मस्तिष्क पक्षाघातबाट प्रभावित कवि दर्शन केसी ‘साङ्कु’को पहिलो कवितासङ्ग्रह ‘दर्शन पोयम कलेक्सन’को लोकार्पण भएको खबर छ ।
अङ्ग्रेजीमा लेखिएकाे यस कवितासङ्ग्रहको विमोचन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज शर्मा, महानायक राजेश हमाल, साहित्यकार महेश पौड्याललगायत अतिथिहरूको उपस्थितिमा गरिएकाे हाे ।
‘दर्शन पोयम कलेक्सन’ भित्र १८० वटा कविता सङ्गृहित छन् । १८० वटै कविता ह्विल चेयरमा बसी दर्शनले नाकको सहाराले लेखेका हुन् ।
===
जो नाकले टाइपिङ गर्छन्, जीवनले गर्ने प्रश्नलाई कवितामा उत्तर दिन्छन्
– निरज दाहाल
जन्म कुनै पहाडको फेद हो र मृत्यु त्यही पहाडको टुप्पो हो । फेदबाट टुप्पो पुगुञ्जेलको समय संघर्ष हो । त्यही पहाडमा भेटिएका ढुङ्गाहरूसँग ठोक्किनु जीवनमा पाइने हण्डरहरू हुन् ।
मान्छे कहाँ जानु छ, थाहा छैन ? कहिले पुग्नु छ, थाहा छैन ? कसरी पुग्नु छ, थाहा छैन ? तर यति थाहा छ कि पुग्नु त छ । यसरी नै पुग्ने तयारीमा रहेको नाम हो – दर्शन केसी (सङ्कु) ।
वि. स. २०५५ मा बनेपामा जन्मेका दर्शन हाल काठमाडौँमा बस्दै आएका छन् । जीवन जिउने क्रममा समय आफूभन्दा पछाडि कहिल्यै हुँदैन यदि हुन्छ भने कि समय आफूसँगै हुन्छ कि आफूभन्दा एककदम अगाडि हुन्छ । दर्शनलाई समयले कहिले सँगै लिएर हिँड्यो त कहिले एक चरण पछाडि नै छाडेर हिँड्यो । तर आफ्नो मिहेनत र लगनशीलताले उनी अहिले सफलताको शिखरमा लम्किरहेका छन् ।
दर्शन केसी नाममात्र लेखिरहँदा उनमा भएको प्रतिभा कुनै दूरमा देखिने रूखको छायाँको धूमिल चित्रझैँ देखिन्छ । सामाजिक सञ्जालमा चिरपरिचित नाम हो दर्शन केसी । उनी हिँड्न र राम्रोसँग बोल्न सक्दैनन् र आफैँले खाना खानसमेत सक्दैनन् । तर उनको बौद्धिक चेतको सीमा धेरै परसम्म रहेको छ । उनीमा काव्य चेत धेरै नै छ ।
दर्शन कवि हुन्, उनले विशेषत अंग्रेजी भाषामा कविता लेख्छन् | हालसम्म उनले १३० भन्दा बढी कविता लेखिसकेका छन् भने विभिन्न पत्रपत्रिकामा पनि उनका कविता प्रकाशित भएको छ ।
नाकको मद्दतले टाइप गर्ने अद्भूत कला:
जब जीवनका सबै ढोका तथा झ्यालहरू बन्द हुन्छन्, तब त्यसलाई तोड्नुपर्छ | जीवन भत्कनुभन्दा जीवनका केही मान्यताहरू भत्काउनु उत्तम हो | हो, दर्शनले पनि सामान्य मानिसका मान्यतालाई भत्काइदिएका छन् |
दर्शनको हात स्वस्थ रूपले चल्दैन । तर उनी कम्प्यूटरमार्फत नै आफ्ना संघर्षका कथामा पोखिन्छन् । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ उनले पाएको उपहार ल्यापटपलाई आफ्नो अनौठो प्रतिभासँग जोडेर सदुपयोग गरेका छन् ।
दर्शन नाकले टाइपिङ गर्छन । फेसबुकमा सक्रिय रहने उनी आफ्ना मित्र, आफन्त सबैसँग सहजै च्याट गर्ने गरेका छन् |
उनले आफ्ना सबै कविताहरू नाकले नै टाइप गरेका हुन् । उनको प्रतिभाको मूल्याङ्कन गर्दै गतसाल “ पराक्रम बाल प्रतिभा पुरस्कार ” समेत प्रदान गरिएको थियो ।
कवि दर्शनमा पढाइको भोक छ । विद्यालय गएर लिने शिक्षामा उनले कक्षा ६ सम्म मात्र अध्ययन गरेका छन् । ‘सेल्फ हेल्प ग्रुप फर सेरेवल पल्सी’ नामको संस्थाले दर्शनजस्तै अरू विद्यार्थीलाई पनि शिक्षा दिन्छ । तर दर्शनले कक्षा ६ बाट विद्यालय नै गएर शिक्षा लिन सकेनन् । त्यसपछि अंग्रेजी भाषामा रुची भएका दर्शनले घरमा नै बसेर स्वअध्ययन गरे ।
कवि दर्शनमा कुनै रोगको लक्षण नदेखिएर ‘सेरेवल पल्सी’ नामक संक्रमण भएको दाबी चिकित्सकहरूले गरेका छन् | जन्म भएको दुइ वर्षपछि मात्र उनमा उक्त संक्रमण भएको कुरा पत्ता लागेको थियो । यो कुराले परिवारमा निराशा छायो | तर अस्पतालमा दर्शनको भन्दा पनि अन्य नाजुक अवस्था देखेपछि परिवारले शान्तिको केही सास फेरेको उनका बुवाको अनुभव छ | त्यसपछि दर्शन ‘सेल्फ हेल्प ग्रुप फर सेरेवल पल्सी’ सँग आबद्ध भए जुन कारणले आत्मविश्वासको तह अझ बढेर आयो ।
आमासँगै रमाइरहेका दर्शननलाई २०६३ ले जीवनमा नै भुल्न नसक्ने चोट दियो । डिप्रेसनमा रहेकी आफ्नी आमालाई दर्शनले आफ्नो जीवनको आठ बसन्तसँगै बिदा गरे । सम्झना एउटा जीवनको कालखण्डमा भेटिने मान्छे बाँच्ने आधार हो । साथ र मातृत्वसँगको समन्वयको अभाव आमाको वियोगसँगै संघर्षमय बन्यो | आमालाई औधी सम्झने दर्शन त्यो विगतका दिनहरू यसरी बताउँछन्– “मलाई आमाको याद औधी आउँछ । असहजतामा साथको जरुरत होस् या कुनै पुरस्कार पाउँदाको खुसीको क्षण, म उनै आमाको उपस्थिति सम्झिरहेको हुन्छु | आमा हुँदाका सम्झनाहरूले मलाई कताकता बिझाइरहन्छ । मलाई सिरानीभन्दा आमाको काख नै प्यारो लाग्थ्यो । म बिरामी हुँदा आमाको काखमा नै निदाउने गर्थेँ । तर अहिले आमा त हुनुहुन्न, तर सम्झना औधी छ ।”
जीवनले गर्ने प्रश्नहरू दर्शन कविताको भाषामा उत्तर दिन्छन् । २०७२ बाट कविता यात्रा सुरु गरेका दर्शनले नेपाली र अंग्रेजी भाषामा कविता लेख्ने गरेका छन् । उनका दुई खण्डकाव्य पनि छन् । ती कविताहरूलाई सम्पादन गरेर प्रकाशित गर्ने उनको चाहना छ । विगतका कवितामा कवि दर्शन आफैँ पनि त्यति धेरै सन्तुष्ट छैनन् । वर्तमान समयमा लेखेका कविता चाहिँ उनलाई मन परेका छन् । अझै राम्रा कविता लेखेर अन्तर्राष्ट्रिय व्यक्ति बन्ने उनको सपना छ |
कवि दर्शनलाई आफूलाई संसारका धेरै मान्छेले चिनून् भन्ने इच्छा छ । उनी त्यसकै लागि आफ्नो साहित्यको यात्रामा निरन्तर लागिरहेका छन् । सोच्न त झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ भन्ने किताब पढ्ने बित्तिकै उनमा म पनि केही गर्न सक्छु भन्ने उर्जाको भ्रूण छिरेको थियो ।
परिवारको आर्थिक स्थिति निम्न रहेकाले उनका पिता मजदुरी पेसामा संग्लन छन् । जन्मेपछि जीवनलाई मान्छेले आ–आफ्नै नजरबाट हेर्ने गरेका छन् | कवि दर्शनले पनि आफ्नो जीवनलाई आफ्नै तरिकाले हेर्दछन् ।
दर्शनका अनुसार जीवन वेदनासँगको प्रतिस्पर्धा हो |
उनलाई खुसी आकाशको ताराजस्तै लाग्छ | उनी भन्छन्– “जब तारा जमिनतर्फ खस्न पुग्छ, त्यहाँ एउटा प्रकाश देखिन्छ, झिलिक्क | बस् त्यति नै खुसीको आयु हो | त्यही नै त हो खुसी ।”
अनि दर्शनका लागि संघर्ष नै धैर्यता हो र धैर्यता नै संघर्ष |
मान्छे बाँचेपछि ऊ आफ्नो सपनाको पछि दौडिन्छ , दौडन्छ नामको पछि पनि । यसरी नै आफ्ना सपनाहरूको पछि दौडिरहेका दर्शनलाई सफलताको शुभकामना !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।