साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

शिक्षक हराएको सूचना

प्रकाशकुमार शर्मा

“भन्नुस् कति कामले आउनुभयो ?”, त्यस महिलालाई केही अलमलिएजस्तो देखेर ड्युटीमा रहेको प्रहरी जवानले सोध्यो । महिलाको साथमा एउटा १२/१३ वर्षकोझैं देखिने केटो पनि थियो । दुवैका मुख मास्कले छोपिएका थिए ।

महिला केही बोल्न खोजी तर सकिन । जवानले सहयता कक्ष लेखिएको ठाउँतिर जान सङ्केत गर्‍यो ।

bahulako diary small and inside post

त्यहाँ पुगेर उसले दर्ता गराई; श्रीमान हराएको सूचना; नाम‚ वतन‚ हुलिया विवरणहरू टिपाउँदैजाँदा उसका आँखाबाट खसेका आँशु सेतो मास्कलाई छिचोलेर छातीमा टप्किए । साथ लागेको केटो छोरो रहेछ‚ “नरुनू मामु”, भन्दै पकेटबाट न्याप्किन झिकेर आँशु पुछिदियो ।

………………………………………………………….

सरकारले गत चैत १० गतेदेखि मुलुकलाई पूर्णरूपले लकडाउन घोषित गरिसक्नु पहिल्यैको फर्मानले मुलुकभरका शैक्षिक संस्थाहरू बन्द भइसकेका थिए । घरबाट उसलाई एकोहरो एउटै प्रश्न गरिरहन्थे, “कहिले आउने ?”

ऊ अर्थात यस कथाको हराएको पात्र राजधानीको एउटा निजी शैक्षिक संस्थामा अध्यापन गर्थ्यो । खासमा उसलाई घर फर्किने मन थिएन । चीनको वुहान महिनौंदेखि देशका अरु भूभागबाट अलगथलग पारिएको उसलाई राम्रै हेक्का थियो । विश्वका अन्य मुलुकले गरेको बन्दाबन्दीको अभ्यासलाई हेरेर उसले के लख काटेको थियो भने नेपालले १ हप्तालाई गरेको यो बन्दाबन्दी त्यहीँ नै गएर टुङ्गिनेवाला छैन । “घर गएको दुईचार दिनसम्म त रमाइलै होला तर त्यसपछि ? उसको मनले आफैलाई प्रश्न गरिरहन्थ्यो ।

घर फर्किने भनेर झोलामा लुगाफाटो हाल्दै गर्दा पनि उसलाई यो प्रश्नले चिमोटिरह्यो । बिहान झिसमिसे नहुँदै उसले डेरा छोड्यो । चकमन्न सडकमा ट्याक्सी बत्तिदा पनि उसलाई फेरि उही प्रश्नले झस्कायो‚ “घर गएको दुईचार दिनसम्म त रमाइलै होला तर त्यसपछि ?”

ठूलै जोरजुलुम गरेर उसले गाडीमा बस्ने ठाउँ पायो । “कता आइपुगिस् ?, राम्ररी आएस् ।, मास्क छ कि छैन ?, स्यानिटाइजर छुट्यो कि ?, “जहाँ पायो त्यहीँ पानी नकिन्नू‚ खाना नखानू
।”, पचासभन्दा बढी कलमार्फत आएका परिवार‚ आफन्त तथा शुभेच्छुकका सल्लाहसुझावलाई विना झर्को स्वीकार्दै र “हस् हुन्छ” भन्दै ऊ अबेर राति घर आइपुग्यो । साँच्चै त्यो पहिलो रात उत्सवमय थियो ।

भोलिपल्टदेखि त समाजमा देखा पर्नु नै थियो ।

“गाउँ आउन मन नगर्नीलाई कोरोनाले लखेट्यो ।”

“अब आउनीहरूलाई त क्वारेन्टामा राख्नी हो गरे !”

“बाइरबाट आ’गा मान्छ नु करुना हुन्छ गरे ।”

“केइ दिनलाई बाइर कतै नानिस्की घरैमा बस्या राम्रो ।”

यी र यस्तै प्रत्यक्षपरोक्ष प्रश्नहरू‚ सल्लाहहरू‚ चेतावनीहरू र व्यङ्ग्यहरूसँग ऊ जुधिरह्यो ।

उसले अनुमान गरेजस्तै भयो । लकडाउन एक साता अर्को साता गर्दै थपिँदै जाँदा जेठको महिना पनि त्यसै बित्ने छाँट देखियो ।

सुस्तरी सुस्तरी उसलाई लाग्न थाल्यो‚ “म आफ्नै घरमा हेपिँदैछु । छोराछोरीले पनि मलाई टेर्न छोडे ।”

“सबैका छोराले शहर पसेको वर्षदिनमै प्रगति गरे; मेरो छोरो यत्रा वर्ष शहर बसेर क्या गर्‍यो ? त्यै प्राइवेट क्याम्पस पराउँछ त्यै पनि सरकारी भया एउटा कुरा । लकडाउन भैगो‚ तलबसलब पनि नाआउनी होला ।” एकदिन खाना खाँदै गर्दा बुबाले अप्रत्यासितरूपमा कुरा निकाले । उसलाई त्यो गाँस निलुँ कि ओकलुँ भयो । जवाफ ऊसँग थिएन चुपै रह्यो ।

राती सुत्दा अनायासै उसको मुखबाट खुइय सुस्केरा निस्क्यो । स्वास्नीले सोधी‚ “के भयो ? बुबाको कुराले नरमाइलो लाग्यो‚ हो ?

“होइन ।”‚ भनेर ऊ कोल्टे फर्कियो ।

“बुबाका कुरा एकदमै ठीक हुन् ।” स्वास्नीले आगोमा घीउ थपी । तर ऊ अझै चुपचार नै रह्यो ।

“म स्वास्नी होइन ? मैले सोध्न मिल्दैन ? मलाई नबोलीनबोली सताउन ल्याको ?” अनेक घुर्कीको सामना उसले गरिरह्यो तर जवाफ दिने मन पटक्कै रहेन । हार खाएकी स्वास्नी रुँदै र केटाकेटी पिट्दै आफ्नो आक्रोश मत्थर पार्न थाली ।

ऊ हराउनु केही दिन अघिको रात

“क्याम्पस पढाएर कसैलाई पुग्या छ ? सुनिताको बुढोले पनि त डिग्री पढेको हो; फर्निचर पसलबाट मालामाल भयो । गीताको बुढो पनि डिग्री होल्डर हो; हार्डवेर पसलले भैंसेपाटीमा बंगला ठड्याइसके अरे । नुमाको बुढो त्यही प्राइभेट क्याम्पस भनी रुँगेर बसेको भए त्यो महल ठडिन्थ्यो ? घरजग्गा कारोबार गरेर कहाँबाट कहाँ पुगिसके । फलानाले सेयर कारोबार गर्छ । फलानाको होलसेल छ । फलानाले मान्छे विदेश पठाउँछ ।  दिदी बहिनीका अगाडि भन्न मुख देखाउनै लाज भइसक्यो । यही बूढो घर कतिसम्म कुर्नि हो ?” स्वास्नीले एक होइन अनेक गुनासो एकसाथ गरी ।

“के अब म चोर्न जाम त ? जानेको त्यही कलम घोट्ने काम हो; त्यस कामको कमाइ यस्तै हुन्छ ।” जवाफमा उसले यत्तिमात्र भन्यो र कोल्टे फर्कियो र निदाएको बहाना गर्‍यो । अर्को तिर कोल्टे फर्केकी स्वास्नी निकैबेर आफैसित गनगन गरी‚ झर्किई र अन्तमा आफ्नै कर्मलाई सराप्दै रुदै निदाई ।

रातभर उसको मनले अन्तरसंघर्ष गरिरह्यो । स्नातकोत्तरको पढाई पूरा गरेपछि कामको लागि‚ कमाउनको लागि राजधानीमा गरेको संघर्ष सम्झिइरह्यो । खाएका हन्डर र पाएका ठक्करहरू सिनेमामा फ्ल्यासब्याकमा देखाइने दृष्यहरूजस्तै घुमिरहे । आफूसँगै संघर्ष सुरु गरेका दौंतरीहरू र आफ्नो पछिल्लो पुस्ताको तरक्की र असफलताहरूलाई पनि दाँज्यो ।

………………………………..

दूधवालाले तलबाट चिच्याएपछि उसकी स्वास्नीको निद्रा खुल्यो । ओछ्यानमा लोग्नेलाई देखिन तर मतलब पनि गरिन | समय ढल्किँदै गएपछि भने उसको धैर्य टुट्न लाग्यो । बिहानभरि त उसले मर्निङवाकमा गएहोलान् वा कतै यतैउतै वैरागी भएर‚ “बग्ने खोलो वा सुसाउने सल्लो”, हेरेर बसेका होलान् भन्ठानी तर जब मोबाइल पनि स्विचअफ देखायो ऊ निकै आत्तिई र सबैतिर हारगुहार गरी । कसैले मेसो पाउन नसकेपछि ऊ पुलिसचौकीतिर दगुरी ।

“साँच्चै त्यो मास्टर कहाँ गयो यो बन्दाबन्दीमा ?”

प्रतिक्रिया
Loading...