ज्योति मिश्र

भनिन्छ, सपनाले मान्छेलाई हौसला दिन्छ र सपना जतिका सुन्दर केही हुँदैनन् । तर हरेक ठाउँमा यो सिद्धान्त लागु हुँदैन्।

अफिस जाने क्रममा सधैँ एक जना दिदीसँग आफ्नो बच्चालाई स्कुल पुर्याउन जाँदा बाटोमा भेट्नु हुन्छ । हामी सगैँ आ-आफ्नो गन्तव्यतिर जाने गर्छौँ । हामी आज पनि सँगै गयौँ । जादैँ गर्दा हामी प्रायः एकअर्काको बारेमा कुरा गर्ने गर्छौँ । आज हामी घरबाट चाँडै निस्केकोले  अरू दिनको भन्दा अलिक धेरै कुरा गर्यौँ ।

म अफिसको ड्रेसमा कोट लगाएर जाँदा उहाँ मलाई हेरेर अलिक भाबुक हुदैँ, ‘म पनि आज तिमी जस्तै आफ्नो खुट्टामा उभेको हुन्थेँ’, भन्नुभयो । पहिला पहिला त खासै केही भन्नुभएन, तर पछि अलि कर गर्दा उहाँले सुनाउनुभयो, उहाँ पढ्नमा साह्रै ट्यालेन्टेड हुनुहुन्थ्यो । क्लासमा जहिले फस्ट आउने र अरू क्रियाकलापमा पनि साह्रै एक्टिव । अर्थशास्त्रमा मास्टर्स गरेर प्रोफेसर बन्ने सपना थियो उहाँको । तर तेत्रो ट्यालेन्ट भएर पनि उहाँलाई बिहे गर्न कर लगाउन थालियो। केटीले अन्त्यमा घर-परिवार त चलाउने हो । फेरि धेरै पढाउने स्थिति नभएको र पढेर जागिर गर्ने समाजको वातावरण नभएको भनेर बिचमै पढाइ रोकी बिहेको जिम्मेवारी काँधमा बोक्न विवश बनाइयो ।

खै किन न किन ? उहाँसँग कुरा गर्दा आफ्नो स्थिति पनि उहाँले भनेको भन्दा खासै फरक नभएको लाग्यो। म जहिले आफ्नो कतिपय सपना पूरा हुन नसकेकोमा आफूप्रति र आफ्नो परिस्थितिप्रति गुनासो व्यक्त गर्थें ।

एक मध्यम वर्गीय परिवारमा जन्मिएकी केटी ! मध्यम वर्गीय र त्यसमा पनि मधेसतिर जन्मिएकी । भनिन्छ,यी कुरा सपनाले बुझ्दैनन्। सपनाले न त धर्म बुझ्छन् न त परिवेश, न त उमेर बुझ्छन् न त समाज। सपना त त्यो चिज हो जुन कतिखेर जिन्दगीमा अमूल्य भइहाल्छन्, त्यो थाहा नै हुँदैनन्। तर वास्तविकता त भनाईबाट पर पो हुँदो रहेछ ! यदि तपाईं मध्यम वर्गीय परिवारको ठूलो बच्चा हुनुहुन्छ भने त पक्कै तपाईँको परिस्थिति तपाईँको सपना माथि हावी हुने गर्दछ ।

जब तपाईँको अार्थिक र पारिवारिक स्थितिको चादर सपनाको खुट्टाभन्दा ठूलो भएको महशुस हुन्छ, त्यतिबेला तपाईँसँग सपना पूरा गर्नुभन्दा पनि धेरै प्राथमिक कुरा अर्कैअर्कै लाग्ने गर्दछन्। त्यसपछि कति सपना हेरिन्छन् र कति छोडिन्छन्। पछिपछि सुनौलो भविष्यका लागि दीर्घकालीन नभई वर्तमानको परिस्थिति अनुसार अल्पकालीन सपना हेरिन थालिन्छ ।

माथि मैले मधेसको कुरा किन गरेँ भने, यताको वातावरण पहाडको भन्दा अलिक फरक छन् । यतातिरको बाटो मान्छे हिँड्न फराकिलो भए पनि सपनाका लागि साह्रै साँघुरो छन्।

यहाँ छोरी मान्छेलाई स्वतन्त्रता त्यो नयाँ नयाँ चल्न सिकेको बच्चा जत्तिकै दिइएको हुन्छ, जसलाई आमाबुबाले एउटा आँगनमा जति दगुर्न मन छ, दगुर्न सक्छौ भनेर सिमा छुट्याइदिएका हुन्छन्। एक-दुई वटा अपवादबाहेक केटीको कद उसको श्रीमानले के काम गर्छन् भन्ने कुरासँग दाँजिन्छ।
बच्चा छँदा कसैले, ‘ठूलो बनेर के बन्छौँ ?’, भनेर सोध्दा डाक्टर बन्ने भन्ने म पनि पछिपछि डाक्टर पढ्ने अार्थिक स्थिति नरहेको र सरकारी स्कुलमा पढेर राम्रो नम्बर ल्याएर पनि डाक्टरको स्कलरसिपको लागि तयारी गर्न पनि गाह्रो हुने थाहा पाएपछि नर्स बन्ने सपना बोकेर पढ्न थालियो । सधैँ गाउँको सरकारी स्कुलबाट पढेको म नर्सको स्कलरसिपको लागि पनि कहिकतैबाट कसैले केही पत्ता नलगाइदिएपछि त्यो सपना छाडेर गाउँमै म्यानेजमेन्ट पढ्न थालेँ । १२ सकाएर बि.बि.ए. पढ्छु भनेको त बुबाले बि.बि.एस् पढ्दा तेरो र बाबुको दुइटै जनाको पढाइको खर्च चल्न सक्ने नत्र धेरै भार हुन्छ भन्दा मैंले नि हस् भनेर बुबाको कुरामा सहमति जनाएँ । पछिपछि मेरो सपना म केही बन्ने हैन्, बस् आफ्नो खुट्टामा उभिन सक्ने भयो । ममीले त जहिले नि, जसरी भए पनि तँ आफ्नो सपना पूरा गर्न भन्ने हौसला दिइराख्नु हुन्थ्यो, तर बुबाले कहिल्यै म छु भन्ने आँट देखाउनुभएन ।

त्यतिखेर उहाँको आफ्नै कुनै समस्या रहेको हुन सक्छ । बुबाले चाहेको भने गर्न नसक्ने केही थिएन, तर सायद मेरो बुबा पनि छोरीलाई बस् अलिक पढाएर राम्रो केटा खोजेर बिहे गरिदिने मानसिकताबाट ग्रसित हुनुहुन्थ्यो । ममीले एक्लै सक्नुभन्दा पनि धेरै गर्नुभयो, तर एक्लै उहाँले त्योभन्दा बढी के नै गर्नसक्नुहुन्थ्यो र !

कहिलेकाही लाग्छ, यदि म पनि काठमाडौं या अरू कुनै सहरमा भएको भए लाख बाटो हुन्थे होला मेरो सपना पूरा गर्ने। न समयको सिमा हुन्थ्यो न त समाजको तानाबाना । न मलाई कसैको कुरा काट्ने डर हुन्थ्यो न कसैको कुराको पीर ।

आज पनि म जब-जब कोही बुबालाई आफ्नो बच्चाको उज्जवल भविष्यको सपना आफ्नो आँखाबाट हेरेको देख्छु, साह्रै खुशी लाग्छ त्यो बच्चाको लागि | र सोच्छु, त्यो बच्चा कति भाग्यमानी रहेछ। तर जब कुनै कारणले कसैको सपनाको बाटो छेकेको देख्छु, चाहे त्यो असामयिक बिहे होस् या अरू कुनै कारण, त सोच्छु कि म पनि त भाग्यमानी नै रहेछु, कमसेकम बुबाले साथ नदिदाँ बाटो पनि छेक्नु भएन नि !

के भो त ? मेरा धेरैजसो सपना परिस्थितिको बली चढे, तर कमसेकम मलाई सपना देख्ने छुट त थियो । बुबाले कहिले मेरा हात थामेर मसँग हिँड्नु भएन, कमसेकम मलाई मेरो बाटो चुन्ने छुट त थियो । भलै मलाई आफ्नो सपना पूरा गर्न धेरै बाटो आधा हिंडेर फर्किनुपर्यो, तर कमसेकम म आज जे छु, आफ्नो मिहिनेतले भएको आत्मसन्तुष्टिमा त छु । लाग्छ, मसँग जुन बाटो छ म त्यसैमा भाग्यमानी छु।

अन्ततः यो बुझ्न पुगेछु कि खुशी सानोतिनो कुरा र सफलतामा पनि पाउन सकिन्छ | बस खोज्न जान्नुपर्छ। जिन्दगीमा अगाडि बढ्नलाई अनेकन बाटो छन् । एक बाटो बन्द हुँदा जिन्दगी सकिदैन्, बस् जरूरी छ कि हामी अर्को बाटोको खोज गरम् ।