साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जन्मदिनमा मृत्यु उपहार

विहानैदेखि दिशाहरू खुलेका थिए। हराभरा वातावरणमा रमाइरहेका थिए प्रकृतिका अनेकन पंक्षीहरू। अँध्यारो छहारीलाई पन्छाएर सूर्यका किरणहरूले बिस्तारै धर्तीमा उज्यालो छर्दै थिए। शून्यतामा विलीन हुने मेरो मन आज विहानैबाट यिनै प्रकृतिका सुन्दरतामा रमाइरहेको थियो।

एकाविहानै नित्य स्नान सन्ध्या पछि म एकान्तमा बसेर बितेका जीवनका अनुभूति अनि आउँदो परिवेशको कल्पना गरेर सूर्यको गतिलाई नियालि रहेको थिएँ ।

bahulako diary small and inside post

“आखिर जीन्दगीको रथ भन्नु नै त्यही सूर्यको गति त थियो । मान्छेको जन्म र मृत्युको समय यही सूर्यको गतिले तोकिदिएको हुन्छ । आज बालक भएको व्यक्ति भोलि युवा अनि वृद्ध हुँदैजान्छ। सायद सूर्य नउदाउने अनि नअस्ताउने भए मान्छेको जन्म अनि मृत्युको समय यकिन हुँदैन थियो होला ! अझ भनुँ भने त सूर्यको उदाउने अनि अस्ताउने गति नभइदिने हो भने पृथ्वी नै रहँदैन होला ।

यस्तै सोचमा डुबिरहेको थिएँ म । तर यसमा यथार्थ भने थिएन। किनकि सूर्यको गति होइन, त पृथ्वीको गतिले दिन र रातलाई छुट्याएको हुन्छ। घरको छतमा बसेर यस्तै विचारमा मन लगाई कता कता हराइरहेको थिएँ । तलबाट आमाले बोलाउदै भन्नू भयो, “ के गर्दै छस् ? तेरो आज जन्मदिन हो । विहानै मन्दिर पूजा गर्न जानुपर्दैन ?”

ओहो आज मेरो जन्मदिन पो हो  । म आफैँले भुलेको थिएँ कि मेरो आज जन्मदिन हो । ‘ल ल हुन्छ’, भन्दै घरबाट पूजा सामाग्री लिएर नजिकैको मन्दिरमा गएँ ।

सायद जवानी बढ्दै गएपछि जिम्मेवारी थपिदै जान्छ । अनि आफ्ना रहरहरू सकिदै जान्छन् । सायद यसैले गर्दा होला मैले आफ्नो जन्मदिन पनि भुलेको ।

समय मान्छेको लागि मात्रै होइन, हरेक सजीव वस्तुको लागि नाशवान् छ । त्यसैले धर्तीमा रहेका हरेक सजीव वस्तुको आयु दिन प्रतिदिन घट्दै गइरहेको छ।

“बितेका पलले वर्तमानलाई मजबुत बनाउदै आउँदो भविष्यलाई सफल बनाइदिनु भन्दै”, मन्दिरमा भगवान् समक्ष प्रार्थना गरेँ । अनि घर आउँदा धेरै मान्छेहरू भेला भएका थिए | सायद मलाई जन्मदिनको शुभकामना दिन होला।

घरमा आउने सबै अतिथिगणहरूले जन्मदिनको व्यापक शुभकामना दिन थाल्नुभयो। जन्मदिन विशेष उत्सवका रुपमा मनाइरहेको थिएँ । मैले यो जन्मदिन घरमा धेरै वर्षपछि मनाइरहेको थिएँ । त्यसैले होला सायद गाउँका सबै मान्छेहरूले जन्मदिनको शुभभाव प्रकट गरिरहनुभएको थियो मलाई ।

विहानैबाट घरमा बडो उत्सव चलिरहेको थियो । आमाले भान्सामा विभिन्न मिठाईका परिकारहरू बनाउन थाल्नुभयो। बुबा-दादाहरू घरमा आएका अतिथिलाई स्वागत गरिरहनुभएको थियो। गाउँको मेरो मिल्ने साथी रमेश पनि आइपुग्यो । आएका अतिथिहरूले विभिन्न उपहारहरू दिन थाल्नुभयो। फोनबाट, सामाजिक सञ्जालबाट पनि धेरैले जन्मदिनको शुभकामना प्रकट गर्नुथाल्नु भयो।

त्यो जन्मदिनको उत्सवलाई प्रकृतिले  पनि साथ दिएकी थिइन् ।त्यही साथसँगै मैले आफ्नो एकवर्ष बुढ्यौली उमेरलाई स्वीकार गर्दै थिएँ । त्यही उमङ्गमा मनमा काडा बिज्ने गरी नयाँ नम्बरबाट कल आयो, “तपाई झट्टै कोशी अस्पताल आउनु |”

कसलाई के भयो भनेर मन आत्तियो। अघिसम्मको उज्यालो अनुहारलाई अब अँधेरी औंशीले छाया पार्दियो। अनि त्यो उत्सवबाट हराउँदै म र रमेश बाईकमा कसैलाई थाहा नै नदिई दुई घन्टाको यात्रा गरी कोशी अञ्चल अस्पताल पुग्यौं । त्यहाँ पुग्दा बिहानको १० बजेको थियो । अनि अघि आएको नम्बरमा कल गरेर सोध्यौं, बेड नम्बर कति भनेर ? जवाफ आयो “१०९” ।

कोठाअगाडि एक जना युवती निराश भएर बसेकी थिइन् । सायद मलाई फोन गर्ने अन्जान व्यक्ति ऊ नै थिई होला । सोधि हाले, “हजुरले नै यो नम्बरबाट एमेर्जेन्सी कल गर्नुभएको ?”

हो रहेछ | उनको अनुहार हेरेँ । अँध्यारो औशीको जस्तो थियो । सायद कतै ठुला घटना भएको थियो होला । अनि सोधिहालें, “को हो ? कसलाई के भएको हो ?”

आफ्नो अक्मकिएको स्वरमा  वाफ दिदै भनी उसले,“मेरो साथी ।”

“बुझिन मैले”, भन्दिहालें । ऊ बोली;

म उसको साथी हो । विहानै, ‘आज साथीको  जन्मदिन छ । उसको घर जानू पर्छ है ! तयारी गर’ भनेर भनेकी थिई । अनि सबै तयारी पूरा गरेर म र ऊ लकडाउनलाई छल्दै, लुक्दै उसको स्कुटीमा आउँदै थियौं ।

उर्लबारीको ती बाटोहरूमा आउदै गर्दा उसले आफ्नो साथीको बयान गर्दै थिई, ‘साच्चै नि ऊ सारै मिलनसार छ यार । साथीका हरेक दुखकष्टमा उसैले साथ दिन्थ्यो । हामी स्कुले जीवनदेखिका साथी थियौं । स्कुलका हरेक क्रियाकलापमा उसको सक्रियता बडो प्रशंसनीय थियो । हरेक राम्रो मान्छेको पछाडि नराम्रो मान्छे हुन्छ । त्यस्तै उसलाई पनि नराम्रो सोच्ने मान्छे भेटिन्थे । त्यस्तामा उसको व्यवहारलाई हेरेर मैले नै धेरै साथ दिन्थे । उसको क्रियाकलापमा साथ दिँदै गर्दा उसलाई कुन समयमा मन पराउन थालें । आफैँलाई थाहा भएन । अनि उसलाई भन्ने आँट पनि आएन। मनको कुरा उसलाई कहिल्यै खोलिन् । आफ्नै सम्झेर साथ दिइराखें ।बिस्तारै स्कुले जीवनहरू बित्दै जान थाले। बिचैमा अपत्याउदो तरिकाले कसैलाई थाहा नै नदिई ऊ गाउँ छोडेर सहर पस्यो। र कयौं वर्षपछि अहिले घर फर्किएको छ ।’,  यस्तै भन्दै उसले साथीको बडो प्रशंसा गर्दै थिई । बीच बाटामा आइपुगेर हामीले बर्थ डे गिफ्ट किन्यौं ।अनि फेरि गफ गर्दै जाँदा मैले झट्ट नाम सोधेको थिएँ । उसले भनेकी थिई, “लक्ष्मण ढुङ्गाना“ ।

यस्तै गफ गर्दै आउँदै थियौं । एक्कासी उसका हात खुट्टाहरू नचल्ने भए, खोकीले ग्रस्त बनायो ।  स्कुटी चलाउँदा चलाउँदै उसका हातहरू काप्न थाले ।हेर्दाहेर्दै कुदिरहेको स्कुटीबाट झ्याप्पै लड्यौं हामी । अनि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल ल्याइपुर्याएको |

सोधेँ, “नामचाहिँ के हो नि उनको ?”

“सहाना सुवेदी”, उनले नम्र स्वरमा भनी । मैले काहिँकतै नाम सुनेको जस्तो लाग्यो ।

हेर्दा हेर्दै आफन्तजनहरू पनि आइपुगे । अनि त्यो भिडमा एक जना परिचित महिला पनि थिईन्। आउने बित्तिकै सोधिहाले, “हजुरको कसलाई के भएको छ र !”

ती महिलाले जवाफ दिइन्, “मेरै छोरी हो ।”

छोरी भन्नेबित्तिकै  याद आयो । ऊ त सानैमा मसँगै पढेकी साथी रहिछ । बल्ल सम्झना आयो अतितको । प्रेम त आफ्नै आँखाअगाडि घुमिरहेको  रहेछ, तर म भने वास्तै नगरी कता कता डुलिरहेँ ।

जन्मदिनको उत्सव एकातिर थियो मनमा भने अर्काेतिर बिरामीको गम्भीर अवस्था।  त्यही अस्पतालमा बिरामीको अवस्था के कस्तो छ भनेर बुज्दा बुज्दै दिउँसोको ३ बजेछ ।

केही समय पछि त्यहाँको वातावरण फरक भैइदियो । रुवावासी हुन थाल्यो। रोईकराईले वातावरण नै रोदनमा गुञ्जियो। त्यही अपरिचित युवतीलाई गएर सोधेँ, ‘के भयो र ! किन रुनुभएको भनेर ।”

मलीन स्वरमा भनी उसले“ साथीको मृत्यु भयो “

म स्तब्ध भएँ । एकाएक हात खुट्टाहरू काप्न थालेँ । मुखमा आवाज नै बन्द भयो। हातखुट्टाहरू लुला भए।  आखाबाट एक थोपा आशु भुँईमा तप्प खस्यो। त्यहाँ के भइरहेको छ केही थाहा पाईन। एक घन्टा पछि बल्ल मेरा खुट्टाहरू हलचल भए। त्यसको बीचमा त्यहाँ के के भयो केही थाहा पाईन। बिरामीलाई हुन चाहिँ के भएको रहेछ भन्ने विषयमा मेरो ध्यान केन्द्रित भयो। मृत्यु भएको करीब द्ध घन्टा पछि रिपोर्ट आयो बिरामीलाई कोरोना भाईरस लागेको रहेछ भनेर ।

रिपोर्ट हेर्दा छक्क परेँ । सामान्य अवस्थामा रहेको व्यक्तिलाई एक्कासि यो कोरोना भाईरसले ज्यान नलिनु पर्ने भन्ने मनमा सोच आयो। फेरि  कतै डाक्टरको लापरबाहीले ज्यान गएको त होईन भन्ने कुरा पनि मनमा आयो । अनि यता त्यता सबै आफन्तजनहरूको कुरा सुन्दा  कोरोना भाईरस नै लागेको हुन सक्छ भन्ने निचोडमा पुग्यौं ।

आखिर जीन्दगी भन्नू नै मृत्युको खेल रहेछ । कुन बेला के आउछ मान्छेलाई कुनै अत्तोपत्तो नहुने। आज कसैको मृत्यु भयो भनेर शोक गर्याे। भोली आफ्नैको पालो आउछ ।  यात्रा पनि बडो अचम्मको छ जीन्दगीको । यसरी उत्सवले सुरु गरेको जीवनलाई मृत्यु उपहार दिएर मेरो जन्मदिन बिदाइ भयो ।

प्रतिक्रिया
Loading...