चित्रकार राेशन भण्डारी

अलिअलि जीवनी जस्तो, अलिअलि कथा जस्तो, कता-कति सम्वाद अनि कैलेकैले त मनोवाद जस्तो लाग्छ उस्को जीवन बुझ्दा | ऊ उर्फ रोशन भण्डारी, एउटा क्यान्भासे– जो आत्मानुशासनको रिलेमा निरन्तरताको लठ्ठी बोकेर दौडिरहेको छ | ऊ एउटा स्वप्निल कैदी- जो आफ्नो अविछिन्न बगिरहने सपनाको कठघरामा निरन्तर तैरिरहन्छ | ऊ शून्यताको कुची र कलरहरूमा बिलाईजाने एउटा चित्रकार– जो सपनाको उडानमा उड्दै-उड्दै कोइलाले बनाइदिन्छ एउटा अनमोल आकृति, कलर पेन्सिलहरूले सजाइदिन्छ आत्मलक्षित कथाहरू, छरिदिन्छ रंगहरू र उतारिदिन्छ सपनाका चिहानहरूको मौन आकृति क्यानभासमा | बस् ! क्यानभासमा |

जब म डिल्लीबजारस्थित उनको स्टुडियोमा उनीसहित केही समय टहल्न पुगेँ, ढोकाको भित्ते कठघरामा चिप्किएको से..तो कागजको इजलासले उर्दी जारि गर्दै भन्यो :- ‘ड्रिम्स स्टुडियो- वन्ली ड्रिमर्स आर अल्लौडेड’ स्लोगन कता-कता हरर हलिउड सिनेमाको याद दिलाउने खालको भए तापनि शरीरलाई भित्र नमुन्टयाएसम्म कहाँ थाहा हुनेवाला थियो र ! अन्दर कि बात क्या हे ? आखिर म पनि त छोटे-मोटे वाला ड्रिमर नै त थिएँ,पछ्याउँदै आफूलाई भित्र पुर्याएँ |

चार तले बिल्डिंगको तेस्रो तला, मझौला आकारको (भाग्यमानी) स्टुडियोको दायाँतिर लम्पसार सिंगल बेडमा उनले ‘जिन्दगी’ नामक रेलको सफरका बारेमा सुनाए | हालै बन्दै गरेको आलो-काँचो पैन्टिंग एवं वरिपरि भित्तामा सजाइएका एकोहोरा एब्स्ट्रयाक्ट तस्विरहरू बीच रहेर उनले सेयर गरे– हालसम्म भोगेका उतारचढावहररू |

अब वाल्यकाल त के भन्नु र !(उनले औपचारिक हुँदै भने) “बुबा योजना आयोगमा काम गर्नुहुन्थ्यो, आमा बुबाको हामीलाई सानैबाट राम्रो पढाउनु पर्छ भन्ने सोच थियो |”

बाल्यकालमा खासै बोल्ने स्वभाव थिएन उनको | ऐले जस्तो बोल्ने, साथीभाइसँग हाँसखेल गर्ने कन्फीडेन्स थिएन भन्छन् उनी | आज्ञाकारी थिए, आजका दिनसम्म पनि उनका प्राय: क्रियाकलाप परिवारसँगै निहित भएको बताउँछन् |

आफ्नो स्वभाव बचाई नराख्नु व्यक्तिको समस्या हो भने आफ्नै स्वभावमै लामो समयसम्म हराइरहन सक्नु उसका लागि चुनौती हो | त्यहि चुनौतीको सामना उनले आजका दिनसम्म पनि गरिरहेकै छन् |

उनी र उनका बुबा काठमाडौंमा आफ्ना आफन्तसँगै डेरा गरि बस्थे | न्यूनतम आयले घर पठाउने, छोराको स्कुलको फि एवं अन्य गर्जो टार्ने गर्दा,थोर-बहुत आर्थिक भारको सामना गरेका थिए रे उनका बाले |

गरामनी झापा स्थायी घर भए तापनि बुबाले उनलाई पढाउन काठमाडौँ लिएर आए | लगत्तै गोपाल कर्मचार्यको त्यस बेलाको ग्लोरियस पब्लिक स्कूलमा भर्ना भए | विहानै बुबा काममा जाने र उनी फर्किएपछि मात्र घर फर्किने हुँदा अन्य वातावरण पनि एकान्त थियो | उनीसँग खेल्ने नाममा पेन्सिल, ज्यामिती बक्स, इत्यादी हुने गर्थ्यो; न उनले बजारी खेलौनाको माग गरे, न त्यो पूर्ति गर्ने स्थिति नै थियो, त्यसै समयदेखी एकान्तप्रेमी भएको सम्झन्छन उनी |

सुजन भट्टराई

उनी सपनासँगै खेल्ने गर्थे रे !…उनले मुस्कुराउँदै भनें….भन्दा कुरो बढेजस्तो लाग्छ; साथीहरू धोबीखोलामा पौडीन्थे, म लुगा कुर्थें र त्यो दृश्य नियाल्थेँ | पछि घर आएर त्यसैको स्केच बनाउँथें…|

त्यहि पल सम्झंदा यो जीवन एउटा यात्रा जस्तो लाग्ने कुरा उनले बताए | उनी उदाहरण दिँदै भन्छन्– ‘हाम्रा सपनाहरू सुरुवातमा खोल्साजस्तै हुनुपर्छ, वरिपरिका पानीका मुहानहरूबाट सिक्दै केही लिँदै अघि बढ्नुपर्छ | बिस्तारै खोलामा रूपान्तरित हुनुपर्छ | अनि आफ्नो बाटो आफैँ पहिल्याएर सागर बन्नुपर्छ |

फेरि प्रसङ्ग जोड्दै भन्छन – “बच्चा बेलामा नै बाबाका साथीहरू आएर मेरा चित्रहरूलाई हौशला प्रदान गर्नुहुन्थ्यो | त्यसले मलाई अझ धेरै सहयोग गर्थ्यो, यो विधा मेरो हो भन्नेतर्फ मेरो सोचाईमा म अडिग हुन खोज्थें |” उनी सम्झन्छन् कि उनको त्यस समयदेखि नै एउटा दृश्य सम्झन्थे, ‘एउटा सपना सम्झन्थे कि एउटा सानो स्पेस होस् र म चित्र कोरिरहुँ’ |

आफ्नो सपनामा उनी सधैँ दृढ रहे | न कहिल्यै हार खाए, न त उनलाई कुनै बाहिरी तत्वले डग्मगाउने बनायो | त्यसबेला उनको पढाइमा अकेही नै ध्यान हुँदैनथ्योथियो रे ! तर आफ्नो रुचिको विषयमा उनले कहिल्यै हार खाएनन्, घरमा बा-आमा भाइको उत्कृष्ट नतिजा तर दाइको त्यो स्थिति देखेर एकदमै चिन्तित भए तापनि उनलाई कहिल्यै रंग र कुचीसँग टाढा राबस्नु परेन | साथै उनले पनि आफ्नो संघर्ष र रुचिको बाटोबाट कहिल्यै पाइला झिकेनन् |

‘मलाई स्कुलले विभिन्न प्रतिष्पर्धामा लाँदा मसँग सस्ता चक्की कलरहरू हुने गर्थ्यो | अरूहरूको चमकदार रंगहरूको अगाडि मेरा कलरहरू फिका लाग्थे, तर बौद्धिक हिसाबले मेरा चित्रहरू राम्रै छन् भन्ने गर्नुहुन्थ्यो सरहरू |

खै, यस्तै-यस्तै धेरै कुराले मैले कहिल्यै स्कुलका प्रतिष्पर्धामा अब्बल नतिजा निकाल्न सकिन | तर त्यो खिन्नाताले मलाई कहिल्यै तल पारेन, मसँग यहि एउटा कुरामा चाहिँ हिम्मत थियो कि म केही गर्न सक्छु | बाँकी सबै कुरा मेरा माइनसमा थिए भन्दा हुन्छ |'(उनी फेरी एकोहोरिन्छन)|

उनी सम्झनछन्, ‘म स्कुल जानका लागि मात्र जान्थें | त्यसैले गृहकार्य/पढाइ राम्रोसँग नगरेर सरहरूको सजाय मेरो लागि बानी जस्तै थियो | नियमित जस्तै | म स्कुलपश्चात पनि बाहिरका विभिन्न गल्लीहरू घुम्ने गर्थें | मान्छेहरू के गर्दैछन, के सोच्दैछन, तेस्तै कुराहरू नियालथें | बिस्तारै आमा र भाइ आएपछी धेरै सहज भयो, पढाइ पनि सुद्रिँदै गयो | स्कुल पनि अर्कैमा भर्ना भएँ |’

नेप्च्युन स्कुलमा क्रमशः पढाइमा सुधार आयो, एस् एल सी आफूले सोचेभन्दा राम्रो नतिजामा पास गरेको स याद ताजै छ उनलाई |

आई ए को लागि उनले विज्ञान विषयमा पढाई सुरु गरे | परिवारलाई खुसी बनाउँछु, आफू पनि केही बन्छु भन्ने हेतुले यो विषय लिएका थिए रे | तर बिस्तारै उनलाई यो विषय अपाच्य बन्दै गयो | प्रथम वर्षको परीक्षा पश्चात उनले यो विषय नपढ्ने निर्णय गरे, तर घरमा भन्न उनलाई धेरै समस्या भयो | तर यो विषय नपढ्ने भनेर बुवालाई सुनाउदा, बिना कुनै संकोच बुबाले मलाई कुन पढ्छस् ? भनेर प्रतिप्रश्न गर्नुभयो– उनी सम्झन्छन् | उनले त्यो समय नै आफू फाइन आर्ट्स पढ्ने निर्णय गरे | उनका लागी त्यो एउटा विश्वासको जित थियो | हर्ष र उल्लासको समय थियो | आफ्नो रुचिको विषय पढ्न पाउँदाको त्यो पल सम्झिँदै उनी भन्छन– “आमा र बुबाले मलाई गरेको विश्वासले अत्यन्तै भावुक बनायो | त्यो समय म खुसीले रोएको पनि थिएँ |” त्यो पल नै उनको जीवनको असली सुरुवात भएको उनी बताउँछन् |

नँया कुची, नया ब्रुस, जोश-जाँगर नयाँ अनि नँया साथीको सामिप्यता खोज्दै उनी सृजना कलेज अफ फाइन आर्ट्समा पुनश्च भर्ना भए | त्यहाँको वातावरणले आफूलाई धेरै भिजाएको सम्झन्छन् उनी | मध्यम स्तरको पढाइका बाबजुत पनि उनी दोश्रो वर्ष पढ्दाताका नै काम गर्ने गर्थे | उनलाई समयले यसरी साथ दियो कि उनले स्नातक भारतको पुने विश्वविद्यालय अन्तर्गत रहेको भारतीय विद्यापिठ कलेज अफ फाईन आर्ट्समा अध्ययन गर्नका निमित भारतीय राजदूतावासबाट छात्रवृत्ति पाए |

भारतका दिग्गज कलाकारहरू; रवी मल्लिक, वाशुदेव कामद एवं अन्य अग्रजहरूसँगै बसेर कोर्सको सीमितताभन्दा बाहिरका कुरा समेत सिक्न एवं जान्न पाएको कुरा उनी बताउँछन् | भारतमै रहँदा उनले आउटडोर लेन्डस्केपको क्यन्भासी प्रयोग गर्ने गरेको उनी सम्झन्छन् |

भारतको कला-संस्कृति, संगीत र समाजले उनलाई बाहिरी रूपमा धेरै सहयोग मिल्दै गयो | त्यो समय नै छुट्टीको समयमा नेपाल फर्केको क्रममा उनले अठोट लिएका थिए, आफ्नै देशमा केही नौलो गर्नेछु भनेर | स्नातक अन्तिम वर्षमा उनले स्किल बेसका अलवा क्रिएटिभ बेसको बारेमा सिक्ने मौका पाए | अब मात्र उनको क्यान्भासले उनको कल्पनाको नमुनालाई आकृतिमा सजाउन थाल्यो |

अब उनी नेपाल फर्किए | तत्पश्चात आफ्ना साथी मनोज शाक्यसँगै मिलेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको लागि भर्ना भए | लगत्तै आफैले अध्ययन गरेको सृजना कलेजमा अध्यापन गर्ने सु-अवसर पाए, सँगसँगै आफ्नै साथीको एडभरटाइजिङ एजेन्सीमा काम गर्न थाले |

स्नातकोत्तर प्रथम वर्षको अन्त्यतिर उनले पोरट्रेट विधाअन्तर्गत हेमगङ्गा स्मृति युवा पुरस्कार पाए | यसले उनलाई एक किसिमको उत्प्रेरणा जगायो | नेसनल अवार्ड प्रतिष्पर्धाको कन्टेम्पोररी विधामा आफ्ना गुरुहरूको सल्लाहमा उनले आफ्नो पैन्टिंग पठाए | उत्कृष्ट ठहरिँदै उक्त पैन्टिंगले बि.स.२०७२ मा सो अवार्ड हातपार्यो |

माथि उल्लेखित बाहेक पनि उनले अन्य विधामा आफूलाई उत्कृष्ट नतिजासहित परिचित बनाउँदै गए | उनी ती पलहरू सम्झिँदै टोलाएझैं गरी भन्छन – ‘केही पाउँदा वा गुमाउँदा मैले कहिल्यै आफूलाई अलग बनाइनँ | म सधैँ भुइंमा नै थिएँ | मलाई कत्ति पनि यो पुरस्कार आफूले पाउने कुरामा विश्वास थिएन किनकि मैले बाहिरका अवार्ड पाउन योग्य पैन्टिंगहरू हेरेको थिएँ | तर यहाँ भने प्रतिस्पर्धीको संख्याको र चित्रको गुणस्तरको आधारमा मैले त्यो पुरस्कार कसरी पाएँ भन्ने कुराले मलाई अच्चमित बनायो | सायद यस्तै कुराले म निखारिँदै, अझै धेरै सिक्दै जानुपर्छ जस्तो मलाई लागिनैरह्यो |

उनी भन्छन्, ‘प्रतिस्पर्धा र पुरस्कारले भन्दा आत्मविश्वास र स्वनिर्णयले कुनैपनि व्यक्तिलाई आफ्नो रुचिको विषयमा अझ अब्बल बनाउन सक्छ |’

‘लगभग स्नात्तकोत्तर गर्दाका ती दुई वर्षहरू मैले चिसो खान नै खाएँहुँला |’ विगत सम्झँदै उनी भन्छन्, ‘आमाको मुटुको शल्यक्रिया राम्रोसँग भयो | त्यस लगत्तै मेरो स्नातकोत्तरको नतिजा आयो | फेरि पनि पुरै मास्टर्स मा ८३.४ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएँ |’ जुन कुरा उनको मीठो मिहेनतको फल थियो नकी मिहेनतको मीठो फल |

त्यसको केही महिनापछि उनले डिल्लीबजारस्थित हालको स्टुडियो खोले | विगतदेखि काम गर्दै आएको टि.बि.डबल्यू एडभरटाइज छोडे | बरू आफ्नो शिक्षण कौशलतालाई अझै बढाउँदै आजका दिनसम्म पनि उनी सिर्जना कलेज अफ फाइन आर्ट्समा प्राध्यापन गरिरहेका छन् |

बिस्तारै ग्रुप सोजमा पनि सहभागी हुने उनले सोच बनाउँदै गए | त्यही सोचअन्तर्गत उनले ‘फेबुल्स अफ द फ्लोर’ नामक ‘सो’मा आफूलाई सहभागी गराए | इन्डो-नेपाल आर्ट्स ‘सो’मा पनि विधाता केसीको निमन्त्रणामा उनी सहभागी भए | बिस्तारै-बिस्तारै आजका दिनसम्म विभिन्न आर्ट्स सोजहरूमा उनी एक कुशल चित्रकारका रूपमा आफुलाई सहभागी गराइरहेका छन् |

‘तर म एउटा स्पेस मेनेज गर्छु कि म त्यति धेरै सहभागी हुन रुचाउँदिन’, उनी स्पष्ट गर्छन् | त्यस बीचमा उनले शशी विक्रम शाह, वत्स गोपाल वैध्य, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, शरद रंजित, केके कर्मचार्य, लक्ष्मण भूजेल, गंगाधर शारु, मुकेश श्रेष्ठ, मनिशलाल श्रेष्ठ आदि दिग्गजहरूसँग सबैभन्दा सानो चित्रकारको रूपमा काम गर्न पाएको अनुभव उनले साट्न भ्याए |

उनले विगतका दुई-तीन वर्षमा आफ्नो ज्ञान र कलाकारितालाई क्यानभासमा सजाइसकेका छन् | अबका केही महिनाहरूमा नै ती चित्रहरूलाई एकल प्रदर्शनीका मार्फत बाहिर ल्याउने उनको योजना रहेको कुरा पनि उनले साट्न भ्याए |

उनी आफ्नो स्व-विकासमा मात्रै नलागेर आफ्ना विद्यार्थीको विकासमा नयाँ-नयाँ कन्सेप्टका साथ उदाउन थाले | विद्यार्थीलाई विभिन्न प्लाटफर्ममार्फत चित्रकारिता क्षेत्रमा अब्बल बनाउन लागे | उनी थप्छन्- हामी सिलेबसमा मात्र केन्द्रित भएर बसेनौं | बिस्तारै विभिन्न सहकार्यका मार्फत हामीले विद्यार्थी र अविभावकलाई यो क्षेत्रको सफल अभ्यास गराउने प्रयास आजका दिनसम्म पनि गरिरहेका छौं र यसलाई भोलिका दिनमा पनि हामीले निरन्तरता दिनुपर्छ र दिनेछौँ |

उनी आफ्नो बारेमा गम्भीर हुँदै भन्छन्- “हिजोको त्यो एकोहोरो बालक यहाँसम्म आउन सक्छ भने म विस्वस्त छु कि जसले पनि आफ्नो सपनालाई मुर्तरूप दिनसक्छ | आफ्नो रुचीलाई निरन्तरता दिँदै जस्तोसुकै परिस्थिति आए पनि त्यो परिस्थितिसँग डटेर सामना गर्नसके एकदिन सफलता हामी स्वयमलाई खोज्दै आउनुपर्छ र आउँछ नै भन्ने कुरामा म सधैँ विस्वस्त छु |”