र दौडमा घोत्ली रहेको थियो।

के मानिसले देह त्याग गर्नु भनेको यो प्रकृतिबाट पुरै अस्तित्त्व मेटिएर जानु हो त ?भौतिक शरीर नरहे पनि के साँच्चै आत्मा रहन्छ त ? वास्तवमा मानिसको निधन हुनु भनेको के हो त ? के सामान्यतया हामीले सोचे जसरी मानिसले प्राण त्याग गर्दछ होला त ? संसारले विश्वास गरेको आत्माशरीरबाट छुटेर यो ब्रह्माण्डको कुन कुनाको कस्तो भूमण्डलमा गएर बस्छ होला त ? मानिसले भनेझैं के आत्माको अस्तित्व वास्तवमै छ त ? ऊ यस्तै यस्तै सोच्दै थियो ।

यो सोच्नुभन्दा अगाडि उसले एउटा दृश्य देखेको थियो । जसमा फोहुँइलर रोलिङ बेडमा एउटा शव इमर्जेन्सी गेटबाट गुडाउँदै ल्याइयो। शव खोलेर शव वाहन गाडीमा राखिँदै थियो ।

त्यसपश्चात् त्यहाँको मावल उथलपुथल भयो । हरेक व्यक्तिको चेहेराको रंग परिवर्तन हुँदै गयो । मनस्थिति परिवर्तन हुँदै गयो । उसलाई आफ्नो बहिनीको समस्या सानो लागेर आयो । ठूला ठूला समस्याका अगाडि साना समस्या आफैं हराउने रहेछन् । यतिकैमा ३२/३३ वर्षको महिलामान्छे जोरजोरले कराउँदै, आक्रान्त हुँदै, आँसु बगाउँदै, भक्कानो छाड्दै मृत शरीरनजिक आइन् र रोदनका साथ भन्ना थलिन्,

एकचोटि बोल्नु न…!
एकचोटि मात्र उठ्नु न हजुर…!
उठ्नुन् भन्या के !
केही त बोल्नु न हजुर…!

यो दृश्य कारुणिक थियो । दर्दनाक थियो । उसले यो दृश्य हेरिरहेको थियो । केही समयपछि त्यो मृत शरीर बोकेर गाडी खै कता हुइकियो। यता तिनी महिलाको मनबाट निराशाको गाडी हुइकनलाई कुनै इन्धन नै बनेको छैन । सायद निराशा, दुःख, पीडा र वेदनालाई हुइकाएर लैजाने कुनै गाडी बनेको हुँदै हो त संसारमा अधिकतम बिक्री हुन्थ्यो होला ।

यो घटनाले ऊ निःशब्द थियो । सोच माग्न थियो। बहिनीको पनि ज्वरो घटे छ । स्वास्थ्य सुधार भए छ । त्यतिबेला बेला ऊ खुसी पनि थियो दुखी पनि थियो। जे होस् प्रशन्नको सञ्जाल बनाएर ऊ घर फर्कियो।

मेरो काखमा यस्ता सुख दुःखका कयौ घटनाहरु हुन्छन् । जो प्रकृतिको एक प्रक्रिया होला । भगवानको निर्देशन होला । जो मानिसको अधीनमा छैन । उसलाई यही प्रक्रिया बारे थोरै भए पनि बुझ्न, जान्न तीव्र इच्छा चले छ । लामो समयपछि फेरि ऊ मेरो सामिप्यतामा आयो।

उसलाई अस्पतालको सम्बेगलाई शब्दमार्फत प्रस्फोटन गर्ने तीब्र हुटहुटी चलेछ। उसले सम्पूर्ण वार्डको सम्पूर्ण बिरामी मनलाई नजिकबाट निहाल्न चाहना राखे छ । ऊ एकदिन (२०७९/११/१६) ब्रह्मामुहुर्त बिहान ३:३० बजे बुलबुले नजिकबाट कर्णाली प्रदेश अस्पतालतिर प्रस्थान गर्यो। साइकलमा अन्धकार पर्यावरणलाई छिचोल्दै ऊ मंगलगढी, ऐरीचोक हुँदै प्रदेश अस्पतालको गेटभित्र पस्यो ।

उसको टाउको भारी भएको थियो, मुख अमिलो भएको थियो । आँखा अल्छी भएका थिए । केही समय पार्कमा बस्यो ब्यागबाट पानीको बोतल झिकेर तीन घुट्की पानी पियो र वार्डभित्र पस्यो ।

जब ऊ वार्डको गल्ली हुँदै हलमा पस्यो । तब उसको पहाडझै मानेको आफ्नो टाउको दुःखाइ तिलझैँ मसिनो भएर आयो । त्यहाँभित्र विभिन्न टाउकाहरु भारी मात्रै होइन, उठाउनै न सकिने गरुङ्घा देखिन्थे । सायद तिनी बिरामी कुरुवाको मुख मात्र होइन मन पनि अमिलो भइरहेको महसुस हुन्थ्यो । आँखामात्र नभएर हृदय पनि पोली रहेको थियो होला । शरीरभन्दा पनि मस्तिष्कमा असहज भइरहेको देखिन्थ्यो। जीवनको मझधारमा घायल मनहरु भागदौडमा देखिन्थे ।

ऊ न कसैलाई भेट्न आएको थियो , न बिरामी कुरुवा हो न त बिरामी नै हो । उसले सम्पूर्ण बिरामी मनलाई नजिकबाट निहाल्न चाहन्थ्यो । करिब तीन घण्टा उसले बिरामी वार्डका कोठा, गल्ली, भर्याङ, शौचालय, बेड, ह्विलचियर, कुरुवा चिएरलाई यसरी फोकस भएर अब्जर्व गर्यो कि मानौं उसले जीवनको कुनै महत्वपूर्ण परीक्षाको तयारी गर्दै छ। उसलाई तिनी निर्जीव वस्तुहरू बोली रहेझैँ लाग्थ्यो। यिनले जीवनलाई केही नयाँ सिकाई रहेझै लाग्थ्यो । त्यहाँ ओरिपोरी न कोही बोली रहेको थियो, न कोही सिकाइरहेको थियो । तर पनि उसले धेरै सिकिरहेको थियो जो विद्यालय अनि विश्वविद्यालयमा सिकिको भन्दा फरक थियो ।

उसले मेरा कयौँ बेडका लमपसर जीवनहरु विसर्जित देख्यो । आशा अनि निराशाका धब्बाहरु बेलाबखत बिरामी कुरुवाका बदनमा लुकामारी गरिरहेका देख्यो। गहिरो सोचमग्न मनहरु रुमालिरहेको देख्यो । तर पनि मानिसका मनमा भगवानप्रतिको विश्वास जगमगाएर आएको देख्यो।

ऊ गम्न थाल्छ; थाहा छैन यो प्रकृतिमा भगवानको अस्तित्त्व छ या छैन । तर एउटा अदृश्य शक्ति छ । जो कसैको मनमा अल्लाह, कसैको मनमा येसु क्रिस्ट अनि कसैको मनमा श्रीकृष्ण भएर अवस्थित छ । उसलाई लाग्दै छ मान्छेलाई दुई ओटा कुराले आनन्दित तुल्याउँछ, एउटा ध्यानको चरमविन्दु अनि कर्मको परमसमर्पण । र यो दुइ ओटै पक्षमा आफूलाई विश्वास लाग्ने अदृश्य सक्ती समावेश भएर आउँदा सक्तिनै जीवन अनि जीवन नै शक्ति भइदिन्छ।

बिरामी रेखदेख गर्ने मानिस कृष्णभजनमा असहजताका बिच भक्तिभावका साथ लिप्त देखिन्थे । यसले आगोको रापझैँ उठेका मनोवेगलाई शान्त बनाइरहेको देखिन्थ्यो । यो परिस्थिति देखेर उसलाई लाग्थ्यो, कठिन अवस्थामा अन्तिम आशा भनेको आफूले मानेको भगवान् नै रहेछ। त्यसप्रतिको आत्मविश्वास र सकारात्मकता नै हो । यही विश्वासले नै डाक्टरले अन्तिम मिति तोकेको बिरामीको जीवन पनि फुलेको देखिन्छ । फक्रेको सुनिन्छ । त्यसैले मान्यता, विश्वास र विचारहरू चट्टानझैँ शक्तिशाली हुन्छन् ।