‘इम्पोस्टर सिन्ड्रोम’विरुद्ध के गर्न सकिन्छ होइन, यस मनोवैज्ञानिक अवस्थामा रहँदा ‘के गर्न सकिन्छ’, त्यसमाथि मन्थन गर्नु फलप्रद् रहन्छ । अरुको हुबहु नक्कल/देखासिखी गर्नमा, प्रमाणीकरणको लागि कहिल्यै आफ्नो अमूल्य समय र उर्जा व्यतीत नगर्नोस् ।

सफलताले केसम्म दिलाउँदैन ? सबै कुराहरु दिलाउन सक्छ। चाहे त्यो भौतिक सुख सुविधाहरु होस् या जीवन स्तरमा परिवर्तन। सफल व्यक्तिहरुले चाहेको हरेक चीजहरु उपभोग गर्न सक्छन्। कुनै इच्छा, आकांक्षा र सपनाहरु अधुरा हुनै सक्दैनन्। यति मात्र होइन, ती व्यक्तिहरुमा मनोवैज्ञानिक परिवर्तन पनि देखिन थाल्छ। प्रत्येक सफलताले नयाँ धारणाको विकास गर्छ। सङ्घर्षरत रहँदा ताकाको सोच र सफलता प्राप्ति पछिको सोचमा आकाश जमीनको भिन्नता आउँछ। कुनै किसिमको तुलना हुन सक्दैन ।  सोच्ने तौरतरिका नै फेरिन्छ। त्यसमाथि आत्मविश्वास र उर्जाको स्तर उच्च/बेजोड रहन्छ । यसो भन्दैमा सफलताले सकारात्मक मनोवैज्ञानिक परिवर्तनको ग्यारेन्टी गर्छ भन्ने पनि होइन । भनाइको मतलब, मनोविज्ञानमा पर्न गएको प्रभावले सकारात्मक परिणाम नै दिन्छ भन्ने कुरामा ढुक्क हुन सकिँदैन। इम्पोस्टर सिन्ड्रोमको चक्रमा फस्न सकिने सम्भावना उत्तिकै रहन्छ। यसलाई एउटा उदाहरण मार्फत बुझ्ने कोसिस गरौँ।

एकपटक व्यवसायिक उद्देश्य परिपूर्तिका लागि लामो समयको योजना पश्चात् एक मित्र सँग साक्षात्कार गर्ने अवसर जुरेको थियो। हाम्रो चिनजान व्यवसायिक स्तरमा मात्रै सीमित थियो। यसर्थ व्यक्तिगत गफ हुने प्रश्नै रहेन। यद्दपी त्यस कफी गफले अनौपचारिक मोड लियो। मित्रले आफ्नो मनको कुरा खोल्दै जाने क्रममा भन्दै थिए, ‘यो स्थानमा कसरी आएँ, यो स्तरको हैसियत ममा कसरी विकास भयो भन्नेमा म आफैँ अस्पष्ट छु, अचम्ममा परेको  छु। विभिन्न व्यवसायमा हात हालेँ। कहिल्यै घाटा व्यहोर्नु परेन। नाफामा नै रहेँ। शैक्षिक क्षेत्रमा आएँ। अचानक कलेजको प्रिन्सिपल बनाइदिए। हाल एक प्रतिष्ठित इन्सुरेन्स कम्पनीमा आवद्ध भएको छु। सिधा नेतृत्व तहमा रहेछ काम गर्ने अवसर दिएका छन्। यहाँसम्म आइपुग्न खासै धेरै मिहिनेत गर्नै परेन। जे पाएँ भाग्यले पाएँ भन्ने लाग्छ। वास्तवमा बुबाको प्रभाव र सिफारिसले नै सबैथोक सम्भव भएको हो कि भन्ने पनि अनुभूति हुन्छ।’

यस्तो खाले सोचहरु हर कोही सफल व्यक्तिमा उत्पन्न हुन सक्छन्। जीवनमा नसोचेको छलाङ्ग मार्न सक्षम हुन्छन्, तर जस भने भाग्यलाई दिन्छन्। आफ्नो बुद्धिमत्ता, क्षमता, सीप र लगनशीलता कारण सफलता मिलेको भनाइमा कत्तिपनि विश्वास गर्न सक्दैनन्। आफैँमाथि ज्यादा शंका गर्छन्। प्राप्त सफलता स्विकार्न सकिरहेको हुँदैनन्। र, उनीहरु मनमा यस्ता कुराहरु खेलाउन सक्छन्:  सफलताको लागि म योग्य छैन। ममा त्यति धेरै बुद्धिमत्ता, क्षमता, सीप आदि छैनन्।   एकदिन पोल खुल्नेवाला छ। यो कुरा सबैले थाहा पाउने छन्। म एक्सपोज्ड हुने छु, स्खलित हुनेछु। साइकोलजीको भाषामा कुनै पनि व्यक्तिमा यस्तो मनोवैज्ञानिक अवस्था सिर्जना हुनुलाई ‘इम्पोस्टर सिन्ड्रोम’ भनेर व्याख्या गरिन्छ। सन् २०११ मा गरिएको एक अध्ययनले विश्वका ७० प्रतिशत मानिसहरु जीवनको कुनै न कुनै विन्दुमा यस किसिमको मनोवैज्ञानिक अवस्थामा रहने देखाएको छ। विशेषतः कलेज पढ्दै गरेका, नयाँ करिअर सुरुवात गरेका एवं चुनौतीपूर्ण जिम्मेवारी पाएका युवाहरु इम्पोस्टर बन्न पुग्छन्। अर्को शब्दमा भन्नुपर्दा, उनीहरुको मनमा आफू नक्कली, ढोंगी, पाखण्डी सावित हुने अथवा अनावृत हुने डर अत्याधिक रहन्छ। यो अवस्था सफल महिला र पुरुष दुवैमा देख्न सकिन्छ।

प्रमुख कारणहरू

एक व्यक्ति ‘इम्पोस्टर सिन्ड्रोम’बाट ग्रसित हुनुको पछाडि विविध कारणहरू हुन सक्छन्। सोही बारेमा संक्षिप्त चर्चा गरौँ।

कारण एक, पारिवारिक वातावरण। पारिवारिक परिवेशले मनोविज्ञानमा ठूलो प्रभाव पार्छ नै। मानौँ तपाईं एक बौद्धिक परिवारको सदस्य हुनुहुन्छ। मानौँ तपाईंलाई परिवारमा निकै क्षमतावान् र बौद्धिक व्यक्तिको रुपमा लिइन्छ। स्वभाविक रुपमा अब तपाईं हरेक पटक सफल हुने इच्छा राख्नु हुन्छ। सफलता प्राप्तिको लागि हर प्रयास गर्नुहुन्छ। यसै शिलशिलामा केही चरण सफल पनि हुनु भयो! यद्यपि जीवन परिस्थिति भन्ने कुरा सधैं तपाईंको सोचअनुरुप हुँदैन। कयौँ उतारचढावहरु सामना गर्नुपर्ने हुन्छ। अनगिन्ती असफलताहरु भोग्नुपर्ने हुन्छ। प्राप्त असफलताहरुले गर्दा तपाईं पहिले प्राप्त सफलतालाई कतै भाग्यको खेल त होइन भन्ने ठान्नु हुन्छ। अनि तपाईं इम्पोस्टर बन्ने सम्भावना बढ्दै जान्छ। त्यसैगरी कुनैपनि परिवारमा हिंसात्मक गतिविधिहरू निरन्तर चलिरहेका हुन सक्छन्। वैचारिक मतभेद कारण पारिवारिक कलह, नियमित झगडा सिर्जना भएका हुन सक्छन्। यस अतिरिक्त पारिवारिक सदस्यहरु एक अर्काको कठोर आलोचक पनि हुन सक्छन्। यस्तो पारिवारिक वातावरणमा हुर्के बढेका हर कोही सजिलै इम्पोस्टर बन्न पुग्छन्।

कारण दुई, नयाँ चुनौती सामना गर्नुपर्दा। मानौँ कुनै संस्थामा काम गर्दै जाने क्रममा तपाईंको पदोन्नती भयो वा अनपेक्षित रुपमा नयाँ एवं ठूलो जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भयो। यस्तो परिस्थितिमा तपाईंमा शंका उत्पन्न हुनसक्छ। के म यसको लागि तयार छु? यसको हकदार छु? म भन्दा अरु झन् बढी क्षमतावान् र अनुभवी छन्। आखिर म नै किन? जिम्मेवारी निर्वाह गर्दै जाने क्रममा केही कमीकमजोरीहरु हुन गए? संस्थापन पक्षको विश्वासमा खरो उत्रन असफल भइयो भने? अपेक्षित नतिजा दिन सकिनँ भने? अन्तमा, कतै ढोंगी व्यक्तिको ट्याग लाग्यो भने? यी यावत् प्रश्नहरुले तपाईंलाई पिरोल्न थाल्छन्।

कारण तीन, एकअर्काबीच तुलना गर्नु। स्वयं आफूलाई चिन्न र आफूबारे  केही हदसम्म बुझ्न त (आन्तरिक रुपमा) सकिन्छ, तर अरु मानिसहरुलाई भने पूर्ण रुपमा चिन्न र बुझ्न सकिँदैन। उनीहरुलाई केवल बाहिरी/सतही रुपमा मात्रै चिन्न र बुझ्न सक्छौँ। समाजले उनीहरुबारे राख्ने धारणाहरु, उनीहरुप्रति गरिने व्यवहारकै आधारमा उनीहरु र आफूबीच तुलना गर्न पुग्छौँ। ऊ त्यस्तो छ, म यस्तो छु। अरुले संसार खाइसक्यो, आफू भने जस्ताकोतस्तै। अरु सफलताको शिखरमा छन्, आफू भने उही संघर्षको खाडलमा। यसरी आफू र अरु मानिसहरुबीच तुलना गर्दै जाँदा झन् धेरै मनोवैज्ञानिक असर पर्न जान्छ। परिणामस्वरूप हामीमा इम्पोस्टर सिन्ड्रोमका लक्षणहरु देखिँदै जान्छन्।

इम्पोस्टर चिनाउने केही लक्षणहरु

यस मनोवैज्ञानिक अवस्थामा रहेकाहरुलाई कसरी चिन्ने? उनीहरुमा के-कस्ता स्वभाव, लक्षणहरु देख्न सकिन्छ? ती यस प्रकारका रहेका छन्:

  • उनीहरु निकै ठूलो लक्ष्य निर्धारण गर्छन्। सो लक्ष्य हासिल गर्न नसकेको खण्डमा अति नै दुःखी हुन्छन्।
  • उनीहरु गल्ती गर्न डराउँछन्। काममा केही जानी सामान्य भन्दा सामान्य त्रुटि हुँदा समेत पीडाबोध गर्छन्।
  • उनीहरु असफलता सहज रुपमा लिन सक्दैनन्। अनावश्यक रुपमा अत्तालिन पुग्छन्।
  • उनीहरु आफ्नो वास्तविक क्षमता, सीप, विशेषज्ञताबारे सही मूल्याङ्कन गर्न जान्दैनन्। त्यसैगरी आफ्नो कार्यक्षमताबाट सन्तुष्ट हुन सक्दैनन्।
  • प्रत्यक सफलता पछि उनीहरुमा शंकाको स्तर बढ्दै जान्छ। सफल हुनुमा क्षमता प्रमुख कारण हो वा भाग्य भन्नेमा अनभिज्ञ रहन्छन्।
  • उनीहरुमा सफलताको वास्तविक रहस्य खुल्ने र अन्ततोगत्वा आफू एक ढोंगी रहेको प्रमाणित हुने डर अत्याधिक रहन्छ।
  • उनीहरु रचनात्मक प्रतिक्रियाप्रति पनि अति संवेदनशील भइदिन्छन्।
  • उनीहरु आफ्नो काम र व्यवसायबाट सन्तुष्ट हुन सक्दैनन्। अतिरिक्त जिम्मेवारी पन्छाउँदै जान्छन्। कतिपय अवस्थामा काममा मात्रै केन्द्रित रहन्छन्। सतप्रतिशत नतिजा निकाल्न चाहन्छन् जुन असम्भव, अव्यवहारिक कुरा हो। पर्याप्त आराम गर्न रुचाउँदैनन्। अन्ततः डिप्रेसन, लत, तथा तनावको शिकार बन्न पुग्छन्।

मुक्त कसरी रहने?

इम्पोस्टर सिन्ड्रोमबाट ग्रसित हुँदाको अवस्थामा  खुसीसाथ जीवन जीउन सकिँदैन। यसबाट मुक्त रहन सक्नुपर्छ। अनिमात्र जीवनलाई सुखमय तथा अर्थपूर्ण बनाउन सकिन्छ। यस मनोवैज्ञानिक अवस्थाबाट मुक्त रहन के गर्ने? यसको निम्ति निम्न विधिहरू अक्षरशः अवलम्बन गर्न सकिन्छ।

  • गहन छलफल गर्ने

समस्या आफू भित्र सीमित गराउने होइन, त्यसलाई बाहिर ल्याउने कोसिस गर्नोस्। यसको लागि आफ्नो नजिकको, विश्वासयोग्य साथीभाइ, सहकर्मी वा शुभेच्छुकहरू सँग गहिरो संवाद गर्नोस्। उनीहरुले नै तपाईंको अन्तरनिहित क्षमता र कमजोरीहरु सूक्ष्म तरिकाले केलाउन, मूल्याङ्कन गर्न सक्छन्। त्यसकारण उनीहरुसँगको अन्तरक्रियालाई प्रभावकारी रुपमा अगाडि बढाउनुहोस्। यसो गर्नाले तपाईंलाई वास्तविक अवस्था बुझ्न मद्दत मिल्छ। उनीहरु सँगको छलफलबाट तपाईंले उचित सुझाव एवं मार्गनिर्देशन प्राप्त गर्न सक्नुहुन्छ। फलस्वरुप तपाईंलाई जीवनमा आवश्यक सतर्कता अपनाउन सजिलो हुन्छ।

  • सफलताको दस्तावेज तयार पार्ने

निरन्तर काममा मात्र खटिनु बुद्धिमानी होइन। समय समयमा आत्मविश्लेषण गर्नुपर्ने हुन्छ। आफ्नो प्रगति विवरण तयार पार्नुपर्ने हुन्छ। यस अभ्यासबाट थप उर्जाशील र आत्मविश्वासी हुँदै जान सकिन्छ। कुन कार्य कौशल तथा रणनीतिले सकारात्मक परिणाम दियो, त्यस विषयमा प्रस्ट हुन सकिन्छ। त्यसैगरी कुन कार्य कौशल तथा रणनीतिले अपेक्षित परिणाम दिएन, त्यस बारेमा पनि स्पष्ट हुन सकिन्छ। सत्य तथ्य केलाउन सकिन्छ। अनि कार्य कौशल र रणनीतिलाई थप सशक्त बनाउन आवश्यक  गृहकार्य गर्न सकिन्छ। जसले गर्दा कार्य क्षमता अभिवृद्धि गर्न सकिन्छ।

  • नकारात्मक धारणालाई चुनौती दिने

नकारात्मक धारणाले इम्पोस्टर सिन्ड्रोम साइकललाई गति दिन्छ, चलायमान राख्छ। यस गतिलाई चाँडो भन्दा चाँडो कम गर्ने प्रयत्न गर्नोस्। यसको लागि सकारात्मक विचार संचारमा विशेष जोड दिनुहोस्। आफ्नो योगदान, कार्य मार्फत  प्राप्त हुन सक्ने परिणामबारे भिजुअलाइजेसनमा जानुहोस्। अर्थात्, कल्पनामा डुब्ने अभ्यास गर्नोस्। पूर्णतावाद प्राथमिकतामा नराख्नुहोस्। जस्तो परिणाम प्राप्त हुन्छ, त्यसलाई स्विकार गर्नोस्। सकारात्मक मानसिकता, सन्तुष्ट रहने बानीको विकास गर्नोस्। त्यसैगरी तपाईंले जे गरेपनि, जहाँ गएपनि कि स्वीकृत हुनुहुन्छ कि अस्वीकृत। अरुले के सोच्छन् भन्नेमा अधिक ध्यान दिनु समय र उर्जाको दुरुपयोग हो। त्यसकारण मानिसहरुको धारणालाई ठूलो विषय बनाउनु राम्रो होइन। उनीहरु प्रति सधैं सकारात्मक सोच राख्नोस्। सालिन रुपमा प्रस्तुत हुनुहोस्।

अन्तमा, ‘इम्पोस्टर सिन्ड्रोम’विरुद्ध के गर्न सकिन्छ होइन, यस मनोवैज्ञानिक अवस्थामा रहँदा ‘के गर्न सकिन्छ’, त्यसमाथि मन्थन गर्नु फलप्रद् रहन्छ । अरुको हुबहु नक्कल/देखासिखी गर्नमा, प्रमाणीकरणको लागि कहिल्यै आफ्नो अमूल्य समय र उर्जा व्यतीत नगर्नोस् । आशा छ, यी विधिहरुले इम्पोस्टर सिन्ड्रोम साइकलको ब्रेक लगाउन महत्वपूर्ण भूमिका खेल्ने छ।