
यहाँ हरेकको मन एकचोटि नराम्ररी टुटेको हुन्छ । कसैको त एउटै मन धेरैपटक पनि टुटेको हुन्छ । मलाई लाग्छ, टुट्नु नराम्रो होइन । टुटेर जोडिन नखोज्नु, लागेको चोटलाई पटकपटक कोट्याइरहनु चाहिँ बेवकुफी हो ।
तिमीलाई लाग्न सक्छ मलाई उसले धोका दियो । तर तिमी त्यो भ्रममा कहिले नपर्नू । हो, तिमीले मलाई आफूलाई भन्दा पनि ज्यादा प्रेम गरेकी थियौ , तिमीले सोच्छौ होला ‘के कमी भयो र हाम्रो सम्बन्ध अनायासै यसरी छुट्नु पर्यो ?’
हरेक मान्छेमा कमीकमजोरी हुन्छ । त्यो तिमीमा पनि थियो, मसँग पनि छ । तर आफ्नो कमजोरीलाई स्वीकार गर्न जोकोहीले सक्दैन । तिमीमा यस्तो घमण्ड थियो जसमा तिमीले कहिले आत्मआलोचना गर्न जरुर ठानेनौ, र सम्बन्धभन्दा प्यारो आफ्नो घमण्ड देख्यौ । मैले पनि हरेक गल्तीको माफ हुँदैन भन्ने कुरा बुझ्न सकिनँ । यसरी नै अन्त्य भयो हाम्रो प्रिय सम्बन्ध ।
म तिम्रो अहिलेको अवस्था मज्जाले अनुभव गर्नसक्छु । मैले धेरैपटक भोगेको पनि छु । यस्तो बेलामा कसैले सहानुभूति दिन खोज्यो भने पनि रूनमात्र मन लाग्छ । एकोहोरो सोच्दा ‘म त अब बाँच्दिनँ, किन र केका लागि बाँच्नु ?’ जस्तो लाग्छ । तर समयले आफैँ सिकाउँदो रहेछ बाँच्न । आफ्नो विगतलाई सम्झिएँ, हुन नसकेको प्रेमिकालाई सम्झिएँ जसलाई म प्रेममा कुनै हद हुन्छ भने त्यो हदभन्दा धेरै माथि उठेर प्रेम गर्थें र उसको बन्न चाहन्थेँ । तर के मैले उसलाई आफ्नो बनाउन सकेँ र ? धेरै माया गर्नुले मात्र सम्बन्ध सफल हुन्छ भन्ने हुँदैन । सम्बन्ध बचाउन इमानदार, जिम्मेवार र लचकदार हुन आवश्यक हुन्छ । तिमी इमानदार थियौ, जिम्मेवार पनि । तर कहिले झुक्नु जानेनौ । लचकदार कहिले हुन सकेनौ । त्यो नै तिम्रो सबैभन्दा ठुलो कमजोरी भनौ वा घमण्ड ।
तिमीसँग मेरो सम्बन्ध सुरुवात हुँदा मलाई तिम्रो खासै वास्ता लाग्दैन थियो, त्यसैले महसुस पाएन । जब वास्ता गर्न थालेँ तब तिमीले मसँग गर्ने व्यवहार र वचनमा परिवर्तन पाएँ । पहिले निकै माया र वास्ता गरेझैँ गर्थ्यौ । विस्तारै म हुनु र नहुनुमा तिमीलाई कुनै फरक नै नपर्नेझैं गर्न थाल्यौ । मैले धेरै समयसम्म दिन तनावमा, रात निद्राबिना बिताएको छु । मलाई त्यसबेला आफू निकै एक्लो लाग्थ्यो । केही गर्न, कसैसँग बोल्न जाँगर लाग्दैन थियो । अभाव केही कुराको नभए पनि आफू टुहुरो लाग्थ्यो।
एक अन्जान व्यक्तिलाई यति धेरै खास जीवनमा पहिलोपटक बनाएको थिएँ। त्यसैमा पनि तिमीलाई जत्तिकै महत्त्व मैले कसैलाई दिएको थिइनँ । यसको मतलब यो होइन कि तिमीले केही गर्दै गरेनौ । तिमीले पनि मेरो लागि धेरै गरेकी छौ, र मैले आमाबाट पाउने सुख, शान्ति र प्रेरणा तिमीबाट पाएको थिएँ । तिमी मलाई हरेक परिस्थितिमा बचाउन सक्छौ भन्न विश्वास थियो । म तिम्रो साथमा हुँदा आमाको काखमा जतिसुकै सुरक्षित महसुस गर्ने गर्थें ।
‘मलाई तिमीले आफूसँग बाँधेर राख्न नसक्नु कमजोरी तिम्रो हो ।’ सायद यो भनाइ नै अन्तिम थियो मेरो । तर म गलत रहेछु । प्रेमले कसैलाई बाधेँर राख्न सकिँदैन रहेछ । प्रेम एकअर्कालाई बाध्नको लागि नभई माया र साथ दिई सहयात्री बन्नका लागि गरिँदो रहेछ ।
तिम्रो अर्को कमजोरी मलाई अघात प्रेम र विश्वास गर्नु हो । मलाई तिमीबाहेक अरु कसैले बाँधेर राख्न सक्दैन भन्ने सोच्नु पनि कमजोरी हो । यो कुरा मैले त बुझाउन सकिनँ, स्वंय तिमीले विश्वास गर्ने भगवान् आएर भने पनि तिमी स्वीकार गर्दैनौ।
‘मैले दुनिया ठानेको मान्छेले मेरो दुनिया नै उजाड बनाएर गयो’ कहिले नसोच्नु । ‘अब म केही गर्न सक्दिनँ । बाँच्दिनँ, अब मर्छु ।’ भन्ने ख्याल मनमा कहिले नलिनु। यहाँ हरेकको मन एकचोटि नराम्ररी टुटेको हुन्छ । कसैको त एउटै मन धेरैपटक पनि टुटेको हुन्छ । मलाई लाग्छ, टुट्नु नराम्रो होइन । टुटेर जोडिन नखोज्नु, लागेको चोटलाई पटकपटक कोट्याइरहनु चाहिँ बेवकुफी हो ।
हामी आफ्नो शरीरलाई हेरौँ, आफ्ना हातखुट्टा हेरौँ । हातखुट्टाका प्रत्येक अङ्ग टुटेर बनेका छन् । टुटेका हड्डीलाई जोर्नीले जोडेर हाम्रा हातखुट्टाका औंला बनेका छन् । हामी एकछिन जोर्नी नै नभएको हातखुट्टाको कल्पना गरौँ त कस्तो लाग्छ ? हड्डी टुट्दैन थिए, जोर्नीले जोडिँदैन थियो भने पक्कै पनि हामी यति सहज र सबल महसुस गर्दैन्थ्यौँ जुन आज गर्छौं। त्यस्तै टुटेर खण्ड-खण्ड भएका हाम्रा सपना र रहरलाई हामी आत्मबल र आत्मविश्वासले जोड्न सक्छौँ । जोड्ने कि नजोड्ने त्यो आफ्नो हातमा हुन्छ । टुट्नु कत्ति नराम्रो होइन । यसले नयाँ जीवन दिन्छ ।
प्रेमको बदलामा प्रेम चाहनु गलत होइन तर तिमीले प्रेम गरेकाले तिमीलाई उसले तिमीले गरेजस्तै प्रेम गर्नुपर्छ भन्नेचाहिँ नसोचेकै राम्रो । जस्तै; तिमीलाई कसैसँग बोल्न मन लागेमा फोन गर्न सक्छौ । फोन गर्ने तिम्रो हातमा छ तर फोन उठाउने/नउठाउने उसको हातमा छ । हाम्रो आफ्नै मन त बुझ्न सकिँदैन, अर्काको बुझ्नै नसकिने मन बुझ्ने मूर्खता किन गर्ने ?
माया भन्ने चिज अचम्मको हुन्छ । बुझ्न खोजियो भनेर डुबाएर जान्छ तर बाँच्नका लागि हामीले तैरिनुपर्छ । त्यसैले प्रेमलाई परिभाषाको दायराभित्र राख्न, उसले त्यसो गर्यो भने मैलै यसो गर्छु भनेर कल्पन उचित हुँदैन । जीवनमा प्रेम चाहिन्छ, राम्रो लागेमा प्रेम गर्न पनि पाइन्छ । सापटी लगेको पैसा फिर्ता मागेजस्तै कसैलाई मैले प्रेम गर्छु, तैंले पनि गर् भनेर दबाब दिन सकिन्न। यहाँ तिमी मात्र नभएर ती तमाम व्यक्तिहरूले बुझ्न जरुरी छ जो प्रेमीले धोका दियो भनेर आफ्नो हत्यारा आफैँ बन्ने बारे सोच्दैछन् ।
सत्य कुरा, तिमीले सबैभन्दा बढी प्रेम आफूलाई गर्छौ । तिमी रूनुको कारण कसैले घात गरेर होइन, तिम्रो मन दुखेर हो। पहिलो कुरा, तिमीले मलाई आफूलाई भन्दा बढी महत्त्व दिएर गल्ती गर्यौ । अर्को, आफूलाई प्रेम गर्न छोडेर अरुले प्रेम गरिदिए हुन्थ्यो भन्ने आश राखेर गल्ती गर्यौ ।
तिमीले चाहँदाचाहँदै, आफ्नो शतप्रतिशत दिँदादिँदै तिमीले चाहेको कुरा प्राप्त गर्न सकेनौ भने सम्झनु ती कुरा तिम्रा लागि बनेका होइनन्, तिमी तीभन्दा राम्रा कुरा प्राप्त गर्न सक्छौ। समस्या र भावनाबाट भागेर होइन, आत्मसात गर्दै सामना गरेर जिउनु पर्छ । हामी यी परिस्थितिबाट भागियो भने कुकुरसँग भागेजस्तै हुन्छ। समस्या र भावना पछि लागेर डस्न आइपुग्छन् । त्यसैले नडराई टक्क उभिएर सामना गर्नुपर्छ । समस्या आफैँ भाग्छन् या तिम्रो कदममा झुक्छन् ।
हिजोको कुरा आज पुरानो भयो र आजको कुरा भोलि पुरानो हुनेछ । अहिले पीडा भए पनि समय अधिक बलवान् छ । समयसँगै सबै ठिक हुन्छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ, सब कुरा ठिक हुन्छ । सबै कुरा परिवर्तनशील छ । कसैका लागि पनि मरिहत्ते गर्नु पर्दैन ।
विवाह भएर बालबच्चा भएपछि त सम्बन्ध छुट्छ, हाम्रो त एक प्रेम सम्बन्ध मात्र टुटेको हो । केही दिन नराम्रो लाग्नेछ तर विश्वास गर – समयसँगै सामान्य बन्नेछौ । सबै कुरा ठिक हुनेछ । कोही बिना कोही मर्दैन, आदतको कुरा केही समय लाग्छ तर परिवर्तन भने पक्कै हुन्छ ।
पहिला राम्रो, प्रिय मान्छे बोलेको, हाँसेको सुनिरहुँ, हेरिरहुँ लाग्ने मान्छे, ऊसँगको संगतपछि देख्दा पनि रिस उठ्छ । यो साँचो हो, हामीले पहिले व्यक्तिको तन, अनुहार हेरेर मन पराइन्छ । व्यक्तिको व्यवहार र विचार सुन्दर नभएमा त्यो दिगो हुँदैन । यसर्थ कसैलाई आकर्षण गर्न तनलाई श्रृङ्गार्नुभन्दा मन र विचारलाई सुन्दर बनाउनतर्फ हामीले विशेष ध्यान दिनुपर्छ । मैले माथि पनि स्वीकार गरिसकेको छु गल्ती मेरो हो । मैले तिमीलाई बुझ्न सकिनँ, मजस्तो तिम्रो उपस्थितिलाई महत्त्व नदिने व्यक्ति तिम्रो जीवनमा भएकोभन्दा नभएको नै राम्रो हुन्छ । आफ्नो अनुशासनमा रहेर सुन्दर विचारमा मेहनत गरिरह्यौ भने तिमीले चाहेको कुराले तिमी खोज्दै तिम्रासामु आइपुग्छ र त्यो तिम्रो हुनेछ ।
एक गए अर्को आउँछ । तिमीलाई महत्त्व नै नदिने, मूल्य नै नदिनेका लागि तिम्रो मूल्यवान् जीवन किन त्याग गर्न खोज्दैछौ ? तिमी हुनुमा फरक नपर्नेलाई तिमी संसारै त्यागेर गए पनि केही फरक पर्दैन । फरक त ती आमा, बहिनी र आफन्तलाई पर्छ जसले तिम्रो खुसीका लागि तिमीले चाहेका सबथोक पुर्याइदिएका छन् । तिम्रो जीवन तिम्रो मात्र होइन । तिमी आज यहाँ हुनुका पछाडि थुप्रै व्यक्तिको हात छ, र ती व्यक्तिप्रति तिमीले पूरा गर्नुपर्ने कर्तव्य छन् । प्रिय मान्छे विश्वास गर , टुट्नु नराम्रो होइन, यसले तिमीलाई पहिलेभन्दा सबल र सक्षम बनाउँछ । म तिम्रो सफल र सुन्दर जीवनको कामना गर्छु ।
गुड बाई!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
