
अनुप लामिछाने
महेश लंका गाउँमा बस्छ । ऊ एक कृषक परिवारको सदस्य हो । आमाबुवाले खेती गरेर उसलाई विद्यालय पठाउँथे । चैते दशैं आएको थियो, कोरोना भाइरसले गर्दा देशैभरि लकडाउन भएको थियो । बुवाले घरमै एउटा घोर्ले खसी लडाउनुभयो । महेशले पनि खसीको मासुको थरी-थरी परिकार बनाउन आमालाई अनुरोध गर्यो, अनि मासु मज्जाले खायो।
सधैँ झैँ रातको साढे ९ भएको थियो | सुत्ने बेला भएको थियो । महेशलाई कमजोरी भएजस्तो अनुभव भयो ।
“निन्द्रा लागेर होला” मनमनै महेशले सोच्यो, अनि सुत्यो । भोलिपल्ट विहानै बुवा सहर जानुभयो, अनि आमाले पिंडी पोत्न लाउनुभयो। सधैं सबेरै उठ्ने महेश अजैसम्म पनि उठेको थिएन।
“कति सुतिस् तनि महेश । गोरु पहालाउन पर्ने, बाख्रालाई पानी दिएर चराउन लैजान पर्यो । उठ अब |”भन्दै आमा गोठतिर जानुभयो।
दूध निकालेर आउँदासम्म गोरु गोठमै थियो, अनि बाख्रा खोरमै । आमा रिसाउँदै महेश सुतेको कोठामा जानुभयो । महेश खोक्दै सुतिरहेको थियो । कामेको थियो । आमा नजिक गएर महेशलाई झकझाकाउनु भयो । महेशको शरीर तातो भएको थियो । एसो निदारतिर छाम्नुभयो । महेशलाई हनहन्ती ज्वरो आएको थियो । सँगै रुगाखोकी पनि लागेको थियो।
आमा आत्तिनुभयो। छिमेककी सरिता काकीलाई बोलाउनुभयो, अनि ज्वरो नाप्न लगाउनुभयो । ज्वरो १०३° रहेछ । महेश कामिरहेको थियो । सँगै रुगाखोकी पनि लागेको, सरिता काकी पछि हट्नुभयो, अनि महेशकी आमालाई पछाडि तान्दै, “ला! महेशलाई त कोरोना भाइरसले छोयो क्या हो ! कोरोना भाइरसको सबै लक्षण महेशमा छ ।”
सरिता काकी सिटामोलको एक बरी दिएर त्यहाँबाट आतिदै जानुभयो । आमाले महेशका बाबुलाई फोन गरेर, “पैसाको जोहो गर्नुस् । महेशलाई सञ्चो छैन । अस्पताल लानुपर्यो”, भन्नुभयो । गाउँभरि हल्ला फैलियो । हामीलाई पनि महेशले कोरोना सार्न सक्छ भनेर एकैदिनमा गाउँलेहरु गाउँ छोडेर गए ।
गाउँ रित्तो भइसकेको थियो । महेशका बाबुले बल्ल बल्ल पैसाको जोहो गरेर गाउँमा आउनुभयो । महेशको स्वास्थमा थोरै सुधार आएको थियो । महेशका बाबु र आमाले महेशलाई अस्पताल लैजानुभयो । अस्पतालमा महेशमलाई आसोलेसनमा राखियो, र जाँच सुरु गरियो ।
दुई दिनपछि महेशलाई आसोलेसन वार्डबाट बाहिर निकालियो । डाक्टरले महेशका आमा बुबालाई बोलाउनुभयो अनि, “आत्तिनुपर्ने अवस्था छैन, सामान्य ज्वरो, रुगाखोकी रहेछ । जुन मौसम परिवर्तनका कारणले लागेको हो । कोरोना नेगेटिभ छ ।”भन्नुभयो ।
डाक्टरले पुन: भन्नुभयो, “आजकल सितिमिति यस्तै केस धेरै आएको छ । सबैजना सामान्य रुगाखोकी, ज्वरो लाग्नेबित्तिकै जाँच नै नगरी कोरोना लाग्यो भनेर त्रसित हुन्छन्, जुन कत्ति पनि उपयुक्त छैन ।”
महेश र उसका आमाबुवाले सन्तुष्टि र खुसीका साथ शिर हल्लाए अनि डाक्टर साहेबलाई धन्यवाद दिँदै अस्पतालबाट निस्किए । महेशले गाउँ जाँदै गर्दा गाउँ शून्य भएको देखेर, “मलाई जाँच नै नगरी कोरोनाको शंका गर्दा गाउनै रित्तो भयो । शंकाले लंका जलायो | गाउँबासीलाई फोन गरेर भनिदिनु आमा कि मलाई कोरोना छैन”, भन्यो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

