कबिरसँग पनि झगडा गर्न मन लाग्यो । मेरी आमा त सुखमा निकै सुमिरण गर्थिन् अनि फेरि किन दु:ख भोग्नु पर्यो ?
अन्नपूर्ण न्युरो अस्पताल माइतीघरको आइसीयु कक्षको ठिक्क बाहिर बिरामी कुरुवा कक्षमा बसिरहेको छु । जीवनसँग हार नमान्ने मेरी ७८ वर्षीय आमा मृत्युसँग लडिरहनु भएको छ भित्र ।
विभिन्न मिसिनहरूको चङ्गुलमा बेरिएर पुनः स्वास्थ हुने पूर्णविश्वासका साथ प्रत्येक पलहरूलाई कष्टपूर्ण बिताइरहनुभएको छ । सबैजनाले आमाको स्वास्थलाभको कामना गर्दै ईश्वरसँग प्रार्थना गरिरहेको आभास मेरो अन्तरहृदयमा तरङ्गित भयो।
डाक्टरहरू आफ्नो कर्तव्यप्रति दत्तचित्त भएर लागिरहेका थिए।
म मेरी आमालाई सम्झिन्छु-
“निकै हिम्तिली र बहादुर नारी हो भन्ने कुरामा दुई मत थिएन । अघिल्लो पटक मस्तिष्कमा झड्का आएर शरीरको देब्रे पाटोलाई पक्षघात गर्दा पनि हिम्मतले दुरुस्त हुनुभएको थियो। जबसम्म आत्मशक्तिमा पक्षघात हुँदैन, तबसम्म मान्छेले यो शरीरलाई वशमा राख्न सक्दो रहेछ भन्ने उदाहरण दिन सफल मेरी आमाले सायद औषधी खान भुल्नुभएछ त्यो दिन। त्यो दिन झन्डै मैले नित्शेसँग मीत लगाएको । मलाई पनि ईश्वरसँग झनक्क रिस उठेर आयो । सन्तजस्ती मेरी आमाले किन सधैँ दु:ख पाएको ?
दु:ख सहन सक्छे भनेर दु:ख मात्र मेरी आमालाई दिने ? भगवान नै छैनन् । मन नै त हो । विचारका भुल्का उठ्दै फुट्दै गरिरहन्छन् ।
फेरि अर्को मनले भन्यो – “धन्न ईश्वर भएर त मेरी आमा आज अस्पतालमा सुरक्षित छिन् ।”
आँखा चिम्म गरेर ईश्वरलाई कति चाँडै यो मनले धन्यवाद भनि पो हाल्यो ।
ईश्वर छैन भन्दा म अशान्त भएँ । ईश्वर छन् भन्दा म शान्त भएँ । आखिर यो कस्तो भाव हो ? मेरो सानाे बुद्धिले ठम्यायो । ईश्वर हुनु र नहुनुले केही फरक पार्दैन तर मन शान्त र सकारात्मक भए परम आनन्द आउने रहेछ, यदि मन अशान्त र नकारात्मक भयो भने फसाद पर्छ । ईश्वर छ भन्नू सकारात्मक ऊर्जा आफूमा ल्याउनुजस्तै लाग्यो।
“खाली दिमाग सैतानको घर ।”
काम थिएन विचारहरूसँग कुरा गर्न थालेँ ।
संसार न हो यहाँ सबै कुरा कहाँ तरल मात्र हुन्छ र ? आमाको पनि सबैसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि आफ्नै रगत रिस्सिएर बाक्लिएपछि कसको के लाग्छ । नशा नशामा हरपल सलल बग्नु पर्ने प्राकृति रगतलाई बगाउन त हिजोआज औषधिको सहारा लिनु पर्छ । मेरी आमा पनि एक मुठ्ठी औषधि खान्छिन् ।
पहिलो पटक घात हुँदा पनि हात लुलो भएको थियो, बोली लर्बरायो, गोडा लुला भए तर अहँ ! मेरी आमाको हिम्मत रतिभर डग्मगाएन ।
यो पटक पनि मेरी आमा उठ्छिन् ! उठ्छिन् ! मलाई विश्वास थियो । विश्वास पनि अर्को औषधी रहेछ । आमाको अतीत अगाडि ठिङ्ग उभियो ।
समयका डरलाग्दा बबन्डरहरूले कैयौंपटक उडाउन खोजेको थियो तर आमा पीपल भएर उभिनुभयो ।
हरेक चुनौतीसँग सामना गर्दै अगाडि बढेकी मेरी आमा आफ्नै मुटुमा बग्ने रगतले दुईचोटी झुक्यायो । तर अझ पनि कमजाेर हुनु भएको छैन । यस्तै सोच्दै थिएँ । अश्रुवर्षा भएको पत्तै भएन ।
आमा त्यहीँ हुनुहुन्थ्यो तर पनि आमा त्यहाँ हुनुहुन्नथ्याे । मैले मेरा विचारहरूलाई नियाल्दै गएँ । स्मृतिमा आमाले बोलेको, हाँसेको, हिँडेको, खाएको मात्र समय नाचिरहेको थियो ।
आमा मुढो जसरी लडेको स्मृति आउँदै आएन । कम्तीमा राती त सुत्नु हुन्थ्यो नि आमा, त्यो पनि स्मृतिमा आएन । क्रियाशील, चेतनशील र गतिशील आमाको छवि बोलिरह्यो ।
आमा के हो, शरीर मात्र हो त ? शरीर त त्यहीँ थियो । म आमाको शरीरसँग के खोजिरहेको छु । अङ्गप्रत्यङ्ग सबै त्यहीँ छन् । अनुहार देखिरहेको छु । स्वास पनि चलिरहेको छ । तर पनि मेरी आमा त्यहाँ हुनुहुन्न । म आत्तिएँ ।
आबुई ! नाइँ आमा यसै गरी सुतिरहनु भयो भने ? योभन्दा बढी कल्पना गर्न सकिनँ ।
डाक्टरहरूको टोली राउन्ड गर्ने आउने समयमा म उपस्थित थिएँ । डाक्टरहरूले उहाँको आत्मबलको प्रशंसा यति मज्जाले गर्नुभयो कि भित्रभित्र आमाजस्तै हुन्छु भनेर हतारमै सङ्कल्प गरि पो हालेँ । पछि पछुतो मान्नु पर्ने हो कि ?
त्यो दिन आइसीयुबाट आमालाई बाहिर वाडमा सार्ने निर्णय पनि डाक्टरले सुनाए मलाई , जुन हाम्रो लागि खुसीको खबर थियो। मस्तिष्कको नशामा सामान्य रगत जमेको र अप्रेसन नगरिकनै त्यो निको हुने अर्को आनन्दको खबर पनि तुरुन्तै डाक्टरले दिए ।
प्रायः सोच्थेँ, न म सुख हुँ न म दु:ख हुँ । म त खाली खोक्रो मानव आकृति मात्र हुँ, जहाँ जस्तो संवेगहरू बग्न थाल्छन् म उस्तै हुन्छु । संवेगहरूले राज गर्छन् ममाथि । मेरो केही अस्तित्व छैन ? भाव, चेतना, चिन्ता, चिन्तन र चित्रहरूनै सर्वोच्च हुने रहेछ । खुसी र दु:ख सुदूरबाट आउने पाहुना कदापि होइन, यी त कुलजस्तै हुन भएर पनि विलुप्त । छैन भन्दा पनि छ, छ भन्दा पनि छैन । बढो अचम्मको छ मानवहृदय।
घरबाट अस्पताल आउँदा अनेकौं संवेगहरूको नदीमा पौडिँदै थिएँ । तर मैले मलाई आफ्नै संवेगमा बेयली खेलेको स्पष्ट देखेर खुसी भएँ । फेरि संवेग हावी भयो । संवेग त मनरूपी घोडाको लगाम रहेछ । लगाम समात्न नसक्दा घोडा त बेतोडले दौडिन्छ नि । वर्षौंदेखि यिनै संवेगरूपी घोडाले दौडाइरहेका छन् ।
अरूको व्यवहारमा निर्भर छ सुख र दु:ख । गलत । सुख दु:ख त मनको अवस्था, परिस्थिति, प्रसङ्गबाट सिर्जित भाव मात्र रहेछ। सुख र दु:खको अस्तित्व छैन । मेरो त छ नि तर भएर पनि खोइ चिन्न सकेको । सुख र दु:खको बोध गर्ने म खोइ कहाँ छु ? कतै म त्यो चेतना मात्र त होइन ? जसले अनुभव गर्छ । मैले मलाई मभित्र नै भेटाउन सकिनँ । झलक्क सोचेँ अगिसम्म आमाको टाउकोको अप्रेसन गर्नुपर्छ भन्दा भक्कानिएर रोएको म एक्कैछिनमा औषधि खाँदा मात्र हुन्छ भन्दा मक्ख पर्दै हाँस्न थालेँ । म रोएको र हाँसेको मैले देखेर म मुस्कुराएँ ।
म डाक्टरहरूसँग भित्र गएँ ।
म टुलुटुलु मेसिनमा जकडिएको आमाको अनुहार हेर्दै थिएँ ।
आमालाई डाक्टरले मलाई देखाउँदै प्रश्न सोधे, “आमा हजुरको कति जना छोराछोरी ?”
धोद्रो आवाजमा आमाले उत्तर दिनुभयो, “सातवटा छोरी र एउटा छोरा।”
डाक्टरले मलाई देखाएर भन्नुभयो, “वहाँ कुन छोरी हो ?”
आमाले आफ्नो दाहिने हात उचाल्दै कान्छी औंला देखाउनुभयो, “सबैभन्दा जेठी?”
डाक्टरले पुनः सोधे। आमाले फेरि कान्छीको भारी आवाज निकाल्नु भयो।
मेरा आँखामा आँसु भेल बनेर आउन गड्याङगुडुङ गर्दै थियो । जब आमाले मुख बाङ्गो पार्दै मलाई भन्नुभयो, “कल्पेलाई लिएर महेन्द्रनगर जान आँटेको थिएँ , थुप्रै मान्छे थिए, म लडेँ ।”
आमाको बोली स्पष्ट थिएन ।
आँसु रोक्न हिम्मतको ठूलो बाँध लगाउँदै सोधेँ, ” आमा ! कस्ले थाहा पायो त यस्तो भा,को ?
आमाले फेरि बोल्नुभयो, “ला:ला:ला मलाई अप्ठ्याराे भयो जाओ, जाओ भने अनि । कल्पे…।”
आमाको कुरा मैले बुझिहालेँ।
डाक्टरले मलाई बाहिर जाने सल्लाह दिनुभयो ।
आमालाई घरबाट खाना लिएर गएको थिएँ ।
मैले बिस्तारै भनेँ – “आमा ! मलाई यहाँ बस्न दिँदैनन्, हजुरलाई नर्सले खाना ख्वाइदिन्छ्न् । म बाहिर बसिरहन्छु, साँझसम्म वार्डमा सार्छन् अनि जतिसुकै बेला हाम्रो भेट हुन्छ।”
यति भनेर म बाहिर निस्कन लागेको थिएँ।
इसाराले मलाई भन्नुभयो , “तँले चैं के खान्छेस् ?”
कताकता आफू निकै सम्पन्न भएको अनुभूति भयो । आमा ! आमा ! नै हो कसैसँग तुलना गर्न नमिल्ने ।
आमालाई भनेँ, “मैले खाना खाएर आएको छु, खाजा पनि ल्याएको छु खान्छु ।”
अनि आमाले उज्यालो मुहार पार्दै बाहिर गएर बस भन्ने भावमा भित्रबाट बिदा दिनुभयो ।
म प्रतीक्षालयमा पुनः सोचमग्न हुँदै गएँ । दु:खमा पनि म आफूलाई भाग्यमानी ठान्न पुगेँ किनकि भिमानको गौरनटोलमा एक्लै भएको बेला,यो अट्याक आएको भए ? राती एक्लै सुतेको बेला भएको भए ? के आज म अन्नपूर्ण अस्पतालमा आमालाई हेर्न पाउँथेँ ? तीन दिनमा नै ७५% ठिक हुन लागेको आभाष पाउँथेँ ? नेपालकै उम्दा अस्पतालहरुमा आमाको उपचार भएकाले नै सायद हामी पुनः टुहुरा हुनबाट बच्यौँ ।
ठ्याक्कै एक वर्ष अगाडि पनि न्युरो अस्पताल बाँसवारीमा दाजुले छोटो समयमा चाँडो पुर्याउन सफल भएकाले आमाले प्यारलाइज्ड भएर बस्नु परेन । अट्याकपछि पनि आमाले निकै आनन्दमय जीवन बिताउनुभयो । निकै रमाइला धार्मिक यात्राहरू बडो फुर्तीका साथ भ्रमण गर्नुभयो ।
जुन उहाँको अनुहारको प्रसन्नताबाट प्रकट हुन्थ्यो । हलेसीदेखि दक्षिण भारत, कामख्क्षादेखि कन्याकुमारीसम्मका रोचन घटनाक्रम प्रत्येक भेटमा सुनाउन उत्सुक हुनुहुन्थ्यो ।
यति हुँदाहुँदै पनि फेरि उहाँलाई दोस्रो अट्याक भएको छ । हामी सबै पशुपतिनाथसँग हात जोडेर बिन्ती गर्न आतुर थियौँ ।
“दु: ख मे सुमिरण सब करे, सुखमे करेन कोई,
जो सुखमे करे सुमिरण दु:ख काहेको होई कबिरा।
दु:ख काहेको होइ !”
कबिरसँग पनि झगडा गर्न मन लाग्यो । मेरी आमा त सुखमा निकै सुमिरण गर्थिन् अनि फेरि किन दु:ख भोग्नु पर्यो ? तर्क धेरै गर्दा तनाव पो हुने रहेछ । मलाई त शान्ति मन पर्छ भो त्यसैले तर्क गर्दिनँ । यस्तो सोच्दै एकछिन पछि शान्त भएर पुनः सोचेँ।
बिरामी हुनुमा के भगवानको हातमा छ ? आधुनिक जीवन शैली र खानपिनको कारण हो रोगको जड तर अप्ठ्याराे परिस्थितिमा जो सुमिरण गर्छ ऊ शान्त हुन सक्छ अरू केही कुरा छैन । मेरो मन फेरि फक्कियो। आँखा बन्द गर्दै नदेखिने सत्तालाई पुकारेँ ।
“अब फेरि मेरी आमाले जीवनका स्वर्णिम पलहरू अस्पतालको ओछ्यानमा बिताउन नपरोस् । हिँड्दा हिँड्दै, खाँदा खाँदै, बोल्दाबोल्दै मेरी आमाको अन्तिम घडी सुखद तवरले बितोस्।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।