’पापा ! हिजो आज तपाईं धेरै नै मोबाइल मै व्यस्त रहन थाल्नुभएको छ । मैले धेरै याद गरिरहेकी छु । के चल्दैछ, भन्नुहोस् त ?’
बेडमा सँगै बसिरहेकी आफ्नी श्रीमतीले धेरै दिनको धैर्यतापछि मात्र शंकास्पद तरिकाले प्रश्न सोधेको चाल पाएका श्रीमान् चाहिंले अलि असजिलो मान्दै जवाफ फर्कायो,’त्यस्तो केही हैन मैयाँ । साहित्य लेखिराको छु मोबाइल मै ।’
यति जवाफ पाउनेबित्तिकै श्रीमतीले व्यङ्ग्य कसिन्,’अँ ! होला झैं लाग्यो ! लेख्दा मुसुमुसु पनि हाँस्नुपर्छ होला नि उसोभए, हैन ?’
श्रीमतिको कसिलो व्यङ्ग्ले भरिएको प्रश्न खस्न नपाउँदै फसाद पर्यो भन्ने मनमनै सोच्यो र आफ्नो बचाउ गर्दै श्रीमानले थप्यो, ’कुरा पनि हुन्छ नि साथीभाइहरूसँग ।’, यति जवाफ पाउनासाथ हत्तारिएझैं श्रीमतीले फेरि प्रश्नको वर्षा गर्न थालिन्, ‘साथी कि साथिनी? बिहान सबेरै बिउँझेदेखि ओछ्यान भित्रै घुस्रेर चलाको छ मोबाइल, चियानास्तादेखि खाना खाँदासमेत मोबाइलमै व्यस्त, हुँदाहुँदा अहिले सुत्ने बेलामा समेत मोबाइल लिएर बस्नुभएको छ । आखिर के ले गर्दा यस्तो मोबाइलमै टासिने बनायो तपाईलाई भन्नुहोस् त ? यसरी पनि काम चल्छ ? थाहा छ कति रात भयो तपाईंले मलाई नछुनु भएको ? भन्नुस् त ?”, रून्चे स्वरमा अलि चर्को हुँदै गएको आवाज निकालेर श्रीमानलाई घच्घच्याउँदै भनिन् श्रीमतीले ।
श्रीमतिको आवाजलाई सानो बनाऊ भन्दै श्रीमान हडबडाउँदै जवाफ फर्काउन खोज्दै थिए । श्रीमतीले फेरि बीचमै रोकेर आफ्नो पीडा पोख्न थालिन्, ’कसको नाममा फुरिरहेछ आजकल कविता अनि गजल भन्नुहोस् त ? फेसबुकमा लगातार आइरहेछन् तपाईंका कविता अनि गजलहरू । को हो त्यो ? म पनि चिनुँन । कसको नाममा फुरिरहेछन् यी सबै ? कहिले रूपको वर्णन छ, कहिले चालको । मेरोभन्दा पनि राम्रो रूप र चालढाल भएकी कोही भेट्नुभयो कि के हो ?’, यति सुनिसकेपछि श्रीमानलाई के भनुँ कसो गरूँ भयो र केही भनेर त चुप लगाउनै पर्छ भन्ने सोच्दै बोल्यो, ’मैयाँ! तिमीलाई थाहा छ त, म साहित्य पढ्छु अनि लेख्छु । अनि किन ममाथि शंकाको घेरा भन त ? कल्पनामा डुबेर लेखिन्छन् कविता, गीत, गजल, कथा, उपन्यास ! सबै साहित्य यथार्थमा भोगेर मात्र लेखिन्न । किन बुझ्ने कोशिस गर्दैनौ ? भन त?’
“बुझ्नु छैन मलाई केही । तपाईँमा आएको यो साहित्य रचेर अघि बढ्ने परिवर्तनले मलाई भने खरानी नबनाओस् है पापा ! भन्देको छु ।”, सुँक्कसुँक्क गर्दै यति कुरा भनेर श्रीमति आफ्नो ठाउँमा गएर सुत्ने तरखर गरिन् । श्रीमान भने यसरी श्रीमतीले धम्की नै दिएर चेतावनी दिनुपर्ने गरी आफू मोबाइलमै व्यस्त भइसकेको चालै नपाउने स्थितिमा पुगिसकेकोमा एकछिन त ट्वाल्ल परेर बस्यो ।
एकछिन अघिसम्म कति मज्जाले कुरा गर्दै थियो श्रीमान् मेसेन्जरमा । दुई तीन हप्तामै मज्जाले खुलेर कुराकानी गर्ने महिला मित्र भेटेका थिए । सामान्य कुराकानी गर्दागर्दै नजिकबाट बुझिसकेका थिए एकअर्कालाई । तपाईंबाट तँ भनेर सम्बोधन गर्न थालिसकेको थियो उसले साथीलाई । अनि उसलाई पनि सहजै बुढा भनेर सम्बोधन गर्ने भइसकेकी थिई साथी ।
ट्वाल्ल पर्दापर्दै श्रीमानको मुटु जोडजोडले धड्किन थालेको थियो । श्रीमतीले आफूले नयाँ महिला साथीसंग गफ गरिरहेको चाल पाएको हो कि झैं भान भएको थियो उसलाई। हुन पनि सधैंभरी उसले श्रीमतीलाई केही लेखिरहेकै छु भन्थ्यो। लेख्थ्यो पनि । लेखेर फेसबुकका भित्ता गीत, गजल, कविता अनि कथाले नरङ्ग्याएको पनि होइन । तर नयाँ साथीसंग गफ गर्न थालेपछि वरिपरिका सारा कुरा विर्सने हुँदै गएको थियो । थप नयाँ सिर्जना गर्न उर्जा मिलिरहेको अनुभव गर्दैथ्यो श्रीमान । नयाँ केही सिर्जना गर्न त नयाँ मान्छेहरूसंग अनुभव अनि भावना साटासाट गर्नुपर्छ भन्ने मान्यता राख्थ्यो । फेसबुक साथीको कुरा सुनेपछि उसले नयाँ भावले भरिएका रचनाहरू लेखिरहेको थियो । धरै वर्षको मेहेनतपछि भेटेका हुन् उनले फेसबुकमा मनमिल्ने, कुरा मिल्ने साथी । कहाँ सबै लोग्नेमान्छे र आईमाई मान्छेबिच सहजै
प्रगाढ मित्रता गासिन्छ र ?
तर श्रीमान र उनको फेसबुक साथीबिच भने गज्जबकै दोस्ती जमिरहेको प्रष्ट थियो । उनीहरू मेसेन्जरमा कुरा गरेर लामो समय बिताउँथे। हुन पनि मेसेन्जरमा लामो समयसम्म अनेक विषयमा कुरा गरिरहँदा अनेक भाव झल्कन्थ्यो श्रीमानको मुहारमा। खुशीले मन्त्रमुग्ध भएको अनुहार लगाएर कुरा गरिरहेको देख्दा सशंकित हुँदै श्रीमतीले हेरेको हो धेरैपटक श्रीमानलाई ।
श्रीमान श्रीमतीबीचको भर्खरैको ठाकठुक अघि पनि उनीहरू मेसेन्जरमा कुरा गरिरहेका थिए । केही मिनेटको चकमन्नतालाई चिर्नेगरी मेसेन्जरमा पिलिक्क नयाँ मेसेज आएको देखेर झल्याँस्स भयो श्रीमान ।
हत्त न पत्त मेसेज पढ्यो श्रीमानले,’बुढा ! कता हराउनुभएको ? कत्ति मज्जा आइरहेको थ्यो यो विषयमा कुरा गर्दा । हजुर कत्ति मज्जाको बुढा क्या । मैले किन भेटिनँ होला पहिल्यै ? उफ्फ्फ्फ्फ ।’
पढ्नेबितिक्कै केही सोच्न नसकेजस्तो भयो श्रीमान । मेसेजको जवाफ नफर्काई हत्त न पत्त मोबाइल स्वीच अफ गरेर पल्टियो ऊ पनि श्रीमतीलाई सरी भन्दै ।
जसै बिहान भयो श्रीमती ब्युँझिइसकेपछि खुशीले तनक्क जिउ तन्काउँदै उठिन् । श्रीमानतर्फ मायालु भावले हेरिन् । ऊ भने मस्तले निदाइरहेको थियो । केही हप्ता देखिको बिहानको निद्रा भंग गरिदिने फेसबुके साथीलाई सायद उसले सपनामा देखेन त्यो रात । र ब्युँझेन बिहान सबेरै । श्रीमान मस्तले सुतेको मौका पारेर श्रीमतीले श्रीमानको मोबाइल हातमा लिइन् । अफ रहेको मोबाइल अन गरिन् । स्क्रिन लक गरिएको थिएन ।
श्रीमान श्रीमतीबीच विश्वासको नाता धेरै वर्षअघि देखि कायम थियो । मेसेन्जर खोलेर उनले नयाँ मान्छेको नाम खोजिन् र एकैछिनमा भेटिन् पनि । इन्बक्स खोलेर हेर्दा त रातभरि आफ्नै भएको श्रीमान खै कहिलेदेखि हो अरूकै बूढा भएको पो भेटिन् उनले ।
त्यसै दिनदेखि श्रीमानले आफ्नो स्टाटस अपडेट नगर्ने र श्रीमतीले पनि आफ्नो पुरानै स्टाटस पाइरहने गरी सम्झौता गरे, र श्रीमती आफैँले श्रीमानबूढा भनेर बोलाउन थालिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।