
स्कुलले पाठको पाठ्यक्रम बनेर उषा मेरो मस्तिष्कमा छिर्थ्यो । मस्तिष्कको बाटो हुँदै मनको चोटा-कोठामा विवेकको बिस्कुन बनेर भित्रिन्थ्यो ।
फूलको मौसम । प्रकृति शरद्को काखमा दङ्ग परेर फुल्दै थियो । मन्दमन्द गतिमा चल्दै गरेको बतास । बतासको वेगसँगै चलमलिरहेको थियो बनफूलको डाली । निराकार आकाश निलो च्यादर ओढेर रहस्यमय पृथ्वीको अवलोकन गर्दै थियो । हजारौं माइल टाढादेखि । कतै कतै फुलेको बेमौसमी सेतो गुलाफको फूलजस्तै देखिने बादलका बुट्टाहरूको सौन्दर्यले मथिङ्गल हल्लाइदिन्थ्यो । मनलाई तानेर माथिसम्म लग्थ्यो ।
मनोरम प्रकृतिको गर्भ छिचोलेर बग्दै गरेको पहाडी खोला । खोलाको वारिपारि किनारमा ढलिरहेका अनगिन्ती चिल्ला निर्जीव नबोल्ने ढुङ्गाहरूको हुल देख्दा लाग्दथ्यो – नयाँसडक पेटीमा अन्यायको विरुद्धमा निक्लेका एक हुल मान्छेहरूको जुलुस हो ।

सुशील लामा
शरद्को हरियो रङ्गले पोतेको मौन पहाडको मौनतालाई भङ्ग गर्दै फडिम गाँछीमा बसेर गाउँदै गरेको पामे ढुकुरको आवाजले संगीतमय बनाएको भान झल्किन्थ्यो । जङ्गली फूलहरूको अनुपम सुवाससँगै नाँचेको लार्भा अनि प्युपा हुँदै पुतली बनेका दर्जनौं पुतलीको हुलले स्वर्गीय सुन्दरता झल्काउँदै थियो ।
बनाएर बनेको चित्रजस्तै प्राकृतिक छटाको आलिङ्गनमा सुखभोक गर्दै बाँचिरहेको छ दुनिया । आदिमकालदेखि । दुनियासँगै बाँचेको छ मानिस । मानिससँगै पलाएका महत्वाकांक्षा, मोह, ईर्ष्या,डाहा अनि लोभ-पाप । उदाउँदै गरेको घामजस्तै उमेरदेखि अस्ताउन लागेको घामजस्तै उमेरका मान्छेहरू सकी नसकी आफैंले आफैंलाई छ्लेर, ढाँटेर चाहिनेभन्दा नचाहिने कुकर्ममा हेलिएको यथार्थ लुकाएर लुक्दैन ।
बिरक्तिएका साँझहरू रात बनेर उषाको पर्खाइमा अनिंदो बस्छन् रातभरि । सपना देख्दैनन् । सपना देख्न निदाउने कोसिससम्म गर्दैनन् । मानिसको दूरनियतले दिन प्रतिदिन प्राकृतिक सुन्दरतामा ह्रास आएको प्रष्ट कुरा कुबेलाको झरीले बताउँदैछ । कुसमयमा धर्तीमा गएको भु-स्खलनले चिच्याएर जनाउँदैछ ।
भौतिक विकासको होडबाजीमा मानिसले मानिसको अक्सिजन खोस्दैछ । मानिसले मानिसलाई गन्दैन । मानिसले मानिसलाई मान्छे ठान्दैन । क्षणिक प्रलोभनको प्रलयमा फँसेर आफैँले आफैँलाई सिध्याउँदैछ । भयानक आशङ्का बोकेर आफू-आफू नै तँछाडमँछाड गर्दैछन् । अविचलित अविरल दुस्साहसको प्रतिवाद गर्न सकिरहेको छैन । निरीह बनेको छ । सत्य बोल्ने र सत्य कर्म गर्ने हुलका हुल मान्छेहरु ।
शिशिरको एक साँझ भयङ्कर वर्षा हुन्छ। जुन वर्षा वर्षायाममा हुने गर्थ्यो पहिले-पहिले । अहिले वर्षा हुने मौसम हुँदै होइन । र पनि एक तमासले झरी बर्सिरहेको छ । झरीको साहारा करङ्ग फुस्केको बूढो छाता । काम आएको छ । कुनाकाप्चामा फ्याँकी राखेको थोत्रो छाताले सबैले देख्ने महत्त्वपूर्ण ठाउँ पाएको छ ।
कुबेलाको झरीको प्रभावले तुसारोले खाएको आदिम रूखहरूमा जवानी चढेको देखिन्छ, उसमा पलाएका तीखो सुइरोजस्तो मुनाहरू देखेर । रातको जङ्गलजस्तो भयभीत मौसमको कारण उषाहरू राम्रोसँग निदाउन नपाएर उज्यालो हुन्छन् । आजभोलि उषाले सपना देख्न छाडिसकेको छ । पहिले-पहिलेको उषाहरू अन्जुलीभरि शीतको चोखो जल बोकेर अरुणलाई अर्पण गर्न झिसमिसेदेखि पर्खिबस्थे । पूर्व फर्केिएर ।
उदाङ्गिदै गएको बेंसी बुद्धिको उपजहरू आजभोलि थेगिसक्नु छैन। भनी साध्य छैन । सम्झाएर सम्झिने खालको त झन् हुँदै होइन । जङ्गलमा फूल फुल्न छाडिसकेको छ । कोइली गाउन अल्छी मान्छ । खोलाको छङ्ग-छङ्ग आवाज केवल स्मृतिमा गुन्जन्छ । फाटेको छ मन । मन सिलाउन अब अरुणा जन्मिन्न होला । निलो फूल फुल्ने रुखको जरो मक्केर ढलेको छ । अब फेरि निलो फूल फुल्ने रूख उम्रिन्छ कि उम्रिन्न ? रहस्यको गर्भमा लुकेको छ ।
अस्तित्वको जरोकिलो जगेर्नाभन्दा उत्खनन् गरेर ढाल्नेहरूको लर्को बढेको अनुमान स्पष्ट छ । अन्धकार चिर्दै उज्यालोको पर्खाइमा कुरिरहेको प्रिय उषा आजभोलि निराशाको घुम्टो ओढेर बिहानैदेखि तुवाँलोको साथ लागेर हिमालको अनुहार बिगार्न पहाडको बाटो हुँदै उक्लिँदैछ उकालो ।
पहिले-पहिले उषासँगै उठेर घरछेउको मन्दिरमा घण्टी बजाउँदै ढुङ्गाको देउतालाई चढाएको लड्डू देउताले नखाएपछि, पुजारीको आँखा छलेर लुकीलुकी चोरेर उषालाई पनि भाग लगाएर खाइन्थ्यो । उषा स्कुल जाने समय बन्थ्यो । उषा मेरो स्कुले ड्रेस, आकाशे रङ्गको सर्ट र निलो पाइन्ट बन्थ्यो । अनि मसँगै स्कुल जन्थ्यो । स्कुलले पाठको पाठ्यक्रम बनेर उषा मेरो मस्तिष्कमा छिर्थ्यो । मस्तिष्कको बाटो हुँदै मनको चोटा-कोठामा विवेकको बिस्कुन बनेर भित्रिन्थ्यो ।
चार बज्थ्यो । उषा मसँगै घर फर्किन्थ्यो । मेरो थकाइमा उषा उदास बन्थ्यो । उषा गोधूली साँझ बनेर सन्ध्यासँगै रात बन्थ्यो । म रातसँगै सुतेर सपनाभरि उषासँगै जुन-ताराको कथा सुनाएर रामाउँथें।
रात फेरि उषा बन्थ्यो । म रातलाई ओछ्यानमा छोडेर पुनः उषाको साथ लागेर जिन्दगीको अर्को नयाँ दिनको शुभारम्भ गर्थें, कोक्रामा सुतुरहेको अबोध शिशुजस्तै पवित्र उषाको साथ लागेर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

