बिपिन अर्याल

जीवनमा होस् सम्हालेदेखि मैले खुसीको साथ एकपल पनि बिताउन सकिनँ । छ वर्ष हुँदा आमाले छाडिन्, न कहिल्यै आमाको खुसी नै महसुस गर्न पाएँ जीवनमा,आफ्नो भन्ने बामात्र थिए । बाको माया पनि दैवले चुडेर कन्छी आमासंग गाँसिदियो । भगवानले मेरो भाग्य बनाउँदा सायद दुःखको चुली मात्र पुर्पुरोमा भरेका रहेछन्, त्यसैले आज यस्तो दिन देख्नु पर्यो । सारा दुःख किशोरावस्थामा नै भोग्नुपर्यो, जतिबेला खेल्ने कुद्ने रहर हुन्छ ।

घरवरिपरि गाउँ नै जम्मा भएको थियो । बालाई तुलसीमठमा ’बोलाए हजुर’ भन्ने भावमा राखिएको थियो । हरेकको अनुहारमा अचम्म र दुःखको अनुभूति थियो ।

यो माइलाले कसरी आत्महत्या गर्न सकेको होला ? आफ्नो परिवारलाई पनि सम्झेन यसले, एउटी भएकी छोरी र माईली के आधार बाँच्लान ? केही वर्षअघि ठूलीले पनि संसार छाडिन् । यिनका परिवारले अघिल्लो जन्ममा कस्तो पाप गरेका रहेछन् नि बाबै, यो जन्ममा यतिका दुःख भोग्नु परेका !

म पिँढीमा अर्धमृत मुद्रामा थिएँ । बज्रपातले भक्कानिएको जस्तो । पानीबाट झिकेको माछा बगरमा छट्पटाएजस्तो । मेरा आँखाहरुमा डर थिए । कहालिलाग्दो कहर र बिडम्बनाको बाढीले मेरा मनभित्रको डरका बाँध भत्काउनुको सट्टा, झनै बलियो बनाएको थियो ।
समाजले बालाई आत्महत्याको दोषी ठहर्याएको थियो । बाले आत्महत्याको कल्पना पनि गर्न सक्दैनथेँ, “मेरा बा सहनशक्तिका प्रतिमुर्ति थिए । आखिर अति भएपछि मुर्तिले पनि चल्न बाध्य हुनेरहेछ ।“

वर्षाको समय थियो । बा राति खेतमा पानी मिलाउन गएका थिए । आकाशबाट भीषण पानी परिरहेको थियो । म रेडियोमा गित सुन्दै थिएँ । माथिल्लो कोठाबाट असहज चिच्याहट आइरहेको थियो । म बिस्तारै माथिल्लो कोठामा पुगेर ढोकाको चरबाट चिहाएँ । आमा गैरपुरुषसंग अर्धनग्न अवस्थामा सिरकभित्र गुटमुटिएकी थिइन । मेरा आँसुका ढिक्का बरर…. खस्न लागे । म आफ्नो कोठामा पुगेर सुतेको भान बनाएँ । त्यतिकैमा बा घर आइपुग्गे र सरासर माथि पुगे । बा पुग्नासाथ, म पनि पछाडि गइरहेको थिएँ ।

वास्नाको आगोमा लिप्त हुने किराहरूलाई डर र इज्जतको त्रास हुँदोरहेनछ । राक्षस भनेका पौराणिक कथाको खराब शक्ति भएको पात्रमात्र रहेनछ, दया माया नभएपछि मन्छे नै राक्षस बन्ने रहेछ ।

ती राक्षसहरूले बाको घाँटीमा पासो लगाए । बा छट्पटाइरहेका थिए, हातले पासो समाते, खुट्टा तलमाथि गर्दै जीवनको भीख मागिरहेका थिए बा । म डरले चिच्याउँदै भाग्न लागेको थिएँ, मलाई पनि समाते र घटनाको पोल खोले मारिदिने धम्की दिए ।

हरेक दिन बा अनि आमालाई सम्झदै एक वर्ष बित्यो । शरीर खिइएर हाड मात्र बाँकी थियो । घरको कामकाज सबै मैले नै गर्नु पथ्र्यो, नगरे कहिले तातो पानी त कहिले चुरोटका ठुटाले शरिरमा पोलिदिन्थे । नरोएको रात थिएन । रक्सीको मातमा दुवै जान मेराअगाडि नै गलत हर्कत गर्न थाल्दथे । प्रत्येक दिन घिनलाग्दो घटना दोहोरिइरहन्थो । आफूले गरेका हरेक पापको आरोप आमाले मलाई लगाउँथिन् ।

सुन्दरता खोज्न बत्तीमा आउँदा किराहरू बत्तीको तातोले जलेर मरेझैं, मैले हरेक खुसी खोज्दा आफू जलेर मर्नु पथ्र्यो । ईश्वर हुन्छन् भन्ने भीडलाई म र मैले पाएका सजाय एकाएक दिन चाहन्थेँ ।

अब गाउँमा हल्ला फैलने डरले आमाले मेरो विवाह त्यो पुरुषसंग गर्ने निर्णय गरिन्, जोसंग आमा हरेक दिन वास्नाको सागरमा डुबुल्की मारी रहन्थिन् । समाजमा मलाई चरित्रहिनको संघा दिएर आमाले मेरो बिहे राक्षससंग गराइदिइन्, त्यसलाई घरज्वाँइ राखेर आफू मोजमा बस्ने षड्यन्त्र रचेकी थिइन् । बाको हत्यारासंग बिहे गर्ने अथवा आत्महत्या गर्ने मेराअगाडि यी बाहेक अरु कुनै बिकल्प थिएन ।

मैले आत्महत्या गर्ने निर्णय गर्दै थिएँ, तर मैले सम्झिएँ । माकुराको बच्चाले आफू ठुलो हुँदैगएपछि माउलाई नै खाएको । यतिकैमा आँशु खस्न थाल्यो । त्यो रात मैले आफ्नो आँखाबाट खस्दै गरेको एउटा आँशुको थोपालाई प्रश्न गरेँ, “तिमि कहाँ जाँदै छौ ?“

आँसुले जवाफ दियो, “तिम्रो आँखामा निकै कहालिलाग्दो दृश्य छ । म त्यो हेरेर एकछिन पनि बस्न सकिनँ ।“

मेरा बाको निर्मम हत्याको दृश्य आँशुले पनि हेरेर बस्न सकेनछ, सायद । मैले बाको आत्मालाई न्याय दिने पुनः निणर्य गरेँ ।

भोलिपल्ट मेरो विवाह भयो । विवाहमा स्त्रीले गर्ने सारा श्रृङ्गार मैले गरेको थिएँ, तर मसंग विवाह गर्दा स्त्रीमा हुनुपर्ने कुनै गुण भने थिएन । थियो, त केवल बाको हत्यारासंग बदला लिने अठोट ।

विवाह सम्पन्न भयो राति, उनीहरु मस्तीमा थिए । मलाई खाना बनाउन लगाई आफूहरु उत्सव मनाइरहेका थिए । म पनि उनीहरुको मृत्युअघिको उत्सव मनाइरहेको थिएँ । खानामा विष मिलाइदिएँ । खाना खाएर सक्नासाथ उनीहरू आफ्नो कोठामा गए । म नजिकैको काठ चिर्ने बन्चरो हातमा लिएर उही कोठामा पुगेँ । जहाँ बालाई तिनीहरुले हत्या गरेका थिए । उही कोठामा दुवै रगत वाक्दै थिए ।

पानी पुकारी रहेका दुवैलाई मैले बन्चरो प्रहार गरे नारीको कालीरूप झल्कने गरी । रातो सारीमा जताततै रगत थियो । रिसको आवेग पनि डरलाग्दो भाव रहेछ, यसले कुनै पनि समयमा कुनै पनि सम्बन्धलाई निमेषभरमै खत्तम पार्दोरहेछ । ‘म आजबाट स्वतन्न्त्र भए’, भन्दै खुसी उत्सव मनाउँदै थिएँ । बाको आत्मा सायद त्यो कोठाबाट सिमलको भुवासरि उठ्दै थियो ।

मैले धेरै पहिले गर्नुपर्ने काम अहिले गरेँ । अन्यायले न्याय पायो । म बा, आमाको साथमा जान चाहन्थेँ । उनीहरुको मायाको काखमा गुटमुटिन चाहन्थेँ । फेरि एकपटक पुनर्जन्म चाहन्थेँ । यो पटक भने म आमाको जीवनभरिको साथ चाहान्छु । मेरो जीवनले अर्थ बटुल्यो अब जीवनको रहर थिएन । मैले पनि घरबाट हामफालेर आफ्नै आँगनमा देहत्याग गरेँ ।